नेपाली राष्ट्रिय फुटबल टोली

यस्ता छन् मोरिससविरुद्ध खेल्ने नेपाली खेलाडी!

कोभिड–१९ महामारीबीच दशरथ रंगशालामा शनिबार र मंगलबार नेपाली राष्ट्रिय टोलीले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । जहाँ नेपालको प्रतिद्वन्द्वी हुनेछ झन्डै दुई वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलमा कुनै उपस्थिति नभएको अफ्रिकी मुलुक मोरिसस ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा ब्रेकको समय उपयोग गर्ने भन्दै बडो तामझामका साथ मोरिससविरुद्धको खेल आयोजना गर्दै छ । कोभिड महामारीका कारण पूरा देश स्मार्ट लकडाउनमा हुँदा मानिसको जमघट हुने सबैखाले सार्वजनिक कार्यक्रम स्थगनमा छन् । तर, एन्फाले स्वास्थ्य मापदण्डको औपचारिकता पूरा गर्ने भन्दै झन्डै ५ हजार दर्शक जम्मा पारेर रंगशालामा खेल खेलाउने तयारी गरिरहेको छ ।

कोभिड–१९ महामारीकै कारण खेलाडीहरू संक्रमित हुनसक्ने खतराका कारण एन्फाले दुई खेलका लागि फरक टिम घोषणा गरेको छ । जसका कारण यसपालि राष्ट्रिय टोलीमा २३ होइन ३४ खेलाडी छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबल नखेलेको कमजोर विपक्षीमाथि घरेलु मैदानमा नेपालसामु जित्नैपर्ने दबाब हुनेछ ।

कोभिड महामारीमा जित्नैपर्ने अर्को दबाब थपिए पनि नेपाली टोली दुवै दबाब पार लगाउन तम्तयार छ । अफ्रिकी प्रतिद्वन्द्वीविरुद्धको दबाब पार लगाउन कस्तो छ त नेपाली टोलीको तयारी ? मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्ध चलाउन तयार गरेका ३४ तोप:

कप्तान किरण चेम्जोङले १३ वर्षदेखि पहिलो रोजाइको गोलकिपरका रूपमा नेपाली राष्ट्रिय टोलीबाट निरन्तर खेलिरहेका छन् । डेब्यु गरेकै खेलमा घाइते भएपछि दुई वर्ष मैदान बाहिर रहनुबाहेक किरण सधैं पर्खालका रूपमा नेपाली टोलीमा निरन्तर छन् ।

नेपालले पहिलो पटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा पहिलो पटक फाइनलसम्म यात्रा तय गर्दा किरणले उच्च प्रदर्शन गर्नुका साथै कप्तान भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

हाल माल्दिभ्सको माझिया एससीबाट व्यावसायिक फुटबल खेलिरहेका किरण नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानी खेलाडी हुन् ।

हेटौंडावासी अञ्जन पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडी हुन् । मिडफिल्डबाट आक्रमणमा उक्लिएका अञ्जनले एउटा परिपक्व फरवार्डका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् । त्यसैले त उनी अचेल नेपाली राष्ट्रिय टोलीमा पहिलो रोजाइका ११ नम्बर खेलाडीका रूपमा मैदान उत्रन्छन् ।

पछिल्लो समय गोल गर्ने राम्रो लयमा रहेका अञ्जनले राष्ट्रिय टोलीबाट ७ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । एन्फा एकेडेमीमा हुर्केका उनी विभिन्न उमेर समूह हुँदै सिनियर राष्ट्रिय टोलीसम्म आइपुगेका हुन् । यस अर्थमा प्राविधिक रूपमा एकेडेमीबाट खारिएका अञ्जनबाट परिपक्व प्रदर्शन आस गर्न सकिन्छ ।

२०१५ मा कतारमा भएको फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अञ्जनले नेपालको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । नेपालले साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनल यात्रा तय गर्दा ड्रिब्लिङ र फिनिसिङमा पोख्त यी खेलाडीले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए ।

नेपाली फुटबलले पछिल्लो समय पाएको सनसनीपूर्ण नाम हो, मनीष डाँगी । कोरियन एकेडेमीमा ग्रासरुट फुटबल सिकेका मनीषले ०७५ सालमा नागरिकता बनाउन नेपाल आएको मौकामा ‘सी’ डिभिजन लिग खेलेका थिए ।

नेपाली लिग संरचनाको सबैभन्दा तल्लो श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्दै खालीबारी युवा क्लबलाई सी डिभिजन जिताएपछि उनले सिधै साफ च्याम्पियनसिपको यू–१८ टोलीमा स्थान बनाए । यसपछि एएफसी यू–१९ समेत खेलेका मनीषले पहिलो पटक भएको फ्रेन्चाइज नेपाल सुपर लिगमार्फत आफूलाई चिनाउन सफल भए ।

राष्ट्रिय टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पटक २३ सदस्यीय टोलीमा अवसर दिँदै मनीषलाई यसै वर्षको पूर्वाद्र्धमा इराकविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गराएका थिए । हाल मछिन्द्र फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका उनले राष्ट्रिय टोलीबाट दुई गोल गरिसकेका छन् । उनी तीव्र गति र विपक्षी पोस्टवरिपरि छरितो प्रदर्शनका लागि चिनिन्छन् ।

