नेपाली फुटबल

इतिहासको पानाबाट: खेलाडीलाई अपार्टमेन्ट दिने त्यो घोषणा

तस्बिरः एन्फा पूर्वअध्यक्ष गणेश थापाको फेसबुकबाट

काठमाडौं । ती तिनै दिन थिए, जतिबेला नेपाली फुटबलमा गणेश थापाकै राज चलिरहेको थियो । उनले नेपाली फुटबलको नेतृत्व सम्हालेको पनि धेरै भइसकेको थियो । केही नभए पनि १६ वर्षभन्दा बढी । यति धेरै समयमा पनि नेपालले अन्तर्राष्ट्रिय फुटबलमा केही जित्न सकेको थिएन ।

उनी एउटा ठूलो सफलताका लागि यति धेरै लोभिएको थिए कि यस्तो एउटा घोषणा गरिहाले, जसले पूरै नेपाली समाज तरंगित बनाएको थियो । घोषणा थियो, उपाधि जिते प्रत्येक खेलाडीलाई अपार्टमेन्ट दिइने ।

र, यो घोषणा प्रतियोगिताको सुरुमै भने भएको थिएन । हामीले यो प्रसंग निकालिरहेका छौं कि साफ च्याम्पियनसिपको इतिहास शृंखलाअन्तर्गत सन् २०११ मा भएको संस्करणको ।

भारतको नयाँ दिल्लीमा च्याम्पियनसिप आयोजना भएको थियो । नेपाली टिम यसअघिका तीन संस्करणमा लगातार समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले नेपाली फुटबलको चर्को न चर्को आलोचना भइरहेको थियो । खासमा आलोचना एन्फा नेतृत्वमाथि थियोभन्दा हुन्छ ।

फेरि त्यो समय नेपाली फुटबल टोलीका प्रशिक्षक थिए, ग्राहम रोबर्ट्स । इंग्लिस फुटबलका उनी ठूलै नाम हुन् । भलै, उनी प्रशिक्षकका रूपमा खासै केही थिएनन् । तर, खेलाडी छँदा उनी दामी थिए । उनले टोटनहमका लागि बढी खेले । कप्तान पनि भए उक्त क्लबको । उनको एउटा बानी थियो धेरै कुरा गर्नुपर्ने । गफ चुट्नुपर्ने भनौं अझ । उनको नेतृत्वमा नेपालले त्यसअगाडि एएफसी च्यालेन्ज कप र विश्वकपको छनोट खेलिसकेको थियो । सँगै केही अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेलेको थियो ।

प्रतियोगिताका लागि नयाँ दिल्ली उड्नु अगाडि उनले भनेका थिए, ‘उपाधि हामीले नै जित्ने छौं ।’ 

कप्तान थिए, सागर थापा । समग्र नेपाली टोलीको नेतृत्व गरेका थिए ललितकृष्ण श्रेष्ठले । प्रतियोगिता जवाहरलाल नेहरु स्टेडियममा भएको थियो । उक्त साफमा नेपाल परेको थियो समूह ‘ए’ । समूहका अन्य टिम थिए माल्दिभ्स, पाकिस्तान र बंगलादेश । पहिलो खेल माल्दिभ्सविरुद्ध थियो । उक्त खेलमा नेपालले १–१ को बराबरी खेलेको थियो । नेपालका गोल गर्ने खेलाडी थिए, सन्दीप राई ।

त्यसपछि दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सनसनीपूर्ण १–० को जित निकालेको थियो । यो खेलको प्रायः चर्चा हुने गर्छ । त्यो पनि दोहो¥याएर । सागरले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरेका थिए । त्यो मैदानको मध्यभागबाट प्रहार गरेको फ्रिकिकमा सम्भव भएको थियो । त्यसलाई त्यो वर्षको उत्कृष्ट गोल चुनिनुपर्छ भनेर लामै बहस भएको थियो । अनि यो गोल सम्भव भएको थियो, त्यही जवाहरलाल नेहरु स्टेडियमको पछाडितिर ढल्केको पोस्टमा ।

लिग चरणको अन्तिम खेलमा नेपालले फेरि एकपल्ट पाकिस्तानसँग १–१ को बराबरी खेल्यो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुग्यो । भरत खवास थिए उक्त खेलमा नेपालका लागि गोल गर्ने खेलाडी । माल्दिभ्स समूह विजेता रह्यो । अर्को समूहमा अपेक्षाअनुसार भारत विजेता रह्यो भने अफगानिस्तान समूह उपविजेता । नेपाल के सेमिफाइनल पुगेको थियो, एन्फाका अध्यक्ष थापाले टिमले उपाधि जिते प्रत्येक खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेका थिए ।

घोषणा आफंैमा दुस्साहसले भरिपूर्ण थियो । भनौं, सनसनीपूर्ण नै थियो । तर, कथाले सुखद अन्त्य भने पाएन, नेपाल सेमिफाइनलमा पराजित रह्यो अफगानिस्तानसँग । त्यो पनि अतिरिक्त समयको खेलमा । बलाल आरेजुले १ सय १ औं मिनेटमा गोल गर्दै नेपालको सपना समाप्त पारेका थिऐ । सबैलाई लागिरहेको थियो, खेल अतिरिक्त समयमा जानेछ र जित नेपालकै हुनेछ । खेलको अन्त्यतिर एउटा गोलका लागि नेपालले निकै प्रयास गरेको थियो, तर त्यो लेखिएकै थिएन ।

यो प्रतियोगिता सकिएको पनि १२ वर्ष भइसकेको छ । लाग्छ, समय कति छिटो घर्किसकेको छ । प्रशिक्षक रोबर्टस त्यसपछि धेरै लामो समय नेपाल बसेनन् इंग्ल्यान्ड फर्के । सागर र सन्दीपमाथि खेल मिलेमतोको आरोपमा आजीवन प्रतिबन्ध लागिसकेको छ । अनि पूर्वअध्यक्ष थापा पनि फिफाको प्रतिबन्धबाट अझै गुज्रिइरहेका छन् । अझ अब त हामीमाझ टोली नेता ललितकृष्ण श्रेष्ठ पनि रहेनन् ।

वास्तवमै सन् २०११ को साफ च्याम्पियनसिप त्यस्तो प्रतियोगिता थियो, यससँग जोडिएका घटना र पात्रलाई अहिले सम्झना त्यो कथाजस्तै लाग्छ ।