लन्डन । मध्य लन्डनको कोरम्स फिल्ड्सको एक मैदानमा यो पंक्तिकार आइपुगेको छ । जहाँ किशोरहरू मैदान उत्रँदै छन् । यहाँको कृत्रिम मैदानमा म ११ वर्षमुनिका खेलाडीको खेल हेर्दै छु । कलिला खेलाडीको बुटले बल हान्दा आउने आवाज, बीचबीचमा रेफ्रीको सिठी अनि मैदानबाहिरबाट निरन्तर आइरहेको चर्को निर्देशनात्मक समर्थन । माहोल फुटबलमय छ ।
खेलाडी मेरो बल मेरो बल भन्दैछन् । दुई प्रशिक्षक निर्देशन दिइरहेका छन्, ‘प्रेस गर’ ‘वाइडमा बस’ ‘रेफ रेफ’ आदि । प्रशिक्षकहरू स्वाभाविक रूपमा बेन्चअघि उभिएका छन् । उनीहरूभन्दा केही पर छन्, खेलाडीका पिताहरू । एक माता पनि देखिन्छिन्, तर उनी खासै चिच्याएको सुनिएको छैन ।
यी पिताहरूको परिचय एउटा मात्र छैन । उनीहरू चर्को फुटबल समर्थक हुन् । सँगसँगै आआफ्ना छोराका लागि ‘पार्टटाइम प्रशिक्षक’ पनि । यति मात्र होइन, उनीहरू यी फुच्चे खेलाडीहरूको ‘फिजिकल ट्रेनर’ पनि हुन् ।
किशोर टिमहरू भिड्दा मैदानमा प्रशस्त पिताहरू भेला हुन्छन् । छोरा खेलाडीसँग उनीहरूको माग उही हुन्छ, राम्रो खेल । तब त प्रशिक्षकहरू सँगसँगै मैदानबाहिरबाट लगातार निर्देशन दिइरहेका हुन्छन् । ती पिताहरूमध्ये एकचाहिँ अलि बढी चिच्याउने खालका हुन्छन् । यो हरेक खेलमा देखिने दृश्य हो । ‘बल क्लियर गर’ उनी आफ्नो छोराको टिमको डिफेन्सलाई निर्देशन दिइरहेका छन् । उनको यो निर्देशन टिमको प्रशिक्षकको आदेशभन्दा ठ्याक्कै उल्टो छ । प्रशिक्षक चाहन्छन्, आफ्नो डिफेन्सले सजिलोसँग बल नियन्त्रणमा राख्दै मिडफिल्डमा पास देओस् । आजकल यो चलनलाई ‘बिल्ड फ्रम द ब्याक’ भन्छन् ।

तिनै पिता रेफ्रीको निर्णयप्रति पनि पटक पटक आपक्ति जनाइरहेका छन् । ‘रेफ्री, यस्तो पनि हुन्छ ?’ उनी रेफ्रीलाई प्रश्न गर्दै छन् । १७ वर्षीय रेफ्री मैदानबाट आइरहेको प्रश्न ध्यान दिने पक्षमा छैनन् ।
केही समयअघि केन्टमा चल्दै गरेको १० वर्षमुनिको फुटबल प्रतियोगितामा दुई टिमका खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि पिताहरू नै मैदान छिरेछन् । त्यसपछि त मुक्का हानाहान हुने भइहाल्यो ।
‘भोकल’ देखिएका यी पिताको धेरैजसो निर्देशन आफ्ना छोराप्रति नै हुन्छ । विङ्गमा खेल्दै गरेका छोरालाई पटक पटक भन्दै छन्, ‘वाइडमा बस’ ‘प्रेस गर, बल खोस’ ‘मुख छ होइन ? बोल्न आउँछ होइन ? बल मागेको खोइ ?’
