काठमाडौं । रोहित चन्द नेपाली फुटबलको एउटा सर्वकालीन स्टार नाम हो । विभिन्न उमेर समूह हुँदै नेपाली राष्ट्रिय टोलीसम्म गरेको योगदानले मात्र रोहितलाई सर्वकालीन स्टार बनाएको होइन । उनले नेपाली फुटबलको प्रतिनिधिपात्रका रूपमा विदेशका ठुल्ठूला लिगमा पनि रवाफिलो उपस्थिति जनाएका छन् ।
उनी हाल व्यावसायिक लिग खेलिरहेको इन्डोनेसियाको जकार्ता पुग्नुपर्छ, नेपाली हुनुमा गर्वले छाती चौडा हुन्छ । जकार्ताका प्रत्येक सडक, गल्ली, रेस्टुराँ र चोकहरूमा नेपालबारे जानिएका थोरैमात्र शब्दावली छन् । जसमा रोहित नछुट्ने शब्द हो । फुटबल निकै लोकप्रिय रहेको इन्डोनेसियाका बासिन्दाले नेपालबारे जानेको भनेकै माउन्ट एभरेस्ट (सगरमाथा), गौतम बुद्ध र रोहित चन्द हो ।
र, यो पहिचान रोहितले फुटबलको माध्यमबाट बनाएका हुन् । इन्डोनेसियाको पर्सिजा जकार्ता, पेरसिक केडेरी, मलेसियाको टी टिमलगायतका क्लबबाट उच्च तहको फुटबल खेलेर बनाएका हुन् । इन्डोनेसियाको लिगमा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितेर बनाएका हुन् ।
नेपाली फुटबलमा रोहितको उपस्थिति यतिमै मात्र सीमित पनि छैन । उनकै नाममा दीर्घकालसम्म फुटबल चलायमान बनाउने उद्देश्यले एउटा क्लब खुलेको छ, आरसी ३२ फुटबल एकेडेमी ।
आरसी भन्नाले रोहित चन्द अनि ३२ भन्नाले रोहितको प्यारो जर्सी नम्बर । क्लब स्थापना गर्ने चाहिँ रोहितकै दाजु रवीन्द्रबहादुर चन्द (रोविन) हुन् । फुटबलको प्राविधिक सीप एन्फा एकेडेमीबाट सिके पनि रोहितलाई यो सुन्दर खेलको व्यावसायिक उडान भर्न मेन्टरको भूमिका दाजु रोविनले निर्वाह गरेका हुन् ।
भाइको करियर उत्कर्षमा पुर्याउने उद्देश्य पूरा हुँदै जाँदा रोविनलाई जति सन्तुष्टि मिल्यो, उति नै उनको लोभ पनि बढ्दै गयो । लोभ अर्थात भाइ रोहितलाई नेपाली फुटबलमा अमर बनाउने । प्राकृतिक रूपमा निकै सुन्दर र अथाह सम्भावनाको स्रोत हुनाका बावजुद पूरा देशले नै विकट भनेर ब्रान्डिङ गरेको कर्णालीको सुन्दरता र सम्भावना यही सुन्दर खेलमार्फत उजागर गर्ने ।
हो, रोविनका लोभ यस्तै थिए । खासमा त उनलाई जसरी पनि फुटबलसँग जोडिनु थियो । भाइ र फुटबलमार्फत देशका लागि अझ धेरै योगदान गर्नु थियो । मनमा आफ्नो जन्मथलो कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर समग्र प्रदेशको नयाँ पहिचान स्थापित गर्ने अभियान थियो ।
यही कारण २०७२ सालमै रोविनले भाइ र उनको जर्सी नम्बर जोडेर क्लब स्थापना गरे । वर्षभरि नै प्रशिक्षण र प्रतियोगिताहरूमा टिमलाई सक्रिय बनाइरहे । उनको उद्देश्य ठूलो थियो । यत्तिले चित्त बुझेन । कर्णालीको क्लबलाई देशकै नमुना बनाउने सपना थियो । फुटबलबाटै केही गर्ने हुटहुटी थियो । फुटबल खेलिरहनु थियो ।
यही कारण आरसी ३२ ले २०७८ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘सी’ डिभिजन छनोट प्रतियोगिता खेल्यो । नियमित प्रशिक्षण र प्रतियोगिताहरूबाट निखारिएको टोलीले पहिलो सहभागितामै ‘सी’ डिभिजनको हैसियत हासिल गर्यो ।
त्यसपछि २०७९ सालमा भएको ‘सी’ डिभिजन लिगमा आरसी ३२ बढुवाको निकै नजिक पुगिसकेको थियो । जहाँ एउटा दुर्भाग्य वा कसैको षडयन्त्रको सिकार हुँदा टोलीको यात्रा त्यहीं रोकियो । तर आरसीले हरेस खाएन । फुटबल खेलिरह्यो । प्रशिक्षणलाई निरन्तरता दिइरह्यो ।
२०८० सालमा एन्फाले लिग गर्न सकेन । २०८१ सालमा लिग हुँदा आरसी उही पुरानै जोसका साथ प्रतियोगितामा प्रस्तुत भयो । पहिलो खेलदेखि नै आरसीको गति बाँकी टोलीभन्दा फरक थियो ।
प्रत्येक खेलको नतिजाबाट आरसीले भनिरहेको थियो, ‘हामी नेपाली फुटबलमा खेल्नका लागि आएका हौं । फुटबलमा केही नयाँ र व्यावसायिक काम गर्न आएका हौं । हाम्रो महत्त्वाकांक्षा भनेको सी डिभिजनमा बसेर एन्फाको भोट राजनीतिमा सीमित छैन ।’
हो, यही कुरा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फालाई चित्त बुझेन । लिगमा मताधिकारका लागि मात्र क्लब टिकाइराख्ने प्रवृत्तिलाई चित्त बुझेन । फुटबलको नाममा सबभन्दा बढी यही खेलको चीरहरण गर्नेहरूलाई फुटबल खेल्ने प्रतिबद्धता मनपर्ने कुरा पनि थिएन ।
आ-आफ्नो व्यक्तिगत स्वार्थका लागि एन्फाको राजनीतिमा चुर्लुम्म भएकाले विपक्षी खेमामा रहेका रोविनको क्लब आरसीको गति जसरी पनि रोक्ने संकल्प गरे । ‘बी’ डिभिजनका झापा ११ र भगवती क्लबका खेलाडी सुमनबहादुर मगर र बबिन बोहरालाई खेलाएको भन्दै क्लबले प्रोटेस्ट हाल्ने अनि एन्फाले कारबाही गर्ने खाका तयार भयो ।
त्यहीअनुरुप सामाजिक युवा क्लब र स्वयम्भू क्लबले प्रोटेस्ट हाले । आरसीले बबिन र सुमनसँगको सम्झौता एन्फामा पेस गर्यो । उनीहरू ‘बी’ डिभिजनका जुन क्लबका हुन भनिएको थियो, त्यसमध्ये झापाले सुमनसँग कुनै सम्झौता नरहेको भन्दै विज्ञप्ति जारी गर्यो । भगवतीले पनि बबिन आफूसँग आबद्ध रहेको कुनै प्रमाण दिन सकेन ।
आरसीले ‘उनीहरू हाम्रा खेलाडी हु्न्’ भनिरह्यो । दुवै खेलाडीले आरसीबाहेक कसैसँग सम्झौता नगरेको भन्दै खेलिपाउन गुहार गरिरहे । अखिल नेपाल फुटबल खेलाडी संघ पनि गुहारे । राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयसम्म पनि मसिनो स्वरमा किन नहोस, आफूमाथि भएको अन्यायको विवरण पुर्याए ।
तर, व्यक्तिगत र गुटगत स्वार्थले विवेक टालिएका कुनै पनि निकायको कान खुलेन । नेपाली फुटबलमा कसैलाई आफ्नो स्वार्थको सिन्डिकेट चलाइरहनु थियो । कसैका लागि विदेश मोह फुटबलभन्दा माथि थिए । कोहीलाई फुटबलको अर्थ आफूले पाउने महिनाको केही हजार भत्तामा सीमित थियो । समग्र देशको खेलकुदका नियमनकारी परिषद र मन्त्रालयलाई आ-आफ्नै स्वार्थप्रेरित स्टन्टबाजी गर्दैमा फुर्सद थिएन ।
विचरा उनीहरूलाई नेपाली फुटबलको चित्र के थाहा ! नेपाली फुटबलको आवश्यकता उनीहरूको स्वार्थी मनले कसरी बुझ्नु ! रोहित चन्द र आरसी ३२ को महत्वसँग उनीहरूलाई के मतलब ! राज्यले नै बिकटताको पगरी गुथाइदिएको कर्णालीको परिचय फेर्ने अभियानसँग किन स्वामित्व लिनु !
