आश्विन १, २०८१ मंगलबार | ०१:३३:२३
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन सुनील बल

सानदार सुनील

काठमाडौं । अघिल्ला तीन वर्षतिर फर्किने हो भने खासै लयमा थिएनन्, सुनील बल । उनले शीर्ष डिभिजनको लिग २०७५ सालमा थ्री स्टार र २०७६ सालमा च्यासल युथ क्लबबाट खेलेका थिए । जहाँ सुनील र उनका क्लबले खासै छाप छोड्न सकेनन् । प्रदर्शन औसतभन्दा पनि तलकै रह्यो ।

त्यसैले सुनील यसपालि केही राम्रो गरेर देखाउन चाहन्थे । यसैबीच मछिन्द्र फुटबल क्लबले सुनीलमाथि नजर लगायो । लिगभन्दा एक महिनाअघि माल्दिभ्समा सम्पन्न १३ औं साफ च्याम्पियनसिपमा सुनीलले गजबको प्रदर्शन गरेका थिए ।

कोभिड–१९ महामारीका कारण गत वर्ष नेपालमा लिग भएन । अघिल्लो वर्ष लिग नभएपछि खेलाडीहरू कसैसँग आबद्ध थिएनन् । सुनील पनि कुनै क्लबको बन्धनमा थिएनन् । जोसका साथ फुटबलमा होमिएको मछिन्द्रको प्रस्ताव सुनीलले स्वीकार गरे ।

अघिल्लो दुई सिजन राम्रो गर्न नसकेको इख बोकेका सुनील यसपालि उच्च  लयमा थिए । साफ च्याम्पियनसिप तथा विश्वकप छनोटका लागि लामो समयदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा थिए । त्यसैले उनी पछिल्लो दुई वर्षको तुलनामा लिगमा फेरिएको प्रदर्शन दिन सफल भए ।

सुरुबाटै उम्दा प्रदर्शन गरेका सुनीलको लय पूरा लिगभर एकनासको रह्यो । त्यसैले त मछिन्द्रलाई लगातार दोस्रो पटक उपाधि जिताउन उनको योगदान उच्च देखियो । योगदानको कदरस्वरुप गत साता सम्पन्न लिगकै सर्वोत्कृष्ट खेलाडी पुरस्कारको हकदार बने उनी ।

चोटका कारण लिगका पछिल्ला दुई खेल खेल्न नपाएका सुनीलले ११ खेलमा ८ सय ८७ मिनेट (इन्जुरी समयबाहेक) खेल्दै ६ गोल गरे । मछिन्द्रका लागि ‘डेब्यु’ खेलमै सुनीलले एनआरटी फुटबल क्लबविरुद्ध दुई गोल गरेर विशेष छाप छोडे । मैदानमा प्राविधिक अनुशासनको घेराभित्र रहेका सुनीलले पूरा लिग अवधिमा एक पटकमात्र पहेँलो कार्ड सामना गरेका थिए ।

लिगमा गोल गर्नेक्रम पहिलो खेलपछि रोकियो । दोस्रो र तेस्रो खेलमा उच्च प्रदर्शनका बावजुत स्कोरसिटमा नाम लेखाउन असफल भएका उनले चौथो खेलबाट गोल गर्ने लय फेरि समाए । चौथो खेलमा हिमालयन शेर्पाविरुद्ध गोल गरेका सुनीलले त्यसपछि मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब र च्यासल युथ क्लबविरुद्ध एक÷एक गोल गरेका थिए ।

सात खेलमा पूरा समय (परिवर्तन नभई) खेलेका सुनीलले मैदानमा बिताएका प्रत्येक मिनेटप्रति पूरा न्याय गरे । २०७८ साल खेलजीवनमा अहिलेसम्मकै सफल वर्ष थियो सुनीलका लागि । अन्तर्राष्ट्रिय फुटबलमा गरेको लोभलाग्दो प्रदर्शनपछि हेटौंडा स्थायी घर भएका सुनीलले लिगमा सर्वोत्कृष्ट खेलाडीको ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सुनील ‘टिम गेम’मा विश्वास गर्ने खेलाडी हुन् । खेलजीवनको पहिलो लिग उपाधि र सर्वोत्कृष्ट खेलाडीको व्यक्तिगत पुरस्कार पाउनुको रहस्य यसैलाई मान्छन् उनी ।

‘म टिम गेममा विश्वास गर्छु । सबै खेलमा हामीले पूरा टिमको तालमेलपूर्ण मिहिनेतमै नतिजा हात पारेका हौं । समग्रमा हाम्रा लागि यो लिग राम्रो भयो, धेरै खुसी छु,’ २४ वर्षीय सुनील रोमाञ्चित हुन्छन् ।

