ब्वाइज युनियन

ब्वाइज युनियनसँगको श्याम थापाको ‘त्यो साइनो’

नेपालमा जन्मिएर लामो समय भारतीय फुटबलमा तहल्का मच्चाएका सुपरस्टार श्याम थापा अहिले काठमाडौंमा छन् । जन्मथलोमा उनको आउजाउ भइरहन्छ । कोलकातामा स्थायी बसोबास गर्ने थापाको यसपालिको आगमन विशेष छ । उनी कोलकाताको गर्मी छल्न काठमाडौं आएका होइनन् । फुटबलको एउटा अपूर्व जमघटमा सरिक हुन थापा काठमाडौं आइपुगेका हुन् । झन्डै चार दशकअघि फुटबल खेलेको क्लब ब्वाइज युनियनको निम्तो मान्न, खेल्दाका साथीभाइ भेट्न, युवा हुँदाको रोमाञ्चक स्मरणमा हराउन उनी यसपालि काठमाडौं आएका हुन् ।

‘यसपालि मलाई बुढो भएजस्तो लागेकै छैन । जवान नै छु जस्तो अनुभव भइरहेको छ । सबै पुराना साथीभाइसँग भेट्न पाउने कुराले निकै उत्साही छु । जवानीमा काठमाडौंमा खेल्दाका दिनहरू भल्झली दिमागमा आइरहेको छ,’ अघिल्लो सातामात्र भारतीय फुटबलको महारथी मोहन बगानमा प्रतिष्ठित मोहनरत्न अवार्डबाट सम्मानित थापा खेलाडी डटकमसँगको भेटमा रोमाञ्चित भए ।

'मेरो घरपरिवार सबै यतै भएकाले नेपालमा नियमित आउजाउ भइरहन्छ । बीचमा प्रशिक्षकको जिम्मेवारी लिएर पनि नेपाल आएँ । तर यसपालिको आगमन चाहिँ अलि फरक र भावुक रहेको छ ।'

ब्याइज युनियन क्लबले आज शनिबार आफ्ना पुराना खेलाडीहरूको सम्मानमा आयोजना गरेको जमघटमा भाग लिन थापा नेपाल आएका हुन् । क्लबका पूर्वअध्यक्ष बोधबहादुर राउतले आफू नेतृत्वमा रहँदा ब्वाइज युनियनबाट फुटबल, क्रिकेट, ब्याडमिन्टन र टेबलटेनिस खेलेका खेलाडीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिन बोलाउनेक्रममा थापा पनि काठमाडौं निम्त्याइएका हुन् ।

‘मलाई पहिलो पटक काठमाडौंमा बोलाउने पनि बोधबहादुर राउत नै हुन् । पहिलो पटक म उनकै जोडबलका कारण ब्वाइज युनियनबाट खेल्न काठमाडौं आएको थिएँ । उमेरमा खेलेर गरेको योगदान सम्झिँदै फेरि उनैले काठमाडौं बोलाएका छन् । यसबीचमा म थुप्रै पटक आफैं खेल्नका लागि काठमाडौं आएँ । मेरो घरपरिवार सबै यतै भएकाले नेपालमा नियमित आउजाउ भइरहन्छ । बीचमा प्रशिक्षकको जिम्मेवारी लिएर पनि नेपाल आएँ । तर यसपालिको आगमन चाहिँ अलि फरक र भावुक रहेको छ,’ थापा भावुक भए ।

खेलाडीका रूपमा गरेको योगदान सम्झिएर बोलाएकाले होला परिस्थितिले भारतीय नागरिकता अंगाल्नु परे पनि नेपाली मनका थापा अचेल ढोलाहिटीस्थित काकाको घर कम्पाउन्डमा बसिरहँदा पहिलो पटक फुटबल खेल्न काठमाडौं आउँदाकै प्रसंगहरू सम्झिएर रोमाञ्चित भइरहन्छन् । कहिलेकाहीँ एक्लै मुस्कुराउँछन्, अट्टहास लिन्छन् अनि वर्तमानमा फर्किएर आफैंसँग लजाउँछन्, कसैले देख्न त देखेन ।

नेपालमा जन्मिएर पनि आफ्नो देशका लागि फुटबल खेल्न नपाएको पीडा उनीसँग थियो । भारतभित्र कोलकातामा फुटबलको लोकप्रियता थेगिनसक्नु थियो । अनि एउटा नेपाली ठिटोले त्यहाँको फुटबलमा आगो बालिरहेको थियो । मोहन बगान र भारतीय राष्ट्रिय टोलीको मुख्य स्ट्राइकरको भूमिकामा सफलताका सिँढीहरू उक्लिँदै गरेको त्यो ठिटोलाई दक्षिण एसियाको पेले उपनाम दिइन थालेको थियो । हो त्यही ठिटोको नाम हो, श्याम थापा ।

