भाद्र २३, २०८१ आइतबार | ०६:१४:२२
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन

सालाहको त्यो गोल, चर्चा सर्वोत्कृष्ट खेलाडीको

इङ्लिस प्रिमियर लिग (इपिएल) को नयाँ सिजन सुरुआती चरणमा छ । सात खेल सकिँदा पहिलो दुई स्थानमा चेल्सी र लिभरपुल छन् । यी दुईलाई म्यानचेस्टर सहरका दुई टिमले पछ्याइरहेका छन् । 

प्रिमियर लिगको अंकतालिका खासै आश्चर्यचकित बनाउने खाले छैन । स्ट्राइकर मोहम्मद सालाहले लोभलाग्दो सुरुआत गरे पनि त्यसले कमैलाई मात्र आश्चर्यमा पारेको छ । 

लिभरपुलका फरवार्ड सालाहले लिगका ७ खेलमा ६ गोल गरिसकेका छन् । गत सिजन उनले लिगमा २२ गोल गरेका थिए । यसपालि उनले गत सिजनभन्दा धेरै गोल गर्नसक्ने सम्भावना विकसित भइरहेछ । अहिलेको उनको लयले यही बताउँछ । यद्यपि उनको लयबाटै फुटबल समर्थक खासै अचम्मित भने भएका छैनन् । किनभने उनको खेल कौशल र स्तरबारे सबै जानकार छन् । 

एउटा तथ्य के हो भने सालाह ‘ग्लोबल स्टार’ बनिसकेका छन् । ‘लिभरपुल लेजेन्ड’का रूपमा उनी स्थापित भइसकेका छन् । लिभरपुलबाट उनले कस्तो खेल देखाउँदै आइरहेका छन् भन्ने तथ्य त म्यानचेस्टर सिटीविरुद्ध उनले गरेको गोलबाट पुनः एकपल्ट उजागर भएको छ । एनफिल्डमा भएको उक्त गोलको यतिबेला सर्वत्र प्रशंसा भइरहेको छ । 

त्यो गोल गर्दा सालाहले सिटीका पाँच खेलाडीलाई बिट गरेका थिए । जोआओ क्यान्सेलो, फिल फोडेन, एमेरिक लापोर्ट अनि गोलरक्षक एडरसन । 

‘यो गोल अर्कै ग्रहबाट गरिएको हो,’ सालाहको गोलबारे ग्यारी नेभिलको टिप्पणी यस्तो थियो । उता लिभरपुलका प्रशिक्षक योर्गन क्लोपको प्रतिक्रिया थियो, ‘सालाहको गोललाई आउँदो ६० वर्षसम्म पनि याद गरिनेछ । विश्वका उत्कृष्ट फुटबलरले मात्र यस्तो गोल गर्न सक्छन् ।’ 

यहीबीच महत्वपूर्ण बहस छेडिएको छ सालाहबारे । उनको लयबारे । के वर्तमान लयका आधारमा सालाह विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी हुन् त ? यो प्रश्न उब्जेको छ । सलाहले पछिल्ला ४-५ वर्षयता निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यो सिजन उनी फरक उचाइमा पुग्ने अनुमान गरिँदै छ । 

‘यतिबेला सालाहभन्दा राम्रो कसैले पनि खेलिरहेका छैनन्,’ आइतबार लिभरपुलका पूर्वरक्षक जेमी क्यारागरले बिबिसी रेडियोसँग भनेका थिए । 

क्रिस सटनको भनाइ पनि उस्तै थियो । ‘हामीले सालाहलाई अहिले नै लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न आवश्यक छैन । तर हाल सालाहले मेसी र रोनाल्डोले भन्दा राम्रो खेलिरहेका छन्,’ सटनले भनेका थिए । 

सालाहले प्रिमियर लिग र च्याम्पियन्स लिगमा ९ गोल र ३ असिस्ट गरिसकेका छन् । रोनाल्डोको खातामा ५ गोल छ । अनि मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि एक गोलमात्र गर्न सकेका छन् । 

सालाहले सन् २०१७-१८ सिजनमा कुल ४४ गोल गरेका थिए । लिभरपुलसँगको पहिलो सिजनमै त्यस प्रकारको लय देखाएका सालाहले यसपालि पनि ४० वा त्यसभन्दा बढी गोल गर्न सक्छन् भन्ने अनुमान गर्नेको संख्या बढिरहेको छ ।