०६७ सालमा च्यासल युथबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका सुनील जारी लिगमा मछिन्द्र क्लबबाट खेलिरहेका छन् । जारी सिजन उत्कृष्ट लयमा देखिएका सुनीलले लिगका ९ खेलमा ४ गोल गरिसकेका छन् ।

जारी लिगमा विंग्समा असाधारण फर्ममा देखिएको कुनै एउटा नाम छ भने त्यो सुनील बल नै हो । विंग्सबाट तीव्र गतिमा बल दौडाउनेमात्र नभई पाएका मौकामा गोलको क्लाइमेक्स दिन पनि उनी प्रभावकारी देखिएका छन् । खासगरी नेपाली फुटबलमा देखिएको फाइनल पास र फाइनल टचको समस्या कम्तीमा यी खेलाडीमा धेरै कम छ भन्न हिच्किचाउनुपर्दैन ।

एन्फा एकेडेमीका उत्पादन सुनील राष्ट्रिय टोलीमा सन् २०१६ देखि नियमित छुन् । यू–१९ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक नै उपाधि जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

बंगलादेशको ढाकामा भएको १२ औं साफ च्याम्पियनसिपमा पहिलो पटक सुनिल राष्ट्रिय टोलीमा परेका थिए । तत्कालीन प्रशिक्षक बालगोपाल महर्जनको विश्वास जित्दै पाकिस्तानविरुद्धको खेलबाट उनले राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाए । समय सकिन १७ मिनेट बाँकी रहँदा भरत खवासलाई स्थानान्तरण गर्दै सुनील पहिलो पटक नेपालको जर्सीमा मैदान उत्रिएका थिए ।

यसैगरी अब्दुल्लाह अल्मुताइरीको रोजाइमा अग्रस्थानमा रहेका सुनील तीन महिनाअघि माल्दिभ्समा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दाका मुख्य खेलाडी हुन् ।

पछिल्लो पुस्तामा राष्ट्रिय खेलाडीमध्ये एकरुपको प्रदर्शन गर्ने खेलाडी हुन्, अनन्त तामाङ । त्यसैले त उनले २०१५ मा भारतविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ‘डेब्यु’ गरेयता राष्ट्रिय टोलीमा निरन्तर स्थान बनाइरहेका छन् ।

मोरङका यी सेन्टर डिफेन्डर अत्यन्तै धैर्यसाथ रक्षापंक्तिमा डटिरहने खेलाडी हुन् । यसका साथै आधुनिक फुटबलको स्वभावअनुसार ‘सेट पिस’मा गोल गर्न अगाडि बढ्न पनि उनी हिच्किचाउँदैनन् । थ्री स्टारका रक्षकले क्लब र राष्ट्रिय टोलीका लागि रक्षापंक्तिमा पर्खालझै खडा हुनुका साथै आक्रमणमा पनि प्रभावकारी प्रदर्शन गरिरहेका छन् ।

विपक्षी पोस्टमा खासगरी एयर बलमा हेड गर्नमा अनन्त खप्पिस छन् । त्योभन्दा बढी एउटा रक्षकमा हुनुपर्ने जब्बरपनसँगै धैर्यपूर्ण प्रदर्शन उनको विशेषता हो ।

मोफसलको एउटा क्लबले २०७० को दशकको पूर्वाद्र्धमा नेपाली फुटबलमा तहल्का मच्चायो । २०७२ को राष्ट्रिय लिगमा नेपाली फुटबलका स्थापित महारथीलाई कमजोर सावित गर्दै पूर्वी नेपालको झापा ११ अगाडि बढ्दै थियो । दुर्भाग्य, भुइँचालोले राष्ट्रिय लिग बीचमै रोकिदियो । भुइँचालोले रोकिनुअघिसम्म झापा ११ उच्च लयमा थियो । अंकतालिकाको सबैभन्दा माथि । तर केही महिनापछि अवस्था सामान्य हुँदै जाँदा लिग पुनस्र्थापित भयो । झापा उपाधिबाट विमुख भयो ।

झापा ११ ले नेपाली फुटबलको माथिल्लो तहमा सनसनी मच्चाइरहँदाका एउटा खम्बा हुन् पुजन उपरकोटी । पछिल्ला सिजनमा मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका पुजन टिमको आवश्यकताअनुसार पोजिसन स्विच गरेर पनि खेल्न सक्ने भर्सटाइल खेलाडी हुन् ।

घरेलु फुटबलमा गरेको त्यही सनसनीपूर्ण प्रदर्शनका कारण गत वर्ष ढाकामा बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलको शृंखला दौरान पुजनले राष्ट्रिय टोलीबाट मैदान उत्रने मौका पाए । तत्कालीन प्रशिक्षक बालगोपाल महर्जनले पहिलो मैत्रीपूर्ण खेलमै पुजनलाई दोस्रो हाफमा मैदान उतारेका थिए । त्यसयता राष्ट्रिय टोलीका नियमित सदस्य पुजनबाट दशरथ रंगशालामा मोरिससविरुद्ध खँदिलो प्रदर्शन अपेक्षा गर्न सकिन्छ ।

२०७५ सालको अन्त्यमा स्विडिस प्रशिक्षक योहान कालिनको आगमनसँगै राष्ट्रिय टोलीमा देवेन्द्र तामाङले मौका पाएका हुन् ।