ठ्याक्कै तिथिमिति उनलाई याद छैन । २०३४-३५ सालतिरको कुरा हो । थापा आमाबाबालाई भेट्न १० दिनको बिदामा घर आएका थिए । पुख्र्यौली घर गुल्मीको भार्सा भए पनि उनको परिवार भैरहवा मधेस झरिसकेको थियो । थापा भैरहवा आएको सुइँको त्यो बेला ब्वाइज युनियन क्लब चलाइरहेका बोधबहादुर राउतले पाए । काठमाडौंमा कुनै एउटा प्रतियोगिता चल्दै थियो । त्यतिबेला नेपाली फुटबलमा राम्रै प्रभाव जमाएको ब्वाइज युनियनसँग सहभागी नहुने त कुरै भएन ।

राउत श्रवण श्रेष्ठलाई लिएर मोटरसाइकलमा भैरहवा हानिए । आफ्नो क्लबका लागि जतिसुकै मिहिनेत गर्न पनि पछि नपर्ने प्रशासकका रूपमा परिचय बनाएका राउतले मातापिता भेट्न मोहन बगानबाट बिदामा आएका थापालाई काठमाडौंमा ल्याएर ब्वाइज युनियनबाट खेल्न मञ्जुर गराए ।

यसको पछाडि राउतको स्वार्थ थियो, दक्षिण एसियाकै सर्वोत्कृष्ट खेलाडीको परिचय बनाइसकेका थापालाई आफ्नो क्लबको जर्सीमा दशरथ रंगशालाको मैदानमा उतार्ने र नेपाली फुटबलको राजा आफू भएको प्रमाणित गर्ने । फेरि केही समयअघि मात्र विश्व फुटबलका राजा पेलेको न्युयोर्क कसमस एउटा मैत्रीपूर्ण खेलका लागि कोलकाता आएको थियो । पेलेको कसमस र थापाको मोहन बगानबीचको मैत्रीपूर्ण खेलको नतिजा २-२ को बराबरी निस्कियो । त्यसमा भारतीय टोलीका लागि एउटा गोल थापाले नै गरेका थिए । त्यसबाट थापाको क्रेज थेगिनसक्नु थियो । त्यस्ता सुपरस्टारलाई ब्वाइज युनियनको टिमबाट दशरथ रंगशालामा उतार्न सके क्लबको रवाफ एकाएक चुलिने राउतको विश्वास थियो ।

पहिलो दफा नेपालबाट खेल्नका लागि भनेर मलाई भेटन बोधबहादुर राउत आएका थिए । उनले आएर मलाई दाइ अब नेपालबाट खेल्नुपर्यो । ब्वाइज युनियनबाट खेल्नुपर्यो भने ।

यस्तै स्वार्थ बोकेर राउत र श्रेष्ठ भैरहवा पुगेका थिए । सुरुमा थापाले मानेनन् । मोहन बगानबाट त्यो बेलाको कीर्तिमानी रकममा व्यावसायिक फुटबल खेलिरहेका थापा बिदाको बेला आमाबाबा भेट्न र आराम गर्न मात्र नेपाल आएका थिए ।

‘मलाई थाहा छैन, ऊ कसरी आयो भनेर । तर पहिलो दफा नेपालबाट खेल्नका लागि भनेर मलाई भेटन बोधबहादुर राउत आएका थिए । उनले आएर मलाई दाइ अब नेपालबाट खेल्नुपर्यो । ब्वाइज युनियनबाट खेल्नुपर्यो भने । मैले म बिदा मनाउन आएको, मोहन बगानबाट व्यावसायिक खेलिरहेको छु । यहाँ खेल्दा चोट लाग्यो भने बर्बाद हुन्छ भनेँ । उनले होइन दाइ त्यस्तो केही हुँदैन । तपाईंले नेपालबाट पनि खेल्नैपर्छ भनेर मलाई कन्भिन्स गराए,’ थापाले सम्झिए ।

राउतले त्यसपछि मात्र थापालाई भनेछन्, ‘खेल त्यही दिन छ भनेर । खेल दिउँसो साढे २-३ बजेतिर हुने न हो । हामी तुरुन्तै तयार भएर भैरहवा एयरपोर्टतिर लाग्यौं । मलाई अहिले पनि सम्झना छ । १०-१२ जनामात्र अटाउने सानो जहाज थियो । त्यो समयमा आएन । यहाँ खेल सुरु हुन धेरै समय बाँकी थिएन । त्यो बेला ढिलो भएकामा बोधबहादुर राउतको अनुहारमा देखिएको तनाब मलाई अहिले पनि झल्झली आउँछ । बोधबहादुर यति तनावमा थिए कि जहाजमै मलाई दाइ ढिलो भइसक्यो, यहीँ लुगा फेरौं । जर्सी लगाउनुस् भन्न थाल्यो । मैले जहाजमा मानिसको अगाडि लुगा फेर्ने काम म गर्दिनँ । फेरि मेरो ब्याग पनि पछाडि छ भनें । तर उसले पछाडि भए पनि म ल्याउँछु भने । उनी यति धेरै तनावमा थिए ।’

