दीपा शाही

छोरीले खेल्नुहुँदैन भन्ने समाजबाटै अहिले स्याबासी पाइरहेछुः दीपा शाही

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख खेलाडी दीपा शाही अहिले भारतीय आई–लिग खेल्न बेङ्लोरमा छिन् । किक स्टार्सबाट आई–लिग खेल्दै गरेकी २० वर्षीया मिडफिल्डर वर्तमान नेपाली महिला फुटबलकी मेरुदण्ड हुन् । नेपाली महिला फुटबलको सुन्दर भविष्य पनि ।

राष्ट्रिय महिला टोलीले भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाएर दोस्रो स्थान हासिल गर्यो । फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा दुर्भाग्यजनक हार भोगेका कारण ३८ वर्षे अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा महिला फुटबल टोली पहिलो उपाधि जित्नबाट वञ्चित भयो । अन्तर्राष्ट्रिय प्रतियोगिताको समग्र यात्राको ११औं फाइनलमा हार भोगेपछि खेलाडी डटकमका लागि अजय फुयालले दीपा शाहीसँग गरेको कुराकानीको सम्पादित अंश:

वाफ च्याम्पियनसिपको अनुभव कस्तो रह्यो ?
समग्रमा सबै राम्रो भयो । पहिलो पटक वेस्ट एसियन फेडेरेसन (वाफ)ले हामीलाई निमन्त्रणा गर्‍याे ।  नेपाली राष्ट्रिय महिला टिमले पहिलो पटक त्यहाँ खेल्ने मौका पायो । त्यहाँ बलिया बलिया टिम थिए । टिम र हामी खेलाडीलाई राम्रो अनुभव बटुल्ने मौका मिल्यो ।

फेरि पनि एकपटक नेपाल फाइनल पुगेर पराजित भयो । कहाँनिर चुकिरहेका छौं हामी ?
यसपालि हामीले खेलेका सबै टिम बलिया थिए । जोर्डन झनै बलियो थियो । वरीयतामा हामीभन्दा माथिको टिम हो । तर हामी जोर्डनलाई हराएर उपाधि जित्नेमा विश्वस्त थियौं । हामीले निकै राम्रो खेलेका पनि हौं । हामीले प्रशिक्षक (राजेन्द्र तामाङ)को योजनाअनुसार विपक्षीलाई दबाबमा राखेर खेलेका थियौं । त्यहीअनुसार पहिलो हाफमा अग्रता लियौं । तर पहिलो हाफमै हाम्रो टिमकी स्ट्राइकर रश्मी दिदी (रश्मिकुमारी घिसिङ) घाइते हुनुभयो । त्यसपछि हाम्रो प्रदर्शन विस्तारै खस्किँदै गयो । त्यसपछि फेरि प्रीति (प्रीति राई) घाइते भइन । त्यसपछि धेरैबेर हामीले विपक्षी ११ विरुद्ध १० जनाले खेल्यौं । दुई जना घाइते भएपछि हाम्रो मनोबल अलि कमजोर भयो । जोर्डनले त्यसैको फाइदा उठायो । त्यसका बावजुद हामीले इन्जुरी समयमा गोल गरेर खेल बराबरीमा ल्यायौं । टाइब्रेकरसम्म पुर्यायौं । तर दुर्भाग्य पेनाल्टीमा सोचेजस्तो नतिजा ल्याउन सकिएन । पेनाल्टीमा जहिले पनि भाग्यकै खेल हुँदोरहेछ ।

फाइनलमा सावित्रा भण्डारी नहुनुले पनि समस्या भएको हो ?
होइन । पक्कै पनि सावित्रा दिदी हुनुभएको भए झनै राम्रो हुन्थ्यो । सावित्रा दिदी नभए पनि खेल हाम्रो नियन्त्रणमा थियो । फाइनलमा रश्मी दिदी र प्रीति घाइते हुनु सबैभन्दा ठूलो समस्याको रूपमा रह्यो ।

