काठमाडौं । तीन महिनाअघि एएफसी एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पराजय बेहोरेसँगै ४० वर्षदेखिको नेपाली महिला फुटबलको यात्रा एउटा सुनौलो गन्तव्यबाट विमुख हुन पुग्यो ।
ग्लोबल स्टेजमा आफ्नो संभावना प्रस्तुत गर्न अब नेपाली चेलीले थप चार वर्ष कुनुपर्ने भयो । नेपाल निकै नजिक पुगेर पनि छनोट हुन नसक्दा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत र बंगलादेश भने पहिलो पटक एसियन कपमा छनोट हुन सफल भएका छन् ।
अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपको २१औं संस्करणमा भारत र बंगलादेशले आफ्नो उपस्थिति जनाइरहँदा नेपाली महिला खेलाडी भने घरेलु फुटबलमै सीमित भइरहेको हुनेछ ।
त्यही भारत, जसलाई साफ च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा नेपालले पराजित गरेको थियो । त्यही बंगलादेश, जसलाई तीन वर्षअघिसम्म पनि हराउन कुनै कठिन हुँदेनथ्यो ।

अस्ट्रेलियामा मार्च पहिलो सातादेखि एसियन कप सुरु हुनेछ । प्रतियोगिता सुरु हुनु ५ महिनाभन्दा कम समय बाँकी रहँदा दुवै राष्ट्रले तयारी सुरु गरिसकेको छ । यसैको तयारीस्वरुप भारतले अक्टोबर अन्तिम साता सिलोङमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आतिथ्यता गर्दै छ । सिलोङमा नेपालले भारतसँगै इरानको सामना गर्नेछ । इरानले पनि एसियन कपमा आफ्नो दाबेदारी पेस गर्दै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई साताअघि मात्र महिला टोलीको प्रशिक्षण जिम्मेवारी घरेलु फुटबलका चर्चित प्रशिक्षक नवीन न्यौपानेलाई दिएको छ ।
सिलोङ भ्रमण नेपाली टोलीका लागि ‘फ्रेस स्टार्ट’ रहन आवश्यक छ । सन् २०२७ वा २०३१ सम्म फिफा विश्वकप खेल्ने सपना बोकेको नेपाललाई उज्वेकिस्तानको त्यो नमीठो हारले ठूलो धक्का पुगेको छ । मन रोएको छ । तर, अतीत भुलेर अगाडि बढ्नुबाहेक टोलीसँग अरू विकल्प छैन ।
नेपालको २०२७ मा ब्राजिलमा हुने विश्वकपमा स्थान बनाउने अवसर समाप्त भइसकेको छ । अब पालो मिसन २०३१ का लागि द्रुत गतिमा अगाडि बढ्ने मात्र हो । सिलोङ भ्रमण राष्ट्रिय महिला टोलीले वर्षौंदेखि बुनेको सपनाको पहिलो खुड्किलो हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई साताअघि मात्र महिला टोलीको प्रशिक्षण जिम्मेवारी घरेलु फुटबलका चर्चित प्रशिक्षक नवीन न्यौपानेलाई दिएको छ । १९ महिनादेखि टोलीको नेतृत्व गर्दै आएका राजेन्द्र तामाङले जिम्मेवारी छाडेका छन् । बेल्जियन प्रशिक्षक प्याट्रिक डी वाइल्डले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएसँगै महिला टोली दुई महिनायता प्रशिक्षकविहीन थियो । तामाङले छनोट प्रतियोगितामा सहायक प्रशिक्षक भएर काम गरेका थिए ।

हाललाई न्यौपानेको सम्झौता अर्को वर्ष हुने साफ च्याम्पियनसिपसम्म रहनेछ । एन्फाले सहायक प्रशिक्षकमा राजकुमार केसी र भगवती थापालाई जिम्मेवारी दिएको छ । थापासँग यसअघि पनि सिनियर टोलीसँग काम गरेको अनुभव छ ।
तीन महिनासम्म शान्त रहेको अन्तर्राष्ट्रिय महिला फुटबलको पुनरागमनले नेपाली समर्थकमाझ एक हिसाबको खुसीयाली छाएको छ । टोलीले बुधबारदेखि बन्द प्रशिक्षण थालेको छ । न्यौपानेले गत जुलाईमा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका केही नयाँ अनुहार समेट्दै ३५ सदस्यीय प्रारम्भिक टोली तयार पारेका छन् ।