कालिनको नेतृत्वमा कुवेतविरुद्ध भएका दुई अवे दुई मैत्रीपूर्ण शृंखलाका लागि पहिलो पटक राष्ट्रिय टोलीमा परेका देवेन्द्रले पहिलो रोजाइबाटै दुवै खेल खेले ।

झापा ११ बाट शीर्ष स्तरको फुटबलमा उदाएका देवेन्द्र जारी लिगमा शीर्ष टोली मछिन्द्र क्लबबाट खेलिरहेका छन् । यहीँबाट उनले गत सिजनको लिग जितेका थिए । त्यसअघि २०७५ सालको लिग च्यासलबाट खेलेका सेन्ट्रल डिफेन्डर देवेन्द्र निकै डिपमा रहेर खेल्ने स्वभावका खेलाडी हुन् । त्यही कारण उनीमाथि परम्परागत फुटबलका समर्थकले बढी भर गर्छन् ।

पछिल्लो समय कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीको नेतृत्व लिएयता उनले खासै मौका पाउन छोडेका छन् । अल्मुताइरी आउँदाको समय चोटबाट सताइएका देवेन्द्र अहिले पूर्ण रूपमा निको भइसकेका छन् । पहिलो रोजाइमा उनको पुनरागमन अपेक्षा गर्न सकिन्छ ।

लजालु स्वभावका विशाल राई कम बोल्छन् । खासै चर्चामा आउन चाहँदैनन् । त्यही भएर नै होला उनी मैदानभित्र या बाहिर खासै अन्य खेलाडीको जस्तो चर्चामा हुन्नन् ।

तर जिम्मेवारीअनुसारको प्रदर्शनमा भने उनी त्यसको ठीक विपरीत छन्, सधैं अब्बल र निकै प्रतिबद्ध । उनको भिजन र क्रिएटिभिटी उच्च स्तरको भएकैले होला प्रत्येक जसो प्रशिक्षकले उनलाई होल्डिङ मिडफिल्डरको भूमिका दिने गर्छन् । जसमा उनी खरो उत्रने गरेका छन् ।

फुटबलमा रणनीतिक हिसाबमा होल्डिङ मिडफिल्डरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । खेललाई नियन्त्रणमा राख्ने, बल वितरण गर्ने, रक्षापंक्तिलाई आवश्यक पर्दा सघाउने, आक्रमणका मीठा मुभहरू बुन्ने खालका काम होल्डिङ मिडफिल्डरले गर्नुपर्छ । विशालले त्यही गरिरहेका छन् ।

मनाङ मस्र्याङ्दी क्लबले २०७५ सालमा कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग जित्दाका नायक विशाल लगत्तै वर्ष मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बन्दा पनि महत्त्वपूर्ण खेलाडी थिए । जारी सहिद स्मारक लिगमा नवौं चरण सकिँदासम्म मछिन्द्रले शीर्षस्थानमा पकड जमाइरहँदा विशालको प्रदर्शन उच्च रहँदै आएको छ ।

राष्ट्रिय टोलीका लागि सन् २०१५ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले ३१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मोरिससविरुद्धको मैत्रीपूर्ण शृंखलामा विशालबाट आक्रमणका मीठा अवसर बनाइएको देख्न पाइने आस गर्न सकिन्छ ।

नेपालले घरेलु भूमिमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण पदक जित्दा टोलीका कप्तान तथा मुख्य खेलाडी हुन्, सुजल श्रेष्ठ । 
धनकुटाका यी खेलाडी मुख्यतः मिडफिल्डरको भूमिकामा खेल्छन् । तर, सागमा उनी फरवार्डको भूमिकामा थिए । फेरि पछिल्लो समय यी खेलाडीको भूमिका फेरिएको छ । उनी टोलीको आवश्यकताअनुसार ‘राइट–ब्याक’ समेत खेल्छन् । त्यसैले निर्धक्कसँग भन्न सकिन्छ, सुजल पछिल्लो समय नेपाली फुटबलले पाएका सबैभन्दा भर्सटाइल खेलाडी हुन् । 

प्रशिक्षक अल्मुताइरीको टोलीमा भने उनी विशेषतः मिडफिल्ड र राइटब्याकमा देखिन्छन् । व्यावसायिक फुटबलमा मनाङ मस्र्याङ्दी र मछिन्द्र क्लबलाई शीर्ष डिभिजन लिग उपाधि जिताएका सुजल जारी लिगमा समेत मछिन्द्रलाई आफ्नो कप्तानीमा लिगको उपाधि जिताउने संघारमा छन् ।

सन् २०११ मार्च १९ मा सुजलले भुटानविरुद्ध खेल्दै डेब्यु गरेका थिए । प्रशिक्षक ग्राहम रोबर्टसले अनिल गुरुङको स्थानमा ७७औं मिनेटमा मैदान छिराउँदै सुजललाई डेब्युको मौका दिएका थिए । त्यसयता सुजल टोलीका नियमित सदस्य हुन् ।

