सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति सरेर मंसिर ३ गते पुगेको छ । मैदानभित्रको फुटबल पुनर्संरचना गर्ने र खासगरी लिगलाई अत्यन्तै व्यवस्थित र व्यावसायिक बनाउने वाचासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व हत्याएको वर्तमान कार्यसमितिको नेतृत्वमा नेपालको लिग अझै पुरानो अवस्थामा फर्किन भ्याइसकेको छैन ।
कर्माछिरिङ शेर्पाको अध्यक्षतामा वर्तमान कार्यसमितिले एन्फा नेतृत्व लिएलगत्तै बनाएको लिग कमिटीका संयोजक हुन् विज्ञानराज शर्मा । नेपाली राष्ट्रिय टोलीबाट २०३० र ०४० को दशकमा गरी झन्डै १० वर्ष खेलेका पूर्वराष्ट्रिय खेलाडी शर्मा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन् । नेपालको लिगलाई पूर्ण व्यवस्थित र व्यावसायिक बनाउँदै राष्ट्रिय फुटबलको वास्तविक मेरुदण्डका रूपमा विकास गर्ने जिम्मेवारीमा रहेका शर्मासँग आसन्न सहिद स्मारक लिगको सेरोफेरोमा रहेर खेलाडीका लागि प्रवन्ध सम्पादक अजय फुयालले गरेको कुराकानीको सम्पादित अंश :
लिग हुन अब एक साता पनि बाँकी छैन । तयारी कस्तो भइरहेको छ ?
जति तयारी गर्नुपर्ने, त्यति हुन सकेको छैन । म त्यति सन्तुष्ट छैन । वास्तवमा लिग भनेको हरेक देशको फुटबलको मेरुदण्ड हो । यसलाई जुन हिसाबले प्रचार गर्नुपर्ने थियो, त्यो एन्फाले, लिग कमिटीले, म आफैं संयोजक भएको नाताले मैले गर्न सकेको छैन । मेरो मनले खाएजस्तो प्रचार पनि भइरहेको छैन ।
अहिले ‘ए’ डिभिजनको लिगमा कुन/कुन क्लबबाट को/कस्ता खेलाडी खेल्दैछन् ? कुन/कुन विदेशी खेलाडी कहाँ/कहाँबाट खेल्दैछन् भन्ने जस्ता कुरामा खेलप्रेमीहरू जिज्ञासु छन् । त्यो समेत हामीले दिन सकेका छैनौं । यस्ता जानकारी दिन पाएको भए लिगको माहोल बन्थ्यो ।
मैले लिग कमिटीमा नेतृत्व लिएपछिको पहिलो संस्करणमा हामीले ट्रफी टुर गरेका थियौं । मेरो सोचाइ देशभरि प्रदेशस्तरमा ट्रफी टुर गरौं, लिगलाई चाहिँ केन्द्रीकृत नगरिकन बाहिरसम्म लैजानुपर्छ भन्ने थियो । त्यसैले म त्यति सन्तुष्ट छैन । तैपनि लिगको तयारीमा हामीले गर्न सक्ने प्रयासहरू गरेका छौं ।
कसरी हुँदै छ त लिग ? लिगको पद्दति र समयबारे जानकारी गराइदिनुस् न ।
यो करिब तीन महिनाको प्रतियोगिता हो । प्रत्येक साता शुक्रबार, शनिबार र आइतबार गरी सप्ताहन्त लिग जसरी एकल राउन्ड रोबिन पद्दतिमा लिग हुन्छ ।
खासगरी यो दशरथ रंगशाला र एन्फा मैदान गरी दुई ठाउँमा गर्ने औपचारिक निर्णय भइसकेको छ । साथमा हामी च्यासल मैदानमा पनि गराउने योजनामा छौं । केही प्राविधिक कारणबाट समस्या भइरहेको छ । तर, हामी ती समस्या पन्छाउन सक्छौं भन्ने विश्वास छ । मैले एन्फालाई घच्घच्याइरहेको छु ।
अर्को कुरा लिगलाई काठमाडौंबाहिर लाने सिलसिलामा सम्भवतः कुनै एउटा क्लबले आफ्नो घरेलु मैदान बाहिर बनाउँछ र उसको होम गेम पनि बाहिर हुन्छ । कम्तीमा चार/पाँच खेल हामी बाहिर गराउने योजनामा छौं । त्यसको तयारी हुँदै छ । लिगलाई काठमाडौंमा मात्र केन्द्रीकृत नगरी बाहिर लानुपर्छ भन्ने मान्यता हामीले यो लिगबाट कार्यान्वयन गर्दैछौं ।
|
त्यसो भए कुन क्लबले कहाँ घरेलु मैदान बनाउँछ त ?