फाइनलमा हारेपछि तपाईंलाई कस्तो लाग्यो ?
पहिला त फाइनलमा हार्दा हामी निकै दुखी छौं । त्योभन्दा पनि दुःख त मलाई साउदीमा हामीलाई समर्थन गर्न रंगशाला आउनुभएका समर्थकलाई उपाधि उपहार दिन सकिएन, त्यसमा छ । रोजगारी गर्न गएका उहाँहरू दिनरात नभनी त्यतिका दिनसम्म बिदा लिएर खाईनखाई हामीलाई समर्थन गर्न आउनुभएको थियो । नेपालका लागि उहाँहरू धेरै त्याग गरेर आउनुभयो । साउदीजस्तो ठाउँमा नेपालको झण्डा फरफराएर हामीलाई साथ दिइरहनुभयो । त्यति नजिक पुगेर पनि टाइब्रेकरमा चुक्दै उहाँहरूलाई उपाधि दिन नसकेको सम्झँदा चाहिँ अहिले पनि दुःख लाग्छ ।

सावित्रा फ्रेन्च लिगमा अनि तपाई सहित ६ खेलाडी भारतीय आई–लिगमा हुनुहुन्थ्यो । सात खेलाडीसँग विदेशी लिगको अनुभव हुनुको फाइदा केही भयो ?
मुख्य कुरा त प्रशिक्षकको रणनीति नै यसपालि निकै राम्रो थियो । प्रशिक्षकले आफूसँग बढीभन्दा बढी बल राखेर खेल्नुपर्छ, बिल्डअप गर्दै खेल्नुपर्छ भन्ने तरिकाले हामीलाई तयार गर्नुभएको थियो । त्यसअनुसार हामीले निरन्तर रूपमा खेल्न सक्यौं । टिममा टिमभावना पनि छ । हामीमध्ये केहीसँग विदेशी लिगको अनुभव पनि हुँदा प्रशिक्षकको रणनीतिअनुसार गर्न सजिलो भयो ।

तर, तपाईंहरू सात जना विदेशी लिगको फरक क्लबबाट खेल्ने हुनुहुन्छ । बाँकीले दुई वर्षदेखि घरेलु फुटबलमा खुट्टा चलाउन पाएका छैनन् । यस्तो अवस्थामा प्रशिक्षकको रणनीतिअनुसार तालमेल मिलाउन गाह्रो भएन ?
यो नेपाली महिला खेलाडीहरूको विशेष गुण हो । दुई वर्षदेखि देशमा लिग हुँदैन, खेलाडीले अभ्यास गर्न पाएको छैन । यस्तो अवस्थामा भिज्न त गाह्रो हुन्छ नै । तर प्रशिक्षकले ‘तिमीहरूले सक्छौं । तिमीहरूले गर्दा नै यहाँसम्म पुगेको हो’ भनेर मोटिभेट गर्नुहुन्थ्यो । यही कारण हामीले उहाँले भनेजस्तो प्रदर्शन गर्न सक्यौं ।

घरेलु फुटबल यही तरिकाले अगाडि बढ्दा नेपालको महिला फुटबलको भविष्य कस्तो देख्नुहुन्छ ?
यो सम्झँदा निकै दुःख लाग्छ । एन्फा भनेको हाम्रो अभिभावक हो । अभिभावकले केही नगर्दा धेरै दुःख त लाग्छ । अभिभावकले बच्चालाई नहेरे जस्तै हो यो अवस्था । बर्सेनि लिग र अरू प्रतियोगिता भएन, ग्रासरुटको अभ्यास भएन, उमेर समूहका प्रतियोगिताहरू भएन भने चाहिँ भविष्यमा नेपालमा महिला फुटबल खेलाडीको अभाव पर्दै जानेछ ।

किक स्टार्सबाट आई–लिग खेलिरहनुभएको छ । त्यहाँ र यहाँको महिला फुटबललाई कसरी दाँज्नुहुन्छ ?
त्यहाँ चाहिँ बर्सेनि आई–लिग हुन्छ । पहिला दुई महिना हुन्थ्यो, अहिले चार महिना चल्छ । त्यहाँ निकै स्तरीय पारामा हुन्छ । युरोपको जस्तै गरी हुन्छ । बाहिरबाट राम्रा राम्रा खेलाडी बोलाउँछन् । त्यहाँको प्रदेशदेखि राष्ट्रिय स्तरसम्म थुप्रै प्रतियोगिता हुन्छन् । बाह्रै महिना खेलाडी व्यस्त भइरहन्छन् । नेपालमा त्यस्तो वातावरण नै छैन । दुई वर्षमा एक पटक पनि लिग हुँदैन । क्यालेन्डर बनाउँछ, त्यो पनि विवादमा आउँछ । क्यालेन्डर घोषणा गर्छ, त्योअनुसार केही कार्यक्रम हुँदैन ।

