काठमाडौं, (खेलाडी)- कोलम्बियाको फनोम पेन्थमा २४ मे २००८ का दिन किरणका लागि जीवनको सबभन्दा महत्वपूर्ण क्षण थियो । किनकी त्यो दिन उनले पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी लगाएका थिए । तर उनको खुशी लामो समय टिकेन । अझ भनौं मैदान छिरेको आधा घण्टा नहुँदै किरणको चिउडो फुट्यो । मैदानबाट बाहिरिए ।
त्यतिबेला किरणलाई लाग्यो ‘अब मेरो फुटबल करियर सकियो ।’ कोलम्बियाको नेशनल ओलम्पिक रंगशालाको मैदानबाट २४औं मिनेटमा बाहिरिँदै गर्दा किरणले सोचेजस्तो उनको करियर भएन । त्यतिबेला भर्खरै उदाउँदै गर्दा सूर्यको किरण जस्तै किरण अहिले चकमन्न उज्यालो भएका छन् । नेपाली फुटबलमा प्रकाश छर्न सफल भएका छन् ।
एन्फा एकेडेमीदेखि नै सँगै खेलेका सहकर्मी विराज महर्जनको सर्वाधिक ७३ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानसँग उनले बिहीबार भारतसँग खेल्दै बराबरी गरिसकेका छन् ।
किरण । किरण चेम्जोङ । नेपाली गोल पोस्टको रक्षा गर्ने सिपाही । विपक्षी खेलाडीका लागि पर्खाल । उनै किरण आइतबार नेपाली फुटबलको एउटा अनुपम कोशेढुंगा छुने तयारीमा छन् ।
नेपाली राष्ट्रिय टोलीबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान आइतबारबाट उनको नाममा हुनेछ । एन्फा एकेडेमीदेखि नै सँगै खेलेका सहकर्मी विराज महर्जनको सर्वाधिक ७३ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानसँग उनले बिहीबार भारतसँग खेल्दै बराबरी गरिसकेका छन् ।
‘राष्ट्रिय टोलीको को जर्सी लगाउन पाउनु हरेक खेलाडीका लागि गर्वको कुरा हो । १८ वर्षको थिएँ । देशको प्रतिनिधित्व गर्ने मौका पाएँ । खुशीको सिमाना थिएन,’ डेब्यूको क्षण सम्झँदै किरणले भने, ‘तर पहिलो खेल मेरो लागि सुखद रहेन । चिउडोमा चोट लागेर फर्किनु पर्यो । लाग्यो, अब मेरो बाँकी फुटबल करियर सकिन्छ की के हो ।’
अल्लारे उमेरको त्यो केटोले हिम्मत हारेन । मेहनत गरिरहयो । त्यही लगनशिलता र कडा परिश्रमले आज किरण इतिहास रच्ने संघारमा छन् ।
भारतमा हुने एएफसी च्यालेन्ज कपको छनोट खेलका लागि किरणले मकाउविरुद्ध ‘डेब्यू’ गरेका थिए । त्यतिबेला रितेश थापा नियमित गोलकिपर थिए । तर तत्कालिन प्रशिक्षक थोमस फ्लाथले किरणलाई विश्वास गरे । त्यो प्रतियोगितामा उनले खेल्न सकेनन् । त्यसपछि किरणलाई पुनः राष्ट्रिय टोलीमा फर्किन तीन वर्ष लाग्यो ।
तीन वर्षसम्म अल्लारे उमेरको त्यो केटोले हिम्मत हारेन । मेहनत गरिरहयो । त्यही लगनशिलता र कडा परिश्रमले आज किरण इतिहास रच्ने संघारमा छन् । आइतबार भारतविरुद्ध खेल्दा उनी नेपाली फुटबलमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउने छन् । नेपालबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी, किरण चेम्जोङ । फुटबलको कुरा गर्दा सधै सम्झिरहने नाम ।