सम्भवतः मनाङ मर्स्याड्दी क्लबले पोखरालाई घरेलु मैदान बनाउँछ । पोखरा रंगशालामा मनाङको घरेलु रंगशाला बनाएर उसको खेल गराउने योजना छ । सुरुका केही खेल त सम्भव छैन, तर केही नभए पनि ५/६ खेल पोखरा लान सक्यौं भने होम एन्ड अवेको अवधारणा आउन सक्छ ।
अनि यसपालि एकोहोरो लिग होइन र ? कसरी होम एन्ड अवेको कुरा आयो ?
हो, यसपालि एकोहोरो लिग हो । तर एकोहोरो लिग नै भए पनि एउटा क्लबको घरेलु मैदानमा खेल गराउँदा होम एन्ड अवे पद्दतिको अभ्यासजस्तो हुन्छ भन्न खोजेका हौं ।
मेरो खास अवधारणा त होम एन्ड अवे नै हुनुपर्छ भन्ने थियो । र, लिगलाई कम्तीमा ६ महिना गर्नुपर्छ भन्ने मेरो मान्यता हो । तर मनाङले पोखरामा आफ्नो खेल खेलायो भने अर्को साल एनआरटीले धादिङमा आफ्नो रंगशाला बनाउँछ । त्यहाँ गएर पनि खेल गराउनुपर्छ । यसपालि एमएमसीले सुरु गर्यो भने अरू क्लबलाई पनि प्रोत्साहित गर्छ ।
लिग सुरु हुन एक सातामात्र बाँकी छ । निर्धारित मितिमै भएको भए त्यति पनि समय थिएन । तर अझैसम्म कहाँ खेलाउने भन्ने समेत टुंगो छैन भन्नुहुन्छ । कसरी व्यवस्थित होला त ?
होइन, सबै टुंगो छ नि । टुंगो भइसक्यो । रंगशाला र एन्फा कम्प्लेक्स तयार छ । च्यासललाई तम्तयार अवस्थामा राखेका छौं । पोखराको कुरा त बाहिर जाने हो भने मात्रको अप्सन हो नि । आधिकारिक रूपमा निर्णय भइसकेको छैन । मौखिक सहमति भइसकेको छ । हामीले क्लबहरूसँग बसेर कुरा गर्नुपर्छ । लिग बाहिर जान्छ भन्ने त घोषणा नै भइसकेको छ ।
तपाईंहरूका नारा एकदमै महत्वाकांक्षी थिए, तर गर्न त केही सक्नुभएन नि ?
