जापान र दक्षिण कोरियाले संयुक्त रूपमा सन् २००२ मा पहिलो पटक एसियाली मुलुकमा सफल आयोजना गरेको विश्वकप फुटबलमा ब्राजिली मिडफिल्डर रोनाल्डिन्होको प्रदर्शनबाट रञ्जित धिमाल निकै प्रभावित भए ।
रञ्जित टोल-छिमेकमा हुने फुटबल प्रतियोगिताहरू हेर्न गइरहन्थे । रोनाल्डिन्होको खेलबाट प्रभावित भएपछि उनले भित्री मनबाटै फुटबल खेलाडी बन्ने सोच पालेका थिए ।
तर कक्षामा सधैं प्रथम हुने रञ्जितलाई घरमा ‘म पनि फुटबल खेल्छु’ भन्न सधैं डर लाग्ने गर्दथ्यो । तर, कक्षाका साथीहरूसँग उनी लुकीलुकी फुटबल खेल्न जान्थे । उनका दाइ विजय धिमालले भने स्थानीय प्रतियोगिता खेल्न थालिसकेका थिए ।
विजयले क्लबस्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट खेलाडी बन्दै घरमा ल्याउने मेडल र ट्रफीका साथै नगद पुरस्कार ल्याएको देखेपछि रञ्जितले परिवारमा आफू पनि फुटबल खेलाडी बन्छु भनेर सुनाए । तर, राम्रो विद्यार्थी भएकाले परिवारले पहिले त उनको प्रस्ताव मानेन । निकै अनुनय विनय गरेपछि भने उनले फुटबल प्रशिक्षणमा सहभागी हुने अनुमति पाएका थिए ।
मोरङबाट यू-१४ टोलीमा छनोट हुँदै राजधानी आएका रञ्जित एन्फा एकेडेमीमा भने छनोट हुन सकेनन् । उनलाई लाग्यो मैले अझै मिहिनेत गर्नुपर्छ ।
२०६६ सालमा उनी पूर्वाञ्चलबाट प्रथम ब्रिटिस गोर्खा कप खेल्न काठमाडौ आएका थिए । उनका लागि त्यो यात्रा व्यावसायिक फुटबलमा फड्को मार्ने सुनौलो अवसर बन्यो । उनको मिडफिल्डको प्रदर्शनबाट प्रभावित बन्यो थ्री स्टार क्लब । थ्री स्टारबाट उनको यात्रा सुरु भयो ।
‘मैले २०६६ सालको सालमा थ्री स्टारबाट खेलें,’ रञ्जितले विगत सुनाए, ‘त्यो नै मेरो शीर्ष डिभिजनको पहिलो यात्रा थियो । त्यसलगत्तै अर्को सिजन म एपिएफ गएँ । २०६८ सालको लिगमा भने मैले एनआरटीबाट खेलें । त्यहाँ गएपछि मेरो खेल्ने पोजिसन परिवर्तन भयो । प्रशिक्षक राजुकाजी शाक्यले लेफ्ट ब्याकबाट खेल्दा अझै राम्रो हुने बताउनुभयो । मैले त्यहीअनुरुप खेलें । म अट्याकिङ मिडफिल्डभन्दा लेफ्ट ब्याकमा अब्बल देखिएँ ।’
२०६९ को लिगमा मछिन्द्र क्लब गएका उनी अर्को सिजनका लागि पूर्वक्लब थ्री स्टार फर्किए । जहाँ उनले ५ सिजन बिताए । थ्री स्टारले २०७१ सालमा राष्ट्रिय लिगको उपाधि जित्दा उनी टोलीका मुख्य सदस्य थिए ।
रञ्जितका लागि २०७५ सालको लिग सधैं यादगार रहनेछ । सेट पिसमा अब्बल देखिएका रञ्जित सर्वाधिक गोलकर्ता बनेका थिए ।
क्लब स्तरमा सधैं अब्बल देखिएका रञ्जित राष्ट्रिय टोलीमा पनि सधैं बलिया खम्बाको रूपमा रहे ।
सन् २०१३ मा नेपाली यू-२३ टोलीमा स्थान बनाए पनि मैदान उत्रन नपाएका रञ्जितले २०१४ मा फिपिन्सिविरुद्धको मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