खेलमा मध्यान्तर भयो । प्रशिक्षक आफ्ना सबै खेलाडी बटुल्छन् । निर्देशन दिन थाल्छन् । त्यहाँ ती पिता पनि जोडिन्छन् । पहिलो हाफको प्रदर्शनबारे आफ्नो विचार व्यक्त गर्छन् ।
खासमा युवा फुटबलमा यी दृश्य नौला होइनन् । आफ्ना बच्चाहरूको खेल हेर्न आएका अभिभावकहरू यत्तिको गम्भीर हुन्छन् नै । कोही बढी चिच्याउँछन्, कोही कम । यो स्वाभाविक हो । तर, कतिपय अवस्थामा अभिभावकहरू बढी नै उत्तेजित बनिदिन्छन् ।
केही समयअघि केन्टमा चल्दै गरेको १० वर्षमुनिको फुटबल प्रतियोगितामा दुई टिमका खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि पिताहरू नै मैदान छिरेछन् । त्यसपछि त मुक्का हानाहान हुने भइहाल्यो । खबर अनुसार त्यसबीचमा आक्रामक बनेका एक पिता कुनै एक फुच्चे खेलाडीमाथि जाइलाग्न खोज्दैथे । सम्भवतः ती खेलाडी उनको छोरा थिएनन् ।

बेलायतको युवा फुटबलमा यो नयाँ समस्या होइन । करिब एक दशकअघि ग्यारी लिनेकरले अभिभावकहरू मैदानबाहिरबाट आफ्ना खेलाडी छोराछोरीमाथि कसरी आक्रामक रूपमा प्रस्तुत भइरहेका हुन्छन् भन्नेबारे लेखेका थिए । अभिभावकहरूको यो व्यवहारका कारण उनीहरूका बच्चाको फुटबल प्रेम घटिरहेको लिनेकरको बुझाइ थियो ।
गएको सिजन क्लबहरूविरुद्ध भएका ३४९ कारबाही दर्शकदीर्घाबाट भएको दुव्र्यवहारसँग सम्बन्धित थिए ।
बेलायती समाजमा देखिने यो समस्याबारे पंक्तिकारले कोरम्स फिल्ड्समा रहेका नर्थम्बरल्यान्ड फुटबल लिगका निर्देशक इयान कोएट्ससँग कुराकानी गरेको थियो । ‘खेलमा एउटा बच्चा साथी खेलाडीलाई बल पास गर्छ । पास गर्नासाथ ऊ साइडलाइनमा रहेका आफ्ना पितातिर पुलुक्क हेर्छ । किनभने उसले गरेको पास पिताले सही मानेनन् कि भन्ने डर हुन्छ,’ कोएट्स भन्छन्, ‘जब म किशोर खेलाडीलाई प्रशिक्षण गराउँछु, तब म उनीहरूलाई भन्छु तिमीहरूले अनुमोदन खोज्ने मबाट मात्र हो । यदि बुवाआमाले बाहिरबाट केही भने उनीहरूलाई चुप लाग्नुस् भन भन्छु । त्यति गर्दा पनि आक्रामक भइरहे म ठिक पार्छु ।’
त्यसो गर्न कोएट्सले भनेजस्तो सजिलो छैन । कसैले कोही अभिभावकलाई शान्त रहन भनिहाले उनीहरूको सिधा जवाफ आउँछ, ‘मेरो छोरा हो, म जेसुकै गरौँ, के मतलब ?’ तर उनीहरूलाई कसले भन्दियोस् यो सरासर बाल दुव्र्यवहार हो भनेर । र, यसका लागि उनीहरूलाई सजाय हुनसक्छ ।
