साफ च्याम्पियनसिप

आजबाट साफ च्याम्पियनसिप, उपाधिका लागि आठ टोलीको प्रतिस्पर्धा

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण बुधबारबाट भारतको बेङलुरुमा सुरु हुँदैछ ।

प्रतियोगिताको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका दुई टोली लेबनान र कुवेतलाई आमन्त्रण गरिएको छ । यसकारण यसपाली साफ च्याम्पियनसिपको उपाधिका लागि दक्षिण एसिया बाहिरको पनि दाबेदारी रहनेछ । जसले यो क्षेत्रका ६ टोलीको चुनौतीलाई थप पेचिलो बनाएको छ । अर्को तरिकाले बुझ्ने हो भने साफ च्याम्पियनसिपको स्तर विगतको तुलनामा बढेको पनि मान्न सकिन्छ । फिफाको प्रतिबन्धमा परेका कारण दक्षिण एसियाकै टोली श्रीलंका यसपाली साफ च्याम्पियनसिपमा सहभागी हुने छैन ।

क्षेत्रीय फुटबल प्रतियोगिताहरुमा अन्य क्षेत्रका टोलीलाई बोलाउने चलन विश्व फुटबलले अंगाल्न थालेको धेरै भइसक्यो । यसअर्थमा साफ च्याम्पियनसिपले यसपाली कुवेत र लेबनानलाई निमन्त्रणा गर्नु र उनीहरुले त्यो स्वीकार्दै बेङलुरुको भ्रमण गर्नुलाई सकारात्मक मान्न सकिन्छ ।

तर यी दुई टोलीको आगमनबाट उपाधिमाथिको दाबेदारी थप जटिल बनेकोमा दक्षिण एसियाका सबै टोली जानकार छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु यसपाली उपाधिमाथिको दाबेदारी थप चुनौतीपूर्ण बनेको बताउँछन् ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी विदेसिँदा नयाँ युवाहरुमा भर पर्नुपरेको अवस्थामा व्यस्त लिगबाट खेलाडी थाक्नु तथा साफ च्याम्पियनसिपकै लागि भनेर विशेष तयारी समेत गर्न नपाउँदा यसपाली नेपालको सम्भावना उसै पातलिइसकेको थियो । त्यसमाथि कुवेत र लेबनानजस्ता बलिया टोलीको आगमनका कारण चुनौती थपिएको किरणले बताएका छन् ।

‘तैपनि हामी उपाधिकै लक्ष्य बनाएर मैदान उत्रिनेछौं । मैदानमा हामी कसैलाई पनि धेरै बलियो र धेरै कमजोर सोच्दैनौं । आफूमाथि विश्वास राखेर आफ्नो तर्फबाट सतप्रतिसत दिने प्रयास गर्नेछौं,’ किरण भन्छन्, ‘तर यसपाली चुनौती पक्कै पनि थपिएको छ । प्रतियोगिताले नयाँ उचाई लिएको छ ।’

प्रतियोगिताको सबभन्दा सफल दक्षिण एसियाली महारथी भारतका कप्तान सुनील क्षेत्री पनि यसपालीबाट साफ च्याम्पियनसिपको स्तर माथि उठेको मान्छन् । भन्छन्, ‘यसपाली मध्यपूर्वका दुई बलिया टोलीको आगमनले साफ च्याम्पियनसिपको प्रतिस्पर्धा विगतको भन्दा रोचक हुनेछ । उपाधिमाथिको प्रतिस्पर्धा अझ रोचक हुनेछ । लेबनान र कुवेत आउने भएपछि अन्तर्राष्ट्रिय फुटबलमा साफ च्याम्पियनसिपको परिचय बेग्लै हुनेमा हामी आशावादी छौं ।’

१९९३ मा पाकिस्तानको लाहोरबाट सुरु भएको प्रतियोगिता भारतमा हुन लागेको यो चौथो पटक हो । यसअघि भारतले १९९९ मा गोवा, २०११ मा नयाँ दिल्ली तथा २०१५ मा केरेलामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