म पदाधिकारी होइन । हो मैले पनि त्यतिखेर चेन्ज एन्फाको नारालाई साथ दिएको हो । यसमा कुनै दुईमत छैन । गणेश दाइ (गणेश थापा) मेरो आदरणीय दाइ हो । पहिला उहाँ निकै समय एन्फामा काम गरेर जानुभयो । उहाँले एउटा थिति बसाउनुभएको थियो । तर बीचमा लामो भइसकेपछि त्यसलाई चेन्ज गर्नुपर्छ भन्ने हिसाबले मैले पनि कर्माछिरिङ शेर्पाको पक्षलाई साथ दिएको हुँ ।
म एउटा फुटबल खेलाडी भएका नाताले मात्र लागेको हो । म कुनै पदको आकांक्षी पनि थिइनँ । कमसेकम फुटबललाई अलिकति प्रजातान्त्रिक रूपमा अगाडि बढाउँ भन्ने हिसाबले नयाँ चेन्ज खोज्दा कर्माछिरिङ शेर्पाको पक्षमा गएको हुँ । त्यसलाई म स्वीकार्छु ।
हो, फुटबलभित्र अर्कै फुटबल रहेछ । धेरै फुटबल । म त्योभित्र छिर्न चाहन्न । त्यसैले म एन्फा धेरै जाँदा पनि जान्न । मलाई जुन जिम्मेवारी छ, त्यो पनि वास्तवमा तत्कालीन अवस्थामा सबैले ४/५ वर्षदेखि लिग गर्न सकिएन, तपाईंले हेरिदिनुपर्यो भने ।
मैले गरेर फुटबलको मेरुदण्ड लिगलाई अगाडि बढाउन सकिन्छ भने किन नगर्ने भनेर त्यतिखेर ‘हुन्छ’ भनेको हुँ । त्यतिखेर चुनौती प्रशस्त थिए । मैले पनि मेरो ठाउँबाट धेरै प्रयास गरें । कमसेकम लिगलाई बचाउँ, खेलाडीलाई बचाउँ, नत्र खेलाडी पलायन भएर फुटबलको विकासमा अवरोध पैदा भइसकेको थियो ।
त्यो बेला मलाई अवसर थियो, चुनौती पनि थियो । मैले त्यसलाई स्वीकारेर सानो टिम बनाएँ । त्यहीअनुसार अगाडि बढ्यो । सबैको साथले सफल पनि भयौं ।
त्यतिखेर रेलिगेसनबिनाको लिग ग¥यो, फुटबल खत्तम पार्यो भनेर व्यापक आलोचना भयो । पक्कै पनि, म त्यो आवाजको सम्मान गर्छु । वास्तवमा लिगको मर्म भनेको रेलिगेसन नै हो । रेलिगेसन र प्रमोसन हो है । लिगको मर्म भनेर मैले एन्फाको मिटिङमा अडान लिएको थिएँ । रेलिगेसनबिनाको लिग म गर्दिनँ, लिगको आत्मा मार्न पाइन्न, यो त लिगको आधारभूत कुरा हो भनेर अडान लिएँ । तर, सबैले गर्नुपर्छ भन्नुभयो ।
अहिले नवीन पाँडेजी बाहिर हुनुहुन्छ । त्यतिखेर उहाँ पनि एन्फामै हुनुहुन्थ्यो । उहाँले दाइ गर्नुपर्छ भन्नुभयो । नवीनजी लगायत कर्माजी र टासी घलेजी सबैले गर्नुपर्छ भनेपछि मैले फिफा वा एएफसीको प्रतिनिधि कसैले भने मात्र स्वीकार्छु, तर त्यसमा पनि मेरो सर्त हुन्छ भनें ।
त्यसपछि फिफाको प्रतिनिधि भारतीय मूलका मिस्टर प्रिन्ससँग एउटा मिटिङ भयो । त्यहाँ लिगलाई अगाडि बढाउन यी चिज गर्दा पनि राम्रै हुन्छ भन्ने कुरा आए । त्यसपछि मैले फिफाले नै भन्छ भने एकपल्टलाई म मान्छु तर पुछारका दुई/तीन टिमको अंक घटाउनुपर्छ भन्ने अडान लिएँ । त्यहीअनुसार हामीले रेलिगेसन नभए पनि लिग गर्यौं ।