एन्फा एकेडेमीका दिनेश राजबंशी नेपाली टोलीमा रक्षकको भूमिकामा देखिँदै आएका छन् । उनी टोलीको आवश्यकताअनुसार लेफ्ट, राइट दुवै पोसिजन र डिफेन्सिभ मिडफिल्डमा समेत खेल्न सक्छन् । विभागीय टोली नेपाल पुलिसबाट आफ्नो व्यावसायिक फुटबल सुरु गरेका दिनेशले च्यासल युथ क्लब हुँदै हाल मनाङ मस्र्याङदी क्लबबाट आफ्नो खेल कौशल प्रस्तुत गरिरहेका छन् । प्रशिक्षक ग्योतुके कोजीले २०१८ मा यमनविरुद्ध कतार सिटीमा भएको एसिया कप छनोटमा डेब्यु गराएका थिए । बेलाबेला अनुशासन कारबाहीबाहेक दिनेश टोलीमा निरन्तर रहँदै आएका छन् ।

स्पेनिस डिफेन्डर सर्जियो रामोसलाई आफ्नो आइडल बनाएकै कारण सुमन अर्याललाई उनका समकक्षी साथीहरूले बोलाउने नाम हो ‘रामोस’ । रामोस सेन्ट्रर डिफेन्डर हुन् भने सुमन ‘लेफ्ट–ब्याक’ । प्रशिक्षक बालगोपाल महर्जनले ०६५ साल भदौ १९ मा ढाका भएको साफमा पाकिस्तानविरुद्ध ‘प्लेइङ सेट’मा डेब्यु गराएयता सुमन टोलीका नियमित सदस्य हुन् ।

यद्यपि सुमनको डेब्यु सहज भएन । नेपाल पाकिस्तानसँग २–१ अन्तरले पराजित भयो । एन्फा एकेडेमीका सुमनले उमेर समूहका खेलसँगै राष्ट्रिय टोलीमा कहिल्यै बाहिर रहनुुपरेन । चोटलाई छाड्ने हो भने सुमन हरेक प्रशिक्षकका प्रिय रहँदै आएका छन् । त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका सुमन आर्मीलाई पहिलो पटक लिग जिताउने लक्ष्यसहित तेस्रो पटक शीर्ष डिभिजनको लिग खेलिरहेका छन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो पहिलो खेलमै गौतम श्रेष्ठलाई ‘प्लेइङ सेट’मा अवसर दिएका थिए । गत जेठ १६ गते इराकविरुद्ध डेब्यु गरेयता गौतम टोलीका नियमित सदस्य छन् । जावलाखेल युथबाट आर्मीमा एएफसी कप–२०२१ को प्रारम्भिक छनोट खेल्न अनुबन्ध भएका गौतम त्यसयता आर्मीमै छन् । रक्षक गौतम ‘राइट–ब्याक’का लागि प्रसिद्ध छन् । आफ्नो एरियामा शतप्रतिशत दिँदै अगाडि बढेर क्रस गर्नु गौतमको अर्काे खुबी हो । प्रशिक्षक अल्मुताइरीको आगमनसँगै राइट ब्याकमा गौतम निर्विकल्प रहँदै आएका छन् ।

गत भदौमा भारतविरुद्ध घरेलु मैदानमा भएको दोस्रो खेलमा नेपालका लागि तेज तामाङले आकर्षक गोल गरे । यद्यपि नेपाल पराजित भयो । तर उनको राष्ट्रका लागि पहिलो गोल थियो । एन्फा एकेडेमीका तेजले उमेर समूहमा नेपालले खेल्ने सबै प्रतियोगिता खेलेका छन् । हाल राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । पहिलो पटक नेपालमा भएको यू–१९ साफ च्याम्पियनसिप २०१९ नेपालले जित्दा तेज टोलीका महत्त्वपूर्ण सदस्य थिए । भारतविरुद्ध नेपालले जित्दा तेजले निर्णायक पेनाल्टी प्रहार गरेका थिए ।

नेपाल पुलिसबाट व्यावसायिक फुटबलसँगै आफ्नो खेल करियर बढाएका सुमनले पुलिसबाट तीन पटक शीर्ष डिभिजन लिग खेलिसकेका छन् । तेजलाई प्रशिक्षक बालगोपाल महर्जनले बंगबन्धु गोल्डकपअन्तर्गत ०७५ असोजमा ‘प्लेइङ सेट’मा डेब्यु गराएका थिए । तेज विशेषतः होल्डिङ मिडफिल्डरमा चिनिन्छन्  । वर्तमान प्रशिक्षक अल्मुताइरीको आगमनसँगै तेजको रोल अट्याकिङ मिडफिल्डरको रूपमा परिणत भएको छ ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्ने क्रममा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गर्यो । जुन खेलमा नेपालका लागि सुरुआती गोल गरेका थिए सुमन लामाले । यो नै सुमनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो । नेपाल पुलिस क्लबमा जागिरसँगै व्यावसायिक फुटबल बढाइरहेका सुमन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको रणनीतिमा परिरहने खेलाडी हुन् । बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा प्रशिक्षक बालगोपाल महर्जनले श्रीलंकाविरुद्ध इन्जुरी समयमा डेब्यु गराउँदा सुमनले ‘बल टच’ नै गर्न पाएनन् । त्यसयता, उनी ५ वर्ष टोलीबाहिर रहे । प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको मैत्रीपूर्ण खेल (सन् २०१९) मा मौका दिएपछि फेरि चोट बोकेका सुमनले अल्मुताइरी नेपाल झरेयता टोलीमा आफूलाई निरन्तरता दिइरहेका छन् ।