तपाईं खेल्ने किक स्टार्सबाट नेपालमा नपाउने कस्तो सुविधाहरू पाउनुहुन्छ ?
त्यहाँ हामी जम्मा दुई जना विदेशी खेलाडी छौं । म र प्रीति । बंगलादेशकी कप्तान सविना खातुन हुनुहुन्थ्यो । तर उहाँ पारिवारिक समस्या भएर बीचमै छाडेर जानुभयो । अब प्रीति पनि घाइते भएपछि उनको ठाउँमा अनिता केसीलाई क्लबले अनुबन्ध गरेको छ । जहाँसम्म सुविधाको कुरा छ । त्यो हामी नेपाली खेलाडीका लागि सोचेभन्दा धेरै माथिल्लो स्तरको छ । उनीहरूको फुटबल व्यवस्थापन गर्ने सोच नै फरक छ । हाम्रै क्लबमा दुई-तीन वटा खेल खेल्नेबित्तिकै नयाँ जर्सीहरू दिन्छ । चेन्जिङ रुम पनि निकै राम्रो छ । प्रशिक्षक पनि उच्चस्तरीय छन् । क्लबको आफ्नै एकेडेमी छ । एकेडेमीमा महिला फुटबलका लागि पनि प्रत्येक उमेर समूहका टिम छन् । नियमित प्रशिक्षण र मैत्रीपूर्ण खेल हुन्छ । बसोबासका लागि स्तरीय होटल छन् । विज्ञहरूले भनेबमोजिम खुराक हुन्छ । जिम पनि हामीले देखेभन्दा धेरै राम्रो छ । जुन नेपालमा छैन ।

तपाईंले भारतबाट खेल्ने मौका कसरी पाउनुभयो ?
त्यहाँ पोखराको एकजना लक्ष्मण भट्टराई भन्ने सर हुनुहुन्छ । उहाँ उताको सिइओ हुनुहुन्थ्यो । उहाँले नै हामीलाई बोलाउनुभएको हो । पहिला रेनुका दिदी (रेनुका नगरकाेटे ) र सरु दिदी (सरु लिम्बू) पनि त्यहींबाट खेल्नुभएको थियो । लक्ष्मण सरले दिदीहरूलाई सोध्नुभएछ । दिदीहरूले हाम्रो नाम लिएपछि उहाँले हामीलाई बोलाउनुभएको हो ।

किक स्टार्सका सुरुआती दिन कस्ता रहे ?
नेपालमा वर्षौंदेखि खेल्न पाइएको थिएन । नयाँ टिम, नयाँ ठाउँ र नयाँ टिममेटहरू भएकाले के गर्ने होला, कस्तो हुने होला भन्ने सोचले सुरुमा त निकै नर्भस थिएँ । तर, गएपछि त्यहाँको माहोल धेरै सजिलो । प्रशिक्षक, व्यवस्थापक र खेलाडीहरू पनि धेरै सहयोगी रहेछन् । एक्लो फिल हुनै नदिने । गफ गरिरहने । त्यसले गर्दा धेरै सजिलो भयो । एक दुई दिनमै उहाँहरूले मलाई पनि आफ्नै ठाउँमा भएजस्तो, त्यो टिमको पुरानो सदस्य भएजस्तो फिल गराउनुभयो ।