त्यसले कम्तीमा पनि लिगको माहोल फर्कायौं । त्यसपछि लगत्तै वर्ष अलि राम्रो लिग गर्यौं । पोहोर साल कोभिड १९ महामारीका कारण गर्न सकिएन । यसपालि त्यसलाई निरन्तरता दिन खोजेका हौं । फुटबल गराउनुपर्छ भन्ने मेरो मान्यता हो । लिग कमिटीको मान्यता हो ।
|
तर एन्फामा चुनिएर आएका मानिसहरू धेरै राजनीतिकर्मी रहेछन् । यसलाई चाहिँ थलो बनाउने अनि राजनीति गर्ने । कांग्रेस, कम्युनिस्ट, आ–आफ्नो विचारका । फुटबलभन्दा पनि आफ्नो खेमालाई राम्रो गर्न पाए पुुग्यो ।
एन्फामा त्यत्रा पदाधिकारीहरू छन् । स्वयंसेवकको रूपमा मज्जाले काम गर्ने एक दुईजना अपवादबाहेक कोही पनि छैनन् । सबैलाई टिएडिए चाहिन्छ । सबैलाई पैसा चाहिन्छ । सबैलाई ट्याक्सी भाडा चाहिन्छ । फुटबलमा आउने भनेको त पैसा नकमाउने हिसाबले आउने हो नि त । कर्मचारीले मात्र पैसा खाने हो । अरूले त स्वयंसेवा गर्ने हो । तर मै हुँ भन्ने मान्छे पनि भाषणमा फुटबल विकासका कुरा गर्छन्, कामचाहिँ गर्दैनन् । त्यो त नतिजाले देखिने कुरा हो नि त । नतिजामा देखिने गरी काम गर्नुपर्यो नि त । मैले चाहिँ एन्फामा काम गर्ने धेरै कम मान्छे देखें ।
बिना रेलिगेसनको लिगबाट सुरु गर्नुभयो । अझै पनि लिग छोटो नै छ । नारा ठूला थिए । तपाईं पदाधिकारी नभए पनि जिम्मेवारीमा हुनुहुन्छ र हिजो यो नेतृत्वलाई स्थापित गर्न पनि योगदान गर्नुभएको व्यक्तिका हिसाबमा जवाफदेही त हुनुपर्छ होला नि ?
पक्कै पनि जवाफदेही हुनैपर्छ । हिजोका दिन सम्झिँदा र अहिलेको काम कारबाही देखिरहँदा मन एकदमै दुख्छ । म त अझ लिगको संयोजक हुँ नि त । त्यसो हुँदा झनै मन दुख्छ । मैले चाहेजस्तो गराउनुपर्छ भन्नेतिर म लागेको छु । मेरो ठाउँबाट गर्न सकिने मैले गर्ने हो ।
हाम्रोजस्तो देशमा रातारात परिवर्तन नहुँदो रहेछ । कतिपय कुरा अध्यक्षले चाहेको पनि नहुँदो रहेछ । कर्माजीले मसँग कतिपय कुरा गर्छन् । विचरा १ त्यो कर्मचारीतन्त्र, कार्यसमिति बैठक, धेरै झमेला छ । अधिकांश कार्यसमिति बैठकमा म पनि हुन्छु । त्यहाँ फुटबल विकासभन्दा पनि आ–आफ्नो एजेन्डामा केन्द्रित कुरा धेरै हुन्छन् । अचम्म लाग्छ मलाई ।
मलाई साँच्चै पीडा हुन्छ । म विदेशी लिगहरूको पनि अध्ययन गर्छु । अनि यहाँ जिम्मेवारीमा हुँदा डबल लिग गराउनुपर्ने, च्याम्पियन्स लिगको रूपले अर्को प्रतियोगिता गरेर देशव्यापी माहोल बनाउनुपर्ने, फ्यान क्लबहरू बनाउने जस्ता काम गर्नुपर्छ भन्ने लाग्छ । यो हिसाबले जाउँ न भन्दाखेरि कतिपय आर्थिक कुरा आउँदोरहेछ, कतिपय कर्मचारी र कार्यसमितिका मानिसको पनि त्यो किसिमको मानसिकता कम भएका कारणबाट गर्न नसकिने रहेछ । पीडा त हुन्छ है । तर यो सबैको जिम्मेवारी मैले लिनुपर्छ । नलिई सुखै पाइन्न ।
उसो भए दोहोरो लिग, सप्ताहन्त लिग, होम एन्ड अवे पब्लिक खपतका नारामात्र हुन् त ?
