काठमाडौं । सामाजिक सञ्जालतिर नामै ‘बिना फिफा’ । अब यिनको फुटबलसँग नाता नभएर कस्को हुन्छ ? केही सातामा बंगलादेशमा साफ यू-१९ वुमेन्स च्याम्पियनसिप हुँदै छ । त्यसका लागि उनी पनि ढाका जाने जाँदै छिन् । त्यहाँ उनको काम हुनेछ रेफ्रीको ।
फिफाको एसिस्टेन्ट रेफ्री रहेकी उनी एएफसीको भने इलिट रेफ्री हुन् । जतिबेला उनले बंगलादेशमा खेल खेलाउने छन् । त्यसअगाडि उनको नाम घोषणा गर्दा यस्तो भनिने छ, बिना नवाछे श्रेष्ठ ।
पछिल्लो सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७६ ताका उनले एसिस्टेन्ट रेफ्रीको भूमिका निर्वाह गर्ने कुरा सुन्नमा आएको थियो । तर, त्यस्तो केही भएन । पछिल्लो ‘बी’ डिभिजनमा भने बकाइदा उनी यही भूमिका देखा परिन् । पुरुषको खेलमा महिला म्याच अफिसर ।
नेपाली खेलकुदमा कुनै न कुनै भूमिकामा लामो समयदेखि संलग्न एक महिला व्यक्तित्वमा पर्छिन् बिना । उनको नाममा ठुल्ठूला उपलब्धि त छैनन्, तर उनले जे-जति गरेकी छन्, त्यसका लागि उनलाई भन्नैपर्छ ‘सुपर वुमेन’ ।
साढे दुई दशकभन्दा बढी समय लगातार नेपाली खेलकुदसँग आबद्ध रहनु आफैंमा ठूलो हो । त्यसमाथि उनी सधैं ‘फिट एन्ड फाइन’ रहिन् । खेल्न छाडेपछि खेलाडी शारीरिक रूपमा खेलाडी देखिन छाडिन्छ । प्रशिक्षक भएका पनि उस्तै हुन्छन् । तर बिना सधैं खेलाडी जस्तै रहिन् । उनले दक्षिण एसियाली खेलकुद (साफ हालको साग)का तीन संस्करण खेलिन् । सन् १९९५ को मद्रास, १९९९ को काठमाडौं र २००४ को इस्लामाबाद संस्करण ।
त्यतिबेला उनको परिचय बेग्लै थियो । एथलेटिक्स खेलाडीका रूपमा रहिन् । अझ ठ्याक्कैभन्दा स्प्रिन्टर । १०० मिटर दौडमा उनको व्यक्तिगत उत्कृष्ट समय छ १२.७५ सेकेन्डको । उनले आठौं दक्षिण एसियाली खेलकुदमा दुई कांस्य पदक पनि जितेकी थिइन्, चार गुणा सय र चार गुणा चार सय मिटर रिलेमा ।
सुरु-सुरुमा जिम्न्यास्टिक पनि खेल्थिन् । तर, उनको खास परिचय एथलेटिक्स खेलाडीकै रूपमा हो । भक्तपुर थिमिकी यी चेलीलाई उनकै काका मदनकृष्ण श्रेष्ठले खेलकुद क्षेत्रमा ल्याएका थिए ।
पछि यो परिचय फुटबल खेलाडीकी रूपमा बन्यो, त्यो पनि राष्ट्रिय खेलाडीकी रूपमा । उनले आफ्नो समयका सबै घरेलु प्रतियोगिता त खेलिन् नै । सन् १९९९ को एएफसी वुमेन्स च्याम्पियनसपमा पनि नेपालको प्रतिनिधित्व गरेर खेलिन् । टिमको रक्षकका रूपमा उनले तीन क्याप जितिन् । त्यसपछि त उनी रेफ्री र सहायक रेफ्रीको अवतारमा पनि देखिइन् । अब त उनी ४७ वर्षको छेउछाउ पुगिसकिन् । सायद अब त्यो दिन धेरै टाढा छैन, जतिबेला उनले एक प्रकारले आराम पनि लिनुपर्नेछ ।
लगातार कतिमात्र उत्तिकै खेलकुद भनेर पछाडि लागिरहने ? उनको पनि त आफ्नो परिवार छ । श्रीमान छन्, एक छोरी एक छोरा छन् । परिवारमा अन्य सदस्य हुने नै भयो । बिनाको त विवाह भएको पनि २५ वर्ष नाघिसकेको छ । खेल खेलभन्दा भन्दै आफ्ना श्रीमानलाई पनि धेरै समय दिन सकिनन् कि ? यसको उत्तर बिनासँग छैन । खालि मुसुक्क हाँस्छिन् र भन्छिन्, ‘यो मैले रोजेको बाटो हो, यसमा कुनै गुनासो छैन । बरू मलाई खुसी नै छ ।’
यति कुरा गर्दागर्दै बीचमा आइपुगे, पुराना फुटबल खेलाडी तथा अहिलेका प्रशिक्षक मृगेन्द्र मिश्र । सन् १९९९ मा वुमेन्स साफ च्याम्पियनसिप खेल्दाको टिमका उनी गोलरक्षक प्रशिक्षक रहेछन् । बिनाको खेल उनले नजिकबाट हेर्ने अवसर पाएका रहेछन् । अनि उनले उल्टै हामी सबैलाई प्रश्न गरे, ‘यी बिना को हुन् थाहा छ ? यी हुन्, नेपाली खेलकुदकी मेरी कोम ।’ आठौं साग खेल्दा बिनाको छोरी भइसकेको थियो, नवौं साग खेल्दा छोरा पनि ।
भारतकी बक्सिङ खेलाडी मेरी कोमले जस्तै हाम्री बिनाले छोराछोरी हुर्काइन्, परिवारको भएभरका सबै काम गरिन् अनि खेल्ने काम पनि रोकिनन् । खासमा उनी निकै असल बुहारी नै हुन् । घरको सबै काम भ्याएकै छे अनि खेल्न पनि गएकै छे । खेललाई कुनै निहुँ बनाउन दिइनन् । उनका अधिकांश दिनचर्या धेरै समय यसरी नै बिते, बिहानै सबेरै उठेर अभ्यास गरिन्, घरधन्दामा लागिन् । फेरि अभ्यास गरिन् र फर्केर साँझ पुनः घरधन्दा लागिन् ।
कसैलाई गुनासो गर्ने अवसर दिइनन् । कट्टु लगाएर हिँड्ने बुहारी भनेर पनि केही-केहीले आचोलना नगरेको कहाँ हो र ? एउटा कानले सुनिन् र अर्को कानले उडाइन् । ती आफैमा कडा संघर्षका दिन थिए । अहिले पनि सजिलो त कहाँ छ र ? एसिस्टेन्ट रेफ्री हुन पनि दिनहुँ नियमित अभ्यास चाहिन्छ । घरमा केही विशेष काम छ, पर्वको समय छ भने बिना बिहान ४ बजे उठ्छिन्, अभ्यास गर्छिन् र ठीक समयमा घरका सबै काम पनि गर्छिन् ।
‘सजिलो त पक्कै थिएन, अझै पनि छैन । आफू कति दृढ छु भन्नेमा पनि भरपर्छ,’ उनी भन्छिन् । यी सबै कुरा गर्दा उनका यी सबै काममा पछाडिबाट सहयोग गर्ने श्रीमान नहुँदो हो त के यो सम्भव हुन्थ्यो त ? हुँदैन थियो । उनका पर्दा पछाडिका नायक हुन्, श्रीमान गंगाराम श्रेष्ठ ।
सायद अब ती गंगारामका लागि केही खुसी र सुखका दिन फर्कंदै छ, किनभने अबको केही वर्षमा यी बिना अहिले जत्तिकै व्यस्त हुने छैनन् । आफ्ना श्रीमानसँग मीठा-मीठा रोमान्स पस्कने छिन् । दुवै हात समातेर कतै बाहिर पहिलोपल्ट घुम्न जानेछन् ।
सारमा भन्दा धेरै कारणले महिलालाई खेलकुदमा लगातार सक्रिय रहन गाह्रो हुन्छ । त्यो शारीरिक रूपमा त छँदै छ, मानसिक रूपमा पनि । बिना भने धेरै हदसम्म अपवाद हुन् । आखिरमा खेलकुद उनलाई मनपरेको क्षेत्र त रह्यो । यी सबै कुरा गर्दा पनि यी सुपर वुमेनको मन भने आम महिलाकै जस्तो रहेछ । सानो कुरामा पनि आँसु आइहाल्ने । उनी भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा म आमा पनि त हुँ नि ।’