काठमाडौं । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) मा पहिलो पटक फाइनल पुगेयता नेपाली राष्ट्रिय टोलीको मनोबल अकासिएको छ । यही मनोबललाई अझ उचाइ दिने उद्देश्यसहित नेपालले फिफा ब्रेकको अवसर पारेर शनिबार र मंगलबार दशरथ रंगशालामा अफ्रिकी देश मोरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।
मोरिससका लागि भने सन् २०१९ को अक्टोबरयता यो पहिलो भ्रमण हुनेछ । मोरिससले सोही वर्ष अक्टोबर १३ मा अफ्रिका कप अफ नेसन्सको प्रारम्भिक चरणमा साओ टोमई प्रिन्सिपीसँग २–१ को नतिजामा हार बेहोरेको थियो । सोही खेलको पहिलो लेग मोरिससले अक्टोबर ९ मा खेलेको थियो । उक्त खेलमा पनि प्रिन्सिपीसँग ३–१ को पराजय भोगेको थियो । त्यसअघि २०१९ को सेप्टेम्बरमा विश्वकप छनोटअन्तर्गत मोरिससले मोजाम्बिकविरुद्धको खेल २–० ले गुमाएको थियो ।
घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय फुटबल जित्न सके फिफा विश्व वरीयतामा नेपालको स्थान सुधार हुनेछ । जसले एसियन कप तेस्रो चरण छनोटका लागि तुलनात्मक रूपमा सहज समूह पाउने आस गर्न सकिन्छ । त्यसैले अखिल नेपाल फुटबल संघले विश्व फुटबलको नक्सामा खोज्नै हम्मे पर्ने अफ्रिकी प्रतिद्वन्द्वीलाई आतिथ्यता दिन लागेको बुझ्न कठिन छैन ।
नेपालले अफ्रिकी टोलीसँग खेलेको इतिहास धेरै लामो छैन । कहिलेकाहीँमात्र अफ्रिकी टोलीसँग खेल्ने भएकाले स्वाभाविक रूपमा उनीहरूको विषयमा जानकारी कम हुन्छ । धेरै समर्थकलाई लागेको हुनसक्छ, नेपालले पछिल्लो पटक खेल्न लागेको मोरिसस खासमा कस्तो प्रतिद्वन्द्वी हो त ? मोरिससको फुटबल स्तर कहाँ होला ? मोरिससमा फुटबललाई कसरी लिइन्छ ?
हो, विश्वका धेरै देशमा जस्तै मोरिससमा पनि फुटबल सबैभन्दा लोकप्रिय खेल हो । सन् १९५२ मा मोरिसस फुटबल संघ (एमएफए) को स्थापना हुनुभन्दा १७ वर्षअघि १९३५ देखि नै त्यहाँ मोरिसस लिग हुन थालेको थियो । सन् १९६२ मा फिफा तथा १९६३ मा अफ्रिकी फुटबल महासंघ (सिएएफ) सँग आबद्ध भएको मोरिससमा पनि फुटबल नेपालमा जस्तै संकटग्रस्त छ ।
नेपालमा जस्तै मोरिससको फुटबल पनि भ्रष्टाचार, दयनीय प्रशासन, खेल मिलेमतो र आन्तरिक शक्तिसंघर्षको दलदलमा जकडिएको छ । घरेलु लिगमा मिलेमतोका विवाद निरन्तर रूपमा भइरहेका छन् । २०१३ मा तत्कालीन अध्यक्ष दिनानाथलाल पर्सुन्नोलाई ‘बी’ डिभिजनको एक खेलमा मिलेमतो गराएर आफूले चाहेको टिमलाई रेलिगेसनमा पार्न खोजेको आरोप लागेको थियो । त्यसपछि २०१४ देखिका अध्यक्ष समीर सोभा पनि खेल मिलेमतोको आरोपमा फसेका थिए । दुवै अध्यक्षका साथै कार्यसमितिका केही पदाधिकारीमाथि विभिन्न चरणमा अनुसन्धान भइरहेको छ ।
त्यसका पछिल्ला दुई दशकदेखि लगातार भइरहेका यस्ता विवादका कारण त्यहाँको फुटबल प्रशासन समस्यामा भए पनि खेल आफैंमा भने जनस्तरमा लोकप्रिय छ । त्यही कारण नेपालमा जस्तै घरेलु लिगमा अत्यन्तै कम संख्यामा भए पनि दर्शक रंगशाला धाउन छाडेका छैनन् । तथापि टेलिभिजन च्यानलमा हेरिने इंग्लिस प्रिमियर लिगमा मोरिससका फुटबलप्रेमी बढी रमाउँछन् ।
