- गणेश थापा
नेपालको फुटबलमा खेलाडी र पदाधिकारीको भूमिकामा मैले ३५ वर्षभन्दा बढी समय बिताएँ । यसक्रममा मेरो फुटबल करियरले थुप्रै उतारचढाब बेहोरेको छ । खेलाडीको रूपमा मैले कप्तान भएर राष्ट्रिय टिमको नेतृत्व गरेँ । पदाधिकारीको हिसावमा पनि मैले अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष तथा एसियाली फुटबल महासंघ (एएफसी)मा उपाध्यक्षसम्म भएर नेतृत्व गरें ।
|
खेलाडीका रूपमा पनि मेरो अन्त्य राम्रो भएन । पदाधिकारीका रूपमा पनि मैले सही तरिकाले फुटबलबाट बिदा लिन पाइनँ । यो मेरो भाग्यको कुरा हो । मैले यो भूमिका उल्लेख गर्न खोज्नुको कारण छ । कारण के भने दुवै भूमिकामा मलाई साँच्चैको ढाडस दिने व्यक्ति थियो, ललित भाइ (ललितकृष्ण श्रेष्ठ) । ललितसँगको मेरो सम्बन्ध दाजुभाइभन्दा बढी थियो । ऊ मेरो भाइ अनि म उसको अभिभावक दाजु ।
ललितले हामीलाई छाडेर गएको सात वर्ष पूरा भइरहँदा खेलाडी डटकमले ललितको विषयमा केही कुरा गर्न आग्रह गरेपछि मैले सबैभन्दा पहिला मेरो करियरमा ललितले गरेको योगदान र सहयोगको कुरा सम्झिएँ । पदाधिकारीका रूपमा मैले एन्फामा बिताएका अधिकांश समयमा ललितको साथ पाएँ ।
खासमा ललित मभन्दा पहिला एन्फामा पदाधिकारी भएर पुगिसकेका थिए । बीचमा छोटो समयबाहेक फुटबलमा रहेसम्म मलाई ललितले सधैं एकनासले साथ दिइरहे । ललितसँग पहिलो पटक भेट भएको प्रसंग नै मेरा लागि स्मरणीय छ । त्यो बेला व्यक्तिगत रूपमा नचिने पनि ललित मेरा लागि आन्दोलित भएको थियो । म खेलाडी नै थिएँ । ललितसँग मेरो चिनजान थिएन । मलाई राष्ट्रिय टिमबाट अपमानजनक तरिकाले निकालियो । राष्ट्रिय टिमबाट निकालिएको पीडा साट्न म राष्ट्रिय टिममा सँगै खेल्ने साथी भक्त राजकर्णिकारको जावलाखेलस्थित पसलमा पुगेको थिएँ ।
भक्तको पसलमा बसेर ऊसँग म दुखेसो पोखिरहेको थिएँ । त्यही बेला एकजना मान्छे त्यहाँ आएर मलाई आश्वासन र हौसला दिइरहेको थियो । ‘तपाईंलाई ठूलो अन्याय भयो, हामी तपाईंलाई न्याय दिलाउँछौं’ भनेर उसले मलाई ठूलो हौसला दियो । मैले त्यतिबेलासम्म नचिनेको मानिस उही ललित थियो ।
|
म खेलाडी हुँदै ललित थ्री स्टार क्लबमा व्यवस्थापक भइसकेका रहेछन् । ललितलगायत विभिन्न क्लबका पदाधिकारीहरू त्यो बेलाका एन्फा नेतृत्वविरुद्ध आन्दोलित भए । मलाई लाग्छ त्यही घटनाक्रमबाट ललितको एन्फामा पनि इन्ट्री भएको थियो । त्यही आन्दोलनमा एन्फाको तत्कालीन नेतृत्वलाई विस्थापित गरेर रुक्म शम्शेर राणाको नेतृत्वमा ललितहरू एन्फा कार्यसमितिमा छिरेका थिए । यसअर्थमा एन्फामा ललित मभन्दा वरिष्ठ हो ।
ललितको विषयमा बयान गर्न जति समय भए पनि पुग्दैन । ललित नेपाली फुटबलमा त्यति धेरै गुण भएको मानिस हो । मेरा लागि त व्यक्तिगत रूपमा झन धेरै गुणी भाइ थियो ललित । तर, समग्रमा भन्दा मैले नेपाली फुटबलमा ललितजस्तो त्यागी, इमान्दार, कर्तव्यनिष्ठ, लोयल र प्रतिबद्ध मानिस बिरलै देखेको छु ।
