आहा रारा गोल्डकप

आहा-रारालाई दक्षिण एसियाको उत्कृष्ट प्रतियोगिता बनाउने लक्ष्य छ: अध्यक्ष गुरुङ

नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहा-रारा गोल्डकपको २०औं संस्करण आउँदो साताबाट पोखरा रंगशालामा सुरु हुँदै छ । नेपाली फुटबलमा २० वर्षसम्म लगातार नबिराइकन भइरहेको यो एकमात्र प्रतियोगिता हो । माओवादी द्वन्द्वको समयमा समेत नरोकिएको आहा-रारा गोल्डकपले कोभिड-१९ महामारीका कारण पछिल्लो दुई वर्ष पूरा विश्वको खेलकुद प्रभावित हुँदा पनि निरन्तरता पायो । 

यसपालि पनि कोभिड संक्रमणको लहर नाटकीय रूपले बढिरहेका बेला सहारा क्लब प्रतियोगिता आयोजनाको तयारीमा छ । अनाथ, असहाय र विपन्न वर्गका बालकहरूलाई फुटबल र शिक्षाको माध्यमबाट राष्ट्रको जिम्मेवार नागरिक बनाउने उद्देश्यसहित सहारा एकेडेमी सञ्चालन गरिरहेको क्लबसामु प्रतियोगिता र एकेडेमीलाई आगामी दिनमा निरन्तरता दिने मुख्य चुनौती छ । यस्तै विषयमा केन्द्रित रहेर केही महिनाअघि मात्र सहारा क्लबको अध्यक्षमा निर्वाचित हरिराम गुरुङ (सुरज) सँग खेलाडीका लागि अजय फुयालले गरेको कुराकानीको सम्पादित अंश:

- २०औं आहा-रारा गोल्डकपको तयारी कस्तो भइरहेको छ ?

प्रतियोगिता सुरु हुन अब एक साता पनि बाँकी छैन । त्यसैले स्वाभाविक रूपमा हामी तयारीको अन्तिम चरणमा छौं । यसबीचमा हामीले प्रायोजकहरूसँगका छलफल र सहकार्यको सम्झौताका विषय टुंगो लगाएका छौं । यसैगरी प्रशासनसँग पनि हामी नियमित छलफल र अन्तरक्रियामा छौं । सहभागी टिमहरूको पोखरा आगमनलगायतका विषय टुंगिइसकेको छ । हामी उहाँहरूलाई स्वागत गर्न तयार अवस्थामा छौं । प्रतियोगिता खेलाउने मैदान व्यवस्थापनको काम पनि अन्तिम चरणमा छ । एक हिसाबले भन्दा हामी प्रतियोगिता सुरु गर्न तयारी अवस्थामा छौं ।

-यसपालि कस्तो टिमहरूको सहभागिता रहन्छ ?

यसपालि अमेरिकाबाट बीवाईएससी मिनेसोटा स्पोर्टस क्लब पनि आएको छ । अमेरिकाको कलेजस्तरमा खेल्ने र त्यहाँको अर्धव्यावसायिक लिग खेल्ने पाँच÷सात खेलाडीसहितको राम्रो टोली नेपाल आइसकेको छ । अहिले उहाँहरू पूर्वतिर बन्द प्रशिक्षणमा हुनुहुन्छ । त्यसले अमेरिकाका केही स्थानीय स्तरका प्रतियोगिताहरू जितिसकेको पनि हामीलाई जानकारी गराइएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी प्रलय राजभण्डारीको नेतृत्वमा अमेरिकाको टोली नेपाल आएको हो । उहाँलाई आहा-रारा गोल्डकपका बारेमा र यहाँ खेल्ने टिमहरूको बारेमा राम्रो जानकारी छ । उहाँ आफैले पनि आहा-रारा खेलिसक्नुभएको छ । त्यस आधारमा उहाँले अमेरिकाबाट आएको टोलीले प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्छ भनेर हामीलाई विश्वास दिलाउनुभएको छ । हामीले उहाँकै विश्वासमा पोखरेली दर्शकलाई स्तरीय फुटबल पस्किने उद्देश्यसाथ यो टिमलाई निमन्त्रणा गरेका हौं ।

अन्य विदेशी टिम पनि सहभागी गराउने प्रयासस्वरुप हामीले भारत, बंगलादेश र माल्दिभ्सका टिमहरूसँग पनि छलफल चलाएका थियौं । तर फेरि अचानक बढेको कोभिड-१९ संक्रमणका कारण यसपालि अन्तिम समयमा हामीले त्यो प्रयास स्थगित गर्यौं ।

