सन् २०१३ को सेप्टेम्बर ५ । त्यो वर्षको साफ च्याम्पियनसिपको यही दिन नेपाल राष्ट्रिय फुटबल टोली भारतसँग भिडेको थियो । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएयता पाकिस्तानसँग बराबरी खेलेको थियो ।
लिगको अन्तिम खेलमा भारतको सामना गर्न अगाडि नेपाल ढुक्क हुन सकेको थिएन, सेमिफाइनल प्रवेशका लागि । तर, नेपाली फुटबलका लागि त्यो दिन ऐतिहासिक साबित भयो । दशरथ रंगशालामा भएको त्यो खेलमा नेपालले भारतलाई २-१ ले हराएको थियो ।
जे जतिले त्यो खेल हेरेका थिए, तिनले अझै पनि अनिल गुरुङ र जुमानु राईले गरेका गोलको झल्को सम्झन सक्छन् । नेपालले भारतलाई ९० मिनेटको खेलमा हराएको यो नै पहिलोपल्ट थियो । २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपको खेलमा पनि नेपालले भारतमाथि ३-० को जित हासिल गरेको थियो । तर भारतले त्यो प्रतियोगितामा युवा टोली सहभागी गराएका कारण त्यसलाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिन कञ्जुस्याई गर्ने गरिन्छ ।
|
त्यसको तीन वर्षपछि नेपालले बंगबन्धु गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सको सामना गरेको थियो । दिन थियो, सन् २०१६ को जनवरी १९ । यसअघिका केही खेलमा माल्दिभ्सविरुद्ध नेपालको प्रदर्शन उत्साहबर्धक थिएन, प्रायः नेपालको पक्षमा हारकै नतिजा परिरहेको थियो ।
तर बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई मज्जासँग ४-१ ले हरायो । यो खेल नवयुग श्रेष्ठका लागि सम्झिनुपर्छ । किनभने उनले यसै खेलमा ह्याट्रिक गरेका थिए । अर्को एक गोल विशाल राईले गरेका हुन् । त्यसपछिको इतिहास सबैलाई थाहा छ, नेपालले बहराइनको यू-२३ टिमलाई हराएर उपाधि नै जित्यो ।
अब धेरै होइन । केही समय अगाडि मात्र फर्कनुपर्छ, गत मार्च २९ मा नेपालले बंगलादेशलाई दशरथ रंगशालामा २-१ ले हराएर थ्री नेसन्स कप नै जितेको थियो ।
यी तीन खेलको उदाहरण किनभन्दा यिनै तीन खेलमा टिकेर हामी साफ च्याम्पियनसिप २०२१ को विवेचना गर्न सक्छौं, केही फरक दृष्टिकोण राखेर ।
|
माल्दिभ्समा भएको यसपल्टको साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल पुग्न सफल रह्यो । त्यसैले यो ऐतिहासिक रह्यो । नेपाल प्रतियोगिताको इतिहासमै पहिलोपल्ट फाइनल पुगेको थियो । त्यसैले यो उपलब्धि ऐतिहासिक हुने भयो नै । त्यसैले धेरै नेपाली फुटबलप्रेमीले नेपाली टिमको प्रदर्शनको प्रशंसा गरिरहेका छन् ।
अहिले त प्रतियोगिता सकिएको पनि साता दिन जति हुन लाग्यो । त्यसैले पनि अहिले प्रतियोगिताबारे फरक दृष्टिकोणले सोच्न आवश्यक छ । नेपालले मालेमा भएको आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो ।
नेपालले माल्दिभ्समाथि बंगबन्धु गोल्डकपमा हात पारेको जित अझ प्रभावशाली थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई (३-२) हराउन गाह्रै भएको थियो, तर सबैलाई थाहा छ, दक्षिण एसियामा श्रीलंका सबैभन्दा कमजोर टिम थियो ।
