इटाली

समस्या र उज्वल भविष्यबीच उभिएको इटालियन फुटबल

गाजेटा डेलो स्पोर्ट, कोरिएरे डेलो स्पोर्ट र टुटो स्पोर्ट इटालीका तीन लोकप्रिय खेल अखबार हुन् । विश्वकप प्लेअफमा इटाली हारेपछि यी तीनै अखबारको हेडलाइन थियो, ‘डिजास्ट्रो’

उत्तर म्यासेडोनियासँग पराजित भएपछि इटालीका समर्थक निराश भए । त्यसमा आक्रोश पनि मिसिएको थियो । आखिरमा इटालीका खेल पत्रकार आफ्ना राष्ट्रिय टिमको समर्थक पनि त हुन् । चुप किन बस्थे र ? रिस पोखिदिए, समाचारमार्फत । अनि हेडलाइन पनि ‘कडा’ ।

ती तीन अखबारले भने जस्तै, विश्वकपमा लगातार दोस्रो पटक छनौट हुन नसक्नु इटालीका लागि ‘डिजास्टर’ नै हो । सन् २०२६ को विश्वकपमा पनि छनौट नहुने भए, इटालीले विश्वकप नखेलेको १२ वर्ष पुग्नेछ ।

अब एउटा प्रश्न गरौँ, के विश्वकपमा छनौट नहुनु इटालीका लागि डिजास्टर नै हो ? डिजास्टर नै हो भने, बढी पीडा दिने डिजास्टर चाहिँ कुन ? स्विडेनसँग हारेर रुस विश्वकपका लागि छनौट नहुनु कि म्यासेडोनियासँग पराजित भएर कतारको टिकट नकाट्नु ?

विश्वकप २०१८ का लागि छनौट हुन नसकेपछि, इटालीका अनुभवी खेलाडीले संन्यास लिए । ती थिए, जियानलुइजी बुफोन र डानियल डे रोसी । जर्मनीमा इटाली विश्व च्याम्पियन हुँदा यी दुई टिमका मुख्य खेलाडी थिए । इटालीले सम्मानजनक रुपमा बिदा गर्नुपर्ने यी खेलाडीले निराशामा अन्तर्राष्ट्रिय फुटबल त्यागेको घोषणा गर्नुपर्यो ।

तर त्यही क्षणबाट इटालियन टिमको पुनः निर्माण सुरु भयो । विश्वकप जितेका र छनौट हुन नसकेका केही पाका खेलाडी अझै पनि हालको टिममा छन् । रोबर्टो मान्सिनीले इटालियन टिमको पुनः निर्माणको ठेक्का लिए । उनकै कारण इटालीले केही हदसम्म आक्रामक फुटबल खेल्न थाल्यो । तीन वर्ष मान्सिनीको प्रशिक्षणमा खेल्दा इटालीकोे प्रदर्शनमै निखार आयो । यसको प्रमाण हो, युरो २०२० ।

तर युरो च्याम्पियन बनेको एक वर्ष पनि नपुगी इटाली अहिलेको अवस्थामा आइपुग्यो । सामान्यतया, युरो जितेको टिम लगत्तै विश्वकपमा छनौट हुन सक्दैन भनेर अनुमान गरिँदैन । हो, विगतमा पनि केही टिम युरो विजेता हुँदाहुँदै पनि विश्वकप खेल्नबाट वञ्चित भएका थिए । तर यो इटाली हो । यस्तो इटाली जसले एकबेला लगातार ३७ खेलमा पराजय नै भोगेको थिएन ।

युरोपतर्फको छनौटमा समूह सी मा थियो, इटाली । समूहका सुरुवाती तीन खेलमा इटाली सजिलै विजयी भयो । तर सेम्टेम्बर र नोभेम्बरमा इटालीले चार बराबरी खेल्यो । स्विटजरल्यान्डलाई त दुवै लेगमा हराउन सकेन । ती दुवै खेलमा पेनाल्टीमा पाउँदा समेत इटालीले गोल गरेन । हुँदाहुँदै इटालीले आफ्नै मैदानमा बुल्गेरिया र दोस्रो लेगमा उत्तरी आयरल्यान्डलाई पनि पाखा लगाउन सकेन ।

समूह विजेता बनेर विश्वकपमा छनौट हुन नसकेपछि इटालीका लागि रहेको विपल्प थियो, प्लेअफ । पालेर्मोमा भएको प्लेअफमा इटालीले सबैथोक गर्नसक्यो, मात्र गोल गर्न सकेन । कहिल्यै विश्वकपमा छनौट हुन नसकेको म्यसेडोनियासँगको खेलमा चार पटकको विजेता इटालीले ६५ प्रतिशत बल पोसेसन राख्यो । विपक्षीको पोस्टमा ३२ सट प्रहार गर्यो । १६ वटा कर्नर पायो । जबकि म्यासेडोनियाले एउटा पनि कर्नरको अवसर पाउन सकेन । लगातार आक्रामण बुन्दा पनि गोल गर्न नसकेको इटालीले ९२ औँ मिनेटमा पुगेर गोल खायो ।

