कार्तिक १३, २०८२ बिहीबार | १३:२२:४४
अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल
शनिबारको दिन नेपाली फुटबल

फुटबलको पुरस्कार र भत्ताः खेलाडी पर्खिंदै, एन्फा बिर्सिंदै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा लाओसलाई हराउँदै नेपालले उपाधि जित्यो । फिफा डेको अवसरमा आयोजित प्रतियोगितामा नेपालसहित भुटान र लाओसले सहभागिता जनाएका थिए ।

अपराजित रहँदै उपाधि जित्नेक्रममा नेपालले लाओसलाई २-१ ले हरायो । विजेताको पुरस्कार वितरण प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले गरे । च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्यो ।

उपाधिसँगै सदाझै खेलाडीले पुरस्कारको आस गरेका थिए । नेपाल सरकार वा एन्फाबाट पुरस्कार घोषणा हुने खेलाडीको विश्वास थियो । तर, खेलाडी र अफिसियलले सोचेजस्तो रहेन । यसपालि एन्फा पुरस्कार दिनबाट टाढियो । एन्फाले आफ्नो कोषबाट च्याम्पियन खेलाडीका लागि पुरस्कार दिने मनसाय नै बनाएन ।

‘एन्फाबाट आस गरेका थियौं । पछिल्लो समय खेलाडी पलायन क्रम रोकिएको छैन । पुरस्कार पाउँदा केही राहत अनुभव हुने थियो । तर, भएन,’ राष्ट्रिय टोलीका एक सदस्यले खेलाडी डटकमसँग गुनासो गरे ।

च्याम्पियन भएको भोलिपल्ट (चैत १८) मा एन्फा कार्यसमितिको आकस्मिक बैठक बस्यो । यद्यपि बहुमत सदस्यले बैठक फेरि पनि विधान विपरीत भएको भन्दै बहिष्कार गरे । एन्फाले भौतिक र भर्चुअल दुवै माध्यमबाट बैठक आह्वान गर्यो । तर, बहुमत सदस्यले उपस्थिति जनाएनन् । च्याम्पियन भएको भोलिपल्टै बैठक बोलाएपछि खेलाडी केही पुरस्कार पाउने आस गरेका थिए ।

लाचार, सत्ताभोगी र निरंकुश बन्दै गएको एन्फा नेतृत्वले खेलाडीलाई पुरस्कार प्रदान गर्नुको सट्टा माग्ने प्रवृत्ति देखाउँदै विभिन्न चार निर्णय गर्यो । तर, निर्णय पारित भएको विज्ञप्तिमा चारको सट्टा ६ माग राखिएको छ । ‘राखेप र सरकारसँग प्रतियोगिताको घोषित पुरस्कार रकम उपलब्ध गराउन र विजेता खेलाडीका लागि पुरस्कार दिन माग’ गरिएको निर्णय सार्वजनिक गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेस आएपछि नेपाली टोलीले खेलेको यो पहिलो प्रतियोगिता हो । तर, इटालियन नागरिक अल्बर्टाेको श्रम स्वीकृति नहुनु र प्रतियोगितामा आफूभन्दा कमजोर टोलीलाई आमन्त्रण गरेका कारण एन्फा र प्रतियोगिताको आलोचनामात्रै बढी भयो । तर, खेलाडीको बढ्दो विदेश पलायनमा युवा खेलाडीको आगमनसँगै नेपाली टोलीको मनोबल भने उच्च देखियो ।

अघिल्लो वर्षसमेत एन्फाले यस्तै थ्री नेसन्स कप आयोजना गरेको थियो । बंगलादेश र किर्गिस्तानको यु-२३ टोलीको सहभागिता थियो । फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपाल च्याम्पियन भयो । गोलकर्ता थिए विशाल राई र संजोक राई । हाल दुवै अस्ट्रेलिया पुगेका छन् ।

यस उपाधिसँगै एन्फा र सरकारले खेलाडीका लागि पुरस्कार घोषणा गर्यो । एन्फाले जनही एक लाख र सरकारले जनही तीन लाख दिने निर्णय गरेको थियो । सरकारले सबै पुरस्कार रकम उपलब्ध गराउँदा एन्फाले अझै खेलाडीको आधा घोषित पुरस्कार दिन सकेको छैन ।

यस्ता उदाहरणको सुचि अझै लामो छ । एन्फाले यसरी खेलाडीलाई घोषित पुरस्कार सन् २०१९ बाट दिन सकेको छैन । चार वर्षमा नेतृत्व परिवर्तन हुँदा घोषित पुरस्कार आउने नेतृत्वले नदिने र रोकिँदै जाने विकराल रुप बढेको छ । जसको चपेटामा खेलाडी पर्दै गएका छन् । सन् २०१९ मा नेपाली यु-१९ पुरुष टोलीले भुटानमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप उपाधि जितेको थियो ।

कप्तान अर्पण कार्कीसँगै टोलीका खेलाडीले घोषित दुई लाख पुरस्कार पाउनुपर्ने लिखित हस्ताक्षर एन्फामा बुझाए । तर, नेतृत्वले त्यो पुरस्कार दिने निर्णय गरेन । त्यही साफ यु-१९ च्याम्पियन टोलीका आधा दर्जन खेलाडी अस्ट्रेलिया पुगे । सन् २०१९ नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष तथा महिला टोलीले हालसम्म घोषित पुरस्कार पाएका छैनन् ।

