फाल्गुन १३, २०८२ बुधबार | ०६:१२:४६
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा
शनिबारको दिन शनिबारको दिन

साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा

काठमाडौं । थाइल्यान्डमा यही मंगलबारबाट हुने साफ फुटसल च्याम्पियनसिपमा नेपालको पुरुष र महिला दुबै टोलीले ऐतिहासिक उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । प्रतियोगितालाई नेपाली फुटसलको नयाँ अध्यायको रुपमा हेरिएको छ । बैंककको म्याटमा खेलाडीले देशको प्रतिनिधित्व गरिरहेका हुनेछन् नै, भावी पुश्ताका लागि खेलिरहेका हुनेछन् ।

महिला टोलीका लागि यो प्रतियोगिता अझ विशेष छ । किनभने टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्व मिडफिल्डर दीपा राई टोलीलाई ‘लिड’ गर्दैछन् । मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् बिक्रम महर्जन । महर्जनको नेतृत्वमा चेलीहरुले गरेका हरेक पास र हरेक गोलले महिला फुटसल इतिहासको जग बसाल्नेछ । दीपा र महर्जन दुबैका लागि फुटसलको उपलब्धिले खास अर्थ राख्छ ।

साफ महिला फुटबल च्याम्पियनसिपले सातौं संस्करण पार गरिरहँदा नेपाल ६ पटक नजिक पुगेर पनि उपाधिबाट विमुख हुनुपरेको इतिहास छ । दीपाले सन् २०२२ को साफ च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन् । जतिबेला उनीसँगै पुनम जर्घामगर र इन्दिरा राईले आफ्नो बुट थन्क्याएका थिए । दीपाको चाहाना थियो, घरेलु भूमिमै भएको च्याम्पियनसिपको उपाधि चुमेर फुटबललाई बिट मार्ने । तर, दशरथ रंगशालाको हिलाम्मे मैदानमा नेपालले फाइनलमा बंगलादेशविरुद्ध ३–१ को हार बेहोर्यो । यसअघि दीपासम्मिलित नेपाल सन् २०१९ र २०१४ मा भारतसँग फाइनलमा हारेको थियो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलिरहेकी दीपा करिअरको उत्तरार्धमा छिन् । यसपाली उनको जिम्मेवारी फेरिएको छ । फुटसलको पहिलो ब्याचको कप्तानी जिम्मेवारीसँगै जुनियर खेलाडीलाई हौसला दिइरहेकी छिन् । आशावादी छिन्, इतिहास रच्न सकिन्छ भनेर । भन्छिन्, ‘उपाधिका लागि एकदमै धेरै ‘अवेर’ छु । फुटबलमा साफ च्याम्पियनसिप जित्ने हुटहुटी पूरा हुन सकेन । अहिले फुटसलमा देशको जर्सी लगाउँदै छु । यसपाली चाहिँ इतिहास रच्न सकिएला कि जस्तो लाग्छ । खोइ ! अन्य टोली कस्तो छ भन्ने बारे थाहा छैन । उपाधि जित्ने अवसर भने छ ।’

बिक्रम एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडी हुन् । उमेर समूहका प्रतियोगितामा बिक्रम उक्त ब्याचका प्रमुख खेलाडीमध्ये एक थिए । उनकै कप्तानीमा त्यतिबेला एन्फा एकेडेमीले सुब्रतो मुखर्जी कपसमेत जितेका थिए । तर, इन्जुरीका कारण करिअरलाई गति दिन सकेनन् । अहिले उनीसामू गहन जिम्मेवारी छ । उपाधि जित्न चाहन्छन् । इतिहास रच्ने कुरामा सचेत छन् ।

‘छनोट सत्र देखि नै म यो चुनौती र अवसरका बारेमा सचेत थिएँ । हरि खड्का (दाई), कुमार थापा (दाई), राजेन्द्र तामाङ (दाई)हरुले नजिक पुगेर पनि सफलता हासिल गर्न नसकेको कुरा मनमा छ । खेलाडीलाई पनि हाम्रो इतिहासका बारेमा भन्दै आएको छु । मिहिनेत गर्नुपर्छ भनेर सम्झाउँदै आएको छु । यसपाली उपाधि उचाल्ने कुरा सँधै भइरहन्छ,’ महर्जनले भने, ‘हाम्रो प्रदर्शनले भावी पुश्तालाई फुटसलमा नयाँ बाटो मिलोस् ।’

पुरुष फुटसलको कथा बेग्लै छ । चार महिनाअघि एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएका कारण एन्फा कार्बाहीमा परेको थियो । प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएपछि एन्फालाई एएफसीले १० हजार अमेरिकी डलर जरीवनासहितको कार्बाही गरेको थियो । यो कुराले सम्पूर्ण फुटबल÷फुटसलवृत्तलाई निराश बनाएको थियो । घटनापछि एन्फा, चौतर्फी आलोचनाको घेराभित्र पुग्यो । थाइल्यान्डमा टोलीले उपाधि जित्न सके एन्फाको यो गल्ती केही हदसम्म ढाकछोप हुन सक्छ । जितले एन्फालाई सच्चिने मौका दिनेछ । समग्र फुटबल÷फुटसलले ‘रिडेम्पसन’ पाउनेछन् ।

टोलीको नेतृत्व गर्दैछन् अनिल बहादुर गुरुङले । ‘क्याप्टेन’ आर्मब्याण्ड लगाउँदैछन् विजयी श्रेष्ठले । श्रेष्ठ नेपालकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय एक्सपोजर हुने खेलाडीमा पर्छन् । उनीसँगै सरोज तामाङ लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् ।

नेपालमा फुटसलको वातावरण लोभलाग्दो छ । तर, सर्वोच्च निकायको लापरबाहीका कारण अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना खेलाडीले प्रतिनिधित्व गर्न पाइँदैन । यसपाली फुटसलमा भिजिरहेका कलिला किशोरहरुले सिनियर दाईहरुको खेल हेर्न पाउँदैछन् । राष्ट्रिय खेलाडी उनीहरुका ‘रोल मोडल’ हुनेछन् ।

सरोज यो कुरालाई लिएर गम्भिर छन् । भन्छन्, ‘हामीले नै हो आगामी पुश्तालाई बाटो देखाउने ।’

प्रशिक्षक गुरुङ पनि थाइल्यान्डको प्रदर्शनले नेपाली फुटसलमा परिवर्तन ल्याउने दाबी गर्छन् । ‘थाइल्यान्डमा राम्रो गरे नेपालमा फुटसलको नयाँ माहोल सिर्जना हुनेछ,’ शुक्रबार बिदाई कार्यक्रममा गुरुङले बोले ।