फिफा विश्वकप–२०२२ अन्तर्गतको छनोट खेलमा अस्ट्रेलियाविरुद्ध इन्जुरी समयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डेब्यु गराएका खेलाडी हुन् सुरजज्यू ठकुरी । अब्दुल्लाहको आगमनसँगै सुरज टोलीमा निरन्तर छन् । तर, मैदानमा अवसर भने कमै पाएका छन् । सुरजले सहिद स्मारक ए डिभिजन लिग जावलाखेल युथबाट खेलिरहेका छन् । अट्याकिङ मिडफिल्डर सुरज अस्ट्रेलियाविरुद्ध एकै खेलमा डेब्यु गर्ने तीन खेलाडीमध्ये एक हुन् । सोही खेलमा आयुश घलान र कमल थापाले पनि डेब्यु गरेका थिए । नेपालले ऐतिहासिक रूपमा यो वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्दा टोलीका सदस्य रहेका सुरजले जारी लिगमा भने उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन् । यद्यपि उनी अहिले जावलाखेलबाट खेलेर राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने एकमात्र खेलाडी हुन् ।

नितिन थापा रक्षक तथा मिडफिल्डर दुवै भूमिकामा खेल्नसक्ने खेलाडी हुन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भदौमा भारतविरुद्ध नितिनलाई डेब्यु गराएका थिए । तेज तामाङको स्थानमा ८६औं मिनेटमा मैदान छिर्दै डेब्यु गरेयता नितिन टोलीका नियमित सदस्य रहँदै आएका छन् । हाल व्यावसायिक फुटबल भने नितिनले कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङदी क्लबबाट खेलिरहेका छन् । नितिनले च्यासल युथबाट समेत शीर्ष डिभिजनको लिग खेलिसकेका छन् । नितिज सामान्यतः डिफेन्सिभ मिडफिल्डर खेल्न रूचाउँछन् । पोजिसनमा हुँदा बल लिएर अगाडि बढ्न रूचाउने नितिनले मोरिससविरुद्धका लागि घोषणा भएको पहिलो खेलका लागि टोलीमा छन् ।

विमल घर्तीमगर नेपाली फुटलबले पाएको एक सर्वाेत्कृष्ट फरवार्ड हुन् । फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याकमा पोख्त विमल कहिले चोट त कहिले अनुशासनका कारण टोली बाहिर रहँदै आएका छन् । अन्य समय भने टोलीका मुख्य हतियार नै हुन् । विमललाई सन् २०१२ मा ज्याक स्टेफानोस्कीले बंगलादेशविरुद्ध डेब्यु गराएका थिए । सन् २०१३ को साफ च्याम्पियनसिपमा दशरथ रंगशालामा पाकिस्तानविरुद्ध गोल गरेसँगै विमलको चर्चा एक्कासि चुलिएको थियो ।

१५ वर्षमै डेब्यु पाएका विमल त्यसयता टोलीमा निरन्तर छन् । ९ गोल गरिसकेका छन् । हाल उनी मछिन्द्र फुटबल क्लबबाट शीर्ष डिभिजनको लिग खेलिरहेका छन् ।

त्रिभुवन आर्मी फुटबल क्लबबाट आफ्नो व्यावसायिक फुटबल अगाडि बढाइरहेका सन्तोष तामाङ पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य छन् । सन्तोष मिडफिल्डरमा बल होल्ड गर्ने, आक्रमण गर्ने, लामो शट प्रहार गर्ने खुबी राख्छन् । नेपालले खेलका दौरान जितेका सेट पिसको जिम्मेवारी प्रायः सन्तोषलाई नै हुन्छ । आवश्यकताअनुसार आफ्नो बक्समा आएर समेत खेल्न सक्ने हुँदा उनी प्रशिक्षकका प्रिय रहँदै आएका छन् । प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध ०७५, चैतमा डेब्यु गराएयता टोलीमा नियमित रहेका सन्तोषले एक पटक अनुशासन कारबाहीसमेत सामना गर्नुपर्यो । बेन्चबाट डेब्यु गरेका सन्तोष अल्मुताइरीका समेत रोजाइका खेलाडी हुन् । पूर्वराष्ट्रि«य खेलाडी राजु तामाङका सहोदर भाइ रहेका सन्तोषले दाइकै विरासत थामेको फुटबल सरोकारवालाहरू तर्क गर्छन् ।

सन् २०१७ यता राष्ट्रिय टोली बाहिर रहेका जगजित श्रेष्ठ आफ्नो करियरको उत्तरार्धमा छन् । उनी अन्तिम पटक राष्ट्रिय टोलीबाट खेल्ने योजनामा छन् । सन् २०११ मार्च १९ मा भुटानविरुद्ध डेब्यु गरेयता जगजितले राष्ट्रिय टोलीमा निकै नै उतरचढाव भोग्नुपर्यो । शंकालु स्वभावका कारण टिमका साथीसँगै झगडा गर्ने हुँदा जगजित बेला मौका चर्चामा आइरहन्छन् । सातदोबाटोमा एसियन कप छनोटमा फिलिफिन्ससँग खेल्दा पछिल्लो पटक टोलीमा रहेका जगजित त्यसयता टोलीबाहिर छन् । मिडफिल्डरमा आक्रामक रूपमा प्रस्तुत हुने जगजित सेट पिस प्रहार गर्न समेत माहिर छन् । जारी सिजन त्रिभुवन आर्मी क्लबबाट जारी लिग खेलिरहेका जगजितको नाम राष्ट्रिय टोलीमा फेरि समावेश भएसँगै नयाँ तरंग फुटबलजमातमा पैदा भएको छ ।