१७ मार्च २०११ मा नेपालले पोखरा रंगशालामा भुटानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै थियो । त्यही खेलबाट किरणले राष्ट्रिय टोलीमा पुनरागमन गरे । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन । उनले सुरुको २ सय ८० मिनेट गोल खाएनन् । उनीविरुद्ध पहिलो गोल गर्ने खेलाडी हुन्, उत्तर कोरियाका जङ उल क्लान ।
नेपाली फुटबलको चार धाम, पशुपतिनाथ, मक्का, मदिना वा अरु जे भने पनि त्यो दशरथ रंगशाला हो । दशरथ रंगशालामा भने किरणले अफगानिस्तानविरुद्ध ७ अप्रिल २०११ मा ‘डेब्यू’ गरेका थिए । त्यो खेल पनि एएफसी च्यालेन्ज कप छनोट नै थियो ।
त्यही दशरथ रंगशालामा किरणले बिहीबार कीर्तिमानसँग बराबरी गरे ।
यसबीचमा उनले नेपालका लागि दुई उपाधि जितेका छन् । २०१६ को एएफसी सोलिडारिटी कप गत चैतमा नेपालमै सम्पन्न थ्री नेसन्स कप । नेपालले थ्री नेसन्स कप किरणकै कप्तानीमा जितेको थियो । त्यो पनि दशरथ रंगशालामै ।
टाइब्रेकरमा सबै प्रहार जोगाउने किरण नेपालका एक मात्र गोलकिपर हुन् ।
२०१६ को एएफसी सोलिडारिटी कपको किरणसँग विशेष स्मरण छ । मलेसियाको राजधानी कुचिङमा सम्पन्न उक्त प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओसविरुद्ध खेलेको थियो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा किरणले तीन वटा पेनाल्टी बचाए । नेपाल ३-० ले विजयी भयो । टाइब्रेकरमा सबै प्रहार जोगाउने किरण नेपालका एक मात्र गोलकिपर हुन् । फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै उपाधि जितेको थियो ।
२०१८ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध किरणले पहिलो पटक नेपालको कप्तानी सम्हालेका हुन् । उनलाई प्रशिक्षक बालगोपाल महर्जनले ‘आर्म ब्यान्ड’ थमाएका थिए । त्यसयता किरणले अहिलेसम्म १६ पटक नेपालको कप्तानी गरिसकेका छन् । गोलकिपर भएर सबभन्दा धेरै पटक नेपालको कप्तानी गर्ने सुचीमा किरण दोस्रो स्थानमा छन् । पूर्व गोलकिपर उपेन्द्रमान सिंहले १७ पल्ट नेपालको कप्तानी गरेका थिए ।
नेपालका लागि धेरै कीर्तिमान बनाइसकेका किरणको नाममा अझ धेरै कीर्तिमान बन्न बाँकी नै छ । किरणलाई पनि थाहा छ, यात्रा लामो छ भनेर ।
गोलकिपरको भुमिकामा नेपालबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि किरणकै नाममा छ । दोस्रो स्थानमा रहेका उपेन्द्रमानले नेपालबाट ५० खेल खेलेका छन् । किरणको नाममा सर्वाधिक २४ खेलमा गोल नखाएको कीर्तिमान छ ।
नेपालका लागि धेरै कीर्तिमान बनाइसकेका किरणको नाममा अझ धेरै कीर्तिमान बन्न बाँकी नै छ । किरणलाई पनि थाहा छ, यात्रा लामो छ भनेर ।
‘यो बीचमा मैले आफैसँग युद्ध लडिसकेँ । त्यो चिउडो फुटेको पहिलो दिनदेखी आजसम्मको मेरो यात्रा पक्कै सहज थिएन् । भोली मेरो नाममा सबभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बन्नेछ,’ किरण भावुक हुन्छन्, ‘इतिहास भनेको त बन्दै गर्छ । तर देशका लागि खेल्न पाउनु सबभन्दा ठूलो कुरा हो । मैले अझ धेरै गर्न बाँकी छ ।’