इङ्ल्यान्डको फुटबल संघ (एफए) को तथ्यांकअनुसार सन् २०२३-२४ मा ग्रासरूट फुटबलमा २ हजार ५६१ दुव्र्यवहारका घटना दर्ता भएका छन् । अघिल्लो सिजनभन्दा यो १३ प्रतिशतले बढी हो । तर दर्ता भएका यी घटना फुटबल मैदानमा भएका दुव्र्यवहार सम्बन्धी मात्र हुन् । अभिभावकले बच्चालाई गर्ने दुव्र्यवहार नसमेटिन सक्छन् । यद्यपि एफएका अनुसार दर्शकदीर्घाबाट हुने दुव्र्यवहार (जहाँ अभिभावक पनि हुन्छन्) का लागि क्लबहरूलाई कारबाही गरिन्छ । गएको सिजन क्लबहरूविरुद्ध भएका ३४९ कारबाही दर्शकदीर्घाबाट भएको दुव्र्यवहारसँग सम्बन्धित थिए ।
काउन्टी फुटबल संघसँग अझ विस्तृत तथ्यांक छ । संघका कार्यकारी निर्देशक जान पाइकका अनुसार उनको संस्थाले अभिभावक र प्रशिक्षकले टचलाइनबाट गर्ने दुव्र्यवहार (जसमा अनावश्यक रूपमा गाली गर्ने, चिच्याउने पनि पर्छन्) बारे आएको निवेदनको तथ्यांक संकलन गर्ने गरेको छ । दक्षिण पश्चिमी इङ्ल्यान्डमा फुटबल नियमन गर्न सन् १८८५ मा स्थापित समरसेट फुटबल संघका अनुसार युवा फुटबलमा दुव्र्यवहारको घटना बढ्दो छ । सन् २०१८ यता यस्ता घटना प्रत्येक सिजन २ सयभन्दा बढी हुने गरेका छन् । २०२३-२४ सिजनभर २७३ दुव्र्यवहारका घटना घटेका छन् ।

कोभिड महामारीपछिको समयमा स्थिति खराब बन्दै गइरहेको समरसेट एफएको निक्र्योल छ । ‘ग्रासरुट फुटबलमा दुव्र्यवहार गर्नेहरूमा मुख्यतः वयस्कहरू हुन्छन् । ती प्रशिक्षक, व्यवस्थापक, अभिभावक जो पनि हुनसक्छन्,’ पाइकको भनाइ छ ।
हुन त दर्शकले यसो भन्नु खेलको हिस्सा हो । उनीहरू फरक फरक वाक्यको प्रयोग गरेर रेफ्रीलाई गिज्याउँछन् । सम्भवतः यसलाई आफ्नो टिमप्रतिको समर्थन र समर्थनले ल्याउने आवेग पनि मान्न सकिएला ।
पाइकको भनाई आफैंमा अनौठो लाग्ने खालको छैन । ग्रासरुट फुटबल पछ्याउनेका लागि यो नौलो तथ्य होइन । तर, अब समय आएको छ, आआफ्नो स्थानबाट जिम्मेवारीपूर्वक ग्रासरुट फुटबल बचाउन लागिपर्ने । कुनै पनि किशोर खेलाडीले फुटबलको मज्जा लिँदै, रमाउँदै खेल्ने वातावरण बनाउन आवश्यक छ । यी कलिला खेलाडीको प्रदर्शन मूल्यांकन गरेर उनीहरूलाई दुव्र्यवहार गर्न वयस्कहरूलाई छुट छैन ।
पाइकको बुभाइमा कोभिड महामारीपछि अभिभावकहरू टचलाइनमा बढी आक्रामक हुन थालेका हुन् । यो चिट्चिटाहटलाई महामारीपछि सिर्जित विभिन्न कठिनाइसँग पनि जोड्न सकिन्छ । उसो त इङ्ल्यान्डको माथिल्लो स्तरको फुटबलमा दुव्र्यवहार बढेको छ । पाइक सेन्ट जेम्स रंगशालामा भएको एक खेलको उदाहरण दिन्छन् । ‘रेफ्रीलाई एक खेलाडीविरुद्ध फ्रिकिक दिएपछि ती खेलाडीले रेफ्री सही निर्णय नदिएको भन्दै व्यंग्यत्मक भाषाको प्रयोग गरे । लगत्तै दर्शकदीर्घाबाट रेफ्रीलक्षित नारा लाग्यो, यो रेफ्री हस्तमैथुन गर्छ ।’