सालाहलाई लिभरपुल इतिहासकै खतरनाक ‘गोल स्कोरर’मध्ये एक मान्न थालिएको छ । उनलाई रोजर हन्टसँग पनि तुलना गरिँदै छ । हुन त लिभरपुलमा सालाहको महत्व असाध्यै धेरै छ । सन् २०१७ मा इटालियन क्लब एएस रोमाबाट लिभरपुल पुगेका इजिप्टका सालाहले २ सय १२ खेलमा १ सय ३४ गोल गरिसकेका छन् । उनको नाममा ४६ असिस्ट पनि छ । 

पछिल्ला चार सिजनमा उनले क्रमशः ३१, २३, २७ र ४४ गोल गरेका थिए । यसबीचमा उनले दुई पटक गोल्डन बुट पनि जितिसकेका छन् । एक पटक पिएफए प्लेयर अफ दी एयरको ट्रफी जितेका थिए । 

उनले लिभरपुलको जर्सीमा प्रिमियर लिग, च्याम्पियन्स लिग, युरोपियन सुपर कप र क्लब विश्वकपको ट्रफी उचालेका छन् । गोल र असिस्टबाहेक सालाहको अर्को ठूलो गुण भनेको फिटनेस हो । चोटका कारण उनले लिभरपुलमा मात्र लिगका ७ खेल गुमाएका छन् । 

‘आर्येन रोबेन, फ्रान्क रिबेरी थिए, जसले विंग्सबाट स्ट्राइकरको भन्दा बढी गोल गर्थे । उनीहरूको स्थानमा अब सालाह आइपुगेका छन्,’ कुनै बेला सालाहसँग इटालियन क्लब फियोरेन्टिनामा सँगै खेलेका माइक रिचार्डसले भनेका छन् । 

सालाहकै गोलका कारण लिभरपुल फेरि एकपल्ट प्रिमियर लिग उपाधिको दाबेदार बनेको छ । हुन त लिभरपुलमा भर्जिल भान डाइक, एलिसन, साडियो माने जस्ता खेलाडी छन्, जसको महत्व उच्च छ । तर सालाह ‘डिफरेन्स मेकर’ हुन् । 

‘सालाहबिना लिभरपुल उपाधि दौडमा हुँदैनथ्यो, यो सत्य हो,’ रिचार्डस भन्छन् । गोल गर्ने क्षमताका आधारमा मात्रै सालाह लिभरपुलको सर्वाधिक महत्वपूर्ण खेलाडी बनेका होइनन् । जतिसुकै प्रतिस्पर्धात्मक खेलमा पनि प्रभाव पार्ने भएकाले उनी सबैभन्दा महत्वपूर्ण खेलाडी साबित भएका हुन् । 

उनले यस सिजन कठिन प्रतिद्वन्द्वीविरुद्ध गोल गरेका छन् । भन्नैपर्दा चेल्सी र सिटीविरुद्ध । च्याम्पियन्स लिगमा एसी मिलान र एफसी पोर्टोविरुद्ध पनि उनले गोल गरेका थिए । लिभरपुलको इतिहासमा सबैभन्दा बढी युरोपियन गोल गर्नेमा सालाह स्टेभन जेरार्डभन्दा मात्रै पछाडि छन् । 

सालाहको प्रशंसा लिभरपुल समर्थकले मात्रै गर्ने गरेका छैनन् । प्रतिद्वन्द्वी क्लबहरूका पूर्वखेलाडीबाट समेत सालाहको प्रशंसा हुँदै आएको छ । यही सूचीमा छन्, म्यानचेस्टर युनाइटेडका पूर्वरक्षक रियो फर्डिनान्ड । ‘सालाह असाधारण खेलाडी हुन् । उनी सजिलै गोल गर्छन् अनि सजिलै लिभरपुललाई जिताउँछन् । यस्तो लाग्छ उनले फुटबल खेललाई नै सजिलो खेल बनाइदिएका छन्,’ फर्डिनान्डले भनेका छन् । 

अब यस्तोमा प्रश्न उठ्छ, विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्न सालाहलाई कसले रोक्न सक्छ त ? मेसी या रोनाल्डोले ? यी दुवै खेलाडीको लय सालाहको जस्तो बलियो देखिएको छैन । फेरि उनीहरू उमेरका हिसाबले आ-आफ्नो करियरको उत्तरार्धमा छन् । 

