नेपाल सुपर लिग

यस्तो छ ललितपुर र धनगढीको यात्रा

काठमाडौं ।  एक महिना दुई दिन ३९ खेलपछि नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले फाइनल पुग्ने दुई टोली पाएको छ । एनएसएलले यसपालि नयाँ विजेता पाउने पक्का छ । आज शनिबार अपरान्ह उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

धनगढी लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्दा ललितपुरले पहिलोपल्ट उपाधि प्रतिस्पर्धाको अनुभव लिँदै छ । दुवै टोलीले प्लेअफमा पोखरा थन्डर्सलाई हराउँदै फाइनलसम्म यात्रा तय गरेका हुन् । पहिलो क्वालिफायरमा धनगढीले पेनाल्टी शुटआउटमा ४-३ को जित निकाल्दा दोस्रो क्वालिफायरको अतिरिक्त समयमा ललितपुर २-१ ले विजयी रह्यो ।

एनएसएलका दुवै संंस्करणमा धनगढी र ललितपुरबीच भएका दुवै खेल बराबरीमा सकिएका छन् । पहिलो संस्करणमा १-१ र दोस्रो संस्करणमा गोलरहित बराबरीको नतिजा निस्किएको थियो ।

यसपालि ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गरेका थिए । झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज युनाइटेड नयाँ टोलीका रूपमा थपिँदा पहिलो संस्करण खेलेको विराटनगर सिटीले भने सहभागिता जनाएन । 

एनएसएल विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने छ । यो गत संस्करणभन्दा दोब्बर बढी रकम हो । पहिलो संस्करण विजेता काठमाडौं रेजर्सले ३५ लाख पाएको थियो । उपविजेताले २० लाख, सर्वोकृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

एनएसएलका दुवै संंस्करणमा धनगढी र ललितपुरबीच भएका दुवै खेल बराबरीमा सकिएका छन् । पहिलो संस्करणमा १-१ र दोस्रो संस्करणमा गोलरहित बराबरीको नतिजा निस्किएको थियो ।

यस्तो छ दुई टोलीको प्रदर्शन

धनगढीको औसत टोली 


लगातार दोस्रो पटक फाइनल पुगेको धनगढी यसपालि भने उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रने छ । पहिलो संस्करणमा काठमाडौं रेजर्ससँग १-० ले पराजित हुँदा धनगढी उपविजेतामै चित्त बुझाएर फर्केको थियो ।

फाइलसम्म यात्रा तय गर्दा धनगढीले एक खेलमा पराजय बेहोरेको छ । लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक हारको नतिजासहित धनगढी अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो ।

पहिलो क्वालिफायरमा धनगढीले शीर्षस्थानमा रहेर प्लेअफ पुगेको पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा ४-३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार निर्धारित समयमा १-१ र अतिरिक्त समयमा २-२ गोलको स्थितिपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो ।

पेनाल्टी शुटआउटमा पुग्नअघि पोखराका आयुष घलान र स्टेफन अन्नोर तथा धनगढीका देवेन्द्र तामाङ र अहमद हिजाजीले गोल गरेका थिए ।

पेनाल्टीमा धनगढीबाट रिचर्ड यगेमाङ, फोडे फोफाना, आशिष चौधरी र देवेन्द्र तामाङले गोल गरे । अमहमद हिजाजीको प्रहार पोखराका गोलकिपर प्रिसोले बचाए ।

पोखराका दिनेश राजवंशी, अन्जल महर्जन, सुरजज्यू ठकुरीले गोल गरे । मोसेस ग्याबाह र आयुष घलानको प्रहार धनगढी गोलकिपरका मोहम्मद ताहाले विफल बनाएका थिए ।

धनगढीले दोस्रो संस्करणमा पनि प्रशिक्षणको जिम्मेवारी युगलकिशोर राईलाई सुम्पिएको छ । क्लबले फरवार्ड आशिष चौधरीलाई मार्की तथा रक्षक देवेन्द्र तामाङलाई कप्तान बनाएर मैदान उतारेको छ ।

फाइनलमा पनि गोलपोस्ट मोहम्मद ताहाले नै सम्हाल्ने लगभग निश्चित छ । उनले हालसम्म दुई खेलमा क्लिनसिट राखेका छन् । रक्षापंक्तिको नेतृत्व फेलु डियाग्नेले नै सम्हाल्नेछन् । उनलाई कमल श्रेष्ठ, देवेन्द्र तामाङ जस्ता खेलाडीको साथ रहनेछ ।