हुम्लाबाट सुरु भएको तपाईंको करियर आई–लिगसम्म पुग्दा हुम्लालाई कसरी सम्झनुहुन्छ ?
हुम्ला चाहिँ निकै दुर्गम जिल्ला । त्यहाँ फुटबल खेल्नुहुँदैन भन्ने मान्यता थियो । अझ एउटा छोरीका लागि त झन कठिन थियो । फुटबलबारे कसैलाई केही थाहा थिएन । फुटबल टेलिभिजनमा देखिन्थ्यो, तर खेल्नुपर्छ भन्ने भावना कसैमा थिएन । मलाई चाहिँ सबै खेलमा निकै रुचि थियो । सबै खेल खेल्थें । केटा साथीहरू स्कुलमा फुटबल खेल्थे । म पनि उनीहरूसँग खेल्न जान्थें । केटाहरूले पनि मलाई बीच–बीचमा खेलाउँथे । नखेल भन्दैनथे । तर परिवारको साथ थिएन । समाज नै त्यस्तै थियो । ‘तेरो छोरीलाई लात्ता लाग्छ । केटाहरूसँग हिँड्छ । केही नराम्रो होला’ जस्ता कुरा भनेर परिवारलाई पनि निरुत्साहित गर्थे । त्यही भएर परिवारको कहिल्यै साथ पाइएन । फुटबल खेलेर घर आउँदा पनि ‘तेरो छोरी यस्तो र उस्तो’ भनेर सुनाइसकेका हुन्थे । सधैं गाली खाइन्थ्यो । पिटाइ खाइन्थ्यो ।

हुम्लाबाट काठमाडौंको फुटबलसँग कसरी जोडिनुभयो ?
हुममा १० कक्षा सकेपछि पढ्न काठमाडौं आएँ । होस्टेल बसेर पढिरहेको थिएँ । दुई वर्ष फुटबल नै खेलिनँ । त्यसपछि १२ कक्षा सकिएपछि ६ महिनाको ग्यापमा साथीहरू÷दाइहरूले ‘फुटसल खेल्न जान्छस्’ भन्नुहुन्थ्यो । म उहाँहरूसँग फुटसल खेल्न जान्थें । त्यसपछि एउटा साथीले केटीहरूको फुटसल लिग हुन लागेको जानकारी गराए । उनैको आग्रहमा मैले झापामा भएको एउटा प्रतियोगिता खेलें । त्यहाँ झापा कन्काई नगरपालिकाका प्रशिक्षकले मैले खेलेको देख्नुभएछ । त्यसपछि काठमाडौंमा उपमेयर कप फुटबल प्रतियोगिता हुँदै थियो । कन्काईका प्रशिक्षकले मलाई उपमेयर कप खेल्न प्रस्ताव गर्नुभयो । मैले खेलें । त्यो प्रतियोगितामा मेरो प्रदर्शन राम्रो भयो । त्यो प्रतियोगितामा म उत्कृष्ट खेलाडी घोषित भएँ । त्यसपछि म यु–१८ राष्ट्रिय टिममा छनोट भएँ । बंगलादेशमा यु–१८ को प्रतियोगिता थियो । तर मेरो हात भाँचिएका कारण खेल्न सकिनँ । त्यसपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग आबद्ध भएँ । लगत्तै यु–१९ साफ च्याम्पियनसिप खेलें । त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सिविरमा परें ।

अहिले राष्ट्रिय टिमको महत्त्वपूर्ण खेलाडी भइरहँदा र आई–लिगसम्म पुगिसक्दा पहिला हुम्लामा खेल्नुहुँदैन भन्ने समाज र परिवारको व्यवहार कस्तो छ ?
अहिले त सबैजना गर्व गर्नुहुन्छ । पहिला त हुम्लामा थाहा नै थिएन नि त । अहिले त मैले प्रमाणित गरें । अब उहाँहरूलाई पनि केटीले पनि फुटबल खेल्दारहेछन् । फुटबल खेलेरै छोरीले पनि जीवनयापन गर्न सक्दोरहेछ । देश र समाजका लागि योगदान गर्न सक्दोरहेछ । इज्जत, प्रतिष्ठा कमाउन सक्दोरहेछ भन्ने थाहा भयो नि । यही कारण अहिले परिवार र पूरा समाजको राम्रो साथ छ । अब मलाई देखेपछि फुटबल खेलेर पनि छोराछोरीले केही गर्न सक्ने रहेछन् भन्ने थाहा पाउनुभयो । अचेल खेल्न प्रेरित गर्नुहुन्छ । स्याबासी दिनुहुन्छ । एकदमै खुसी लाग्छ ।

