नेपाली फुटबल

वाग्मतीको लक्ष्य: रोजितको भरोसा र नगरप्रमुखको जोहो

बाराको सिमरामा अघिल्लो साता सकिएको जीतपुरसिमरा गोल्डकप फुटबलमा छिमेकी जिल्ला सर्लाहीको टोली वाग्मती युवा क्लबले उपाधि जित्न सकेन ।

शीर्ष डिभिजनका टिमहरूको भीडबाट उपाधि आफूले फुत्काउने उद्देश्यमा रहेको वाग्मती क्लब सिमरामा पनि पछिल्ला दुई प्रतियोगिताजस्तै सेमिफाइनलमै निराश बन्नुपर्यो । फ्लडलाइटको मधुरो प्रकाशमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई ४–१ को अन्तरमा नतिजा सुम्पँदै वाग्मती घर फर्किएको थियो ।

लगातार तीन प्रतियोगिताको सेमिफाइनलमा पराजय भोग्दा क्षणिक दुःखले सताए पनि वाग्मती युवा क्लब निराश भने थिएन । किनकि टोलीको योजना मोफसलमा भएका प्रतियोगिताको उपाधि जित्नुमा मात्र सीमित छैन । क्लबका अध्यक्ष किस्मतराज मैनाली हुन् । तर नेतृत्व भने वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाले नै गरिरहेका छन् । मेयर थापाको प्रत्यक्ष नेतृत्वमा अघि बढिरहेको क्लबले नेपाली फुटबलमा ठूलो सपना बोकेको छ ।

वाग्मतीले मोफसलमा जारी यसपालि सिजनमा सेमिफाइनलमा भोगेको यो तेस्रो हार थियो । सुदूरपश्चिमको खप्तड गोल्डकप सेमिफाइनलमा फ्रेन्ड्स र राजर्षि जनक गोल्डकपको अन्तिम चारमा पिप्ले युवा क्लब हेटौंडासँग निराश बनेको थियो ।

लगातार तीन प्रतियोगिताको सेमिफाइनलमा पराजय भोग्दा क्षणिक दुःखले सताए पनि वाग्मती युवा क्लब निराश भने थिएन । किनकि टोलीको योजना मोफसलमा भएका प्रतियोगिताको उपाधि जित्नुमा मात्र सीमित छैन । क्लबका अध्यक्ष किस्मतराज मैनाली हुन् । तर नेतृत्व भने वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाले नै गरिरहेका छन् । मेयर थापाको प्रत्यक्ष नेतृत्वमा अघि बढिरहेको क्लबले नेपाली फुटबलमा ठूलो सपना बोकेको छ ।

राजधानीमा हुने सहिद स्मारक लिगको संरचनामा प्रवेश गरेर शीर्ष डिभिजनको हैसियत बनाउने दीर्घकालिन योजना क्लबसँग छ ।

त्यसैका लागि पछिल्लो तीन वर्षदेखि लगातार रूपमा वाग्मतीले आफूलाई विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाएर अनुभव बटुलिरहेको छ । १९ खेलाडीलाई वार्षिक सम्झौता गरेर राखेको टोलीले गत पुसदेखि त नियमित प्रशिक्षणको व्यवस्था पनि मिलाएको छ ।

‘अर्को वर्षको सी डिभिजन लिग छनोट प्रतियोगिता हाम्रो तत्कालीन लक्ष्य हो । त्यसका लागि हामीले आफ्नै स्थानीय खेलाडीसँगै बाहिर केहीका खेलाडीलाई पनि वार्षिक सम्झौता गरेर राखेका छौं,’ वाग्मतीका प्रशिक्षक रोजित केसी सुनाउँछन् ।

उनका अनुसार क्लबले १२ हजारदेखि ३५ हजार रुपैयाँसम्मको मासिक पारिश्रमिकमा खेलाडी अनुबन्ध गरेको छ । ‘मेयर साबले आफैं सबथोक हेर्नुहुन्छ । हामीले खेलेमात्र पुग्छ । बाँकी आर्थिक व्यवस्थापन उहाँले आफैं गरिदिनुहुन्छ,’ प्रशिक्षक केसीले थपे, ‘अहिले टिमका लागि लगभग एक करोडको हाराहारीमा खर्च छ । मेयर साबले स्थानीय स्तरमै आफ्ना साथीभाइबाट खर्चको जोहो गरिरहनुभएको छ ।’

नेपाली राष्ट्रिय यु–१७ टोलीका पूर्वकप्तान केसीका अनुसार वाग्मती क्लबले डिभिजन लिगमा छिर्ने योजनाअनुरुप खेलाडीलाई होस्टलमा राखेर नियमित प्रशिक्षणको व्यवस्था मिलाएको छ । ‘मोफसलका प्रतियोगिता त त्यसकै तयारी हो । यी प्रतियोगिताबाट हामीलाई प्राविधिक र व्यवस्थापकीय अनुभव हासिल हुन्छन् । धेरै कुरा सिक्न सकिन्छ,’ केसीले योजना सुनाए । जावलाखेल, संकटा र एनआरटीबाट खेलिसकेका उनी त्यतिबेला क्रिएटिभ मिडफिल्डरमा दरिएका थिए ।

लामो योजना भएकैले तयारीका क्रममा भोगेका असफलताहरूलाई क्लबले पाठको रूपमा लिएको प्रशिक्षक केसी बताउँछन् । सेमिफाइनलमा भोगेको हारबाट निराश हुनुभन्दा त्यहाँसम्म पुग्दा हासिल गरेका सफलताबाट उर्जा लिइरहेको उनको भनाइ थियो ।

सिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफविरुद्ध मैदान उत्रिएको टोलीमा वाग्मतीका आफ्नै उत्पादनका १२ खेलाडी थिए । त्यसबाट क्लब र पदाधिकारीहरूले सन्तुष्टि लिने गरेका छन् । सिमरामा एपिएफसँग हार्नुअघि टोलीले चितवनको बिएफसी र ए डिभिजन लिगको सनसनीपूर्ण टोली संकटालाई पराजित गर्दै अन्तिम चारको यात्रा गरेको थियो ।

त्यसअघि खप्तड गोल्डकपमा अघिल्लो महिना काठमाडौंमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष दुई टोली मछिन्द्र र एनआरटीलाई हराएर सेमिफाइनल यात्रा तय गरेको थियो । राजर्षि जनक गोल्डकपमा पनि वाग्मतीले एनआरटीमाथि जित हासिल गरेको थियो ।

मोफसलका प्रतियोगिता खेल्नेक्रममा झापामा भएको दमक गोल्डकपमा भने पहिलो खेलमै मनाङ मर्स्याङदी क्लबसँग पराजित हुँदै बाहिरिनुप¥यो । तर २–१ को अग्रता लिइरहेको खेलको अन्तिम चार मिनेटमा तीन गोल खाएर ४–२ को हार भोग्दै बाहिरिँदा भने प्रशिक्षक केसी र टिमलाई निकै पीडा भएको थियो ।

अनुभवको कमी र मोफसलको व्यस्त क्यालेन्डरमा सकेसम्म सबै प्रतियोगिता भ्याउने उद्देश्यअनुरुप धेरै भ्रमण गर्दा खेलाडी थकित भएर त्यो हार भोग्नुपरेको प्रशिक्षकको बुझाइ छ ।

उनी भन्छन्, ‘दमक गोल्डकप र राजर्षि जनक गोल्डकप एकै समयमा भएको थियो । आज झापामा खेल्यो, भोलि राजर्षि खेल्न आयो, त्यसपछि फेरि भोलिपल्ट खेल्न झापा गयो, यस्तो क्रम चल्यो । लगातारको खेल र यात्राले केटाहरू थकित भएका थिए । नत्र भने मनाङलाई पनि जितिन्थ्यो । तर सिक्ने पनि यस्तै अनभुवबाट त हो नी । हामी सिकिरहेका छौं ।’

मोफसलका प्रतियोगिताहरूबाट परिपक्व बनाएर यही टिमलाई अर्को वर्षको ‘सी’ डिभिजन छनोट खेलाउने क्लबको योजना छ । त्यसका लागि यो सिजनमा टोलीले अब हेटौंडा, चितवन र फापरबारीमा हुने थप तीन प्रतियोगिता खेल्ने तयारी गरिरहेको छ । शीर्ष डिभिजनको हैसियतलाई गन्तव्य बनाएको टोलीले पहिलो खुट्किलो अर्को वर्षको ‘सी’ डिभिजन छनोटमार्फत उक्लिने योजना बनाएको छ ।

मेयर थापाबाट प्रेरित वाग्मतीले फुटबलमा यसबाहेक पनि थुप्रै उपलब्धि हासिल गरेको केसीले सुनाए । केही महिनाअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रासरुट कार्यक्रममार्फत देशभरबाट यु–१३ का खेलाडी छान्दा सबैभन्दा बढी सर्लाहीबाट सात खेलाडी परेका थिए ।

ग्रासरुटमा पाएको त्यही सफलताका कारण एन्फाले केसीलाई २३ वर्षमुनिको राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको जिम्मेवारी पनि दिएको थियो । प्रचुर सम्भावना बोकेको खेलाडी हुनाका बावजुद ह्यामस्ट्रिङको गम्भीर समस्या भएपछि २०६३ सालमा खेलाडी जीवनमा पूर्णविराम लगाउन बाध्य भएका केसी अहिले फुटबलसँग फेरि प्रशिक्षकको भूमिकाबाट उच्चस्तरमै जोडिन पाउँदा उत्साही छन् ।

‘घाइते भएपछि फुटबल छोडेर आफ्नै गाउँ लालबन्दी फर्किएर व्यवसाय गर्न थालें । तर फुटबल चाहिँ राजनीतिले गर्दा धेरै बिग्रिएजस्तो लाग्यो । फुटबलमा सबै लोभीपापी भए । हामीजस्ता फुटबल खेलेका मानिसले आएर आ–आफ्नो ठाउँबाट केही गर्नुपर्यो भनेर फर्किएको हुँ । राम्रै गरिरहेको छु,’ केसीले सुनाए ।

खेल्न छोडेपछि घरजग्गाको व्यापारसँगै ठेक्कापट्टाको व्यवसाय गरिरहेका केसी वाग्मती नगरपालिकाको वडा ८ को राजनीतिमा पनि सक्रिय छन् । नेपाली कांग्रेसका वडा सभापति रहेका उनी अर्को महिना हुने चुनावमा वडा अध्यक्ष उठ्ने तयारीमा छन् । तर, राजनीतिमा लागेकै कारण फुटबलप्रतिको लगावमा कम नहुने उनको अठोट छ ।

‘हामीजस्तो खेलेर आएको मान्छे राजनीतिमा अघि बढ्यो भने त त्यसले फुटबललाई पनि सहयोग पुग्छ । राजनीतिमा लागे पनि प्रशिक्षकको काम गर्न चाहिँ छाड्दिनँ,’ उनले फुटबल लगावप्रतिको दृढता सुनाए ।