आक्रमणमा अहमद हिजाजी र अफिज ओलावालेले नै हुनेछन् । प्रशिक्षक राईसँग फोडे फोफानालाई पहिलो रोजाइमै खेलाउने विकल्प पनि रहेनछ । फोफानालाई अघिल्ला खेलमा वैकल्पिक खेलाडीको रूपमा प्रयोग गरिएको थियो ।  हिजाजी र ओलावाले दुवैले समान ३ गोल गरेका छन् ।

भाग्यमानी ललितपुर सिटी एफसी

ललितपुर सिटी पहिलो प्रयासमै च्याम्पियन बन्न चाहन्छ । गत संस्करण काठमाडौं रेजर्ससँग ३–० ले पराजित हुँदा ललितपुरको यात्रा दोस्रो क्वालिफायरमै रोाकिएको थियो । 

लिग चरणमा ललितपुर केही भाग्यमानी साबित भयो । झापा एफसी र बुटवल लुम्बिनी एफसीसँग समान अंक भए पनि गोलअन्तरमा अगाडि रहँदा ललितपुरले प्लेअफमा स्थान बनाएको हो ।

ललितपुर ८ खेलमा २ जित, ४ बराबरी र २ हारको नतिजासहित चौथो स्थानमा थियो । प्लेअफमा भने ललितपुरले उत्कृष्ट प्रदर्शन देखाएको छ । इलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको ललितपुर सिटीले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्समाथि अतिरिक्त समयमा २-१ को रोमाञ्चक जित निकाल्यो । त्यो पनि १० खेलाडीमा खेलेर ।

दशरथ रंगशालामा बिहीबार निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा किशोर खेलाडी कुशल देउवाले गरेको गोल निर्णायक बन्दा ललितपुरले फाइनलमा स्थान सुरक्षित गर्यो । त्यसअघि ललितपुरका इमोन इजिकेल र पोखराका स्टेफन कोजोले गोल गरेका थिए ।

ललितपुरको गोलपोस्ट जेफेरी विली मार्सेलले सम्हाल्ने छन् । मार्सेलले हालसम्म ५ खेलमा क्लिनसिट राखेका छन् । ललितपुरको रक्षापंक्ति मार्की खेलाडी तथा कप्तान अनन्त तामाङकै जिम्मेवारीमा हुनेछ । उनलाई ओमोलाजा करिम, सनिश श्रेष्ठ जस्ता खेलाडीको साथ रहनेछ ।

आक्रमणमा इमोन इजिकेल र पापा इबोकै सम्भावना बलियो छ । इजिकेलले ४ र पापाले तीन गोल गरेका छन् । इयान आन्द्रे गिलानको प्रशिक्षणमा रहेको ललितपुर सिटीलाई फाइनलमा मिडफिल्डर निखिल कदमको साथ भने रहने छैन । उनले पोखरासँगको दोस्रो क्वालिफायरमा रातो कार्ड बेहोरेका थिए ।

फाइनलअघि के भन्छन् प्रशिक्षक ?

धनगढीका प्रशिक्षक युगलकिशोर राईले एनएसएलको पहिलो संस्करणका गल्तीलाई सुधार गर्दै यसपटक उपाधि उचाल्ने लक्ष्य लिएको बताए ।

‘एनएसएलमा मैले अल्छी र टप फुटबल खेल्ने टोली देखे । भाग्यले पनि टप खेल्ने टोलीलाई नै साथ दिएको छ । ललितपुर पनि राम्रो टोली हो । ललितपुरले १० खेलाडीमै सीमित हुँदा पनि जित निकाल्यो । फुटबल टिम गेम भएपनि व्यक्तिगत प्रदर्शनले निकै अर्थ राख्छ,’ राईले भने ,‘हामीले उनीहरुको भन्दा बढी आराम पाएका छौं । यसको फाइदा उठाउन सक्नुपर्छ । पहिलो संस्करणमा धेरै गल्ती गर्यौ । त्यो गल्ती अहिले दोहोर्याउने छैनौं । उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं ।’

यसैगरी ललितपुरका प्रशिक्षक इयान आन्द्रे गिलान लगातारको खेलले केही समस्या हुने भए पनि फाइनलमा आफ्नो शतप्रतिशत दिने बताउँछन् । साथै उनले फाइनल रोमाञ्चक हुने अपेक्षा राखे ।

‘लगातारको खेलले गर्दा केही समस्या छ । टोलीका केही खेलाडी घाइते छन् । पहिलो रोजाइमा परिवर्तन हुनेछ,’ गिलानले भने ,‘ हामीले विपक्षीको खेल हेरिरहेका छौ । उनीहरु राम्रो टोली हुन् । आफ्नो शतप्रतिशत दिने छौं । हामी पनि उपाधि जित्ने लक्ष्यका मैदान उत्रिने भएकाले फाइनल रोमाञ्चक हुने आश छ ।’