राष्ट्रिय टोलीमा करिब एक दशकसँगै रहे पनि विशाल श्रेष्ठले गत भदौमा मात्रै डेब्यु पाए । घरेलु फुटबलमा अन्य गोलरक्षकसँगै सधैं प्रतिस्पर्धा र बढी क्लिन सिट राख्दै आए पनि विशाल सधैं राष्ट्रिय टोलीको बेन्चमा रहँदै आए । भारतसँग भएको दुई मैत्रीपूर्ण खेलको अन्तिम दिन ८४ औं मिनेटमा विशालले कप्तान किरण चेम्जोङको स्थान लिएका थिए । घरेलु लिगमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका विशालले एएफसी कपको समेत अनुभव बटुलेका छन् । हाल विशाल मछिन्द्रमै अनुबन्धित छन् । जारी लिगमा नौ चरण सकिँदा ७ क्लिन सिट राखेका छन् । यद्यपि राष्ट्रिय टोलीमा भने किरण चेम्जोङ र विकेश कुथु जस्ता खेलाडीको छायाँमा परिरहेका विशाल घरेलु फुटबलमा सेलेब्रिटी गोलपिकर हुन् ।

घरेलु फुटबलमा मनाङ मस्र्याङ्दी क्लबबाट खेल्दा आफूलाई प्रमाणित गरेपछि दीप राष्ट्रिय टोलीमा परेका थिए । हाल उनी हिमालयन शेर्पा क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका छन् । पोखराका यी खेलाडी नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दाका सदस्य हुन् । हाल सिनियर राष्ट्रिय टोलीमा नियमित स्थान बनाए पनि दीपले डेब्यु पाएका छैनन् । दीपले प्रशिक्षक बालगोपाल महर्जन र अब्दुल्लाह अल्मुताइरीसँग प्रशिक्षणको मौका पाएका छन् । सन् २०७६ सालमा भएको लिगको पछिल्लो संस्करणमा उत्कृष्ट गोलकिपर चुनिएका दीप मोरिससविरुद्ध क्याप जित्ने आशामा हुनेछन् ।

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका शत्रुधन चौधरी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन् । जारी सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि शत्रुधनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएका हुन् । जारी लिगमा ६ खेल खेलेका शत्रुधनले दुई क्लिन सिट राखेका छन् । आर्मी, मछिन्द्रलगायत टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कारण प्रशिक्षक अल्मुताइरीको नजरमा परेका शत्रुधनले क्याप नजिते पनि राष्ट्रिय टोलीबाट अवश्य सिक्ने मौका पाउनेछन् ।

जारी सहिद स्मारक ए डिभिजन लिगमा औसत प्रदर्शन गरेका टिकेन्द्र थापा पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । लिगमा तीन क्लिन सिट राखेका टिकेन्द्र घरेलु फुटबलमा परिचित नाम हो । पहिलो फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीमा आवद्ध भएपनि टिकेन्द्र फाइनलसम्म बेन्चमै रहे । टिकेन्द्र घरेलु फुटबलमा जारी लिगसहित अघिल्ला दुई लिगमा जावलाखेल युथ क्लबबाट खेलिसकेका छन् । जारी सिजन जावलाखेलले समग्रमा प्रदर्शन त्यति राम्रो नभए पनि व्यक्तिगत प्रदर्शनका कारण टिकेन्द्रले प्रशिक्षकको नजरमा स्थान बनाएका हुन् ।

एन्फा एकेडेमीका आकाश थापामगरले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । पहिलो पटक नवप्रवेशी सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका आकाश प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका हुन् । नेपालको यू–१५, १८, १९ टोलीबाट खेलिसकेका आकाशले एन्फा एकेडेमीपछि यू–१८ ललित स्मृति भने एपीएफ क्लबबाट खेलेका थिए । मध्यभागमा बल होल्ड गर्दै काउन्टर अट्याकमा विपक्षीलाई दबाब बनाउन माहिर आकाशले जारी लिगमा ९ खेलमा दुई पटक परिवर्तन हुँदा ६९२ मिनेट खेलेका छन् । नेपाली फुटबलको शीर्ष लिगमा पहिलो पटक स्थान बनाएको टोलीबाट राष्ट्रिय टोलीसम्मको यात्रा गर्ने सीमितमध्ये एक खेलाडीसमेत रहेका आकाश डेब्यु गर्न सके युवा खेलाडीको प्रेरणास्रोत बन्नेछन् ।