त्यसैले पनि म ठोकुवासाथ भन्न सक्छु, आज नेपाली फुटबलले कसैलाई सबैभन्दा बढी मिस गरिरहेको छ भने त्यो ललित नै हो । मैले त उसलाई हरेक समय मिस गरिरहेको हुन्छु । प्रायजसो ललित मेरो सपनामा आइरहन्छ । सपनामा पनि फुटबलकै कुराकानी भइरहेको देख्छु । कहिलेकाहीँ त सपनामै ललित त जीवितै रहेछौं, तिमी हामीमाझ रहेनौं भन्ने कुरा त झुठो रहेछ भन्ने जस्ता कुरा ऊसँग हुन्छ । सपनामा आउनु त एउटा कुरा भयो, कल्पनामा पनि सधैं ललित आइरहन्छ । जे कुरा गरे पनि ललित भए हुुन्थ्यो कि भन्ने लागिरहन्छ । सायद पछिल्लो सात वर्षमा मैले सबैभन्दा बढी कल्पेको मानिस हो ललित ।
व्यक्तिगत रूपमा कुरा गर्दा अहिले म फुटबलमा नहुँदाको, आफ्नो घटनाक्रमको पीडा त छँदै छ । तर मलाई लाग्छ, सायद ललित त्यहाँ भएको भए त्यो पीडा अलिकति कम हुन्थ्यो होला । ‘ललितजस्तो फुटबललाई माया गर्ने मान्छे त्यहाँ छ । ठिकै छ । मलाई जे भयो भयो’ भनेर पनि चित्त बुझाउँथे होला । तर दुर्भाग्य ललित अहिले हामीमाझ रहेन ।
त्यो दुर्घटनाले ललितलाई लगेपछिको नेपाली फुटबलको अवस्था हेर्दा, एन्फाको अहिलेको चार वर्षे कार्यकाल हेर्दा र अहिले नेतृत्वमा भइरहेका मान्छेहरू हेर्दा सबैले ललितको अभाव महसुस गरिरहेका छन् । मैले आफू नजिक भएर मात्र भनेको कुरा होइन यो ।
ललितले दुई दशकभन्दा लामो समय फुलटाइमर भएर समय फुटबलमा बिताए । त्यसक्रममा उसको आफ्नो पारिवारिक र व्यक्तिगत जीवन निकै डामाडोल बनायो । उसले फुटबललाई नै आफ्नो परिवार देख्यो । घरमा धेरै समस्या हुँदाहुँदै पनि ऊ फुटबलकै समस्या समाधानमा धेरै लाग्यो । उसले परिवारलाई त्यति राम्रोसँग समय दिन सकेन ।
|
ऊमात्र होइन हामी दुवैजना त्यसैगरी घर परिवार भन्ने नसोचिकन लाग्यौं । हामीलाई त्यसको फुर्सद नै भएन । जसरी हुन्छ, फुटबललाई अगाडि बढाउने कुरामा लाग्दा घर परिरवार हाम्रो प्राथमिकतामै परेन । तर पछि उसको दुर्घटना भएपछि अझ धेरै कुरा मैले राम्ररी थाहा पाएँ, त्यसपछि हामीले केही एन्फाबाट राहत गर्ने कुरा गर्यौं । तर मैले एन्फा छोडे अनि अलि अपडेट पनि पातलियो, फुटबलबाट ग्याप भइयो । अहिले पनि मैले उसको परिवारबारे अप्रत्यक्ष रूपमा बुझिरहेको हुन्छु । अन्य माध्यमबाट सोध्ने काम गरिरहेको हुन्छु । म खासमा ललितको अभिभावक हुँ, त्यो भूमिका अन्य साथीहरूमार्फत भए पनि पूरा गर्ने प्रयास गरिरहेको छु ।
उसमा फुटबलप्रति एकदमै ठूलो लगाव थियो । हामीले पनि भविष्यको नेतृत्वका रूपमा ललितलाई अगाडि बढाइरहेका थियौं । वातावरण तयार गर्दै थियौं । मैले छोडेपछि नेतृत्वमा ललित आउँछ भन्ने तरिकाले हामी अगाडि बढेका थियौं । त्यहीअनुसार वातावरण बन्दै थियो । नरेन्द्र दाइ (नरेन्द्र श्रेष्ठ), महेश दाइ (महेश विष्ट) जस्ता सिनियरहरूले पनि ललित जस्तो मान्छे नेतृत्वमा आउनुपर्छ भन्ने स्वीकारेर उसलाई बाटो छोडिदिइसक्नुभएको थियो ।