होइन, होइन । त्यो त हुँदै होइन । विभिन्न कारणले ४/५ वर्षदेखि लिग भएको थिएन । ५ वर्षपछि हामीले लिग सुरु त गर्यौं नि । लिगको माहोलपछि नेपाल सुपर लिग पनि त आयो नि । त्यसले गर्दा एउटा राम्रो खेल्ने खेलाडीले ८/१० लाख कमाउने वातावरण बन्यो ।
क्लबहरू राम्रो टिम बनाउनेतिर लाग्न थाले । कमसेकम एक÷डेढ करोड खर्च गर्नसक्ने हिसाबले क्लबहरूले मार्केटिङ गर्न थाले जस्तो लाग्छ । लिग सञ्चालन नभएको भए फुटबल अझ ध्वस्त हुन्थ्यो । क्रमशः यसमा सुधार भइरहेका छन् ।
डबल लिगलगायत लिगको टोटल प्याकेजसहितको लिग सञ्चालन गर्न चाहिँ अझ केही समय लाग्दोरहेछ । लाग्छ । त्यसलाई स्रोतलगायत प्रतिबद्धताका पनि धेरै कुरा हुँदारहेछन् । क्लब यति बलियो छैन । कतिपय अवस्थामा हामी अहिले क्लबको ‘अगेन्स्ट’ पनि जान सक्दैनौं । क्लबलाई मनाएर जानुपर्छ । किनभने आर्थिक रूपमा क्लबहरू थेगिन सकिरहेका छैनन् । हामीले यथेस्ट पैसा दिन सकेको भए यो–यो गर भन्न सक्थ्यौं । तर त्यस्तो अवस्था छैन । हामीले जम्मा २०/२२ लाख रुपैयाँ दिन्छौं, त्यतिले त चल्दैन ।
तपाईंले लिगमा सुधार गरिरहेका छौं भनिरहँदा अझै पनि लिग पुरानो अवस्थामा समेत फर्किन सकेको छैन । बल्ल पहिलाको अवस्थामा पुग्दै हुनुहुन्छ ?
पुरानो पनि सबै नराम्रो त थिएन नि । पुरानामा पनि राम्रा कुरा धेरै थिए । राम्रो कुरालाई पछ्याउनु गलत होइन नि । तर पुरानो लिग र अहिलेको लिग धेरै फरक छ ।
पुरानो लिग मैले पनि ब्वाइज युनियन क्लबबाट १६ वर्षको उमेरमा खेलेको हुँ । लिगको एक/एक कुरा मैले बुझेको छु । हामीले खेल्ने बेला सबै स्थानीय खेलाडी थिए, कसैले पैसा पाउँदैनथे । आफैं बुट किन्थे । क्लबको खर्च भनेको प्रतियोगिताका बेला डाइट खुवाउनेमात्र हो ।
|
अहिले पछिल्लो एक डेढ दशकयताको अवस्था फरक छ । क्लबहरूमा खेलाडी कम हुन थाले । विभागीयबाहेक सबै क्लब काठमाडौं केन्द्रित छन् । यी क्लबहरूले स्थानीय खेलाडी नभएपछि बाहिरबाट ठूलो पैसा खर्च गरेर खेलाडी ल्याउनुपर्यो । त्यसका लागि मर्चेन्टाइजिङमा गएका छैनन् क्लबहरू । त्यो खालको क्षमता विकास पनि गरेको छैन । यी सबै कुराले गर्दा चुनौती बढ्दै गएको हो । तर पुरानै अवस्थामा हामी पुग्न लागेको होइन । अलि परिवर्तनसाथ अगाडि बढ्न खोज्दैछौं ।
नेपाली लिगको स्थायी संरचना कस्तो हुनुपर्छ ?