हुन त दर्शकले यसो भन्नु खेलको हिस्सा हो । उनीहरू फरक फरक वाक्यको प्रयोग गरेर रेफ्रीलाई गिज्याउँछन् । सम्भवतः यसलाई आफ्नो टिमप्रतिको समर्थन र समर्थनले ल्याउने आवेग पनि मान्न सकिएला । ‘एकछिन मैले यो तर्क माने, तर रेफ्रीलाई त्यसरी गिज्याउने समर्थकहरूबीचमा १३ वर्षे किशोर पनि छ । जो पितासँग खेल हेर्न रंगशाला पुगेको छ,’ पाइक भन्छन्, ‘त्यो किशोरले आफ्नो पितासम्मिलित समूहले लगाइरहेको नारा सुन्छ । रेफ्रीलाई दुव्र्यवहार गर्ने खेलाडीलाई कार्ड नदिएको देख्छ । रंगशालाको पहरा दिइरहेका परिचारक, सुरक्षा गार्ड र प्रहरीले दर्शकलाई आपत्तिजनक नारा लगाउँदा पनि केही नगरेको देख्छ ।’
यसको असर के हुन्छ ? पाइक भन्छन्, ‘अब त्यही किशोर खेलाडीले ग्रासरुट फुटबलमा रेफ्रीको निर्णयविरूद्ध व्यंग्यत्मक टिप्पणी गर्छ र कार्ड खाएर मैदान छाड्न बाध्य हुन्छ । यहाँ उसले रातो कार्ड पाउनु स्वाभाविक हो, फुटबलको नियमअनुसार ।’
यहीबीचमा मैदानबाहिरबाट ती किशोर खेलाडीका पिता रेफ्रीलाई गाली गर्न थाल्छन् । ‘यी पिताहरू शनिबार प्रिमियर लिग वा अरू लिग हेर्न जान्छन् । मन लागेको जे पनि बोल्छन् । आइतबार बिहान उनीहरू छोरा लिएर ग्रासरुट फुटबलमा पुग्छन् । उनीहरूलाई लाग्छ आफू त्यही शनिबारको माहोलमा छु । र, यहाँ पनि जथाभावी बोल्न पाइन्छ,’ पाइक दिक्दारी व्यक्त गर्छन् ।
नोर्थम्बरल्यान्डमा एक १६ वर्षे रेफ्रीलाई अभिभावक र खेलाडीले मैदानबाट लखेटेका थिए । ‘चेन्जिङ रुममा गएर ढोकाको चुक्कुल लगाएर नलुकेको भए ती रेफ्रीले पिटाइ खाने थिए ।
एन्ट कानाभान लिभरपुलको रंगशाला एनफिल्डमा ‘स्टेवार्ड’ का रूपमा कार्यरत छन् । तल्लो श्रेणीका लिगहरूमा उनी रेफ्री पनि हुन् । सामाजिक सन्जाल फेसबुकमा ‘रेफ्री फोरम ग्रुप’ सञ्चालन गर्ने उनी अभिभावकहरूको व्यवहार २० वर्षयता समस्याका रूपमा विद्यमान रहेको बताउँछन् । ‘कोभिडपछि उनीहरूको व्यवहार झन् बिग्रिएको भान हुन्छ । मानिसहरूको व्यवहारबारे प्रशस्त बहस हुने गरेको छ । विशेषगरी ग्रासरुट र युवा फुटबलमा त यस्तो व्यवहार धेरै नै बढेको छ,’ कानाभानको अनुभव छ ।