यसका साथै प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्देशनअनुसार ‘ए’ डिभिजनका ८ र आयोजकको एक गरी कुल १० टोलीको सहभागिता हुनेछ । काठमाडौंबाट मनाङ मस्र्याङ्दी, मछिन्द्र, त्रिभुवन आर्मी, पुलिस, एपिएफ, संकटा, हिमालयन शेर्पा र थ्री स्टारलगायतका ‘ए’ डिभिजनका सबै शीर्ष टोली आउनेछन् । समग्रमा प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।

-यसपालि पुरस्कार राशिमा केही परिवर्तन गर्नुभएको छ र ?

पुरस्कारमा यसपालि हामीले परिवर्तन गरेका छैनौं । च्याम्पियन हुनेलाई यसपालि पनि १० लाख १ हजार रुपैयाँ दिइनेछ । उपविजेता टोलीले ५ लाख १ हजार पाउनेछ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एउटा स्कुटर पुरस्कार पाउने गत वर्षकै व्यवस्थालाई यसपालि पनि निरन्तरता दिइएको छ । यसमा सहारा युकेबाट आएको आकर्षक ट्रफी पनि हुनेछ ।

-कोभिड-१९ महामारीले कत्तिको प्रभाव पारेको छ ?

महामारीले हरेक क्षेत्रलाई प्रभावित गरिरहेको छ । धेरैजसो मेला, महोत्सव र अन्य सामाजिक क्रियाकलापहरू रोकिएको अवस्था छ । जमघट अलि धेरै हुने ठाउँ र लामो दुरीको यात्रा गर्दा पनि खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैले हामीलाई पनि महामारीले प्रभाव पारेकै छ ।

तर, महामारीका बावजुत स्वास्थ्यका सबै मापदण्ड अपनाएर सुरक्षित तरिकाबाट कसरी प्रतियोगिता सम्पन्न गर्ने भन्ने विषयमा अहिले हामी केन्द्रित भएका छौं । त्यसका लागि प्रशासनसँग निरन्तर छलफल र सहकार्य गरिरहेका छौं । हामी थोरैभन्दा थोरै दर्शक उपस्थित गराएर प्रतियोगिता गर्ने योजनामा छौं । यसक्रममा खोप कार्ड अनिवार्य गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानिटाइजर लगाउने, मास्क अनिवार्य गर्नेजस्ता सबैखाले स्वास्थ्य मापदण्ड कडाइसाथ लागू गर्नेछौं ।

-प्रतियोगिताबाट बचेको रकम सहारा एकेडेमी सञ्चालनमा खर्च गर्ने गर्नुभएको छ । यसपालि कति रकम बच्ने अनुमान छ त ?

यसपालि कोभिड महामारीका कारण अहिल्यै कुनै पनि अनुमान गर्न सकिने अवस्था छैन । तर, विगतका वर्षहरूमा २५ देखि ३० लाख रुपैयाँ बचत हुने गरेको थियो । त्यसैबाट हामीले अनाथ, असहाय र विपन्न वर्गका बच्चाहरू राखेर चलाएको एकेडेमी सञ्चालन गर्ने गरेका थियौं ।

यसपालि चाहिँ दर्शक नै अत्यन्तै न्युन संख्यामा राख्ने योजनाका कारण बचतको विषयमा धेरै सोचेका छैनौं । यसपल्ट पैसा बचाउनुभन्दा पनि सुरक्षित तरिकाले प्रतियोगिता सम्पन्न गर्नुपर्ने जिम्मेवारी हामीसामु छ । तथापि हामी यसपालि पनि घाटामा भने जाँदैनौं होला । हामीले घाटा नहुने र स्तरीय प्रतियोगिताको निरन्तरता पनि हुने गरी काम गरिरहेका छौं ।

एकेडेमी सञ्चालनका लागि हामीलाई यो वर्षदेखि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उहाँको परिवारले वार्षिक १५ लाख रुपैयाँ दिने हुनुभएको छ । त्यहीबाट हामीले यो कठिन समयमा एकेडेमी सञ्चालन गर्नेछौं । त्यसबाट नपुगेमा एकेडेमीको अक्षयकोषको ब्याज चलाउँछौं र दु:खको समय भए पनि दाताहरूकहाँ जान्छौं ।

-कठिन समयमा क्लबको अध्यक्ष हुनुभएको छ । कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