अहिले भएका १४ क्लबको संख्या घटाएर १० मा ल्याउनुपर्छ । यो संख्या धेरै भयो । साँच्चै भन्नुपर्दा यसले गर्दा पनि अहिले क्लबहरूलाई समस्या छ । कतिपय कुरा उनीहरू भन्न सक्दैनन् ।
यो लिगलाई काठमाडौं केन्द्रितमात्र नगरी बाहिर लानुपर्छ । मैले प्रस्ताव पनि गरेको छु । यो लिगलाई राष्ट्रिय हिसाबले लान यदि फिफा र एएफसीको लाइसेन्सिङ सिस्टम मिट गरेका क्लबहरू छन् भने उनीहरूलाई ‘ए’ डिभिजन, ‘बी’ डिभिजनमा ‘वाइल्ड कार्ड इन्ट्री’ दिनुपर्छ । यदि फिफा वा एएफसीको लाइसेन्सिङ सिस्टममा छ भने सिधै ‘ए’ डिभिजनमा छिराउनुपर्छ । साथै जसले निश्चित समयभित्र एएफसीको लाइसेन्स प्रक्रिया पूरा गर्न सक्दैन, उसलाई रेलिगेट गर्नुपर्छ ।
अब कुरेर बस्ने बेला छैन । किनभने अब फुटबल खेल व्यावसायिक हुँदै छ । यो एउटा उद्योगका रूपमा विकास हुँदै छ नेपालमा । यसमा हजारौं खेलाडी, प्रशिक्षक, रेफ्री र फुटबलकर्मीले रोजगारी पाउनेछन् ।
उदाहरणका लागि हामीले खेल्ने बेला राससका एकजना पौडेलजी र राइजिङ नेपालबाट सुशील शर्माजी आउनुहुन्थ्यो खेलकुद पत्रकार । अर्को एकजना भनेको अजय राणा दाइ हुनुहुन्थ्यो । त्योदेखि बाहेक हामीले कसैलाई चिनेका पनि थिएनौं । तर अहिले कैयौं मूर्धन्य खेलकुद पत्रकारहरू आउनुभएको छ ।
खेलकुदको विकास यसरी भइरहेको अवस्थामा हामीले खेललाई साँघुरो हिसाबले राख्ने भन्दा पनि मेरो योजना होम एन्ड अवे पद्दतिमा कम्तीमा ६ महिना यो लिग चल्नुपर्छ । यो सिलसिलामा सहिद स्मारक लिग र राष्ट्रिय लिगलाई एउटै बनाउने वा च्याम्पियन्स लिग बेग्लै बनाएर लाने हो । रिसर्च गर्नुपर्यो, छलफल चलाउनुपर्यो र उपयुक्त निर्णय लिनुपर्छ । यसरी देशभरकै फुटबललाई विकासको मूलधारमा अगाडि बढाउनुपर्छ भन्ने मेरो सोचाइ छ । यसलाई मैले लिपिबद्ध गरेर एन्फाको कार्यसमिति बैठकमा प्रस्तुत पनि गरिसकेको छु ।
तपाईं पूर्व खेलाडी, एउटा संगठनमा पनि नेतृत्वतहमा पुग्नुभयो । अहिले लिग कमिटीको नेतृत्व गरिरहनुभएको छ । एन्फाको चुनाव आउँदै छ । पूरा एन्फाकै नेतृत्व लिने सोच छैन त ?