तेस्रो पटक शीर्ष डिभिजन लिग खेल्नेक्रममा यसपालि उनले पहिलो पटक विजेताको पदक लगाउने अनुमान धेरैले गरेका थिए । अनुमान गर्न पनि सजिलो थियो । मछिन्द्रले लिग उपाधि रक्षा गर्नका लागि देशमा उपलब्ध सबै स्टार खेलाडी अनुबन्ध गरिसकेको थियो । राष्ट्रिय टोलीमा मुख्य खेलाडीको हैसियत बनाइसकेका सुनील मछिन्द्रले अनुबन्ध गरेकामध्ये कहलिएका आठ आक्रामक खेलाडीमध्ये एक थिए ।

यसअघि थ्री स्टार र च्यासलका लागि पनि सुनीलले यस्तै प्रदर्शनको प्रयास नगरेका होइनन् । त्यहाँ के मिलेन भन्ने सुनील स्वयंलाई थाहा छैन, तर उनको प्रदर्शन र टोलीका नतिजामा खुसी हुने ठाउँ भेटिएन ।

थ्री स्टारबाट खेल्दा पूरा सिजनमा एक गोलमात्र गरेका उनले च्यासलबाट त्यति पनि गर्न सकेका थिएनन् ।

‘पहिला र अहिलेको टिममा फरक केही छैन । यति भनिरहँदा पनि अहिलेको टिम अलि सहज चाहिँ भन्नैपर्छ । अहिले टिममा जुनियर भाइहरूसँगै सिनियर दाइहरू पनि हुनुहुन्छ । सबैलाई टिमप्रति उत्तिकै विश्वास छ । टिमप्रतिको त्यही विश्वास नै हाम्रो सफलताको रहस्य हो,’ सुनीललाई आफ्नो टोलीमाथि गर्व छ ।

अखिल नेपाल फुटबल संघको एन्फा एकेडेमीका उत्पादन सुनीलको विशेषता भनेको विंग्सबाट तीव्र गतिमा बल दौडाउनु मात्र होइन । पाएका अवसरमा नचुक्नु मात्र पनि होइन । आक्रमणमा केन्द्रित भए पनि आवश्यकता पर्दा रक्षामा सघाउनुमात्र होइन । गोलका लागि सहयात्रीलाई अवसर सिर्जना गर्नुमात्र होइन । सम्पूर्ण रूपमा खेलमा प्रतिबद्ध भएर मैदानभित्र आफ्नो टिमका लागि आवश्यक सबैखाले प्रयास गर्ने खेलाडी हुन् सुनील ।

सुनील हेटौंडामा जिल्ला लिग खेल्दै गर्दा २०६८ सालमा एन्फा एकेडेमीको १४ वर्ष मुनिको टोलीमा छानिएका थिए । एकेडेमीमा रहँदा उनले १६ र १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

२०७२ साल भदौमा घरेलु मैदानमा भएको यु–१९ साफ च्याम्पियनसिपको पहिलो संस्करणमा नेपालले उपाधि जित्दा सुनील नायक थिए । युवा साफ च्याम्पियनसिपको सफलतापछि चाहिँ सुनीलको प्रदर्शनमा उतारचढाव आइरह्यो । राष्ट्रिय टोलीमा पनि प्रदर्शनले उकाली र ओरालीको यात्रा गरिरह्यो ।

२०७४ सालमा बंगलादेशको ढाकामा सम्पन्न १२औं साफ च्याम्पियनसिपमा पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका उनले त्यसपछि लगातार टिममा स्थान बनाउन सकेनन् । तथापि नेपालको जर्सीमा उनले १७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

फुटबलले गत वर्षबाट स्वीकार गरेको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगितामा सुनील पहिलो सिजन विराटनगर सिटी एफसीमा आबद्ध थिए । कुल ६ खेलमा ४ सय ६७ मिनेट (इन्जुरी समयबाहेक) खेलेका सुनीलले त्यही प्रतियोगिताबाट आफू फर्ममा रहेको प्रमाण दिएका थिए ।

सुनीलको त्यो फर्म अहिले पनि निरन्तर छ । जसको प्रमाण भर्खरै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग हो । लिग दौरान मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पाएको जितसँगै मछिन्द्रले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाउन पायो । त्यो खेलको इन्जुरी समयमा सुनीलले नै निर्णायक गोल गर्दै मछिन्द्रलाई महत्त्वपूर्ण ३ अंक दिलाएका थिए । झन्डै २५ यार्डको दुरीबाट सुनीलले प्रहार गरेको फ्रिकिक सिधै जालीको सम्पर्कमा पुगेको थियो । सुनील बितेको लिग स्मरण गर्दा त्यही क्षणलाई नै सबैभन्दा विशेष मान्छन् ।