नेपाली फुटबल

कसरी गुम्यो धराने फुटबलको त्यो चकचकी ?

धरान । कुनै समय थियो धरानवासीहरू आफूलाई नेपाली फुटबलको ब्राजिल हौं भनेर दाबी गर्थे । त्यतिबेला आफूलाई ब्राजिल ठान्ने धरानेहरूको नेतृत्व गर्थे, अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई । उनी लामो समयदेखि धराने फुटबल, पूर्वेली फुटबलको नेतृत्वमा छन् । भनौं, एक हिसाबले राष्ट्रिय फुटबलकै नेतृत्वमा छन् उनी ।

बुढासुब्बा गोल्डकप नेपालकै मुख्य प्रतियोगिताका रूपमा स्थापित थियो । धरानेहरू बुढासुब्बा गोल्डकपलाई पनि विश्वकपपछिको ठूलो गोल्डकप भन्थे । देशकै शीर्ष श्रेणीको लिग ‘ए’ डिभिजनमा धराने खेलाडीहरूको बर्चस्व नै हुन्थ्यो । चलायमान फुटबल अवस्थामा धरानको लोकप्रियता चारैतिर थियो । तर, फुटबलको उर्वरभूमि धरानको स्थिति अहिले पहिलेजस्तो छैन । किन ? कसरी भयो यस्तो ?

वैशाख २६ गते दिउँसो ३ बजे । स्थानीय क्याम्पस महेन्द्र बहुमुखीको आयोजनामा १५औं टियु बिबिए कपको उदघाटन खेल हुँदै थियो । औपचारिक कार्यक्रमको विशेष अतिथिमा थिए उनै फुटबल हस्ती राई ।

३८ डिग्रीको प्रचण्ड गर्मीबीच सुनसान रंगशालामा राई धराने फुटबलको प्रतिनिधित्व गर्दै थिए । भिआइपी प्यारापिटमा पनि गन्न सकिने जतिमात्र मानिसहरू थिए । एउटा आयोजक र औपचारिक कार्यक्रममा उपस्थित अतिथि भइहाल्यो, अर्को सहभागी अन्य टोलीका केही खेलाडी । राईको स्वर रंगशाला बाहिरसम्म पनि सुनिन्थ्यो । हुन पनि उनले नबोले कस्ले बोल्ने ।

‘तपाईंहरूलाई म विश्वास दिलाउन चाहन्छु, एक वर्षपछि धरान रंगशालामा फ्लडलाइट हुनेछ,’ सम्बोधनको अन्त्यतिर चर्को स्वरमा राई बोले । सबैले ताली पड्काए । उनको घोषणा अविश्वसनीय जस्तो सुनिएकाले हल्का रूपमा लिनेहरू पनि थिए होलान् ।

राईले उठाएको विषय धेरैका लागि सामान्य लाग्न सक्छ । धरान फुटबलका लागि भने यो एउटा गम्भीर विषय हो ।

गत चैतमा विराटनगरमा सम्पन्न विराट गोल्डकपमा दर्शकको उपस्थिति लोभलाग्दो रह्यो । त्यसको एक महिनाअगाडि बुढासुब्बा गोल्डकप सकिएको थियो ।

विराटनगरको तुलनामा धरानमा दर्शकहरूको उपस्थित संख्या एकदमै न्युन थियो । यसको मुख्य कारण विराटनगरमा रात्रिकालीन फुटबल खेलाइएको थियो । यही कारण धरान फुटबलको नेतृत्व गरिरहेका राई र अन्य पदाधिकारी फ्लडलाइटबारे सोच्न बाध्य भएका हुन् ।

‘हिजो वडास्तरीय खेल हुँदा पनि प्यारापिट भरिन्थ्यो । अहिले त्यस्तो स्थिति छैन । हिजोको दिनमा मनोरञ्जनका कुनै पनि साधान थिएन । खेलाडीहरू प्रशिक्षण गरेको हेर्न पनि मान्छेहरूको बाक्लो उपस्थिति हुन्थ्यो,’ राईले फ्लडलाइट राख्नुपर्ने कारण सुनाए, ‘अहिले दिउँसो गर्मीमा मान्छेहरू आउनै मान्दैनन् । अर्को कुरा दिउँसो मान्छेहरूको कमाउने समय हो । राति हुँदा उनीहरूसँग समय हुन्छ । त्यसैले भोलिका दिनमा फ्लडलाइट हाल्न सक्यौं भने हामीले फुटबलमा फेरि दर्शक फर्काउन सक्छौं ।’

राईले लामो समय गणेश थापाको नेतृत्वमा रहेको एन्फामा उपाध्यक्षका रूपमा काम गरे । त्यतिबेला शीर्ष डिभिजनमा धराने खेलाडीहरूको बाक्लो उपस्थिति हुने गर्थ्यो । धरानेहरू यो विषयमा गर्व गर्थे अनि अलिकति घमण्ड पनि । तर, अहिले यस्तो अवस्था छैन । कारण एक त अहिले नयाँ खेलाडी निस्किरहेका छैनन् । अर्को भएका खेलाडीहरू ‘ए’ डिभिजन खेल्न काठमाडौं जान मान्दैनन् । तीतो सत्य के हो त ?