न्युरोड टिम (एनआरटी) का कृतिशरत्न छुन्जु नेपाली फुटबलमा खासै चर्चित नाम हैन । जारी सहिद स्मारक ए डिभिजन लिगमा समेत औसत प्रदर्शन गरेका कृतिशले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । लिगमा ९ खेल नै खेलेका कृतिशले एक मात्रै खेलमा पूरा समय खेलेका छन् । जहाँ उनले ४१० मिनेट (इन्जुरी समय बाहेक) मैदानमा बिताएका छन् । १८ वर्षीय कृतिशले एनआरटीको खराब लयका बाबजुद प्रशिक्षकको नजर आफूतिर आकर्षित गर्न सके । सानै उमेरमा राष्ट्रिय टोलीबाट डेब्युको नजिक पुगेका कृतिश लामो समयदेखि एनआरटीबाट खेल्दै आएका छन् । सन् २०१९ मा एन्फा कम्प्लेक्समा भएको ललित मेमोरियल यू–१८ च्याम्पियनसिपमा एनआरटीकै उमेर समूहको टोलीबाट खेलेका कृतिशले पछिल्लो समय लगातार सिनियर टोलीमा पनि स्थान बनाइरहेका छन् ।

रक्षक नवीन गुरुङले पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एनआरटीबाट खेलिरहेका नवीनलाई आफ्नो रणनीतिसँग अभ्यस्त बनाउने प्रयासमा छन् । युवा रक्षक नवीनले ‘लेफ्ट ब्याक’ मा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका छन् । जारी सहिद स्मारक ए डिभिजन लिगमा ९ खेल खेलेका नवीनले ७२० मिनेट मैदानमा बिताएका छन् । यसपालि टोलीको औसत वा खराब प्रदर्शन हुँदा पनि व्यक्तिगत प्रदर्शनबाट मुख्य प्रशिक्षकको नजरमा स्थान बनाउन सफल केही खेलाडीमध्ये एक रहेका नवीन फिल्डमा छरितो खेल प्रदर्शन गर्न अब्बल छन् । मोरिससविरुद्धको दुई खेलमा मौका पाए आफूलाई प्रमाणित गर्ने उनका लागि अर्को ठूलो प्लेटफर्म हुनेछ ।

सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबबाट उदाएका खेलाडी हुन् प्रशान्त अवस्थी । मिडफिल्डमा आफ्नो प्रभाव जमाएका प्रशान्त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रारम्भिक टोलीमा स्थान बनाएका थिएनन् । तर मनाङ मस्र्याङ्दी क्लबविरुद्ध नवौं खेलमा पूरा समय खेलेर प्रभावशाली प्रदर्शन गरेका प्रशान्त अन्तिम अवस्थामा मात्रै प्रशिक्षकको नजरमा परे । मध्यभागमा बल नियन्त्रण गर्दै काउन्टर अट्याकमा विपक्षीलाई दबाब बनाउनु प्रशान्तको खुबी हो । तीव्र गतिमा दौडिने क्षमतासमेत बोकेका प्रशान्त सन् २०२० मा खुमलटार युथ क्लबबाट बी डिजिभन लिग खेलेका थिए । यसअघि खुमलटारबाट बी डिभिजन खेलेर शीर्ष डिभिजन नै नखेली आयुश घलानले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

राष्ट्रिय टोलीका चार खेलाडी अनुशासन उल्लंघनका कारण बर्खास्तगीमा परेपछि एक खेलाडी मात्रै थपरे नेपाली टोली कुवेतविरुद्ध खेल्नका लागि भुटान गएको थियो । विमल, अञ्जन, दिनेश र सन्तोष तामाङ कारबाहीमा परेका बेला थपिएका तिनै खेलाडी हुन् सुभाष गुरुङ । अहिले संकटा क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका उनले अन्य खेलाडीको अनुपस्थितिमा मात्रै मौका पाएका थिए । राष्ट्रिय टिमबाट डेब्यु गरे पनि सुभाष टोलीका नियमित सदस्य भने हुन सकेका छैनन् । उनी टोलीभित्र बाहिर रहँदै आएका छन् । प्रशिक्षक अल्मुताइरी आएपछि पहिलो पटक टोलीमा कल भएका सुभाष पुनरागमन गर्न सफल भएका हुन् । आक्रामक मिडफिल्डर उनी अनुभवी खेलाडी हुन् ।


जारी सहिद स्मारक ए डिभिजन लिगमा नयाँ खेलाडीमध्ये कसैले उत्कृष्ट प्रदर्शन दिन सकेका छन् भने ती हुन् सुदीप गुरुङ । सातदोबाटोले शीर्ष डिभिजनमा पहिलो पटक अनुभव बटुलेझै सुदीपले समेत पहिलो पटक ए डिभिजन लिगको अनुभव बटुल्न पाए । नवप्रवेशी टोली र नयाँ खेलाडी भए पनि उनको प्रदर्शन कुनै अनुभवी खेलाडीको भन्दा कम छैन । मध्यभागमा बल होल्ड गर्ने, ड्रिब्लिङ गर्ने, लामा शट प्रहार गर्न माहिर छन् सुदीप । त्यसैले उनी पहिलो पटक प्रशिक्षक अल्मुताइरीको नजरमा पर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे । जारी लिगमा उनले खेलिएका ९ खेलमा ९० मिनेट बिताउँदै एक गोल गरेका छन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पटक सुशील राईलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको मौका दिएका हुन् । सातदोबाटो युथ क्लबबाट जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुशीलसँग थ्रीस्टार क्लबबाट समेत लिग खेलेको अनुभव छ । प्रशिक्षक मेघराज केसीका प्रिय सुशीलले उनकै प्रशिक्षणमा सातदोबाटो र थ्रीस्टारबाट खेले । होचा कदका सुशील लिगमा ८ खेल खेल्दै दुई गोल गरेका छन् । उनले मैदानमा ५४५ मिनेट बिताएका छन् । जारी लिगमा ठूला क्लबविरुद्ध अनपेक्षित नतिजा निकाल्दै धेरैलाई माथ दिएको सातदोबाटोका धेरै खेलाडीले मुख्य प्रशिक्षको ध्यान आफूतिर आकर्षित गरेका छन् । तीमध्ये एक मिडफिल्डर सुशील पनि हुन् ।


