काठमाडौं । सन् १९६४ को सुब्रतो मुखर्जी कप फाइनल । उपाधिका लागि गोर्खा मिलिटरी स्कुल र अन्जुमन इस्लाम स्कुल भिड्दै थिए । गोर्खा मिलिटरी च्याम्पियन बन्यो । गोर्खाका लागि निर्णायक गोल गर्ने खेलाडी थिए, श्याम थापा । हो यही बिन्दुबाट थापालाई भारतीय फुटबलले चिनेको थियो ।
तर, भारतको घरेलु फुटबल संरचनामा उनलाई प्रवेश गराउने श्रेयचाहिँ ज्योतिष गुहालाई जान्छ । पश्चिम बंगालको दुई चर्चित क्लबमध्ये एक इस्ट बंगालका महासचिव थिए गुहा । उनको परिचय यतिमै सीमित थिएन । उनलाई नयाँ प्रतिभा पहिचान गर्न माहिर व्यक्तिका रूपमा सम्मान गरिन्थ्यो । आधुनिक फुटबलको भाषामा भन्दा स्काउट ।
गुहा कुनै एक मैत्रीपूर्ण खेल हेर्न पश्चिम भारतको देहरादुन पुगेका थिए । उनले फरवार्ड थापालाई त्यहीं देखे । थापाको खेलले उनलाई लोभ्यायो वा उनमा भएको ‘स्काउट’ जाग्यो । त्यसपछि किशोर उमेरमा रहेका थापालाई गुहाले कोलकाता आउने निम्तो दिए ।
त्यसबेला कोलकाता फुटबल लिग (सिएफएल)को ख्याति गजबको थियो । उपाधि जित्न इस्ट बंगाल र मोहन बगानबीच ठूलो प्रतिस्पर्धा चल्थ्यो । सन् १९६६ सिजनका लागि गुहाले थापालाई इस्ट बंगालको टिममा अनुबन्ध गराए । १८ वर्षीय थापाले आफ्नो पहिलो खेलमै राजस्थान फुटबल क्लबविरुद्ध ह्याट्रिक गरे ।
भर्खर नाम सुनिएका किशोर खेलाडीबाट कोलकाता लिगमा ‘डेब्यु’ खेलमै ह्याट्रिक । त्यसपछि त के चाहियो र । नेपालको गुल्मीमा जन्मिएका थापा अब भारतीय क्लब फुटबलमा ‘सरप्राइज प्योकज’ बने । थापा त्यो वर्ष इस्ट बंगालमै रहे । उमेरमा फुच्चे नै रहेका थापाले बंगालको त्यो दबाबयुक्त लिगमा आफूले सकेको जति गरे ।
इस्ट बंगालमा एक वर्ष खेलेपछि थापा देहरादुन फर्किए । पिताको पदचाप पछ्याउँदै भारतीय सेनामा भर्ती भए । अनि गोर्खा ब्रिगेडबाट खेल्न थाले । गोर्खा बिग्रेडले भारतीय घरेलु प्रतियोगिता डुरान्ड कप खेल्थ्यो । त्यहाँ उसले भारतीय फुटबलमा नाम चलेका क्लबहरूलाई आच्छुआच्छु पार्ने गर्थ्यो । सन् १९६६ मा त टोली च्याम्पियन नै बनेको थियो ।
गोर्खा ब्रिगेडबाट खेल्दा नै थापा भारतीय फुटबलको थप निगरानीमा परे । सन् १९६९ को डुरान्ड कप फाइनलमा गोल गर्नु उनको करियरको ‘टर्निङ प्वाइन्ट’ बन्यो । त्यस खेलमा उनले बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ)विरुद्ध निर्णायक गोल गरेका थिए ।
त्यो फाइनल खेल हेर्न भारतीय सेनाका जनरल साम मानेक्स पनि उपस्थित थिए । साम ‘बहादुर’का नामले प्रख्यात उनको गोर्खा सैनिकसँग गजबको नाता थियो । ‘यदि कसैले मर्नबाट डर लाग्दैन भन्यो भने कि त ऊ गोर्खा हुनुपर्छ, कि त उसले ढाँटिरहेको हुनुपर्छ’ यो भनाइका लागि प्रख्यात रहेका साम कुनैबेला गोर्खा रेजिमेन्टका प्रमुख थिए ।
उनै सामले डुरान्ड कप जितेका थापा र उनका साथीहरूलाई आफ्नो निवासमा बोलाए । भोज खुवाए । त्यहीबेला थापाले सामसमक्ष विशेष अनुरोध राखे । जुन थियो, भारतीय सेनाको जागिरबाट छुटकारा । ता कि व्यावसायिक फुटबल करियर अघि बढाउन सकियोस् ।
