चैत्र १६, २०८२ सोमबार | २२:५५:४३
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट
शनिबारको दिन महिला फुटबल

खेलकुदकी सुपर वुमेन बिना

काठमाडौं । सामाजिक सञ्जालतिर नामै ‘बिना फिफा’ । अब यिनको फुटबलसँग नाता नभएर कस्को हुन्छ ? केही सातामा बंगलादेशमा साफ यू-१९ वुमेन्स च्याम्पियनसिप हुँदै छ । त्यसका लागि उनी पनि ढाका जाने जाँदै छिन् । त्यहाँ उनको काम हुनेछ रेफ्रीको ।

फिफाको एसिस्टेन्ट रेफ्री रहेकी उनी एएफसीको भने इलिट रेफ्री हुन् । जतिबेला उनले बंगलादेशमा खेल खेलाउने छन् । त्यसअगाडि उनको नाम घोषणा गर्दा यस्तो भनिने छ, बिना नवाछे श्रेष्ठ ।

पछिल्लो सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७६ ताका उनले एसिस्टेन्ट रेफ्रीको भूमिका निर्वाह गर्ने कुरा सुन्नमा आएको थियो । तर, त्यस्तो केही भएन । पछिल्लो ‘बी’ डिभिजनमा भने बकाइदा उनी यही भूमिका देखा परिन् । पुरुषको खेलमा महिला म्याच अफिसर ।

नेपाली खेलकुदमा कुनै न कुनै भूमिकामा लामो समयदेखि संलग्न एक महिला व्यक्तित्वमा पर्छिन् बिना । उनको नाममा ठुल्ठूला उपलब्धि त छैनन्, तर उनले जे-जति गरेकी छन्, त्यसका लागि उनलाई भन्नैपर्छ ‘सुपर वुमेन’ ।

साढे दुई दशकभन्दा बढी समय लगातार नेपाली खेलकुदसँग आबद्ध रहनु आफैंमा ठूलो हो । त्यसमाथि उनी सधैं ‘फिट एन्ड फाइन’ रहिन् । खेल्न छाडेपछि खेलाडी शारीरिक रूपमा खेलाडी देखिन छाडिन्छ । प्रशिक्षक भएका पनि उस्तै हुन्छन् । तर बिना सधैं खेलाडी जस्तै रहिन् । उनले दक्षिण एसियाली खेलकुद (साफ हालको साग)का तीन संस्करण खेलिन् । सन् १९९५ को मद्रास, १९९९ को काठमाडौं र २००४ को इस्लामाबाद संस्करण ।

त्यतिबेला उनको परिचय बेग्लै थियो । एथलेटिक्स खेलाडीका रूपमा रहिन् । अझ ठ्याक्कैभन्दा स्प्रिन्टर । १०० मिटर दौडमा उनको व्यक्तिगत उत्कृष्ट समय छ १२.७५ सेकेन्डको । उनले आठौं दक्षिण एसियाली खेलकुदमा दुई कांस्य पदक पनि जितेकी थिइन्, चार गुणा सय र चार गुणा चार सय मिटर रिलेमा ।

सुरु-सुरुमा जिम्न्यास्टिक पनि खेल्थिन् । तर, उनको खास परिचय एथलेटिक्स खेलाडीकै रूपमा हो । भक्तपुर थिमिकी यी चेलीलाई उनकै काका मदनकृष्ण श्रेष्ठले खेलकुद क्षेत्रमा ल्याएका थिए ।

पछि यो परिचय फुटबल खेलाडीकी रूपमा बन्यो, त्यो पनि राष्ट्रिय खेलाडीकी रूपमा । उनले आफ्नो समयका सबै घरेलु प्रतियोगिता त खेलिन् नै । सन् १९९९ को एएफसी वुमेन्स च्याम्पियनसपमा पनि नेपालको प्रतिनिधित्व गरेर खेलिन् । टिमको रक्षकका रूपमा उनले तीन क्याप जितिन् । त्यसपछि त उनी रेफ्री र सहायक रेफ्रीको अवतारमा पनि देखिइन् । अब त उनी ४७ वर्षको छेउछाउ पुगिसकिन् । सायद अब त्यो दिन धेरै टाढा छैन, जतिबेला उनले एक प्रकारले आराम पनि लिनुपर्नेछ ।

लगातार कतिमात्र उत्तिकै खेलकुद भनेर पछाडि लागिरहने ? उनको पनि त आफ्नो परिवार छ । श्रीमान छन्, एक छोरी एक छोरा छन् । परिवारमा अन्य सदस्य हुने नै भयो । बिनाको त विवाह भएको पनि २५ वर्ष नाघिसकेको छ । खेल खेलभन्दा भन्दै आफ्ना श्रीमानलाई पनि धेरै समय दिन सकिनन् कि ? यसको उत्तर बिनासँग छैन । खालि मुसुक्क हाँस्छिन् र भन्छिन्, ‘यो मैले रोजेको बाटो हो, यसमा कुनै गुनासो छैन । बरू मलाई खुसी नै छ ।’

यति कुरा गर्दागर्दै बीचमा आइपुगे, पुराना फुटबल खेलाडी तथा अहिलेका प्रशिक्षक मृगेन्द्र मिश्र । सन् १९९९ मा वुमेन्स साफ च्याम्पियनसिप खेल्दाको टिमका उनी गोलरक्षक प्रशिक्षक रहेछन् । बिनाको खेल उनले नजिकबाट हेर्ने अवसर पाएका रहेछन् । अनि उनले उल्टै हामी सबैलाई प्रश्न गरे, ‘यी बिना को हुन् थाहा छ ? यी हुन्, नेपाली खेलकुदकी मेरी कोम ।’ आठौं साग खेल्दा बिनाको छोरी भइसकेको थियो, नवौं साग खेल्दा छोरा पनि ।

भारतकी बक्सिङ खेलाडी मेरी कोमले जस्तै हाम्री बिनाले छोराछोरी हुर्काइन्, परिवारको भएभरका सबै काम गरिन् अनि खेल्ने काम पनि रोकिनन् । खासमा उनी निकै असल बुहारी नै हुन् । घरको सबै काम भ्याएकै छे अनि खेल्न पनि गएकै छे । खेललाई कुनै निहुँ बनाउन दिइनन् । उनका अधिकांश दिनचर्या धेरै समय यसरी नै बिते, बिहानै सबेरै उठेर अभ्यास गरिन्, घरधन्दामा लागिन् । फेरि अभ्यास गरिन् र फर्केर साँझ पुनः घरधन्दा लागिन् ।

कसैलाई गुनासो गर्ने अवसर दिइनन् । कट्टु लगाएर हिँड्ने बुहारी भनेर पनि केही-केहीले आचोलना नगरेको कहाँ हो र ? एउटा कानले सुनिन् र अर्को कानले उडाइन् । ती आफैमा कडा संघर्षका दिन थिए । अहिले पनि सजिलो त कहाँ छ र ? एसिस्टेन्ट रेफ्री हुन पनि दिनहुँ नियमित अभ्यास चाहिन्छ । घरमा केही विशेष काम छ, पर्वको समय छ भने बिना बिहान ४ बजे उठ्छिन्, अभ्यास गर्छिन् र ठीक समयमा घरका सबै काम पनि गर्छिन् ।

‘सजिलो त पक्कै थिएन, अझै पनि छैन । आफू कति दृढ छु भन्नेमा पनि भरपर्छ,’ उनी भन्छिन् । यी सबै कुरा गर्दा उनका यी सबै काममा पछाडिबाट सहयोग गर्ने श्रीमान नहुँदो हो त के यो सम्भव हुन्थ्यो त ? हुँदैन थियो । उनका पर्दा पछाडिका नायक हुन्, श्रीमान गंगाराम श्रेष्ठ ।

सायद अब ती गंगारामका लागि केही खुसी र सुखका दिन फर्कंदै छ, किनभने अबको केही वर्षमा यी बिना अहिले जत्तिकै व्यस्त हुने छैनन् । आफ्ना श्रीमानसँग मीठा-मीठा रोमान्स पस्कने छिन् । दुवै हात समातेर कतै बाहिर पहिलोपल्ट घुम्न जानेछन् ।

सारमा भन्दा धेरै कारणले महिलालाई खेलकुदमा लगातार सक्रिय रहन गाह्रो हुन्छ । त्यो शारीरिक रूपमा त छँदै छ, मानसिक रूपमा पनि । बिना भने धेरै हदसम्म अपवाद हुन् । आखिरमा खेलकुद उनलाई मनपरेको क्षेत्र त रह्यो । यी सबै कुरा गर्दा पनि यी सुपर वुमेनको मन भने आम महिलाकै जस्तो रहेछ । सानो कुरामा पनि आँसु आइहाल्ने । उनी भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा म आमा पनि त हुँ नि ।’