सञ्जीव मिश्र
नेपाली मूलका खेलाडीमा अहिलेसम्म श्याम थापाजस्तो अर्का फुटबलर जन्मिएका छैनन् । श्याम थापा नेपाली मूलका समर्थकबीच निकै लोकप्रिय नाम हो । २०३० को पूरा दशक र २०४० को दशकको आधा समयसम्म श्याम थापाले भारतीय फुटबलमा राज गर्नुभयो । नेपाली मूलका समर्थकको बीचमा मात्र नभई एक अर्ब हाराहारीको जनसंख्या भएको भारतमा ‘श्याम थापा’ भनेको सुपरस्टार नाम थियो ।
फुटबलरको रूपमा श्याम थापा जति लोकप्रिय हुनुहुन्थ्यो, त्यति नै उहाँको जर्सी नम्बर २२ पनि समर्थकका बीच प्रिय थियो । थापाले नेपालमा २०३० को दशकको अन्त्यतिर र २०४० को दशकको सुरुआती वर्षमा ब्वाइज युनियन क्लबको जर्सीमा नेपालबाट पनि खेल्नुभयो । ब्वाइज युनियनबाट तीन/चार सिजन जति उहाँले त्रिभुवन च्यालेन्ज सिल्डलगायतका नकआउट प्रतियोगिता खेलेको मलाई याद छ ।
श्याम थापा त्यो समयमा करियरको उत्तरार्धमा हुनुहुन्थ्यो । उमेर पनि ढल्कँदो थियो । तर, बल आफूसँग हुँदा उहाँले चार/पाँच जना विपक्षी रक्षकलाई गन्नु नै हुदैनथ्यो । सिधै बीचबाट बल पेनिट्रेट गरेर लानसक्ने क्षमता उहाँमा थियो । भिडको बीचबाट पनि स्पेस क्रिएट गरी पास गर्न सक्ने अद्भूत क्षमताका कारण विपक्षी टोलीको रक्षापंक्तिलाई श्याम थापा सधैं टाउको दुखाइ बन्ने गर्नुहुन्थ्यो ।
अहिले जस्तो त्यो बेला फुटबल आधुनिक थिएन । खेल्ने शैली परम्परागत हुन्थ्यो । खेलाडीले अहिलेजस्तो पोजिसन स्वीच गरी गरी खेल्ने चलन थिएन । अधिकांश समयजसो खेलाडीहरूले आफ्नै पोजिसनमा बसेर खेल्थे । आफ्नो जोन कभर गर्नुपर्ने जिम्मेवारी हुन्थ्यो । तर श्याम थापा अग्रपंक्तिमा पूरै छाउनुहुन्थ्यो । पूरा रक्षापंक्ति एक्लै हल्लाउनुहुन्थ्यो । त्यही कारण पूरा विपक्षी टोलीको लक्ष्य भनेकै श्याम थापालाई रोक्नु हुन्थ्यो ।
अचेल ब्याक भली भन्ने गरिएको सटलाई त्यतिबेला ‘बाइसाइकल किक’ भन्ने गरिन्थ्यो । निकै आकर्षक ब्याक भली प्रहार गर्न माहिर थापालाई ‘बाइसाइकल किक किङ’ भनेर चिनिन्थ्यो । करियरको अन्तिम अवस्थातिर ब्वाइज युनियनबाट खेल्न आउँदा पनि उहाँले ब्याक भली हान्ने प्रयास गर्नुहुन्थ्यो । ढल्कँदो उमेरमा पनि उहाँ पूरा नेपाली फुटबल हल्लाउन सक्षम हुनुहुन्थ्यो । यसबाट पनि ‘श्याम थापा नेपाली मूलको फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो’ भन्न सकिन्छ ।
ब्वाइज युनियनबाट खेल्न श्याम थापा नेपाल आउँदा म सानै थिएँ । प्राविधिक रूपमा उहाँको खेलबारे धेरै याद छैन । त्यतिबेला अहिले जस्तो टेलिभिजन र अन्य मिडिया बलियो थिएन । नेपालीहरूसँग टीभीको पहुँच थिए । मानौं हेर्दैनथिए । रेडियोमा कमेन्ट्री सुनेर फुटबलको धित मार्नुपर्ने बेला थियो । काठमाडौंमा पनि रेडियो कमेन्ट्रीमार्फत फुटबल पछ्याउने चलन थियो । अल इन्डिया रेडियोमा आउने भारतीय कमेन्ट्री नै नेपाली समर्थकको विदेशी फुटबलसँग जोडिने माध्यम थियो । श्याम थापाले भारतमा राज गरिरहेका बेला रेडियोमै सुनेर धेरै नेपालीले उहाँलाई चिनेका हुन् ।
टेलिभिजनको जमाना नभएका कारण रेडियोमा मात्र सुनेको नामको खेलाडी प्रत्यक्ष मैदान उत्रिने भनेपछि ब्वाइज युनियनबाट श्याम थापा खेल्न आउँदा दशरथ रंगशालामा दर्शक खचाखच भरिन्थ्यो । त्यसमध्ये अधिकांश उनै थापालाई हेर्न आउनेहरू हुन्थे ।
उहाँले मोहन बगानको टिमबाट न्युयोर्क कसमस क्लबसँग एउटा प्रदर्शनी खेल खेल्नुभएको थियो । फुटबल इतिहासकै सबैभन्दा सर्वोत्कृष्ट खेलाडी पेलेको नेतृत्वमा कसमस क्लब २०३४ सालमा भारत भ्रमणमा आएको थियो । विश्वकै सबैभन्दा ठूलो सुपरस्टार खेलाडीको टिमसँग मोहन बगानले २-२ को बराबरी नतिजा निकाल्यो । त्यो खेलमा श्याम थापाले पनि एक गोल गर्नुभयो ।