चुनौती धेरै छन् । यो अवसर पनि हो । चुनौतीलाई अवसरका रूपमा लिने हो । पक्कै पनि पूरा मानव जाति नै कठिन अवस्थामा छ । तर, हामीलाई यतिका वर्षदेखि धेरै मानिसले सहयोग गर्दै आउनुभएको छ । त्यो सहयोग अहिलेको कठिन अवस्थामा पनि निरन्तर हुन्छ भन्नेमा हामी विश्वस्त छौं । हाम्रा साथीहरू पनि त्यसैगरी लागिरहनुभएको छ ।

बेलायत, अस्ट्रेलिया र हङकङमा पनि सहारा पुगिसकेको छ । सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलिया सधंै सहारा क्लब पोखराको मेरुदण्डको रूपमा रहँदै आएको छ । अहिले कठिन समयमा उहाँहरू पनि क्लब र एकेडेमीलाई अझै बलियो बनाउने भन्ने कुरामा अत्यन्तै गम्भीर हुनुहुन्छ ।

क्लबको आर्थिक पाटो बलियो बनाउनका लागि घरदैलो कार्यक्रम गरिरहेका छौं । यसैगरी ठूल्ठुला प्रायोजकहरूसँग पनि कुरा भइरहेको छ । आशा गरौं, यो कठिन अवस्थामा उहाँहरू सबैले साथ दिइरहनु हुनेछ ।

-तपाईंले दुईवर्षे कार्यकालको लक्ष्य के राख्नुभएको छ ?

मेरो मुख्य योजना भनेको यो प्रतियोगितालाई दक्षिण एसियाकै एउटा प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित गर्ने हो । यसमा सार्क राष्ट्रका राम्रा-राम्रा टिमको सहभागिता गराउने हो । भारत, बंगलादेश, माल्दिभ्स र अरू देशका राम्रा टिमसँगै काठमाडौंका शीर्ष टोलीहरू ल्याएर गजबको प्रतियोगिता गर्ने हाम्रो पुरानै सपना हो । यसपालिलाई नै कुरा भइरहेको थियो । तर कोभिड महामारीका कारण भएन । आगामी वर्ष हामी त्यो लक्ष्य नजिक पुग्नेछौं ।

सँगै एकेडेमी हाम्रो अर्को मुख्य पाटो हो । त्यसलाई अझ व्यवस्थित गर्नेतर्फ हाम्रा प्रयासहरू केन्द्रित हुनेछन् । हामीले एकेडेमीलाई नयाँ तरिकाले चलाउने विषयमा केही योजनाहरू बनाएका छौं । त्यसअन्तर्गत केही खेलाडीलाई हामी शुल्क लिएर एकेडेमीमा राख्नेछौं र त्यसबाट आएको पैसाले अनाथ, असहाय र आर्थिक रूपमा विपन्न बालकहरूलाई नि:शुल्क फुटबल र शिक्षादीक्षाको व्यवस्था गरेर नेपाली फुटबललाई अझ धेरै संख्यामा राष्ट्रिय स्तरका प्रतिभा दिने योजना छ ।

नि:शुल्क राखिने खेलाडीका लागि सातै प्रदेशमा स्काउटिङ गरिनेछ । त्यसो गर्दा साँच्चै लक्षित वर्गका बालबालिकाले मौका पाउनेछन् र उनीहरू भविष्यमा राम्रो खेलाडी बनेर देशको सेवा गर्न सक्षम हुनेछन् भन्ने हाम्रो सोचाइ छ ।

-एकेडेमी र आहा-रारा गोल्डकपलाई निरन्तरता दिने चुनौती त्यत्तिकै छ नि तपाईहरूसँग ?

प्रतियोगिता त यो २०औं संस्करण समापन हुनेबित्तिकै २१औं संस्करणका लागि हामी मुख्य प्रायोजक हिमश्री फुड्ससँग बसेर छलफल सुरु गरिहाल्छौं । अन्य सहयोगी र सरोकारवालासँग पनि छलफल सुरु गरेर पूरा वर्षभर नै तयारीमा व्यस्त रहन्छौं ।