आफैंले घोषणा गरेको पुरस्कार दिन नसकेपछि एन्फाले यसपालि पुरस्कार घोषणा गर्नै सकेन । नेपाली फुटबलको सर्वोच्च निकाय राखेप र सरकारको मुख ताक्ने प्रयासमा छ । ‘खेलाडीको घोषित रकम पहिल्यैबाट बाँकी राखिएको छ । धेरै प्रतियोगिताको दिन बाँकी भइसक्यो,’ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का स्वीकार्छन् ।  

वरिष्ठ उपाध्यक्ष खड्का एन्फाको आन्तरिक स्रोत नभएकाले बाँकी पुरस्कार हस्तान्तरण गर्न नसकेको लाचारी व्यक्त गर्छन । ‘एन्फाको आन्तरिक स्रोत छैन । त्यसैले धेरै घोषित पुरस्कार दिन बाँकी छ । आन्तरिक स्रोत जुटेपछि हामी सबै पुरस्कार चुक्ता गर्छौं,’ खड्का भन्छन् ।

चुनावमा विकास र सुशासनका ठूल्ठुला कुरा गरेर नेतृत्व हत्याए पनि फुटबल विकासका लागि आन्तरिक रुपमा सुको जुटाउन नसकेका कारण एन्फा यसपालि पुरस्कार घोषणा गर्न पछाडि सरेको हो । खड्काका अनुसार थ्री नेसन्स कपमा जितेको ५ हजार डलर भने सोझै खेलाडीको खातामा जानेछ ।

पुरस्कारमात्रै हैन, एन्फाले अभ्यास र विदेश भ्रमणमा जाँदा खेलाडीका लागि भत्ता छुट्याउँदै आएको थियो । भत्ता नदिएको पनि वर्षौ भइसकेको छ । महिला तथा पुरुष दुवैको भत्तासमेत कति बाँकी छ ? एन्फाले अब लेखाजोखा गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । खेलाडीको गुनासो छ, ‘पुरस्कार राशि त हात परेको छैन । अब, भत्ताको बारेमा के भन्नु । लेखाजोखा नै छैन,’ एक महिला खेलाडी भन्छिन् ।

पुरुष खेलाडीले थ्री नेसन्स कप जितेको ५० हजार पाएका छैनन् । पुरस्कार रकम दिने भनेको त्यो भाषणमै सीमित भएको छ । १३औं सागमा स्वर्ण पदक जित्दा ५ लाख दिने भनेको त्यो समेत पाएका छैनन् । यसैगरी पाकिस्तान र बंगलादेशसँग खेल्दा खेलाडीले आफै किनेको बुटका रकम अहिलेसम्म पाएका छैनन् । महिला टोलीले विराटनगरमा साफ च्याम्पियनसिपमा उपविजेता भए पनि दिने भनिएको १ लाख रुपैयाँ पाएका छैनन् । १३औं सागमा एक लाख ५० हजारमध्ये एक लाख अझै पाएका छैनन् ।

महिला टोलीले दशरथ रंगशालामा भएको साफमा उपविजेता हुँदा पुरस्कार नै पाएनन् । साफ च्याम्पियनसिप तथा उज्वेकिस्तानमा प्रतियोगिता खेल्दा र भारतमा दुई मैत्रीपूर्ण खेल्दाको भत्ता पाएका छैनन् । साथै चार महिनादेखि पारिश्रमिकसमेत पाएका छैनन् ।

आर्थिक रुपमा एन्फा टाट पल्टिइसकेका कारण पुरस्कार र भत्ताहरु दिन नसकेको एक वरिष्ठ पदाधिकारी स्वीकार्छन । भन्छन्, ‘कर्मचारीलाई नियमित तलब दिन सकिएको छैन । एन्फा टाट पल्टिइसकेको छ । आर्थिक समस्याकै कारण यसपाली बी र सी डिभिजन लिग गर्न नसकिने अवस्था छ । सुरु गरिसकेको ए डिभिजन लिग सम्पन्न गर्न पनि गाह्रो छ । क्लबलाई दिनुपर्ने दोस्रो किस्ताको तयारी रकम दिनसमेत पैसा छैन ।’

यता, पुरस्कार अधुरो रहँदा पाउनुपर्ने खेलाडी भने अधिकांश विदेशिसकेका छन् । १३औं सागका स्वर्ण पदक विजेता सुजल श्रेष्ठ, अभिषेक रिजाल, सुमन अर्याल, सुनील बल, मिक्छेन तामाङ, नितिन थापा, तेज तामाङलगायत खेलाडी अस्ट्रेलिया पुगेका छन् । यी बाहेक पाकिस्तान र बंगलादेशविरुद्ध खेलेका विशाल राई, दिनेश राजवंशी, रेजिन धिमाल, रितिक खड्का, पुजन उपरकोटी, गौतम श्रेष्ठ भने भत्ता अधुरो राख्दै अस्ट्रेलियाको उडान भरेका थिए ।

खेलाडीको भत्ता र घोषित पुरस्कार बाँकी हरँदा नेतृत्वसँग भने कुनै योजना छैन । जारी सहिद स्मारक लिगसमेत लथालिंग देखिएको छ । शीर्ष डिभिजन लिगबाट लाभ लिने मनसायमै नेतृत्व छैन । बहुमत सदस्य जुटाउनमै नेतृत्वको ध्यान छ । बरू खेलाडीको भत्ता र पुरस्कार उपलब्ध नहोस्, केही सदस्यलाई रातारात आफ्नो पक्षमा पार्न विदेश भ्रमण गराउने नेतृत्वले योजना बनाएको छ ।