विश्वका नम्बर एक खेलाडीको टिमसँग खेल्दै श्याम थापाले गोल गरेको खेलको जानकारी नेपाली समर्थकले रेडियो कमेन्ट्रीबाटै पाएका थिए । फुटबल काठमाडौंमा निकै लोकप्रिय थियो । काठमाडौंको संस्कार नै थियो, फुटबल । त्यसैले त्यो खेललाई धेरैले प्रत्यक्ष कमेन्ट्री सुनेरै मज्जा लिएका थिए । भारतीय कमेन्टेटरले आफ्ना खेलाडीले विश्वस्तरीय खेलाडीविरुद्ध गरेको प्रदर्शनको राम्रै तारिफ गरेका थिए । त्यति धेरै तारिफयोग्य खेलाडीको खेल प्रत्यक्ष हेर्न नेपाली समर्थकहरू निकै उत्सुक थिए । त्यसमाथि उहाँ नेपाली भन्ने थाहा पाउनेहरूको व्यग्रता त झनै थियो । यही कारण पनि हो, उहाँले खेल्ने हरेक खेलमा रंगशाला खचाखच हुन्थ्यो ।
खेलाडीका रूपमा ब्वाइज युनियनबाट खेल्नुबाहेक उहाँले पूर्वतिरका केही प्रतियोगितामा आफैले एसेम्बल गरेको टिमलाई पनि सहभागी गराउनुभयो । नेपालमा जहाँ फुटबल भए पनि उहाँ खेल्ने भनेपछि रंगशाला भरिन्थ्यो । भारतीय फुटबलमा अत्यन्तै व्यस्त भएका कारण उहाँलाई समय निकाल्न निकै गाह्रो हुन्थ्यो । तर, नेपालमा खेल्नका लागि उहाँले धेरै मिहिनेत गरेर भए पनि समय मिलाउनुहुन्थ्यो भन्ने चर्चा सुनिन्थ्यो ।
|
पछि प्रशिक्षकको फरक भूमिका लिएर पनि उहाँ नेपाली फुटबलसँग जोडिनुभयो । प्रशिक्षकका रूपमा उहाँले झन्डै चार वर्ष नेपाली फुटबलमा योगदान गर्नुभयो । त्यतिखेर चाहिँ कुशल व्यवस्थापक, उत्कृष्ट रणनीतिकार र अब्बल प्राविधिक प्रशिक्षकका रूपमा उहाँको परिचय नजिकबाट पाइयो । एउटा व्यक्तिका रूपमा त उहाँ अत्यन्तै सरल र सहयोगी मानिस हो । खेलाडी हुँदा उहाँले झन्डै एक अर्ब जनसंख्या भएको भारतमा सुपरस्टारको हैसियत बनाउनुभएको थियो । तर उहाँले नेपालमा सामान्य समर्थकलाई पनि कहिल्यै आफू त्यति ठूलो देशको सुपरस्टार हुँ भन्ने भावना देखाउनुभएन । जोसँग पनि सामान्य रूपमा घुलमिल हुने र सहयोग गर्न चाहने भावना उहाँमा देखिन्थ्यो ।
प्रशिक्षकको रूपमा उहाँले सुरुमा युवा टोलीको नेतृत्व गर्नुभयो । उहाँकै नेतृत्वमा नेपालको यु-२० टिमले भियतनामजस्तो टिमलाई हरायो । यु-२३ टोलीले सागमा कांस्य पदक जित्यो । च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शनका साथ सेमिफाइनल यात्रा तय गर्यो । साग र च्यालेन्ज कपमा दुर्भाग्यका कारण मात्र नेपाल फाइनल पुग्नबाट वञ्चित भएको थियो । यसैगरी विश्वकप छनोटको खेलमा ओमानलाई होम र अवे दुवै खेलमा २-० को नतिजामा रोक्ने सफलता नेपालले हासिल गर्यो ।
नेपाली फुटबलमा त्यसअघिसम्म फरक पोजिसनका खेलाडीलाई पोजिसन चेन्ज गरेर प्रयोग गर्ने चलन त्यति थिएन । तर, थापाले त्यो आँट गर्नुभयो । जुन सफल पनि भयो । खेलाडीमा मनोबल बढाउने काममा उहाँ खप्पिस हुनुहुन्थ्यो । खेलाडीलाई उनीहरूको स्वभावअनुसार व्यवहार गर्ने र टिमप्रति थप प्रतिबद्ध बनाउने काम उहाँले गर्नुहुन्थ्यो । युवा खेलाडीहरूमा मिहिनेत गर्न र देशका लागि प्रतिबद्ध भएर खेल्ने भावना उहाँले विकास गर्नुभयो । त्यही कारण श्याम थापाको कार्यकालमा नेपालले सफल नतिजा हात पारेको हो ।
नेपाल र नेपाली फुटबललाई कसरी माथिल्लो उचाइमा पुर्याउन सकिन्छ भन्नेमा उहाँ निकै गम्भीर हुनुहुन्थ्यो । त्यसका लागि उहाँले धेरै काम पनि गर्नुभयो । उहाँले आफ्नै सम्पर्क प्रयोग गरेर नेपालमा ठुल्ठूला टिमलाई ल्याउने काम गर्नुभयो । भारतमा पनि नेपाली टिमलाई आवश्यक पर्ने मैत्रीपूर्ण खेल र अन्य व्यवस्थापन गर्नुभयो । समग्रमा नेपाली फुटबलको विकास र विस्तार होस् भन्ने चाहनामा उहाँले अत्यन्तै प्रतिबद्धताका साथ काम गरिरहनुभयो ।
(फुटबलका ज्ञाता मिश्र अखिल नेपाल फुटबल संघको लिग निर्देशक हुन्)