त्यसो भए सालाहको प्रतिद्वन्द्वी को त ? यसको जवाफमा केही खेलाडीको नाम आउन सक्छ । जस्तै, किलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की, इर्लिङ हल्यान्ड, करिम बेन्जेमा आदि । 

कुनै बेला सोचिएको थियो, एमबाप्पेले मेसी र रोनाल्डोको स्थान लिनेछन् । तर उनको खेल अपेक्षा गरेअनुसार हुन सकेको छैन, यो सिजन । यसपालि उनको खातामा ४ गोल र ५ असिस्ट छ । यो तथ्यांकको सहारामा एमबाप्पे सालाहका बलियो प्रतिद्वन्द्वी बन्नसक्ने अवस्थामा छैनन् । 

बरू, जर्मनीमा खेलिरहेका लेवान्डोस्कीको लय वास्तवमै खतरनाक छ । यो सिजन उनले बायर्न म्युनिखका लागि ७ लिग गोल गरिसकेका छन् । उनले गत सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमानसमेत भंग गरे । 

हल्यान्ड पनि बुन्डेसलिगामै छन् । उनलाई लेवान्डोस्कीको उत्तराधिकारी मानिएको छ । किनभने हल्यान्डको फिनिसिङ कौशल लेवान्डोस्कीसँग तुलना गर्न मिल्ने खाले छ । बोरुसिया डर्टमन्डबाट यो सिजन यी २१ वर्षे स्ट्राइकरले पनि बुन्डेसलिगामा ७ गोल गरेका छन् । 

स्पेनको ला लिगामा खेलिरहेका भेट्रान फ्रेन्च फरवार्ड करिम बेन्जेमाले पनि यो सिजन गज्जबको लय देखाइरहेका छन् । ३३ वर्ष पुगिसकेका बेन्जेमाले ८ लिग खेलमा ९ गोल गरिसकेका छन् । उनी रियल म्याड्रिडका सबैभन्दा भरपर्दा गोलकर्ता हुन् । कैयौं वर्ष रोनाल्डोको छायाँमा परेका बेन्जेमा करियरको पाको उमेरमा पनि उस्तै ताजा देखिन्छन् । 

तर, यी सबै खेलाडीको दाबेदारीका बाबजुद पनि सालाह नै विश्वको सर्वोत्कृष्ट खेलाडी बन्ने दौडको अग्रपंक्तिमा छन् । सालाहको प्रदर्शनबाट बेलायतका अखबारहरू पनि फुर्किएका छन् । उनीहरूले सालाहलाई सर्वोत्कृष्ट खेलाडी त घोषणा गरिसके नै । सालाहलाई किन ‘अन्डर रेट’ गरिएको भनेर पनि सोध्न भ्याइसके । 

लिभरपुल समर्थक त सालाह अनुबन्ध गरेको पहिलो दिनबाटै उत्साहित रहँदै आएका छन् । जर्सी बिक्रीमा सालाहलाई उछिन्ने अर्का लिभरपुल खेलाडी छैनन् । क्लब समर्थक सलाहलाई नै सबैभन्दा बढी खोज्छन् । सेल्फी र अटोग्राफका लागि नै किन नहोस् । 

एनफिल्डमा अत्यन्तै लोकप्रिय रहेका सालाहको लिभरपुल भविष्यप्रति केही दिनअघिदेखि चिन्ता बढेको छ । उनी र क्लबबीच सम्झौता नवीकरणमा सहमति जुट्न नसकिरहेको बताइएको छ । हुन त सालाहको लिभरपुलसँगको सम्झौता सकिन अझै १८ महिना बाँकी छ । लिभरपुल पुनः सालाहलाई नयाँ सम्झौतामा राजी गराएर ढुक्क रहन चाहन्छ । 

लिभरपुल समर्थक चाहन्छन्, सालाहले लिभरपुलबाटै करियर अन्त्य गरुन । सायद सालाह पनि यही चाहन्छन् । किनभने उनलाई थाहा छ, लिभरपुल समर्थक आफूलाई कति स्नेह गर्छन् भनेर । यद्यपि फुटबल व्यापार क्रुर हुन्छ । लिभरपुल र सालाहबीच नयाँ सम्झौताका लागि सहमति नजुट्न पनि सक्छ । 

तर सत्य के हो भने सालाह जति समय लिभरपुलमा रहन्छन्, उनीप्रति समर्थक नतमस्तक रहिरहने छन् । यो पनि हुनसक्छ, लिभरपुलमा रहँदा सालाह विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी साबित हुनेछन् ।