प्रशिक्षक अल्मुताइरीले मनाङ मस्र्याङ्दीविरुद्ध च्यासल युथबीचको खेल पोखरामा हेरेपछि आशिषलाई टोलीमा बोलाएका हुन् । यसअघि उनले आफ्नो प्रारम्भिक सूचीमा आशिषको नाम राखेका थिएनन् । पहिलो पटक बन्द प्रशिक्षणमा परेका आशिष पहिलो अवसरमै टोलीमा पर्न सफल भए । च्यासल युथ क्लबका मिडफिल्डर आशिष अट्याकिङ मिडफिल्डरमा रमाउँछन् । उनी पहिलो पटक देशको जर्सी लगाएर खेल्ने आफ्नो सपना नजिक छन् । जारी लिगमा खराब समयबाट गुज्रिइरहेको च्यासल जस्तो टोलीबाट राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्नु उनका लागि कम कठिन थिएन । जारी लिगमा च्यासलबाट खेलिरहेका र राष्ट्रिय टोलीमा स्थान बनाउने एकमात्र खेलाडी हुन् आशिष ।


प्रशिक्षक बालगोपाल महर्जनले कोभिड–१९ को दोस्रो लहरसँगै बंगलोदशविरुद्ध खेलिएको दुई मैत्रीपूर्ण खेलका लागि दर्शन गुरुङलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएका थिए । एन्फा एकेडेमीमा दर्शनले बंगलादेशविरुद्ध खेल्दै डेब्यु पाए । त्यसयता टोलीमा निरन्तरता पाएका थिएनन् । प्रशिक्षक  अल्मुताइरी आएपछि दर्शनले पहिलो पटक टोलीमा पुनरागमन गरेका हुन् । घरेलु फुटबलमा दर्शन एनआरटीका लागि खेल्ने गर्छन् । थ्रु बलमा विपक्षी डिफेन्डरमाथि दबाब बनाउन सक्ने क्षमताका दर्शन फिनिसिङमा पनि अब्बल छन् । यस्तै तीव्र गति बल अघि बढाउने क्षमताका दर्शन सेटपिसमा पनि प्रभावशाली प्रहार गर्न सक्छन् ।


विभागीय कान्छो टोली एपीएफ क्लबका फरवार्ड ४ वर्षयता राष्ट्रिय टोलीमा निरन्तर छन् । प्रशिक्षक योहान कालिनले सन् २०१९ मा कुवेत भ्रमणमा आशिषलाई डेब्यु गराएका थिए । तर टोलीमा निरन्तर भए पनि आशिष बेन्चमै सीमित छन् । प्रशिक्षक अल्मुताइरीले टोलीमा आशिषलाई निरन्तरता दिएका छन्, तर उल्लेख्य रूपमा खेल्ने समयको पर्खाइमा छन् । मोरिसससँग हुने दुई मैत्रीपूर्ण खेलमा दुवै टोलीमा स्थान बनाएका आशिषलाई प्रमाणित गर्ने अवसर छ । आशिष ०७६ सालका सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक (९) गोलकर्ता हुन् । थ्रु बलमा प्रभावशाली क्षमताका आशिष फिनिसिङमा पनि अब्बल छन् ।


नेपाली फुटबलले पछिल्लो समय पाएका उत्कृष्टमध्ये एक मिडफिल्डर हुन् एरिक विष्ट । कोरोना महामारीसँगै रोकिएको खेलकुद क्षेत्र नेपालले बंगलोदशसँग दुई मैत्रीपूर्ण खेल्ने भएसँगै जुर्मुराउन सुरु गर्याे । बंगलादेशसँग नेपालले खेल्ने पक्का हुँदा आधा दर्जन खेलाडीमा कोरोना संक्रमण देखियो । यस्तो अवस्थामा एन्फा एकेडेमीका एरिकलाई प्रशिक्षक बालगोपाल महर्जनले मौका दिएका थिए ।\

बंगलोदशको ढाकामा एरिकले उम्दा प्रदर्शन गरे । जहाँ उनको प्रदर्शन कुनै अनुभवी खेलाडीको भन्दा कम थिएन । जारी सहिद स्मारक ए डिभिजन लिगमा समेत एरिकको प्रदर्शन उत्कृष्ट छ । उनले लिग लिडर मछिन्द्रविरुद्ध गरेको फ्रिकिक गोल आकर्षक थियो । चोटका कारण टोलीबाहिर रहेका एरिक यसपालि भने टोलीमा पुनरागमन गर्न सफल भएका हुन् ।