काठमाडौं । सन् २०१३ मा फेरि एकपल्ट साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालमा फर्केको थियो । यो अवसर १६ वर्षको अन्तरमा जुरेको थियो । यही कारण नेपाली भूमि फेरि एकपटक दक्षिण एसियाली राष्ट्रमाझ फुटबलमय रह्यो ।
नेपालमा कुनै ठूलो फुटबल प्रतियोगिता हुनुपर्छ, पूरा देशलाई यो खेलको ज्वरोले समाउने गर्छ । धेरैलाई विश्वास थियो, सायद यसपल्ट नेपालले प्रतियोगिता जित्छ कि ? नेपालका प्रशिक्षक थिए, ज्याक स्टेफानोस्की । उनी दाबी गरिरहेका थिए, ‘हामी वास्तवमै साफमा बलियो चुनौती पेस गर्नेछौं ।’
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा थियो । नेपालका प्रतिद्वन्द्वी थिए भारत, बंगलादेश र पाकिस्तान । कम्तीमा नेपालले सजिलै सेमिफाइनलमा स्थान बनाउन सक्थ्यो । तर, समूह आफैमा सहज थिएन ।
नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशलाई २-० ले हराएर सानदार सुरुआत गर्न सफल रह्यो । नेपालका लागि अनिल गुरुङ र भरत खवासले गोल गरेका थिए ।
दोस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी थियो पाकिस्तान । त्यस खेलमा सुरुमै पाकिस्तानले हसन बसारको गोलमा अग्रता लिएको थियो । पूरा खेल अवधिमा नेपाल दबाबमा रह्यो । दोस्रो हाफको इन्जुरी समय सुरु हुँदा पनि नेपाल एक गोलले पछाडि थियो । लागिरहेको थियो, अब नेपाललाई गाह्रो हुनेछ ।
ठीक त्यही बेला विमल घर्तीमगरले नेपालका लागि गोल गरे । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो । यो गोलसँगै पूरा दशरथ रंगशालामा खुसीको लहर छाएको थियो ।
लिग चरणमा नेपालको अन्तिम खेल थियो, भारतविरुद्ध । त्यस खेलमा नेपाल २-१ ले विजयी भयो । समूह विजेता बन्न सफल भयो । भारतमाथि निर्धारित समयको खेलमा स्पष्ट जित हात परेको यो नै पहिलो अवसर थियो । त्यस अर्थमा यो ऐतिहासिक जित थियो । नेपालका लागि अनिल गुरुङ र जुमनु राईले एक-एक गोल गरे ।
यसरी नेपाल अपराजित रहँदै समूह विजेताका रूपमा सेमिफाइनल पुग्यो । भारत दोस्रो स्थानमा रहेर अन्तिम चारमा प्रवेश गरेको थियो । अर्को समूहबाट माल्दिभ्स र अफगानिस्तान सेमिफाइनल पुगेका थिए ।
अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी थियो, अफगानिस्तान । यस्तोमा नेपालसामु प्रतियोगिताको इतिहासमै पहिलोपल्ट फाइनल प्रवेशको बलियो सम्भावना तयार भएको थियो । तर, फेरि एकपल्ट नेपाल सेमिफाइनलमै रोकिन पुग्यो । नेपाल १-० ले पराजित भयो । अफगानिस्तानका सान्दजर अहमदले गरेको गोलमा कुनै दम थिएन । त्यो गोल कसरी सम्भव भयो, त्यसलाई अहिलेसम्म पनि ठ्याक्कै वर्णन गर्न गाह्रो छ । खासमा यो गोलमा गोलरक्षक किरण लिम्बु नराम्रोसँग चुकेका थिए ।अहिले पनि किरणसँग कुराकानी गर्नुपर्छ । त्यो गोललाई लिएर उनमा ठूलो अपसोच छ । यो खेल पछाडिका अनेक कथा पनि छन् । तनाव, विवाद, आपसी आलोचनाबीच यो खेल सकिएको थियो । यस खेलबारे मात्र कुरा गर्न अलग्गै समय र अवसर चाहिन्छ ।
अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई १-० ले नै हरायो । सुनसान दशरथ रंगशालामै भएको फाइनलमा अफगानिस्तानले भारतलाई २-० ले स्तब्ध पार्दै उपाधि जितेको थियो ।