तेस्रो खेलमा नेपाल छिमेकी भारतसँग १-० ले पराजित रह्यो नै । फाइनलमा बेहोरेको हार अझ पीडादायी थियो । बंगलादेशविरुद्ध निर्णायक साबित खेलमा नेपालले १-१ को तनावपूर्ण बराबरी निकालेको थियो । पछिल्लो समय नेपाल बंगलादेशमाथि हाबी नै छ । नेपालले थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई मज्जाले हराएको नै थियो । साफ च्याम्पियनसिपकै प्रसंगमा पनि नेपालले बंगलादेशमाथि यसअघिका पछिल्ला तीन खेलमा लगातार जित निकालकै हो ।
यसपल्ट नेपाल फाइनल पुग्नु पछाडि केही अन्य ठोस कारण पनि छन् । एक त प्रतियोगिताको स्वरूप नै भयो । राउन्ड रोबिन पद्दतिमा चलेको प्रतियोगितामा सेमिफाइनल थिएन । न त पाकिस्तान र भुटान टिम सहभागी थिए । साफ च्याम्पियनसिपमा आएर दरिलोसँग खुट्टा टेक्नेवित्तिकै दक्षिण एसियाबाट अफगानिस्तानले पनि मध्य एसियाका प्रतिस्पर्धा रोजिसकेको थियो ।
फेरि प्रतियोगिता आफै कोभिड-१९ प्रकोप केही सेलाएका बेला भएको थियो । केही न केही हदसम्म नेपाललाई भाग्यले साथ दिएकै थियो । साफकै पछिल्ला केही संस्करणमा तुलना नै गर्ने हो भने लिग चरणमा नेपालको प्रदर्शन योभन्दा बढी दमदार रहेको छ ।
विशेषतः २०१३ र २०१८ को साफ च्याम्पियनसिपको लिग चरणमा नेपालको प्रदर्शन उम्दा थियो । अहिलेको राउन्ड रोबिनमा चलेको प्रतियोगिताको प्रदर्शनभन्दा कुनै कम थिएन, ती संस्करणमा ।
मूल कुरा के हो भने अहिलेको साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनलाई लिएर पुराना संस्करणमा टिमको प्रदर्शन बिर्सन मिल्दैन, अवमूल्यन त पक्कै गर्न सकिन्न । खासमा तिनै पुराना प्रदर्शनमा टिकेर अहिलेको यात्रालाई आधार मान्दै आलोचनात्मक विश्लेषण गर्दा त्यसले नेपाली फुटबललाई अझै समृद्ध बनाउन मद्दत गर्नेछ ।
साफ च्याम्पियनसिप २०२१ को सबैभन्दा ठूलो विशेषता भनेकै नेपाल फाइनल पुग्नु हो । यो आफैंमा ठूलो उपलब्धि हो । यसका लागि खेलाडीको प्रदर्शन र कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको योगदानको पनि प्रशंसा गर्नैपर्छ ।
|
तर, यो सन्तोष मानेर खुसीमै बिताउने समय पनि त होइन । विशेषतः फाइनलमा नेपालविरुद्ध भारतको जुनखाले प्रदर्शन रह्यो, त्यसले नेपाली फुटबललाई अझ धेरै झक्झकाउनुपर्ने हो । यसले भन्छ पनि ‘नेपाली फुटबलले अहिलेसम्म जे जति गरेको छ, त्यो पुग्दै पुग्दैन ।’
कम्तीमा भन्नैपर्ने हुन्छ, अल्मुताइरीले नेपाली टिमलाई एक प्रकारको लय दिएका छन् । उनलाई नेपाली टिम हेर्ने अवसर केही लामो समयका लागि दिनुपर्छ । अब उनी नेपाल फर्कन्छन् वा फर्कंदैनन्, त्यो फरक कुरा भयो ।
उनी आए भने पनि त्यो साफ च्याम्पियनसिप २०२१ मै रमाइरहने अवसर हुने छैन । बरू सटिक विश्लेषण त यो हुनेछ, नेपाली फुटबलको अबको दिन अझ धेरै काम गर्नु छ । अहिले गरेजति कामले पुग्दैन, भर्खर सकिएको साफले यही चेतावनी पो दिएको छ त ?