भाद्र २१, २०८२ आइतबार | २२:००:२५
विद्यावाणीलाई अन्तरविद्यालय फुटसल उपाधि एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा नेपाललाई दुई कांस्य एभरेस्ट महिला भलिबल लिगः लुम्बिनी पाँचौं सेटमा विजयी एरिकालाई कराते महासंघको सम्मान एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा विद्यावाणीलाई अन्तरविद्यालय फुटसल उपाधि एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा नेपाललाई दुई कांस्य एभरेस्ट महिला भलिबल लिगः लुम्बिनी पाँचौं सेटमा विजयी एरिकालाई कराते महासंघको सम्मान एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा
शनिबारको दिन शनिबारको दिन

उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू

काठमाडौं । नेपालको यु-१७ महिला राष्ट्रिय फुटबल टोली भुटानमा सम्पन्न साफ च्याम्पियनसिपमा बिर्सनलायक प्रदर्शन गरेर स्वदेश फर्किसकेको छ ।

महिला फुटबलले पछिल्लो वर्ष घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा आशाका केही किरण देखाइरहँदा किशोरीको दयनीय प्रदर्शनले नेपाली खेलप्रेमीको मन पक्कै दुखेको हुनुपर्छ । खेलाडीको प्रदर्शन वास्तवमै कमजोर रह्यो । समग्रमा भुटान भ्रमणले नेपाली महिला फुटबलको स्तर कहाँ छ भन्ने छर्लङ्ग पारिदिएको छ ।

तुलनात्मक रूपमा कमजोर मानिने भुटानसँग दुई लेगमा चार अंक बटुलेको नेपालले भारत र बंगलादेशसँग दुवै लेगमा पराजय बेहोरेको थियो । डबल राउन्ड रोबिन पद्धतिमा खेलाइएको प्रतिस्पर्धामा नेपालले ६ खेलमा कुल २१ गोल सामना गरेको थियो । भारतले मात्र नेपालको पोस्टमा एक दर्जन गोल गर्यो ।

टोलीले दयनीय प्रदर्शन गर्नुमा कयौं कारण थिए । पहिलो कारण, कम प्रशिक्षण समय नै हो । तीन दिनको प्रारम्भिक खुला छनोट अनि तीन साताको बन्द प्रशिक्षण, टोलीको तयारी त्यतिमै सीमित थियो । थोरै प्रशिक्षण समयका बावजुद टोली भुटानमा सकारात्मक नतिजा ल्याउन सक्नेमा आशावादी थियो । तर, उद्घाटन खेलमै नेपाल भारतसँग ७–० को हार बेहोर्न बाध्य भयो ।

च्याम्पियन भारतले प्रतियोगितालाई भनेर दुई चरणमा साढे तीन महिना प्रशिक्षण गरेको थियो । जनवरीमा पहिलो चरणको प्रशिक्षण भएको थियो । प्रारम्भिक चरणमा बोलाइएका खेलाडीलाई एक महिनाको प्रशिक्षणपछि बिदा दिइयो । कारण, भारतमा घरेलु लिग (इन्डियन वुमेन्स लिग-आइडब्लुएल) चलिरहेको थियो । आइडब्लुएल सकिएपछि खेलाडी जुनमा फेरि बन्द प्रशिक्षणमा जोडिए ।

नेपाली यु-१७ टोली । 

साबिक विजेता बंगलादेशको टोली १४ महिनायता एकेडेमीमै बसेर प्रशिक्षण गरिरहेको थियो । भुटानको तयारी अवस्था पनि त्यही थियो ।

कुल ५४० मिनेटमा स्ट्राइकरबाट मात्र एउटा ‘शट अन टार्गेट’ सम्भव भयो । जुन सुन्दा नमज्जा लाग्ने तथ्याङ्क हो ।

‘हामीले नानीहरूलाई पर्याप्त समय दिन पाएनौं । जति दिन पायौं, त्यसमा हामी कोचिङ स्टाफले मिहिनेत गर्यौं,’ मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भन्छन्, ‘बंगलादेश र भारतले हामीभन्दा राम्रो खेले । स्तरका हिसाबमा उनीहरू हामीभन्दा धेरै माथि छन् ।’