यसरी हाम्रो प्रतियोगिता निरन्तर भइहाल्छ । प्रतियोगिताबाट यो वर्ष अलि अप्ठेरो भए पनि अन्य समयमा राम्रो नाफा हुन्छ, जुन हामीलाई एकेडेमी सञ्चालनमा सहयोगी हुने गरेको छ । यसका साथै हामीले एकेडेमी चलाउन भनेर सञ्चालन गरेको अक्षयकोषमा पनि राम्रो रकम छ । एकेडेमीका लागि १० वर्षसम्म वार्षिक १५ लाखको दरले पाउने गरी प्रायोजन सम्झौता भइसकेको छ । त्यसबाट पनि एकेडेमीको निरन्तरतामा ठूलो सहयोग मिल्नेछ ।

मुख्य कुरा भनेको सहाराको टिमवर्कको हो । हाम्रा सबै साथीहरू चाहे त्यो पोखरामा होस्, चाहे काठमाडौंमा या युके, हङकङ र अस्ट्रेलियामा । सबैतिर अत्यन्तै गम्भीर भएर टिमवर्कका साथ लागिरहनुभएको छ । त्यसैले आर्थिक वा अरू कुनै समस्या भएर हामीलाई यो प्रतियोगिता र एकेडेमी सञ्चालनमा अप्ठेरो पर्ला जस्तो लाग्दैन ।

-मोरिससविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका कारण यसपालि प्रतियोगितामा राष्ट्रिय खेलाडी पनि हुँदैनन् । त्यसले प्रतियोगिता खल्लो हुँदैन ?

पक्कै पनि राष्ट्रिय खेलाडी नहुँदा केही नमज्जा हुन्छ । तर, हामीले विगतमा पनि यस्तो अभ्यास गरिसकेका छौं । पहिला पनि प्रतियोगितामा दुई÷तीन पटक राष्ट्रिय टोली अन्तर्राष्ट्रिय क्यालेन्डरमा व्यस्त हुँदा हामीले राष्ट्रिय खेलाडीविना नै प्रतियोगिता गरिसकेका छौं । त्यतिबेला पनि पोखरेली दर्शकबाट हामीले राम्रो माया र साथ पाएका थियौं ।

अहिलेको अवस्था त्यतिबेला भन्दा सहज छ । अहिले त को राष्ट्रिय खेलाडी हो, को होइन भन्ने पनि लामो समयसम्म टुंगो हुँदैन । राष्ट्रिय टोलीमा पछिल्लो समय खेलाडीहरू इनआउट हुने क्रम एकदमै तीव्र छ । त्यसैले राष्ट्रिय टोलीमा नपरेका तर त्यही स्तरका खेलाडीको संख्या ठूलो छ । त्यस्ता खेलाडीहरू सबैले भाग लिँदा प्रतियोगिताको रोमाञ्चमा कुनै कमी आउँदैन ।

-सहाराको टिमले चाहिँ व्यावसायिक लिग खेल्ने कुनै योजना छैन ?

हाम्रो पनि योजना छ । पहिला पनि खेल्न गएका हौं । हामीले रामेछापतिरको टिमलाई १० गोल हानेपछि त्यहींका क्लबले विरोध गरेका थिए । त्यसपछि हामी फर्केर आयौं । हामीलाई ‘ए’ डिभिजनको हैसियत नदिने कुरा भयो । त्यसपछि हामी पनि दुइटा नाउमा खुट्टा नहालौं, बरू एकेडेमी र फुटबल विकासमा लागौं भनेर आहा-रारा गोल्डकप र एकेडेमीतिर मात्र केन्द्रित भयौं ।

अब चाहिँ हामी ‘ए’ डिभिजन होइन ‘सी’ डिभिजन छनोटमार्फत माथि आउन तयार छौं । तर, खेलको माहोल हुनुपर्यो । लिगको संरचनामा छिरेवापत के पाउने ? प्रत्येक खुट्किलो पार गरेसँगै के पाउने ? होम एन्ड अवे हुने कि नहुने ? जस्ता कुरा प्रस्ट हुनुपर्छ ।

अहिलेजस्तो सबै मोफसलका टिम काठमाडौं गएर खेल्नुपर्ने हो भने त्यो त क्लबका लागि सजिलो कुरा होइन । हामी आहा-रारा गोल्डकप गरेर, दाताहरूसँग सहयोग जुटाएर, विदेशमा हाम्रा साथीहरूले कति मिहिनेत गरेर एकेडेमी चलाउने क्लब हौं । अनाथ, असहाय र विपन्न वर्गका बालकहरूको एकेडेमीका लागि त्यति दु:खले जुटाएको रकम त्यत्तिकै खर्च गर्न त सकिन्न नि । तर, सबै कुरा प्रस्ट भयो भने हामी तयार छौं ।