एकपटक म काम विशेषले मेगा बैंक पुगेको थिएँ । त्यहाँ सिइओ अनिल शाहसँग भेट भयो । उहाँ पनि फुटबललाई एकदमै माया गर्ने मान्छे । फुटबलमा विवाद चलिरहेको थियो । म कारबाहीमा परिरहेको अवस्था थियो । शाहजीले एन्फा नेतृत्वका बारेमा कुरा गर्नुभयो । सायद उहाँको त्यो बेला आफू आउने चाहना पनि थियो कि भन्ने मलाई लाग्यो । तर मैले ललितको नाम प्रस्ताव गरेपछि उहाँ पनि निकै खुसी हुनुभयो र ललितजी जस्तो मान्छे भएपछि त के चिन्ता र भन्नुभयो । यो प्रसंग किन उप्काएको भने ललितले फुटबल परिवारको विश्वास त जितेको थियो नै, साथमा व्यावसायिक प्रतिष्ठानको पनि उसले विश्वास जितिसकेको थियो । ललितको काँधमा नेतृत्व पुग्दा नेपाली फुटबल सुरक्षित हुन्छ, सही ढंगले अगाडि बढ्छ भन्नेमा सबै विश्वस्त थिए । तर, अचानक त्यो अकल्पनीय दुर्घटना भयो ।
त्यस्तो एउटा व्यक्तित्व आज नहुँदा त आकासै खसेजस्तो भइरहेछ नि । खेलाडीको समस्या हेर्नुस् त ? कस्ता कस्ता समस्या ललितले मिलाएको छ । कसैले नसक्ने काम उसले मिलाउँथ्यो । कत्रा कत्रा झगडा भएका छन् । अहिले त के हो र । खेलाडी र प्रशिक्षकको बीचमा कस्ता कस्ता ठूला झगडा भएका छन् । तर ललितले ती सबै मिलाउँथ्यो । म अहिले फुटबलबाट बाहिर छु, तर प्रत्यक्ष रूपमा जसले पीडा भोगिरहेका छन् नि उनीहरू सबैले ललितलाई सम्झिइरहेका होलान् ।
लतिलले टिमको व्यवस्थापन हेर्दा खेलाडीलाई गरेको र अहिले तुलना गर्दा गणेश थापामात्र होइन सबैले अझ विशेष गरी खेलाडीले नै त्यसको मूल्यांकन त गरेका छन् नि ।
|
ललितलाई सम्झिँदा छुटाउनै नसक्ने अर्को एउटा कुरा पनि छ । १० वर्षे द्वन्द्वबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि म निकै अप्ठेरो स्थितिमा थिएँ । त्यतिबेला खेलकुद परिषद र माओवादीहरूले मेरो विकल्पका लागि नरेन्द्र दाइ र ललितलाई अगाडि सारिरहेको अवस्था थियो । नरेन्द्र दाइले यसलाई स्वीकार्नुभएन । ललितले त जटिल अवस्थालाई सेफल्यान्डिङ गराउने काम नै गरायो । सायद त्यो बेला ललितले खेलेको भूमिका, उसले लिएको अडान, आफैंलाई पद प्राप्त हुने अवस्थामा पनि उसले गरेको त्याग, भनेको सामान्य मान्छेले गर्न सक्दैनन् । यो कहिल्यै बिर्सन सकिन्न ।
ललित खासमा अत्यन्तै त्यागी मानिस हो । फुटबल विवादमा एक पटक ललित अर्को समूहमा पुगेको थियो । तर दुई संघ मर्ज भएर फर्किंदा थ्री स्टारका पदाधिकारीहरूको टोली ललितलाई उपाध्यक्ष बनाउनुपर्छ भन्ने माग राखेर आएको थियो । तर मैले ‘उपाध्यक्ष कि सदस्य केमा बस्ने भन्ने कुराको निर्णय गर्न ललितलाई नै छोडौं’ भनें । ललितले त्यो बेलाको अवस्था बुझेर आफू सदस्यमै बसेर काम गर्न तयार रहेको बतायो । ललितले भनेको मात्र भए जसरी पनि उसलाई उपाध्यक्ष बनाउनुपर्ने बेला थियो । तर उसले त्यो बेला पनि त्याग गर्यो ।
मैले एन्फाभित्र आवश्यकता पर्दा जहिले पनि त्यागका लागि ललितलाई अनुरोध गर्थें, उसले कहिल्यै पनि एक शब्द नबोलीकन त्याग गरिरह्यो । ललितको लोयल्टीको जति प्रशंसा गरे पनि कम हुन्छ । कतिपय अवस्थामा मैले ललितजस्तो ‘लोयल’ मानिसबाट त्यति धेरै त्याग नगराएको भए हुन्थ्यो जस्तो लाग्छ । तर, मैले पनि त्यस्तो अकल्पनीय दुर्घटना होला भनेर कसरी सोच्नु ।
नेपाली फुटबलका लागि ललितको त्यो दुर्घटना एकदमै ठूलो क्षति हो ।
(एन्फाका पूर्वअध्यक्ष थापासँगको कुराकानीमा आधारित)