महिला फुटबल

परिपक्व प्रीति

काठमाडौं । प्रीति राई नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य हुन् । २० वर्षमुनिको राष्ट्रिय टोलीकी कप्तान । सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबकी मिडफिल्डर । प्रीति महिला फुटबलले ठूलो आशा र भर गरेको नाम हो ।

उनको व्यक्तिगत खेलशैलीका साथै नेतृत्वदायी क्षमता हेरेरै नेपाली महिला फुटबलको भविष्य उज्ज्वल रहेको ठोकुवा गर्न सकिन्छ । तर त्यसका लागि प्रीति र अरु थुप्रै प्रीतिलाई सही ढंगले अगाडि बढाउनचाहिँ सक्नुपर्छ ।

नेपाली युवा टोली हालै मात्र शतप्रतिशत नतिजाका साथ प्यालेस्टाइनमा सम्पन्न एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा पुग्न सफल भयो ।  

समूह ‘बी’ मा नेपालले आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्डमाथि ६-० को समान जित हासिल गर्दै दोस्रो चरणको यात्रा पक्का गर्यो । त्यसक्रममा नेपालका लागि दीपा शाहीले दुई खेलमा गरी ६ गोल गरिन् भने गरिमा राई  दुई तथा 


सरस्वती हमाल र जेनिफर रानाले एक/एक गोलमा नाम लेखाए ।

नेपाललाई दुई गर्व गर्न लायक जितका साथ एसियन कपको दोस्रो चरण पुर्याउँदा उक्त टोलीको नेतृत्व प्रीति राईले गरेकी थिइन् ।

‘अब दोस्रो चरणमा हामीभन्दा बलियो टोलीको सामना गर्नुपर्छ,’ छनोटको पहिलो चरणमा टोलीलाई प्रेरक नेतृत्व प्रदान गरेकी प्रीति भन्छिन्, ‘पहिलो चरणमा हामीले आवश्यक जित हासिल गर्यौं । टिममा सबैको मिहिनेतले गर्दा त्यो सम्भव भयो । अब दोस्रो चरणमा अझै बढी मिहिनेत र प्रतिवद्धता आवश्यक पर्छ । त्यसका लागि राम्रो तयारी नभई हुन्न ।’

१५ वर्ष, १६ वर्ष र १८ वर्षमुनिको राष्ट्रिय टोलीमा पनि कप्तानी नेतृत्व गरिसकेकी प्रीतिले गतवर्ष दशरथ रंगशालामा बंगलादेशविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी थिइन् । ‘डेब्यु’ खेलमै पहिलो रोजाइबाट मौका पाएकी प्रीतिले प्रशिक्षकको विश्वास खेर जान दिइनन् । ‘डेब्यु’ खेलमै गोल गरेर उनले आफूलाई पहिलो रोजाइमा राख्ने प्रशिक्षकको निर्णय सही साबित गरिदिइन् ।

सुन्दर र परिपक्व खेल कौशलका कारण प्रीतिलाई राष्ट्रिय टोलीसम्मको उडान भर्न ४ फिट १० इन्चको होचो कद बाधक बनेन । अझ नेतृत्वको अदभूत क्षमताका कारण उनी विभिन्न उमेर समूहमा कप्तानी आर्मब्यान्डको हकदार बनिन् ।

यद्यपि उनलाई कप्तानको अतिरिक्त जिम्मेवारी लिनुभन्दा खेलाडीको रुपमा मात्र खेल्न सहज लाग्छ । एउटा खेलाडीको मात्र भूमिका हुँदा आफ्नै खेलमा बढी केन्द्रित हुन पाउने उनको अनुभव छ ।

‘कप्तान भएपछि थोरै तनाव बढिहाल्छ । तर म सामान्य रुपमा लिन्छु । कुनै जिम्मेवारी नलिई खेल्दा आफ्नै खेलमा केन्द्रित हुन सजिलो हुन्छ । टोली जहिले सुखद नतिजाको खोजीमा हुन्छ । कप्तान भएपछि प्रत्येक खेलाडीलाई राम्रो प्रदर्शन गर्न प्रेरित गरिरहनुपर्छ । आफ्नो खेलमा मात्र ध्यान दिन पाइँदैन,’ उनी जिम्मेवारीबोध सुनाउँछिन् ।