कानाभानका अनुसार ग्रासरूट फुटबलमा हुने गरेको दुव्र्यवहारको मुख्य कारण पिताहरू हुन् । आखिर किन ? ‘एउटा पिता कुनै समय आर्सनल वा प्रिमियर लिगको कुनै क्लबको ट्रायल दिन गएको हुन्छ । तर ऊ सफल हुँदैन । व्यावसायिक खेलाडी बन्ने उसको सपना पूरा हुँदैन । अब उसले आफ्नो सपना छोरामार्फत पूरा गर्न खोज्छ । यस्ता पिता धेरै छन् । उनीहरू आआफ्ना छोराहरूलाई सफल बनाउन हरसम्भव कोसिस गर्छन् । र, यही बीचमा उनीहरू कसरी व्यवहार गर्ने भनेर भुल्छन्,’ कानाभान भन्छन् ।
‘के उनीहरूलाई आफूले गलत गरिरहेको थाहा हुँदैन ? पक्कै थाहा हुन्छ । तर गर्न छाड्दैनन्,’ कानाभानको बुझाइ छ ।
कानाभानका अनुसार यस्तो व्यवहार क्रिकेट, रग्बी वा अरू खेलमा देखिँदैन । ‘ती खेलका ग्रासरुटमा अभिभावकहरू मुक्का हानाहान गरिरहेका हुँदैनन् । यस्तो फुटबलमा मात्र हुन्छ । लामो समयदेखि इङ्लिस फुटबलमा हुने गरेको उपद्रो, हुलदंगा सन् १९८० को दशकमा दबाइयो । तर, मान्छेमा दुव्र्यवहारको भावना अन्त्य भएको छैन । फेरि यो केवल फुटबलमा मात्र देखिन्छ, मानौँ यो इङ्लिस फुटबलको संस्कृति हो,’ कानाभान भन्छन् ।
अभिभावकको दुव्र्यवहारका कारण खेल बीचमै रोकेको अनुभव पनि छ कानाभानसँग । ‘म शारीरिक रूपमा बलियो छु । ६ फिट ४ इन्च उचाइ भएको म अरूको दुव्र्यवहारले सजिलै डराउने खालको होइन । तर ती अभिभावकलाई लाग्छ यो रेफ्रीलाई थर्काउन सकिन्छ, निर्णय आफ्नो पक्षमा पार्न सकिन्छ,’ कानाभान अनुभव सुनाउँछन् ।
दुव्र्यवहार गरेको भए किशोर खेलाडीले प्रतिबन्धसम्मको कारबाही भोग्न सक्छ । तर, उसका अभिभावकलाई कारबाहीको भागिदार बनाउन सकिँदैन । किनभने अभिभावकलाई संघले खेलको सहभागी मान्दैन ।
तर, सबै रेफ्री कानाभान जस्ता बलिया, अग्ला हुँदैनन् । कोएट्सका अनुसार नोर्थम्बरल्यान्डमा एक १६ वर्षे रेफ्रीलाई अभिभावक र खेलाडीले मैदानबाट लखेटेका थिए । ‘चेन्जिङ रुममा गएर ढोकाको चुक्कुल लगाएर नलुकेको भए ती रेफ्रीले पिटाइ खाने थिए,’ कोएट्स घटनाको वर्णन गर्छन्, ‘कतिसम्म भने अभिभावकहरू रेफ्रीलाई चक्कु हान्ने धम्कीसम्म दिन्छन् । मेरो छोराविरूद्ध फाउल दिइस् भने तलाई कारपार्कमा ढुकेर चक्कु हान्छु भनिदिन्छन् ।’
यस्ता घटनाको प्रहरीमा उजुरी नहुने होइन । तर अभिभावकहरूलाई बिरलै कारबाही गरिन्छ । उता फुटबल संघले क्लबहरूलाई कारबाही गर्छ । दर्शक, खेलाडी, प्रशिक्षकलाई नियन्त्रणमा राख्न नसकेको भनेर संघले क्लबलाई जरिबाना गराउँछ । यसमा क्लबको तर्क हुन्छ, ‘मैदानबाट ७० यार्ड टाढा रहेका अभिभावकहरूलाई हामी कसरी रोक्न सक्छौं ?’ संघले अभिभावकलाई कारबाही गर्ने नियम छैन, यस्तोमा उसले गर्नसक्ने यत्ति हो, क्लबमाथि जरिबाना ।