फुटबल विकास गर्न नेतृत्वमा जाने मेरा इच्छा त हो है । किनभने म बच्चादेखि नै फुटबल खेल्न जाँदा बाबुआमाबाट मैले धेरै पिटाइ खाएको छु । उहाँहरूले त्यो बेला फुटबल खेलेर छोरो बिग्रिएला भन्ने चिन्ताका कारण पिट्नुभएको हो । त्रिपुरेश्वरमा घर भएकाले रंगशाला नजिकै पर्ने । म स्कुलबाट आउनेबित्तिकै खाजा खाएर रंगशाला भागिहाल्थें । घरमा मास्टर पढाउन आउनुहुन्थ्यो । त्यसैले मैले मज्जाले पिटाइ खाएको छु ।
फुटबलमा लाग्यो भने छोरो बिग्रियो भन्ने समय थियो त्यो । तर अहिले त भन्दैनन् नि । फुटबलको माहोल अहिले यस्तो छ कि मेरो छोरो, मेरी छोरी फुटबल खेल्न थाल्यो भनेर गर्व गर्छन् आमाबाबुले । त्यो गर्व गर्ने वातावरण यही खेलले बनाएको हो । मिडियाले यसलाई मासमा लगेपछि यो माहोल बनेको हो ।
अस्ति भर्खर देशका एकजना ठूलो मानिसले लौन तपाईं त एन्फाको लिगमा हुनुहुन्छ । मेरो छोरो एकदम राम्रो खेल्छ, यसलाई एन्फामा ट्रेनिङ गराइदिनुस् न भन्यो । यस्तो भन्ने त कति छन् कति । फुटबललाई एउटा प्राइडको रूपमा लिन थालिसकेको छ ।
वास्तवमा दक्षिण एसियामै फुटबल सबैभन्दा बढी लोकप्रिय नेपालमै छ । अब यस्तो संस्था चलाउन नेतृत्वमा आउन त निश्चय पनि मनलाग्छ । यसमा दुईमत छैन । तर, यो देशको, यो हाम्रो माथिदेखिकै चुनावी शैली ठीक छैन । म हात जोडेर भोट माग्न सक्दिनँ । म पैसा बाँडेर भोट लिन पनि सक्दिनँ ।
|
म ३० वर्षदेखि पुलिसमा काम गरेर आएको, म आफ्नो कमाण्ड गरेर आएको मान्छे, म फुटबल खेलेर आएको मान्छे । लौन दाइ मलाई भोट हाल्दिनुस् न भनेर म भन्न सक्दिनँ । त्यो पनि अझ कतिपय जिल्लाका त फुटबल नै नखेलेका पदाधिकारीसँग भन्नुपर्छ । फुटबल खेल्नु त परै जाओस् उनीहरू दौडिएको पनि बहुला कुकुरले लखेटेको बेला कुदेका होलान्, अरू बेला कुदेका छैनन् । मैले सबैलाई भन्न खोजेको होइन, तर कतिपय पदाधिकारी यस्ता पनि छन् । राजनीतिक रूपमा चाहिँ अधिकांश एफिलिएटेड छन् । अनि म कांग्रेसको लौन भन्ने, कम्युनिस्टकहाँ लौन भनेर जाने । म अध्यक्ष उठ्दै छु भनेर शेरबहादुरकहाँ जाने प्रचण्डकहाँ जाने, म सक्दिनँ । त्यसो गर्न म सक्दिनँ हेर्नुस् । त्यसरी मेरो ग्रुमअप पनि भएन ।
मैले जसरी सक्छु, जति सक्छु, त्योचाहिँ फुटबल विकासका लागि योगदान गरिरहन्छु । यही नेतृत्व भए नि अर्को नेतृत्व आए पनि म आफ्नो तर्फबाट योगदान गर्छु । निरन्तरता दिन्छु । तर मलाई यो (पूरा एन्फाको नेतृत्व गर्ने) जिम्मेवारी कतैबाट आइलाग्यो भने म नमुना देखाइदिन्छु, पछि चाहिँ पर्दिनँ । फुटबल के हो भन्ने कुरामा मैले केही चेन्जेज चाहिँ देखाइदिन्छु । मैले त्यो अवसर पाउँछु/पाउँदिनँ । तर म चुनावचाहिँ लड्दिनँ ।