बरू, साँच्चिकै फुटबल खेल्ने उद्देश्य बोकेर आएकालाई पन्छाउन सके पो आफूखुसी राजनीति गर्न पाइन्छ । आफ्ना स्वार्थका पोका प्रत्येक दिन खोलिरहन पाइन्छ अनि जति स्टन्ट गरे पनि चुनौती दिने कोही हुँदैनन् ।
यही कारण हो, मिलेमतोमै अनुशासन समितिले अर्को नाटक मञ्चन गर्यो । एन्फाले जंगबहादुर शैलीमा आरसीले स्वयम्भूविरुद्ध जितेको र सामाजिक युवासँग बराबरी नतिजा निकालेको खेलबाट प्राप्त ४ अंक खोस्ने उर्दी जारी गर्यो ।
दुवै खेलमा विपक्षीलाई ३-० को नतिजामा विजयी गर्ने घोषणा पनि गरियो । बबिन र सुमनले बाँकी लिगमा खेल्न नपाउने भए । छैटौं चरणको खेल सकिएपछि शीर्षस्थानमा रहेको आरसीले मिहिनेतका साथ जु्टाएको चार महत्वपूर्ण अंक गुमाउनुपरेको थियो ।
एन्फा नेतृत्व र भोटको राजनीति गर्नेहरूलाई लागेको थियो, ‘यति गरिसकेपछि त आरसी कसरी अगाडि बढ्ला ?’
तर, ती सबै तगारोले पनि रोविन र आरसीको गति रोकिएन । टिमका दुई मुख्य खेलाडीलाई खेलाउन नपाउने हुँदा सफल नतिजाको शृंखलामा अवरोध हुने भय थियो । सँगै अझ राम्रो प्रदर्शन गरेर फुटबलको नाममा राजनीति गर्नेहरूलाई देखाइदिने इख झाँगिँदै गयो ।
किनकि रोविनले फगत एन्फामा मताधिकार र फुटबल राजनीतिका लागि क्लब खोलेका थिएनन् । उनलाई त फुटबल खेल्नु थियो । भाइको नाम अमर बनाउनु थियो । कर्णालीको परिचय फेर्नु थियो । यी सबका लागि रोविन हदैसम्म ढिट थिए ।
रोविनको त्यही ढिटपन र आरसीको प्रतिबद्धताको फल अहिले टिम एन्फाले हालेका सबै तगारो नाघ्दै यो सिजनका लागि तय गरिएको ‘बी’ डिभिजनको गन्तव्यमा पुगिसकेको छ । एन्फा नेतृत्व र फुटबल बेचेर खानेहरूलाई राजनीतिको जवाफ मैदानबाट दिइसकेको छ ।
आरसीको यो गति र भावना रोक्ने प्रयास भविष्यमा पनि फुटबल राजनीतिले गरिनै रहनेछ । तर फुटबलको यो भावनाले निरन्तरता पाइरहोस् ।