नेपाली फुटबल

काउन्टर अट्याक: खेलाडी-प्रशिक्षक काण्डले फुटबलको ‘चीरहरण’ नहोस्

विवादका शृंखलाबीच नेपाली फुटबल अहिले फेरि नयाँ मोडमा पुगेको छ । भुसको आगोले उग्र रूप लिँदा राष्ट्रिय टोलीलाई दनदनी बालिरहेको छ । हो, अहिले नेपाली राष्ट्रिय टोलीले इतिहासकै सबैभन्दा गम्भीर समस्या भोगिरहेको छ । टिमवर्कको भावना आधारभूत रहने फुटबलमा विधिवत रूपमै राष्ट्रिय टोली दुई चिरा परेको छ । प्रशिक्षक-व्यवस्थापन भर्सेज खेलाडी ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल आगमन कोभिड-१९ महामारी उत्कर्षमा पुगेका बेला भएको थियो । गतवर्ष चैतमा उनी नेपाल आउँदा पूरा देश लकडाउनमा थियो । फुटबलका गतिविधि थिएनन् । सामाजिक सञ्जाल उपयोग गर्नमा खप्पिस मनोविज्ञानका विद्यार्थी अल्मुताइरीले त्यसको भरपुर फाइदा उठाए । समर्थकको बीचमा उनी राष्ट्रिय नायकका रूपमा स्थापित भए । सधैंको विवाद र कमजोर नतिजाका कारण निराश समर्थकमा उनले झुठै भए पनि आशा जगाए । जसका कारण अल्मुताइरीले आम फुटबलप्रेमीबाट अन्धो माया पाए ।

समर्थकको त्यही अन्धो मायाबाट पुल्पुलिएका कारण होला, अल्मुताइरी शृंखलाबद्ध रूपमा विवादको केन्द्रमा रहिरहे । वरिष्ठ उपाध्यक्षविरुद्ध अभिव्यक्ति दिएर होस् वा पत्रकारसँगको व्यवहारले अल्मुताइरीलाई विवाद र आलोचनाको घेराभित्र राखिरह्यो । विदेशमा गएर नेपाली मिडियालाई गाली गर्दै कहिल्यै नेपाल नफर्कने कसम खाएर पनि अल्मुताइरीले विवादको शृंखला अघि बढाइरहे । ‘अटेन्सन सिकर’ जसरी उनले पटकपटक राजीनामाको धम्की दिए, तर सँगै झन बलियोसँग टिममा टाँसिइरहने उपाय पनि अवलम्बन गरिरहे । यसैको प्रमाण हो उनको नयाँ सम्झौता । जहाँ कार्यकाल लम्ब्याउनुका साथै पारिश्रमिक वृद्धि गर्न पनि उनी सफल भए ।

तमाम विवाद र आलोचनाका बीच कुवेती नागरिक अल्मुताइरी राष्ट्रिय नायक जसरी छाइरहनुमा पछाडि केही मुख्य कारण थिए ।

पहिलो त अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको उनलाई दरिलो साथ थियो/छ ।

दोस्रो खेलाडी र टिम सदस्यहरूको उनलाई बलियो साथ थियो । अर्थात अल्मुताइरीका कमजोर तर्कमा पनि टिम सदस्यको अन्धो समर्थन रहने गरेको थियो ।

तेस्रो नेपाली खेल प्रशासनको मानसिकता अत्यन्तै कमजोर र गरिब हुँदा उनीचाहिँ कतारको ‘सहयोग’मा आएका प्रशिक्षक हुन् ।

यी सबमध्ये पनि सबभन्दा बलियो कारण थियो, खेलाडी र टिमका अन्य सदस्यको बलियो साथ । जुन नराम्ररी धर्मराएको छ । अल्मुताइरीले टिम सम्हालेदेखि नै गर्दै आएको रुखो व्यवहार, अनुशासनका नाममा लादेका शृंखलाबद्ध निरंकुशताको फल सार्वजनिक भएको छ । अल्मुताइरीका अन्धोभक्त खेलाडीहरू अहिले आफ्नै ‘प्रिय’ नेताविरुद्ध मैदान उत्रिएका छन् ।