काठमाडौं आइपुगेपछि थापासँग स्मरण झनै रमाइलो छ । त्रिभुवन विमानस्थलमा जहाजबाट ओर्लिंदा रगशालामा खेल सुरु हुने बेला भइसकेको थियो । ‘विमानस्थलमा ब्वाइज युनियनका ३०-३५ केटाहरू मलाई लिन आएका रहेछन् । सात आठ वटा गाडी थियो । बाटोमा तिनै केटाहरूले ट्राफिक व्यवस्थापन गर्दै मेरो कारलाई राजाको सवारी जसरी रंगशाला पुर्याए । मैले कारमै लुगा फेरें । त्यसरी कारमै जर्सी बुट लगाएको मेरो त्यति लामो फुटबल करियरमा त्यही एक पटक हो,’ थापा रोमाञ्चित हुन थाले, ‘हामी पुग्न ढिलो भएपछि विपक्षी टिम को थियो, त्यो मैले अहिले बिर्सिएँ । उनीहरूले खेल तुरुन्त सुरु गर्न दबाब दिन थालेछन् । नभए वाकओभर दिनुपर्छ भनेर रेफ्रीहरूलाई दबाब दिएछन् । तर ब्वाइज युनियनले श्याम थापा खेल्ने भनेर प्रचार गरेको रहेछ । श्याम थापालाई हेर्न भनेर पूरा रंगशाला भरिएको रहेछ । त्यति धेरै दर्शक आएको खेल एबेन्डन गराउन सम्भव थिएन । दर्शक पनि हामी रंगशाला पुग्न ढिलो भएपछि खोइ श्याम थापा भनेर हल्ला गरिरहेका रहेछन् । हामी जसै रंगशाला पुग्यौं । त्यहाँ ब्वाइज युनियनका स्वयंसेवकले भिडको बीचबाट म छिर्ने बाटो क्लियर गराए । म रंगशाला छिर्दा पूरा रंगशालामा दर्शकहरूबाट आयो आयो भनेर आवाज गुञ्जन थाल्यो । त्यो आवाज अहिले पनि मेरो कानमा गुञ्जिइरहन्छ । आफ्नो देशमा आफ्नो स्वागतमा जनताबाट त्यस्तो आत्मीयता पाउँदा म निकै भावुक बनेको थिएँ ।’

थापा काठमाडौंको त्यतिखेरको फुटबल संस्कार सम्झिँदा अहिले पनि उत्साही हुन्छन् । आफू मैदान उत्रिएका हरेक खेलमा रंगशालाभरि खचाखच दर्शक, राजपरिवारबाट पाउने माया र साथ सम्झँदा रोमाञ्चित नहुनु पनि किन ?

त्यस्तै गौरवगाथा शनिबार तिनै स्वर्णिम दिनका सहयात्रीहरूसँग ब्वाइज युनियन क्लबको जमघटमा फेरि स्मरण गरिनेछ । खेलाडी जीवनको केटौलेपना बुढेसकालमा काठमाडौंको होटलमा फर्किनेछ ।

‘एकपटक हाम्रो खेल दिल्लीको टिमसँग थियो । म ब्वाइज युनियनबाट खेलेको थिएँ । मैदानमा दिल्लीको एकजना खेलाडीले मलाई फाउल गर्यो । राति होटलमा त्यतिबेलाका अधिराजकुमार धीरेन्द्र सरकार आउनुभयो । उहाँले अलिकति पिइसक्नुभएको थियो । त्यसपछि त्यो इन्डियन खेलाडी कहाँ छ । हाम्रो श्यामजीलाई हान्ने त्यो इन्डियन कहाँ छ । त्यसलाई म ठिक पार्छु भन्न थाल्नुभयो । हामीले यसो गर्नुहुँदैन । उनीहरू हाम्रा पाहुना हुन् । फेरि त्यस्तो सामान्य फाउल त फुटबलको पार्ट नै हो नि भनेर सम्झायौं,’ थापाले गौरवसाथ सुनाए ।

त्यस्तै गौरवगाथा शनिबार तिनै स्वर्णिम दिनका सहयात्रीहरूसँग ब्वाइज युनियन क्लबको जमघटमा फेरि स्मरण गरिनेछ । खेलाडी जीवनको केटौलेपना बुढेसकालमा काठमाडौंको होटलमा फर्किनेछ ।

त्यही कारण त हो, थापा कोलकाताका मुख्यमन्त्री उपस्थित हुने मोहन बगानको कार्यक्रम छाडेर काठमाडौं आएको अनि धन्यवाद ज्ञापनको बहानामा यस्तो अनुपम अवसर जुराउने बोधबहादुर राउतप्रति धन्य महसुस गरेको ।