जर्गिन्हो, निकोलो बरेला र लोरेन्जे इन्स्न्यिासम्मिलित मिडफिल्डले अग्रपंक्तिलाई गोल गर्न सहयोग गर्न सकेन । यी खेलाडीले लङ पास खेलिरहे । जबकि युरो जित्दा इटाली हरेक विभागमा चुस्त देखिन्थ्यो । यसपालि इटालीका मुख्य रक्षकहरु जियोर्जियो किलिनी, लियान्द्रो बोनुची, लियानार्दो स्पिनाजोला र जियोभानी डे लोरेन्जो घाइते थिए । यसकारण पनि इटालीले गोल खाएको हो भनेर तर्क गर्नेको लर्को छ ।

तर यहाँ बुझ्नुपर्ने तथ्य के छ भने, इटाली जस्तो टिम हरेक अवस्थाका लागि तयार रहनुपर्छ । र, केही खेलाडीको चोटले विश्वकप छनौट अभियानलाई नै तहसनहस बनाउने सामथ्र्य राख्नु हुँदैन । यसो भनिरहँदा मान्सिनीबारे पनि कुरा गर्न आवश्यक छ । युरो जितेर आफूलाई प्रमाणित गरिसकेका मान्सिनी छनौटका पछिल्ला पाँच खेलमा कमजोर सावित भए । कमजोर मानिएका विपक्षीविरुद्ध पनि पनि खेल जिताउने खालको रणनीति बनाउन सकेनन् । बरु लिगमा कमजोर प्रदर्शन गरिरहेकैलाई राष्ट्रिय टिममा बोलाइरहे । कमजोर रणनीति र निर्णायक समयमा स्तरीय प्रदर्शन गर्न नसक्ने खेलाडीको समिश्रणका कारण इटालीले मार खायो ।

रणनीतिमा मान्सिनी खरो उत्रन नसकेपछि इटाली फेरि पुरानै लयमा फर्किएको आरोप लगाए, इटालियन अखबारहरूले । पुरानो मतलब, कुनै स्पष्ट खेल शैली नभएको इटालियन टिम । न त मिडफिल्डमा ‘क्रिएटिभिटी’ न त अग्रपंक्तिका खेलाडीको जादु । अग्रपंक्ति सम्हालेका सिरो इममोबिलेले कुनै पनि बेला स्ट्राइकरमा हुनुपर्ने आत्मविश्वास नदेखाएको आरोप लगाइयो ।

तमाम आलोचनाले एउटा तथ्यलाई भने छायामा पार्न सक्दैन । तथ्य के भने, इटालियन फुटबल समस्यामा छ । र, यो समस्या कुनै एक खेलाडीले मैदानमा गल्ती गरेर वा प्रशिक्षकले कमजोर रणनीति बनाएर उब्जिएको होइन । अनि यो समस्या आलो पनि होइन । बरु यो त वर्षौदेखिको सतहमा देखिएको समस्या हो ।

समस्याबारे छलफल सुरु गर्दा इटालियन लिगतर्फ नजर डुलाउन आवश्यक छ । सन् २०१० यता कुनैपनि इटालियन क्लबले युरोपियन ट्रफी जित्न सकेका छैन । सिरी ए खेल्ने क्लबहरुले युवा प्रतिभाको उत्पादनका लागि उपयुक्त योजना बनाएका छैनन् । न त भएकै प्रतिभालाई तिखार्ने व्यवस्थाकै निर्माण गर्न सकेका छैनन् । तथ्यांक केलाउने हो भने, सिरी ए का प्रत्येक टिममा २१ वर्ष वा त्योभन्दा मुनिका खेलाडीको संख्या तीन मात्रै छ ।

प्लेअफ खेलका लागि तयारी गर्ने भन्दै इटालियन फुटबल संघले सिरी ए लाई ३१औँ राउन्डका खेल रोक्न भनेको थियो । तर सिरी ए ले यो प्रस्ताव स्वीकार गरेन । यस्तोमा प्रश्न उठ्छ, इटालियन फुटबलका लागि राष्ट्रिय टिम कति महत्वपूर्ण छ ? अथवा व्यस्त रहने सिरी ए को क्यालेन्डरमा राष्ट्रिय टिमलाई दिइने स्थान कति हो ? यी प्रश्नको जवाफ दिन इटालियन फुटबल संघका अध्यक्ष गाब्रियल ग्राभिना अगाडि सरेका छन् । ‘सिरी ए का क्ललहरुले इटालीको राष्ट्रिय टिमलाई बोझ मान्छन्,’ ग्राभिनाले भनेका छन् ।

क्लब र संघबीचको मतभिन्नताका बीच राष्ट्रिय टिमको भविष्य कस्तो रहने हो भन्न सकिने अवस्था छैन । तर तत्कालका लागि राहत दिने खबर मान्सिनीको तर्फबाट आएको छ । उनले आफू प्रशिक्षक रहिरने बताएका छन् । म्यासेडोनियासँगको हारलाई आफ्नो करियरकै खराब क्षण मानेका मान्सिनीले इटालियन टिमलाई नयाँ दिशा दिने सार्मथ्य राख्छन् । र, यसका लागि इटालियन फुटबलले उत्पादन गरेका नयाँ प्रतिभा काफी छन् ।