टिमभित्रका समस्या वा विवादको विषय जे भए पनि अहिले नेपाली फुटबलमा देखिएको दृष्य राम्रो पक्कै होइन । टिम एकातिर मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटको तयारीका लागि अभ्यास गरिरहेको छ । अर्कोतिर टिमका महत्वपूर्ण १० खेलाडी प्रशिक्षण सिविर छोडेर प्रशिक्षक र व्यवस्थापनविरुद्ध पत्रकार सम्मेलन गरिरहेका छन् । फुटबल समर्थकहरूले देख्न चाहेको दृश्य पक्कै पनि यो होइन । गल्ती कस्को हो, त्यसको छानबिन गरेर निकास निकाल्ने काम नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको हो । उसले गर्ला भन्ने आस गरौं ।

पक्कै पनि फिल्मलाई ‘डिरेक्टर्स मिडियम’ भनेजस्तै फुटबल भनेको प्रशिक्षकको खेल हो । प्रशिक्षक टिमको निर्विवाद नेतृत्व हो । टिमको विषयमा सबैखाले निर्णय गर्ने अधिकार प्रशिक्षकमा मात्र निहित रहन्छ । तर त्यसको मतलब प्रशिक्षकले मनलाग्दी गर्न पनि पाइन्न । यस्तै बेला हो सर्वोच्च निकायले हस्तक्षेप गर्नुपर्ने ।

फुटबलमा टिमको सर्वोपरि जिम्मेवारी लिनुपर्ने कारण पनि प्रशिक्षकहरूले अवस्थाअनुसार अप्रिय निर्णय गर्नुपर्ने हुन्छ । त्यसका लागि अल्मुताइरी पनि स्वतन्त्र छन् । प्रशिक्षकको मन जित्न नसकेको दिन जस्तोसुकै स्टार खेलाडी पनि टिम बाहिर हुनुपर्छ । यही नियति रोहित चन्द र अञ्जन विष्टलगायतका १० खेलाडीले पनि भोग्नै पर्छ । उनीहरूको साथमा रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका कप्तान किरण चेम्जोङले पनि भोग्नु पर्न सक्छ ।

अनि बिहीबार प्रशिक्षकविरुद्ध पत्रकार सम्मेलन गर्ने १० खेलाडीको साथमा रहेको भनिएका थप चार खेलाडी पनि टिम बाहिर हुन सक्छन् । यो सामान्य कुरा हो । अनुशासन तोड्ने अधिकार कुनै खेलाडीलाई हुँदैन । चित्त नबुझेका कुरा राख्ने प्रक्रिया हुन्छन्, राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलाडीले ती प्रक्रिया पूरा गर्नैपर्छ । जुन अहिले विद्रोहमा उत्रिएका खेलाडीले गरेको देखिएन । जस कारण उनीहरू अनुशासन कारबाहीको भागिदार बन्न सक्छन् ।

तर एकाएक टिमका मुख्य १५ खेलाडी किन यस्तो विद्रोहका लागि बाध्य भए वा तयार भए भन्ने प्रश्नमाथि एन्फाले विशेष ध्यान पुर्‍याउनुपर्छ । एन्फा आगामी चार वर्षे कार्यकालका लागि निर्वाचनको संघारमा पुगिसकेको छ । रोहित चन्द आजकै मितिमा पनि नेपाली टोलीका निर्विवाद स्टार खेलाडी हुन् । टिमका सबैभन्दा भरपर्दा र परिपक्व खेलाडी रोहितबाट प्रशिक्षकको डन्डा चल्न सुरु भएको छ । एन्फाको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्रतिस्पर्धामा उत्रिएको अवस्था छ । जहाँ प्रशिक्षकले यसअघि नै नेम्वाङसँग ठूलो झगडा गरिसकेका छन् भने शेर्पा नभए आफू नेपाल एक दिन पनि नबस्ने भनेर आफ्नो पक्षधरता सार्वजनिक गरिसकेका छन् ।

यो प्रसंग यहाँनिर यसकारण पनि उल्लेख गर्नु जरुरी छ कि रोहितका दाजु रवीन्द्र चन्द नेम्वाङको पक्षबाट सुर्खेत जिल्ला फुटबल संघको चुनावमा अध्यक्ष पदका प्रत्याशी थिए । जहाँ नेम्वाङ र शेर्पा पक्षबीचको राजनीतिका कारण चुनाव स्थगित गर्नुपर्यो र अन्तत: चन्दले उम्मेदवारी दिन पाएनन् । अहिले खेलाडीमाथि प्रशिक्षकको डन्डा चल्नुलाई पनि फुटबल चुनावको राजनीतिसँग जोडेर पनि हेर्न थालिएको छ । पक्कै पनि राष्ट्रिय टिम राजनीतिको विषय होइन । तर यहाँ त्यही भएको चर्चा फुटबल परिवारभित्र व्याप्त छ । जसलाई अल्मुताइरीकै विगतका क्रियाकलाप र अभिव्यक्तिहरू तथा विकसित राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेका छन् ।

पक्कै पनि फुटबल राजनीतिमा संलग्नहरुले यो घटनालाई आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गोटीका रुपमा प्रयोग गर्न सक्छन् । गरिरहेका छन् । फुटबल राजनीतिमा जति पनि पक्ष-विपक्ष हुन सक्छन् । हुन, त्यो फुटबलप्रेमीहरुको चासोको विषय पनि होइन । एन्फाको आसन्न निर्वाचनमा शेर्पा वा नेम्वाङ जसले जिते पनि समर्थकलाई त्यसको मतलब हुने छैन । फुटबल प्रशासन विभाजित छ भन्ने सबलाई थाहा छ । त्यसका बावजुद नेपाली फुटबलमा भएको एकमात्र साझा चिज भनेको यही राष्ट्रिय टिम हो । यसमै समस्या आएका कारण एन्फा सबभन्दा बढि परिपक्व हुन जरुरी छ । एन्फा पदाधिकारीहरुले अहिले चुनावी जोडघटाउ थाँती राखेर पनि यो समस्या समाधान गर्नुपर्छ । 

त्यसकारण एन्फा नेतृत्वसामु अहिले सबैभन्दा गहन जिम्मेवारी आएको छ । एन्फाले एक दिन पनि ढिलो नगरी तत्काल कार्यसमितिको आकस्मिक बैठक बोलाउनुपर्छ । तत्कालका लागि अनुशासन तोडेका कारण खेलाडीलाई कारबाही गर्नैपर्छ । अन्यथा यसले खेलाडीमा ‘ग्रुपिजम’ गरेर मन नपरे पुच्छरले गाई हल्लाएजस्तै खेलाडीले प्रशिक्षक हटाउने संस्कार स्थापित हुन्छ । त्यसपछि प्रशिक्षकमाथि पनि गम्भीर छानबिन हुनुपर्छ ।

विगतमा राष्ट्रिय खेलकुद परिषदले गरेको छानविन प्रतिवेदन पनि हेर्नुपर्छ । त्यसको निचोड प्रष्ट छ । नेपाली फुटबलमा आफूलाई सर्वेसर्वा ठान्ने प्रशिक्षक परिवर्तन गरेर देशका लागि दशकौंदेखि खेलेका खेलाडीलाई पुन: राष्ट्रिय टोलीमा फर्किने वातावरण बनाउनुपर्छ । अन्यथा भोलि फेरि कुनै बालकले फुटबल खेलाडी बनेर देशका लागि खेल्ने सपना देख्न छोड्ने छ ।