मोरिससको फुटबल समस्यामा थपिने अर्को विशेषता भनेको जात, धर्म र संस्कारका नाममा हुने हुलदंगा पनि हो । १९९९ मा फायर ब्रिगेड स्पोर्टस क्लब (हालको पाम्प्लेमोसेस एससी) र स्काउट्स क्लब (हालको पोर्ट लुइस स्पोर्टिङ क्लब)बीचको खेलमा भएको झगडा तीन दिनसम्म लगातार चल्दा सात जनाको ज्यान गएको थियो । सोही कारण सरकारले १८ महिनाका लागि देशमा सबैखाले फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको थियो । त्यो बेला राष्ट्रिय टिमलाई मात्र खेल्ने अनुमति दिइएको थियो ।
मोरिससको शीर्ष डिभिजनको लिग प्रिमियर लिगमा १० क्लब छन् भने दोस्रो र तेस्रो श्रेणीमा आठ÷आठ टिम छन् । मोरिसस कुनै बेला अफ्रिकी कप अफ नेसन्सका लागि समेत छनोट भएको देश हो । तर, पछिल्लो समय निरन्तर ओरालो यात्रामा रहेका कारण अचेल भने विश्व फुटबलको नक्सामा भेट्नै कठिन पर्छ । एक सय १६औं स्थानमा रहेर सन् २००० को सुरुआत गरेको देश अहिले फिफा वरीयताको एक सय ७२औं स्थानमा छ ।
तथापि एमएफएले फुटबलको स्तर उकास्दै पुरानै अवस्थामा पुर्याउने उद्देश्यसहित देशभित्र चारवटा एकेडेमी सञ्चालन गरेको छ । सन् २००६ देखि क्षेत्रीय टेक्निकल सेन्टरका नाममा सञ्चालित एकेडेमीबाट राष्ट्रिय टिमले केही युवा प्रतिभा पनि पाएको छ ।
मोरिससको राष्ट्रिय टोली सन् १९७४ मा अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई छानिएको थियो । त्यसबाहेक दुई पटक सन् १९८५ र सन् २००३ मा इन्डियन ओसियन गेम्स जित्नु मोरिसस फुटबलका ‘हाइलाइट्स’ हुन् ।
दक्षिण एसियाली देशले खेल्ने सागजस्तै हिन्द महासागरका टापु देशहरूबीच प्रत्येक चार वर्षमा हुने क्षेत्रीय खेल महोत्सव हो इन्डियन ओसियन गेम्स । विभिन्न खेलमा प्रतिस्पर्धा हुने इन्डियन ओसियन गेम्समा मोरिसससँगै सिचेलेस, कोमोरोस, मादागास्कर, मायोटी, रियुनियन र माल्दिभ्सको सहभागिता रहन्छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले सन् १९७७ मा यो क्षेत्रीय खेलकुद महोत्सव सुरु गरेको हो ।
हिन्द महासागरका सयौं टापुको अफ्रिकी देश मोरिसस २०४० वर्ग किलोमिटरमा फैलिएको छ । सबैभन्दा ठूलो सहर पोर्ट लुइस मोरिससको राजधानी हो । झन्डै १३ लाख जनसंख्या रहेको देशमा अधिकांश भारतीय मूलका मानिसको बसोबास छ । कुल जनसंख्याको ७० प्रतिशत भारतीय मूलका मानिस रहेको देशमा सबैभन्दा बढी झन्डै ४८ प्रतिशत हिन्दु धर्म मान्ने छन् ।
सन् १५०७ मा पोर्चुगाली समुद्री यात्रीहरूको समूहले पत्ता लगाए पनि मोरिससमा उनीहरूको मोह रहेन । जसका कारण लामो समयसम्म अलपत्र अवस्थामा रहेको मोरिससमा सन् १५९८ मा नेदरल्यान्ड्सले शासन थाल्यो । एक सय २० वर्ष डच अधिनमा रहेपछि मोरिसस सन् १७१५ मा फ्रान्सको अधिनमा पुग्यो । फ्रन्सले पनि झन्डै एक शताब्दीसम्म मोरिससमा शासन गर्यो । त्यसपछि सन् १८१० बाट मोरिसस बेयायतको कब्जामा पुग्यो । सन् १९६८ मा स्वतन्त्र हुनुअघिसम्म मोरिसस बेलायतकै अधिनमा थियो ।
बेलायतले मोरिससमा शासन गर्ने क्रममा सन् १८३४ देखि सन् १९२१ को बीचमा ठूलो संख्यामा भारतीय दास तथा सैनिकलाई उखु खेतीका लागि लगेको थियो । यसक्रममा एकैपटक ८७४० भारतीय सैनिक लगिएको थियो । विभिन्न समयमा विभिन्न देशको उपनिवेश रहेकाले मोरिसस अहिले पनि बहुसंस्कार भएको देशका रूपमा परिचित छ । तर बेलायतीले ठूलो संख्यामा भारतीय दास र सैनिक लगेकाले जनसंख्यामा सबैभन्दा ठूलो हिस्सा पनि भारतीयकै छ । मोरिसस हिन्दु बाहुल्य रहेको एकमात्र अफ्रिकी देश हो भने मानवअधिकार, प्रजातान्त्रिक र मानव विकासको सूचकांकमा पनि मोरिसस अन्य अफ्रिकी देशभन्दा माथि छ ।