सामले थापाको माग सम्बोधन गरिदिएँ । अब थापा भारतका जुनसुकै क्लबसँग आबद्ध हुन पाउने भए । त्यसपछि उनी सन् १९७० मा पुरानै क्लब इस्ट बंगाल फर्किए । त्यहाँ पुगेकै वर्ष उनले कोलकाता लिग जिते । तर फेरि पनि उनको इस्ट बंगाल बसाइ एक वर्षभन्दा लामो भएन ।
उनले कोलकाताबाट मुम्बईतर्फ हानिने निर्णय लिए । इस्ट बंगाल छाड्नुको मुख्य कारण मुम्बईबाट आएको महँगो प्रस्ताव थियो । उनलाई प्रस्ताव राखेको थियो, मफाटलाल हिल्स नाम गरेको धागो उद्योगको फुटबल टिमले । त्यहाँ गोर्खा ब्रिगेडका साथीहरू पनि आबद्ध भएकाले थापा मुम्बई जान लोभिएका थिए ।
मुम्बई गएपछि इस्ट बंगालले फर्किनका लागि थापालाई पटक पटक अनुरोध गरिरह्यो । तर, थापा केही वर्ष मुम्बईमै रहे । किनभने उनलाई मफाटलाल हिल्सले जागिर पनि दिएको थियो । इस्ट बंगाल गएर फुटबलमात्र खेल्ने विकल्प उनले रोज्न चाहेनन् ।
सन् १९७० थापाका लागि महत्त्वपूर्ण वर्ष रह्यो । किनभने उनले भारतीय राष्ट्रिय टिमबाट एसियाड र मर्डेका कप खेले । एसियाडको पुरुष फुटबलतर्फ भारतले तेस्रो स्थान प्राप्त गर्यो । इन्डोनेसियाविरुद्धको अन्तिम आठको खेलमा उनले गोल पनि गरे । कांस्य पदकका लागि जापानसँग भएको भिडन्तमा भने भारतका लागि नेपाली मूलका अर्का खेलाडी अमरबहादुर गुरुङले गोल गरेका थिए । उनकै गोलका कारण भारतले जापानलाई स्तब्ध बनाउन सक्यो । मर्डेका कपमा पनि भारत तेस्रो भएको थियो । त्यहाँ पनि थापाले गोल गरे ।
|
सन् १९७४ मा थापा कोलकाता फर्किए । इस्ट बंगालका त्यतिबेलाका कप्तान सान्टो मित्राको अनुरोध टार्न नसकेपछि थापा कोलकाता फर्किएका हुन् । सुरुमा त थापाले मुम्बईको जागिरलाई देखाएर मित्राको अनुरोध आलटाल गरिरहेका थिए । तर मित्राले कोलकातामै जागिर खोजिदिन्छु भनेपछि थापा त्यता गएका थिए ।
थापा पुगेकै वर्ष इस्ट बंगालले कोलकाता लिग जित्यो । इस्ट बंगालका लागि त्यो लगातार पाँचौं लिग उपाधि थियो । यही उपाधिसँगै इस्ट बंगालले मोहम्मडन स्पोर्टिङ क्लबले राखेको कीर्तिमान बराबरी गरेको थियो । मोहम्मडन सन् १९३४ देखि १९३८ सम्म लगातार पाँच पटक च्याम्पियन बनेको थियो ।
सन् १९७५ सिजनमा इस्ट बंगालले आफ्ना केही मुख्य खेलाडी गुमायो । ती खेलाडीलाई मोहम्मडनले अनुबन्ध गरेको थियो । यसो गर्नुको कारण थियो, इस्ट बंगाललाई कमजोर बनाउने र लगातार सर्वाधिक पटक उपाधि जितेको कीर्तिमान भंग गर्न नदिने ।
मोहम्मडनको यो शैलीका कारण थापामा इख पलायो । त्यसपछि उनले लक्ष्य बनाए, जसरी हुन्छ इस्ट बंगाललाई लगातार छैटौं पटक कोलकाता लिग विजेता बनाउने । त्यसबेला इस्ट बंगालमा थापाबाहेक अर्का मुख्य खेलाडी थिए सुभाष भौमिक । यी दुईको तालमेल गजबको थियो ।
कोलकाता लिगको सुरुआती चरणमै इस्ट बंगालले मोहन बगानको सामना गर्नुपर्ने थियो । उनले त्यस खेलमा मोहन बगानका चार खेलाडीलाई बिट गरेर गोल गरेका थिए । फुटबल वेबसाइट गोलडटकमलाई दिएको एक अन्तर्वार्तामा थापाले त्यो गोललाई आफ्नो करियरकै सर्वोत्कृष्ट गोल मानेका छन् । मोहम्मडनसँगको खेलमा पनि थापाले गोल गरे । त्यो खेल इस्ट बंगालले ३–१ ले जितेको थियो ।