वर्ष २०८१ महिला फुटबलका लागि सुखद रह्यो । सुखद यस अर्थमा कि खेलाडीहरू लगभग ८-९ महिना घरेलु फुटबलमा व्यस्त रहे । महिला फुटबलको बढ्दो क्रेजबीच पूर्वी झापादेखि पश्चिम नेपालगन्जसम्म घरेलु प्रतियोगिता भए । दुई वर्षपछि आयोजना भएको राष्ट्रिय महिला लिग पनि लामो समय सञ्चालन भयो । तर, यति बाक्लो एक्सपोजरमा यु-१७ का किशोरीहरू भिज्न पाएनन् ।

टोलीका ४-५ खेलाडीले मात्र घरेलु लिग खेलेका थिए । राष्ट्रिय महिला लिग दुई चरणमा खेलाइएको थियो । सुपर स्टेज अर्थात् अन्तिम चरणमा मात्र यो टोलीका एकजना खेलाडीको उपस्थिति थियो । टोलीकी उप-कप्तान सहारा लिम्बुले सर्लाहीको बागमती युवा क्लबबाट खेलेकी थिइन् ।

सुपर स्टेजमै गरेको प्रदर्शनले सहाराको करिअरले ‘टर्निङ’ लियो । लिगपछि सहारा विभागीय टोली नेपाल पुलिस क्लबको जर्सीमा देखिन थालिन् । मोफसलका सबै खेलहरूमा पहिलो रोजाइमै परिन् । जुन एक्सपोजरले भुटानमा नेपाली टोलीलाई केही हदसम्म सजिलो भयो ।

साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाल (रातो) र भारत । 

दोस्रो खेल घरेलु टोली भुटानसँग थियो । पहिलो हाफमा नेपाल एक गोलले पछाडि पर्यो । दोस्रो हाफमा दुई गोल गर्दै नेपालले भुटानमाथि पुनरागमन जित निकाल्याे । दुवै गोल सेन्टर मिडफिल्डर सहाराले गरेकी थिइन् । उनी नै खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । नेपालले जितेको व्यक्तिगत अवार्ड यही एउटा रह्यो ।

नेपालले प्रतियोगितामा जम्मा ४ गोल गरेको थियो । बाँकी दुई गोल पनि मिडफिल्डरबाट नै सम्भव भयो । अट्याकिङ मिडफिल्डरद्वय कप्तान भूमिका बुढाथोकी र बबिता कार्कीले ‘स्कोरसिट’मा आफ्नो नाम लेखाए । प्रतियोगितामा चार स्ट्राइकर प्रयोग गरिएको थियो । कुल ५४० मिनेटमा स्ट्राइकरबाट मात्र एउटा ‘शट अन टार्गेट’ सम्भव भयो । जुन सुन्दा नमज्जा लाग्ने तथ्याङ्क हो ।

दुई खेलबाहेक सबैमा प्रशिक्षक श्रेष्ठले ४-४-२ फर्मेसनमा खेलाडीलाई मैदानमा उतारे । सेन्टर मिडफिल्डमा सहाराले बलियो साथ पाउन सकिनन् । ‘फुलब्याक’ अगाडि आएर खेल्न डराउँदा अट्याकिङको जिम्मेवारीमा रहेकी मिडफिल्डर भूमिकाले आफ्नो खेल प्रस्तुत गर्न सकिनन् । नेपालले गोल गर्न नसक्नुको मुख्य कारण यो पनि हो ।

कमजोर मानसिकता र गोल खाएपछि मनोबल घटाउने नेपाली टोलीको पुरानो बानी भन्ने गरिन्छ । 

पहिलो ‘टच’मै संघर्ष गरिरहेका खेलाडीले तीन पासभन्दा बढी खेल्न सकेनन् । चौथो पासमा विपक्षी खेलाडीले ‘इन्टरसेप्ट’ गरिसक्थ्यो । नेपालको ‘डिफेन्सिभ लाइन’ सुस्त देखियो । बललाई ५ सेकेन्ड ‘होल्ड’ गर्न पनि नेपालको रक्षापङ्क्तिलाई हम्मे भयो । टोलीकी रक्षक आशिका कार्कीको ‘भर्सटाइल’ गुणमा पूर्ण रूपमा निर्भर रह्यो । दुवै खुट्टा एकनासले चलाउन सक्ने खुबी भएका आशिकालाई सुरु सुरुमा लेफ्टब्याक पोजिसनमा प्रयोग गरिएको थियो । पछि टिमको आवश्यकताअनुसार आशिकालाई सेन्टरब्याक पोजिसनमा खेलाइयो ।