धरानमा अहिले राम्रा खेलाडी नै नभएका भने होइनन् । सम्भावना भएका खेलाडीहरू थुप्रै छन् । तर गुनासो एउटै छ, माथि पुगेर यी खेलाडीहरूले मिहिनेत गर्दैनन् । त्यस्तै विदेशमोह धरान फुटबलको मुख्य बाधक बनिरहेको छ । अधिकांश खेलाडीहरू ब्रिटिश आर्मी, जापान र कोरियातर्फ लागिरहेका छन् ।

‘तलबाट नै धरानका खेलाडीहरू माथि पुगोस् भनेर हामी लगानी गर्छौं । खेल्ने वातावरण निर्माण गरिदिन्छौं । तर, राष्ट्रिय खेलाडीहरू उत्पादन गर्ने कुरामा चाहिँ चुकिरहेका छौं,’ राई बोले, ‘कुरा आयो लिगका बारेमा । खेलाडीले नचाहेर हाम्रो प्रतिनिधित्व शीर्ष डिभिजनमा नगरेका होइनन् । यसमा दोष एन्फाको पनि छ । किन एन्फाले राष्ट्रिय लिग गर्न सकेको छैन ? सहिद स्मारक लिगमात्र गरिरहने ? बाहिरको टिमलाई ‘सी’ खेल्न आऊ मात्र भन्ने ? ‘सी’ खेलिसकेपछि तपाईंहरू यो ठाउँसम्म पुग्नुहुन्छ, तपाईंहरूको भविष्य सुरक्षित छ भनेर भनिदिए पो क्लबहरूले सोच्छन् त ।’

धराने एन्फा एकेडेमी अहिले बन्द छ । यस्तोमा उपमहानगरपालिकाको खेलकुद विकास समितिअन्तर्गत धरान रंगशालामा साप्ताहिक ग्रासरूट कार्यक्रम सञ्चालन भइरहेको छ । ग्रासरुटको मुख्य उद्देश्य ६ देखि १२ वर्षसम्मका बालबालिकालाई फुटबलप्रति आकर्षित गराउने रहेको छ । यसको नेतृत्व नगरपालिकाका प्रशिक्षक अर्जुन राईले गरिरहेका छन् । उनको मातहतमा करिब १५ जना ‘डी’ लाइसेन्सप्राप्त प्रशिक्षकहरू छन् । यसमा केही स्थानीय पूर्वखेलाडीहरूको पनि सहयोग छ ।

ग्रासरुट कार्यक्रम केही महिनामै तेस्रो वर्षमा प्रवेश गर्दै छ । तर, अहिलेसम्म पनि कार्यक्रमले एन्फाबाट आर्थिक सहायता पाउन सकेको छैन । उनीहरूको एउटै गुनासो छ, एन्फाले चासो देखाएन, नगरपालिकाले प्रदान गर्ने ५ हजार रुपैयाँमा नै सबै कुरा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

‘हामीले सुरुआती दिनदेखि नै एन्फासामु सहयोगका लागि अपिल गरेका थियौं । निरन्तर प्रपोजल दिएका हौं । तर, हामीलाई यत्रो ५-६ सय खेलाडीलाई प्रशिक्षण गराइरहँदा पनि एन्फाले बलको टुक्राधरी दिएको छैन,’ नगरपालिका खेलकुद समितिका पूर्वसदस्य सतिश केसी गुनासो पोख्छन् ।

‘नगरपालिकाले दिएको खर्च त चिया खाँदै सकिन्छ,’ सुनसरी जिल्ला फुटबल संघका कोषाध्यक्षसमेत रहेका केसीले सुनाए ।

सञ्चालक टिमको यो आरोपमा एन्फाको एउटै जवाफ छ, त्यो हो बजेट छैन ।

‘अहिले सबै ठाउँमा ग्रासरुट बन्द छ । त्यसैले एउटालाई दिने अर्कोलाई नदिने भन्ने हुँदैन । किनभने ग्रासरूट भनेपछि सबैलाई दिनुपर्छ । हामीसँग बजेटको अभाव छ,’ एन्फा पदाधिकारीहरूसँग तयारी जवाफ छ ।

उसै पनि एन्फा केन्द्र आपसी शक्तिसंघर्ष र व्यक्तिगत तथा गुटगत स्वार्थको घेराबाट बाहिर निस्कन सकेको छैन । यस्तोमा स्थानीयस्तरको फुटबल नेतृत्व पनि निकै निम्छरो छ । उपमहानगरपालिकाको ‘सोलिडारिटी’ प्रयासले मात्र धराने फुटबललाई पुराना दिनमा फर्काउला त ? राष्ट्रिय टिमकै नेतृत्व गर्ने राजुकाजी शाक्य र किरण राईजस्ता दिग्गज खेलाडीहरू फेरि धरानको मैदानबाट अन्तर्राष्ट्रिय स्तरसम्म पुग्लान् त ?