पहिलो संस्करणको आयोजक पाकिस्तानले त्यसपछि २००५ मा कराँचीमा छैटौं साफ च्याम्पियनसिप आयोजना गरेको थियो । श्रीलंकाले १९९५ र २००८ मा गरि दुई पटक प्रतियोगिता आयोजना गर्यो । २००८ को सातौं संस्करण श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेले संयुक्त रुपमा आयोजना गरेका थिए । २००८ को सह आयोजक माल्दिभ्सले २०२१ मा सम्पन्न पछिल्लो संस्करण मालेमा एक्लै आयोजना गरेको थियो ।

यसैगरी बंगलादेशले २००३, २००९ र २०१८ मा गरि तीन पटक प्रतियोगिता ढाकामा आयोजना गरेको इतिहास छ भने नेपालले १९९७ र २०१३ मा गरि दुई पटक काठमाडौंमा साफ च्याम्पियनसिप गरेको थियो ।

दक्षिण एसियाली फुटबलमा सबभन्दा सफल टोली भारतले अहिलेसम्म सबभन्दा धेरै आठ पटक प्रतियोगिताको उपाधि जितेको छ । माल्दिभ्स प्रतियोगिताको दोस्रो सफल टोली हो । माल्दिभ्सले दुई पटक उपाधि जितेको इतिहास छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक/एक पटक साफ च्याम्पियनसिप जितेका छन् ।

अफगानिस्तानले २००३ देखि २०१५ सम्म खेलकुदमा दक्षिण एसियालाई प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्दा साफ च्याम्पियनसिपका सात संस्करणमा सहभागिता जनाएको थियो । तालिबानी शासनको अन्त्यसँगै खेलकुदमाथिको प्रतिबन्ध हटेपछि २००३ मा दक्षिण एसियाले खेलकुदमा अफगानिस्तानलाई समावेश गरेको थियो । तर, २०१५ पछि भने अफगानिस्तानले माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ दक्षिण एसिया छोडेर मध्य एसियाबाट खेल्न थालेको छ ।

प्रतियोगितामा सधै उपाधिको मुख्य दाबेदारका रुपमा जाने गरे पनि नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । दुई वर्षअघि माल्दिभ्सको मालेमा फाइनल पुग्नु नै नेपालको साफ च्याम्पियनसिपमा अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । त्यतिबेला नेपाल फाइनलमा भारतसँग ३-० को नतिजामा पराजित भएको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा कुल ४३ खेल खेलेको नेपालले १३ खेलमा जित हासिल गरेको छ । सात खेलमा बराबरी नतिजा निकालेको नेपाल २३ खेलमा पराजित भएको थियो । यसक्रममा नेपालले साफ च्याम्पियनसिपको इतिहासमा कुल ४९ गोल गर्दा ६३ गोल खाएको छ ।

नेपालले प्रतियोगितामा सबभन्दा धेरै भारत, माल्दिभ्स र बंगलादेशसँग समान ८ खेल खेलेको छ । त्यसमध्ये भारतसँग नेपालको नतिजा सबभन्दा कमजोर छ । भारतसँग खेलेका ८ मध्ये ७ खेलमा नेपालले हार भोगेको छ भने एउटा खेलमा जित हासिल गरेको छ । माल्दिभ्ससँग ८ खेलमा १ जित, २ बराबर र ५ हारको नतिजा निकालेको नेपालले बंगलादेशसँग ८ खेलमा ३ जित, १ बराबर र ४ हारको नतिजन निकालेको छ ।

यसैगरी पाकिस्तानसँग ७ खेल खेलेकोमा २ जित, २ हार र ३ बराबरी नतिजा निस्किँदा श्रीलंकासँग ६ खेलमा २ जित, १ बराबर र ३ हारको नतिजा निकालेको छ । भुटानसँग ३ खेलमा सतप्रतिसत जित हासिल गरेको नेपालले अफगानिस्तानसँग साफ च्याम्पियनसिपिमा ३ खेल खेल्दा एक जित तथा दुई हार भोगेको छ ।

अधिकांश मुख्य खेलाडीहरु विदेसिएको बेला कमजोर तयारीका भरमा बेङलुरुको भ्रमणमा निस्केको नेपालले बुधबार आगन्तुक टोली कुवेतसँग प्रतिस्पर्धा गर्दै साफ च्याम्पियनसिपको सुरुआत गर्नेछ ।