‘राष्ट्रिय टोलीबाट खेल्ने सपना सबै खेलाडीको हुन्छ र मेरो पनि थियो,’ रञ्जितले भने, ‘२०१४ मा फिलिपिन्सविरुद्ध को खेलबाट मैले राष्ट्रिय टोलीबाट डेब्यु गरें । त्यो मेरो सपना साकार भएको दिन थियो । त्यसयता म निरन्तर राष्ट्रिय टोलीमा परे पनि चोटका कारण पछिल्लो केही खेलमा मबाहिर रहँदै आएको छु ।’
नेपालमै सम्पन्न थ्री नेसन्स कपको फाइनलपछि भने उनी टोलीबाहिर रहँदै आएका छन् । केही प्रतियोगिताका लागि उनी बन्द प्रशिक्षणमा पर्न सफल भए पनि पुन: चोट बल्झँदा राष्ट्रिय टोलीको पुनरागमन सफल हुन सकेको छैन ।
‘मैले सन् २०१६ मा नेपालबाट सोलिडारिटी कपको उपाधि जितेको थिएँ । मेरो लक्ष्य साफ च्याम्पियनसिप खेल्ने र जित्ने थियो,’ रञ्जित सुनाउँछन्, ‘तर चोटका कारण मेरो सपना पूरा हुन पाएन । त्यो मेरो खेलजीवनकै सबैभन्दा दुखद क्षण हो । म पुनः राष्ट्रिय टोलीमा पुनरागमन गर्नेमा विश्वस्त छु ।’
मिहिनेत गरिरहेको पनि स्वाभाविक लय भेट्टाउन आफूलाई अझै केही समय लाग्ने उनको बुझाइ छ । उनले भने, ‘मेरो पोजिसनमा अहिले समुन भाइ (सुमन अर्याल) खेलिरहेका छन् । ऊ निकै सम्भावना बोकेका खेलाडी हुन् । उसले आफूलाई प्रमाणित पनि गर्दै लगेको छ ।’
रञ्जितको टोली मछिन्द्रले यस सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरिसकेको छ । त्यसमा उनको सदाझैं प्रभावशाली प्रदर्शन कायम नै रहेको थियो ।
त्यसो त २०७६ सालमा मछिन्द्रले पहिलो पटक लिगको उपाधि जित्दा पनि रेजिनले प्रभावशाली प्रदर्शन गरेका थिए । आर्र्मीविरुद्धको लिगको अन्तिम खेलमा मछिन्द्रलाई लिग च्याम्पियन बन्न ३ अंक आवश्यक थियो । आर्मीलाई भने बराबरीको नतिजा नै पर्याप्त थियो । रञ्जितको फ्रिकिकले आर्मीका खेलाडीलाई छुँदै पोस्टको दिशा लियो । उक्त गोल मछिन्द्रलाई लिग विजेता बनाउन पर्याप्त बन्यो ।
‘हामीले उपाधि रक्षाको साथै एएफसी कप खेल्ने लक्ष्य लिएका थियौं,’ रञ्जितले भने, ‘जुन पूरा भएको छ । अब हाम्रो लक्ष्य एएफसी छनोट कपमा पनि आफूलाई प्रमाणित गर्ने हो ।’
घरेलु फुटबलमा ‘मार्सेलो’ उपनाम पाएका रञ्जितले नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा विराटनगर एफसीको कप्तानी गरेका थिए । तर उनको टोलीले आशाअनुरुप प्रदर्शन गर्न सकेका थिएनन् । सहिद स्मारक ‘ए’ डिभिजन राजधानी केन्द्रित भए पनि एनएसएलले समग्र नेपालको प्रतिनिधित्व गर्ने रञ्जित बताउँछन् ।
‘सहिद स्मारक ए डिभिजन लिगको छुट्टै गरिमा छ । तर यो राजधानी केन्द्रित छ,’ उनले भने, ‘एनएसलले समग्र नेपालको प्रतिनिधित्व गरेजस्तो लाग्छ । किनभने यहाँ विभिन्न सहरका टोली सहभागी छन् । जसले ती सहरवासीको मात्र नभई समग्रमा त्यो क्षेत्रकै भावना बोकेको हुन्छ । यसले व्यावसायिकतालाई नयाँ उचाइमा पु¥याउने काम गरेको छ ।’