त्यसरी दुई प्रतिद्वन्द्वीलाई हराउँदै इस्ट बंगाल लिग उपाधि होडमा कसैले छुन नसक्ने गरी अघि बढेको थियो । इस्ट बंगालले त्यस्तो प्रदर्शन गर्नुमा थापाको भूमिका महत्त्वपूर्ण थियो । अन्ततः त्यो वर्ष इस्ट बंगालले कोलकाता लिग मात्रै होइन आइएफए सिल्ड पनि जित्यो । आइएफए सिल्डको फाइनलमा इस्ट बंगालले मोहन बगानलाई लज्जास्पद हार चखाएको थियो ।
त्यो खेल इस्ट बंगालले ५–० ले जितेको थियो । थापा एक्लैले दुई गोल गरेका थिए । पेनाल्टीमा नचुकेको भए उनी कोलकाता डर्बीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्थे । यो कीर्तिमान भाइचुङ भुटियाले राखे । आइएफए सिल्डमा आफ्नो सहरी प्रतिद्वन्द्वी इस्ट बंगालसँग हारेको सहन नसकेर मोहन बगानका एक समर्थकले आत्महत्या नै गरेका थिए । त्यो घटनाले थापालाई असाध्यै दुःखी बनायो । त्यही घटना बिर्सन उनी सन् १९७७ मा मोहन बगानसँग अनुबन्धित भए । उनी उपाधि जितेर मोहन बगानका समर्थकलाई खुसी बनाउने उद्देश्यसहित त्यता गएका थिए ।
पीके बेनर्जीको नेतृत्वमा रहेको इस्ट बंगाल त्यतिबेला भारतीय फुटबलकै सर्वाधिक बलियो टिम बनेको थियो । लगातार उपाधि जितेको टिममा थापा लिडर बनेका थिए । करिब दुई वर्ष इस्ट बंगालमा रहँदा थापा कोलकाता फुटबलका निर्विवाद ठूला स्टार बनिसकेका थिए ।
|
सन् १९७७ मा मोहन बगान जाँदा उनी त्यतिबेलाको सर्वाधिक महँगा खेलाडी बने । मोहन बगानले उनलाई अनुबन्ध गरेबापत ५० हजार रुपैयाँ तिरेको थियो । त्यस वर्ष मोहन बगानले तीन प्रतियोगिता जितेर इतिहास रच्यो । मोहन बगानलाई एकै सिजन आइएफए सिल्ड, रोभर्स कप र डुरान्ड कप जिताएपछि थापाको ख्याति उत्कर्षमा पुग्यो । मोहन बगानले त्यसअघि कहिले पनि एकै सिजन तीन प्रतियोगिता जितेको थिएन ।
सन् १९७७ देखि १९८० सम्म थापाले लगातार चार वर्ष डुरान्ड कपको फाइनल खेले । सन् १९७७ बाहेक १९७९ र १९८० को फाइनल मोहन बगानले जित्यो । सन् १९७८ को उपाधि भिडन्तमा भने मोहन बगानलाई इस्ट बंगालले पराजित गरेको थियो । त्यही अवधिमा मोहन बगानले आइएफए सिल्ड पनि लगातार तीन पटक जित्न सफल भयो । मोहन बगानको कप्तानी सम्हाल्दै थापा सन् १९८२ सम्म त्यही रहे । सन् १९७७ मा पेलेको नेतृत्वमा भारत आएको अमेरिकी टिमसँग खेल्दै गोल गर्नु उनको करियरको अर्को ‘हाइलाइट’ रह्यो ।
थापाले सन् १९७० देखि १९७७ सम्म भारतीय टिमबाट लगातार खेल्न पाए । सन् १९७८ को श्रीनगर राष्ट्रिय प्रतियोगितापछि चाहिँ भारतीय टिममा थापाको स्थान धरापमा प¥यो । सन् १९७८ को एसियाडका लागि घोषित भारतीय टिममा उनलाई राखिएन । उनलाई टिममा नराखेकोमा व्यापक विरोध भयो । तर टिम छनोटकर्ताहरूले थापाको स्पिडमा कमी आएकाले उनलाई टिममा राख्न नसकिएको स्पष्टीकरण दिए । उनका लागि बदलिँदो अन्तर्राष्ट्रिय फुटबल सजिलो नहुने उनीहरूको तर्क थियो ।