तपाईं र प्रीतिबीच राष्ट्रिय टिम र किक स्टार्सको मिडफिल्डमा पनि राम्रो तालमेल थियो । अब उनको अनुपस्थितिले कस्तो असर गर्ला ? 
एउटा राम्रो खेलाडी घाइते हुँदा टिम सहयात्री र टिमलाई अप्ठ्यारो पक्कै पर्छ । अभाव सधैं महसुस भइरहन्छ । हामीले प्रीतिको चोट त्यति गम्भीर नहोस भन्ने कामना गरेका थियौं । तर, अब उनले यो सिजन खेल्न नसक्ने नै भइन् । उनको अभाव खट्किन नदिन टिमले पक्कै राम्रो व्यवस्था गर्नेछ । अनितालाई अनुबन्ध गरिसकेको छ । गर्नुपर्ने बाँकी जति सबै गर्ने नै छ ।

भारतमा राम्रै खेलिरहेको छ । आगामी वर्षमा पनि आई–लिगमै निरन्तरता हुन्छ कि अझ माथिको लिग खेल्ने लक्ष्य हो ?
तलबाट माथि हेर्ने हो । हुम्लाबाट झापाको बाटो हुँदै काठमाडौं पुगेर अहिले आई–लिगसम्म पुगेकी छु । अझै माथिको लिग हेर्ने हो । त्यसका लागि आफ्नो तर्फबाट मिहिनेत गर्ने हो । हेर्दै जाउँ कहाँसम्म पुग्छु । तत्कालका लागि किक स्टार्समै प्रतिबद्ध छु । आगामी दिनका लागि उहाँहरूले कस्तो निर्णय गर्नुहुन्छ । अरू क्लबले कसरी प्रस्ताव गर्छन् । धेरै कुरा हुन्छ, अगाडि बढ्ने बाटो निर्धारण हुन । म पनि धैर्यसाथ प्रतीक्षा गरिरहन्छु ।

एन्फाले २०२७ को फिफा महिला विश्वकप खेल्ने मिसन बनाएको छ । तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?
त्यसपछि हामीले कुनै प्रतियोगिता खेल्न पाएका छैनौं । योजना बनाएर मात्र केही हुँदैन । त्यसलाई पछ्याउनु पनि पर्छ । योजनाचाहिँ बनायो, तर त्यसमा केही काम नगरी कसरी हुन्छ । घरेलु लिग भएन, मैत्रीपूर्ण खेल भएन, एकेडेमी भएन अनि कसरी हुन्छ । खेल्नलाई एउटा घाँसे मैदान पनि छैन । त्यही एउटा एन्फाको टर्फ मैदान छ । अस्ति हामी साउदीमा वाफ च्याम्पियनसिप खेल्न जाँदा पनि अभ्यास टर्फमा ग¥यौं । तर साउदीमा घाँसे मैदानमा खेल्नु थियो । अनि गाह्रो त परिहाल्छ नि । एन्फाले आफ्नै मैदान बनाएको भए, घाँसे मैदान भएको भए केही त हुन्थ्यो नि । त्यही एउटा रंगशालामा खेल्न पनि ज्यू हजुर गर्नुपर्छ अनि कसरी हुन्छ । 


राम्रो मैदान भएको भए, लिगहरू नियमित भएको भए, एकेडेमी र खेलाडी उत्पादनका लागि अन्य ट्रेनिङ सेन्टरहरू भएको भए, खेलाडीलाई राम्रो खुराक, पारिश्रमिक र अन्य सुविधा हुने भए मेरै करियरमा हामीले विश्वकप खेल्न सक्छौं । तर, फुटबल खेलेर परिवारलाई केही योगदान गर्न नसक्ने अवस्था निरन्तर भइरह्यो भने चाहिँ सम्भव छैन । विश्वकप खेल्ने सपना देख्न पहिला देशभित्र जताततै महिला फुटबलको माहोल हुनुपर्छ । जहाँ गए पनि छोरीहरूले खेलिरहेको देख्न पाइने वातावरण बनाउनुपर्छ ।

भिडियो लिङ्क: