चैत्र ६, २०८२ शुक्रबार | ०२:५२:५२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित
शनिबारको दिन महिला फुटबल

महिला फुटबलमा उर्जा थप्दै गोल्डकप

नेपाली फुटबलले बनाउन सकेको लक्ष्य नै दक्षिण एसियाली स्तरमा निर्विवाद महारथी बन्ने हो । जुन अहिलेसम्म पूरा हुन सकेको छैन ।

पुरुष फुटबलमा पहिलो पटक गत वर्ष साफ च्याम्पियनसिपको फाइनल पुगे पनि उपाधि अहिलेसम्म जित्न सकेको छैन । महिलामा भने नेपाल सधैंको उपविजेता हो । अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धाको स्तर र इन्टेन्सिटी मूल्यांकन गर्दा महिलाको सम्भावना पुरुषको तुलनामा बढी छ । यो पक्का हो ।

तर देशभित्र भने पुरुष फुटबलसँग दाँज्दा महिला फुटबलको गतिविधि देख्नै नसकिने गरी पातलो छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ आफैंले गर्ने विभिन्न श्रेणीका लिग, जिल्ला लिग, राष्ट्रिय लिग, ग्रासरुट लगायतका कार्यक्रमले पुरुष फुटबल वर्षभर व्यस्त छ । बाँकी रहेको समयका लागि अन्य संघसंस्थाले मोफसलमा गर्ने गोल्डकपमध्ये पनि संघकै मान्यताप्राप्त २५ वटा शीर्ष श्रेणीका प्रतियोगिता छन् । संघका वर्गीकरणमा नपरेका त झन सयौं प्रतियोगिता भइरहन्छन् ।

ठीक विपरीत महिलामा भने संघले गर्ने लिग, लिगको छनोट र नेपाली सेनाले गर्ने प्रधानसेनापति कपबाहेकको प्रतियोगिता भेटिन्न । झन संघ आफैंले गर्ने लिग या प्रत्येक वर्ष नियमित हुँदैन । भयो भने पनि झारो टार्ने पारामा हुने गरेको सत्य स्वयं एन्फाका वरिष्ठ पदाधिकारीहरू पनि स्वीकार्छन् ।

सम्भावनाचाहिँ बढी हुने तर गतिविधिचाहिँ न्युन । कुरा कतै न कतै मिलिरहेको थिएन । नेपाली फुटबलको ठेक्का लिएर बसेको संघको ध्यान यसतर्फ पुगेकै थिएन । फुटबल विकासको रटान लगाएर नथाक्ने अन्य स्वतन्त्र संघसंस्था पनि पुरुषको प्रतियोगिता गरेर आर्थिक नाफा कमाउनुको साटो महिला फुटबलको प्रतियोगिता गरेर घाटा बेहोर्ने जोखिम मोल्न तयार थिएनन् ।

यस्तैमा कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा रहेको वनदेवी युवा क्लब (विवाइसी)को नेतृत्व गरिरहेका युवाहरूलाई लाग्यो, ‘महिला फुटबल विकासको कुरालाई फगत नारामा सीमित पार्नुको साटो साँच्चै यसलाई अगाडि बढाउन अब कसै न कसैले जोखिम मोल्नैपर्छ ।’

विवाइसी युथ क्लबको नेतृत्वको यो सोच सुदूरपश्चिम खेलकुद परिषदको साथ पाउने भएपछि अठोटमा बदलियो । परिणाम, अहिले धनगढी रंगशालामा पहिलो मुख्यमन्त्री विवाइसी महिला गोल्डकप चलिरहेको छ । शनिबार उपाधिका लागि दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगितामा आयोजक विवाइसीसहित एपिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, कालिका स्पोटर्स र बागमती युवा क्लब सर्लाही गरी आठ टोलीको सहभागिता थियो । धनगढीमा अहिलेको मौसम अत्यन्तै गर्मी भएकाले साँझको समयमा फ्लडलाइटमा प्रतियोगिता गराइएको छ ।

विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको कुल बजेट एक करोड रुपैयाँ छ । उसै त अत्यन्तै कम टिकट बिक्री हुने धनगढी, त्यसमाथि महिला फुटबल यति ठूलो बजेट व्यवस्थापन सहज पक्कै थिएन । छैन । तर सुदूरपश्चिम खेलकुद परिषदको सहकार्यले प्रतियोगिता सम्भव भएको छ । प्रतियोगिताका लागि परिषदले ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

विवाइसी क्लबका अध्यक्ष सुशन जोशी महिला फुटबलमा व्यावसायिकता भित्र्याउने उद्देश्यसहित प्रतियोगिता सुरु गरिएको बताउँछन् ।

‘हामीले सुदुरपश्चिम खेलकुद परिषद्सँगको सहकार्यमा यो प्रतियोगिता सुरुआत गरेका हौं,’ खेलाडीसँगको कुराकानीमा जोशी जोसिए, ‘नेपालमा पुरुषका लागि धेरै फुटबल प्रतियोगिता हुने भए पनि महिलाका लागि सीमित प्रतियोगितामात्र छन् । महिला फुटबल विकासमा केही टेवा पुगोस् भनेर हामीले यसको सुरुआत गरेका हौं ।’

जोशीले पहिलो प्रयासमा केही कमी कमजोरी भए पनि आगामी दिनमा त्यसमा सुधार गर्दै अझ धेरै टोली सहभागी गराएर प्रतियोगितालाई बृहत रूपमा अघि बढाउने बताए ।

‘यो मोसफलमा भएको पहिला महिला गोल्डकप हो । हामीले थालनी त गरेका छौं । यसलाई निरन्तरता दिनु हाम्रा लागि अबको चुनौती हो,’ महिला फुटबल विकासमा पायोनियर बनेको क्लबका अध्यक्ष जोशीले थपे, ‘यो प्रतियोगिताको आयोजनाले यहाँका स्थानीय खेलाडीको मनोबल बढाउनेमा हामी आशावादी छौं ।’

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर तथा एपिएफकी कप्तान अनिता बस्नेत मोफसलमा भएको यो प्रतियोगिताले महिला फुटबल विकासमा ठूलो योगदान गर्ने बताउँछिन् ।

‘वर्षमा एक पटक हुने लिग र प्रधानसेनापति कपमा महिला फुटबल रमाइरहेको छ । पुरुष खेलाडीलाई भ्याइनभ्याइ हुँदा हामी भने सीमित प्रतियोगिता खेल्न बाध्य छौं,’ उनले भनिन्, ‘बिवाइसीले महिला गोल्डकपमार्फत नयाँ सन्देश दिएको छ । यो महिला फुटबलमा नयाँ अध्यायको सुरु हो ।’

शनिबार फाइनल खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका प्रशिक्षक सञ्जिव जोशी पनि महिला गोल्कपबाट खेलाडीमा विशेष उर्जा मिलेको बताउँछन् ।

‘नियमित प्रतियोगिताहरू आयोजना नहुँदा महिला फुटबल विकासको नारा आफैं लज्जित भइरहेको छ । समग्रमा महिला फुटबल शिथिल बनेको छ,’ जोशी भन्छन्, ‘लिग त हुन्छ । तर नियमित र व्यवस्थित छैन । यस्तो दुरूह अवस्थामा यो गोल्डकपले महिला खेलाडीमा विशेष उर्जा प्रदान गरेको जस्तो लाग्छ । यस्ता प्रतियोगिता धेरै भन्दा धेरै आयोजना हुनुपर्छ । जसले महिला फुटबललाई व्यावसायिकतातर्फ लैजान्छ ।’