थापालाई टिममा नराखिएको थाहा पाएपछि त्यसबेला भारतीय सेनाका पाँचतारे जनरल भइसकेका सामले हस्तक्षेप गरे । अखिल भारतीय खेलकुद परिषद्को अध्यक्ष रहेको नाताले सामले थापालाई तुरुन्त टिममा डाक्न निर्देशन दिए । तर, थापा टिममा फर्किएनन् । कप्तानका रूपमा एसियाड खेल्ने अपेक्षा गरिएका थापाले राष्ट्रिय टिमबाटै संन्यास लिए ।
सक्रिय खेलजीवनबाट संन्यास लिएपछि उनी प्रशिक्षणमा होमिने भए । त्यसको तयारीस्वरुप उनले इङ्ल्यान्ड फुटबल संघबाट सन् १९८७ मा डिप्लोमा गरे । त्यसपछि इस्ट बंगाल फर्किएर प्रशिक्षण करियर सुरु गरे । त्यहाँ उनको जिम्मामा युवा टिम थियो । सन् १९८८ मा भने उनलाई भारतीय युवा टिमको प्रशिक्षक बनाइयो ।
कुनै पनि विदेशी राष्ट्रिय टिमको प्रशिक्षक बन्ने पहिलो भारतीय प्रशिक्षक बनेका थापाले केही वर्ष नेपाली टिम पनि सम्हाले । सुरुमा युवा फुटबल विकास परियोजनाको नेतृत्व गर्ने भनेर जन्मथलो फर्किएका उनलाई पछि राष्ट्रिय टिम सम्हाल्न आग्रह गरिएको थियो । उनको प्रशिक्षणमा नेपालले केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यसमध्ये एक थियो, एएफसी च्यालेन्ज कप २००६ । नेपाल त्यतिबेला अन्तिम चारमा पुगेर श्रीलंकासँग पेनाल्टीमा पराजित भएको थियो ।
नेपालबाट भारत फर्किएपछि विभिन्न एकेडेमीका प्रमुख बनेका थापाले एसियाली फुटबल महासंघ (एएफसी)को युवा फुटबल विकास परियोजनाको नेतृत्व पनि गरे । उनले सन् २००९ मा पश्चिम बंगालको दार्जिलिङ र नेपाली भाषी रहेका अन्य स्थानमा एकेडेमी सञ्चालन गर्ने योजना बनाएका थिए । तर, कारणवश उनी त्यस योजनमा सफल हुन सकेनन् ।
|
सन् २०१७ देखि भने थापा भारतीय फुटबल संघ (एआइएफएफ) को टेक्निकल कमिटीका प्रमुखको रूपमा कार्यरत छन् । जहाँ ७४ वर्षीय थापाले भाइचुङ भुटियालाई प्रतिस्थापन गरेका थिए ।
एसियाली खेलकुदमा कांस्य पदक जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेपछि उनले भारतीय फुटबलमा महान खेलाडीको दर्जा बनाएको कोलकातामा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार सवा नायकन बताउँछन् ।
‘एउटा खेलाडी, प्रशिक्षक, प्रशासक र मानिसका रुपमा उनको अरु कसैसँग तुलना हुन सक्दैन । वास्तवमै श्याम थापा एकजना महान फुटबलर र महान व्यक्ति हुनुहुन्छ,’ खेलाडीसँगको कुराकानीमा सवा नायकन भन्छन्, ‘श्याम थापाले क्लब स्तरमा सम्भव भएजति सबै उपलब्धि हासिल गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरमा भने भारतीय फुटबल त्यति माथिल्लो स्तरमा नभएकाले उहाँ पनि निराश बन्नुपर्यो । तर उहाँमा धेरै ठूलो सम्भावन थियो ।’
एउटा काल्पनिक प्रश्न, श्याम थापा अहिले भर्खर २० वर्षको पट्ठो भएको भए कस्तो हुन्थे होला ? सवा नायकन भन्छन्, ‘पक्कै पनि उहाँले बेङ्लुरु एफसीसँग सम्झौता गर्नुहुन्थ्यो र सुनील क्षेत्रीलाई स्थानान्तरण गर्दै आगामी १० वर्ष कम्तिमा राज गर्नुहुन्थ्यो ।'