दिन बिराएर खेल्नुपर्ने तालिकाले खेलाडीलाई गाह्रो बनाएकै थियो । तर, पहिलो रोजाइमा खेलेका खेलाडीलाई प्रतिस्थापन गर्न बेन्चमा बलियो विकल्प नहुनु त्योभन्दा पनि बढी चिन्ताको विषय रह्यो । यसबाहेक गोलकिपरको अपरिपक्वता टोलीलाई महँगो साबित भयो ।

साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाल (रातो) र बंगलादेश । 

कमजोर मानसिकता र गोल खाएपछि मनोबल घटाउने नेपाली टोलीको पुरानो बानी भन्ने गरिन्छ । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार हारको अर्को आधार यो पनि थियो ।

‘हामीले लगभग खेलमा सुरुआती १०-१५ मिनेट राम्रो नै खेल्यौं । तर, गोल खाएपछि खेलाडीको मनोबल डाउन भइहाल्ने । नेपाली फुटबलमै यो चिन्ताजनक विषय हो,’ श्रेष्ठले भनेका थिए, ‘गोल खाइसकेपछि खेलाडी आत्तिए । खासमा आत्तिनुपर्ने त्यस्तो केही कारण थिएन ।’

नेपालमा निश्चित उमेर समूहकै लागि भनेर स्थायी प्रशिक्षक नियुक्ति गर्ने चलन छैन । जसको मारमा खेलाडी पर्दै आएका छन् । १४ महिनाअघि सम्पन्न साफ यु–१६ च्याम्पियनसिपमा टोलीको नेतृत्व चक्र तामाङले गरेका थिए । भगवती थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । नेपालले त्यतिबेला पनि कमजोर प्रदर्शन गरेको थियो ।

तामाङको नेतृत्वमा खेलेका अधिकांश खेलाडीले यसपालि पनि राष्ट्रिय टोलीको जर्सी लगाए । टोली लगभग उही थियो । तर, यी खेलाडीलाई नेतृत्व गर्ने अभिभावक फरक थिए । श्रेष्ठको प्रशिक्षण टोलीमा नरेश थापा र रितेश मल्ल थिए । खेलाडीले आफ्ना गुरुहरूसँग र गुरुले खेलाडीसँग भिज्न समय लाग्ने नै भयो ।

नेपाली फुटबलको हकमा अहिलेलाई चाहिने भनेको बलियो व्यवस्थापन हो । 

बंगलादेशको कुरा गर्ने हो भने मुख्य प्रशिक्षक मोहम्मद महबुबुर रहमानलितु उमेर समूहको फुटबलमा जोडिएको ९ वर्ष भइसक्यो । तर, नेपालको हकमा यो सम्भव छैन ।

भारतीय टोली स्विडिस प्रशिक्षक योकिम बन्र्ट अलेक्जेन्डरसनको नेतृत्वमा भुटान पुगेको थियो । घरेलु प्रशिक्षक र विदेशी प्रशिक्षकको विचारधारामा अवश्य पनि फरक हुने गर्छ । यो कुरा भारतीय खेलाडी आफैँले स्वीकारेको तथ्य हो ।

साफ च्याम्पियनसिपको ट्रफीका साथ  नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ (बायाँ) र कप्ता भूमिका बुढाथोकी  । 

‘विदेशी कोचको ध्यान मोर्डन फुटबलमा बढी हुन्छ । घरेलु कोच र विदेशी कोचमा हामीले धेरै भिन्नता पायौं । बन्द प्रशिक्षणको अन्तिम समयतिर हामीले विशेष प्रशिक्षण पाएको महसुस गर्यौं,’ मोस्ट भ्यालुएबल प्लेयरको पुरस्कार जितेकी भारतकी रक्षक अविस्ता बस्नेतले भनेकी थिइन् ।

भारतको सफलताको चर्चा गरिरहँदा घरेलु प्रशिक्षक कमजोर रहेको भन्न खोजिएको पक्कै होइन । सबै प्रशिक्षकमा आ-आफ्ना विशेषता हुने गर्छ । नेपाली फुटबलको हकमा अहिलेलाई चाहिने भनेको बलियो व्यवस्थापन हो । तयारीलाई पर्याप्त समय नै हो । एकचोटि एउटै प्रशिक्षकलाई २-३ वर्ष किशोर खेलाडीको जिम्मेवारी दिएर हेर्ने हो कि ?

भुटान भ्रमणपछि श्रेष्ठले भनेका थिए, ‘मलाई थप समय दिनुहोस् । यी नानीहरूलाई सिकाउन धैरै बाँकी छ । पर्याप्त समय पाएँ भने म यिनीको स्तर अवश्य पनि बढाउने छु ।’