समस्या यही छ । दुव्र्यवहार गरेको भए किशोर खेलाडीले प्रतिबन्धसम्मको कारबाही भोग्न सक्छ । तर, उसका अभिभावकलाई कारबाहीको भागिदार बनाउन सकिँदैन । किनभने अभिभावकलाई संघले खेलको सहभागी मान्दैन । आखिर कारबाही कसले गर्ने त ? प्रहरीले,’ कोएट्सको जवाफ छ, ‘तर, सोमबार उजुरी गर्यो भने प्रहरी मंगलबार पनि आइपुग्दैनन् ।’
कोएट्सका अनुसार अभिभावकलाई पनि प्रतिबन्ध लगाउन सक्ने व्यवस्था नहुन्जेल समस्या समाधान हुनेवाला छैन । मैदान निजी जग्गामा भए त यसो गर्न सम्भव हुन्छ । तर, सार्वजनिक जग्गामा बनाइएका मैदानमा कसैलाई नआइज भन्न सम्भव छैन ।
फुटबल जस्तो सुन्दर खेल खेल्न बच्चाहरू रमाउँछन् । तर, वयस्कहरूको दुव्र्यवहारका कारण उनीहरू आफूलाई मनपर्ने खेल खेल्न डराउन थालेका छन् ।
इङ्ल्यान्डका केही लिगमा अचेल रेफ्रीहरूलाई क्यामरा भिर्न लगाइन्छ । जुन क्यामरा प्रहरीले पनि प्रयोग गर्छन् । तर साना लिगमा यसो गर्न इङ्ल्यान्ड एफएले अनुमति दिएको छैन । यद्यपि परिचारक, स्वयंसेवकहरूले भने क्यामरा लगाएका हुन्छन् । कोएट्स आफैं पनि यस्तो ‘बडी क्याम’ लगाउँछन् । कुनै किशोर रेफ्रीलाई अभिभावकले गाली गर्न थाल्छन्, तब उनी त्यहाँ पुग्छन् । ताकि दुव्र्यवहारको प्रमाण बटुल्न सकियोस् ।
‘म आफ्नो कोट फुकालेर दुव्र्यवहार गरिरहेका दर्शकको भीडमा पुग्छु । त्यहाँ दुव्र्यवहार गरिरहेका अभिभावकको खेलाडी छोरा पत्याएर उनको खेलको आलोचना गर्छु । त्यसो गर्दा ती अभिभावक मेरो छोरालाई किन दुव्र्यवहार गरेको भनेर सोध्छन् । म जवाफमा रेफ्रीमाथि तिमी अघिदेखि के गरिरहेका छौं भनेर भनेपछि उनी चुप लाग्छन्,’ कोएट्स आफ्नो अनुभव सुनाउँछन् ।
फुटबल जस्तो सुन्दर खेल खेल्न बच्चाहरू रमाउँछन् । तर, वयस्कहरूको दुव्र्यवहारका कारण उनीहरू आफूलाई मनपर्ने खेल खेल्न डराउन थालेका छन् ।
अब कोरम्स फिल्ड्समा दोस्रो हाफको खेल सुरु भएको छ । पहिलो हाफमा चिच्याइरहेका ती पिता अहिले पनि चुप लागेका छैनन् । ‘मिडफिल्डमा खेल्ने त्यो फुच्चे को हो ? किन आफ्नो पोजिसन छाडेको छाड्यै गरेको ?,’ उनी प्रश्न गर्दैछन् ।
(द गार्डियानमा साम वालस्टनले लेखेको रिपोर्टको भावअनुवाद।)