सन् २०१७ मा १५ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेल्दै प्रीति ले अन्तर्राष्ट्रिय करियर सुरुवात गरेकी थिइन् । १३ वर्षको उमेरमा उक्त उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेयता प्रीतिले सबै उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा गरिसकेकी छन् ।

गत वर्ष राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी सेप्टेम्बरमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको उपविजेता भएको नेपाली टोलीकी महत्त्वपूर्ण सदस्य थिइन् । दक्षिणी छिमेकी भारतमाथि १-० को जित निकाल्दै फाइनल पुगेको नेपाल उपाधि भिडन्तमा बंगलादेशसँग स्तब्ध भएको थियो ।

भारतमाथि जित हासिल गर्दा प्रीतिले नै उत्कृष्ट पारामा मिलाएको पासलाई रश्मिकुमारी घिसिङले निर्णायक गोलमा परिणत गरेकी थिइन् । तर फाइनलमा ठूलो लगानी र दीर्घकालीन योजनाका साथ आएको बंगलादेशसँग एन्फाको ‘रामभरोसे’ नीतिमा तयार गरिएको नेपाली टोलीको केही लागेन ।

नेपाल २०१०, २०१२, २०१४ र २०१९ मा जस्तै फेरि एक पटक फाइनल पुगेर पनि साफ महिला च्याम्पियनसिपमा उपाधिविहीन रह्यो ।

प्रीतिको करियरमा अहिलेसम्मको सबैभन्दा ठूलो खेल बंगलादेशविरुद्धको त्यही फाइनल थियो । यही कारण हो, त्यो हारले उनलाई अझैसम्म पनि बारम्बार झस्काइरहन्छ । ‘त्यो गोल जोगाउन सकेको भए, त्यो मुभमा गोल गर्न सकेको भए’ यस्तै यस्तै लागिरहन्छ ।

‘घरेलु मैदानमा भारतलाई हराउँदै फाइनल पुगेपछि सबैले हामीबाट धेरै आशा राख्नुभएको थियो । हामी यसअघि सधैं भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुने गरेका थियौं । तर यसपालि भारतलाई सेमिफाइनलमै हराएपछि हामीबाट समर्थकले आशा राख्नु स्वाभाविक थियो,’ प्रीति  सम्झिन्छन्, ‘तर, फाइनलमा हामीले सबैलाई निरास बनायौँ । त्यो हारले सबैलाई दुखित तुल्याएको थियो । पहिलो पटक उपाधि उचाल्ने सपनामा  पूर्णविराम लाग्न पुग्यो । यो हारले मलाई अझैसम्म पनि झस्काइरहन्छ ।’

पटक-पटक फाइनलमा निरास भए पनि नेपाली टोलीमा साफको उपाधि जित्ने भोक अझै कायम रहेको प्रीति सुनाउँछिन् ।

‘नेपालको पहिलो लक्ष्य नै दक्षिण एसियाकै च्याम्पियन बन्ने हो,’ उनी भन्छिन्, ‘जब दक्षिण एसियामा हामी च्याम्पियन हुन्छौं । त्यसपछि अरुसँग प्रतिस्पर्धा गर्न योग्य हुन्छौं ।’

प्रीतिले अहिलेसम्म राष्ट्रिय टोलीबाट १० खेलमा एक गोल गरेकी छन् । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई पछ्याउने प्रीतिले खासमा फरवार्डको भूमिकाबाट फुटबल यात्रा सुरु गरेकी थिइन् ।

तर, १५ वर्षमुनिको राष्ट्रिय टोलीमा परेपछि प्रशिक्षकको निर्देशनअनुसार उनी मिडफिल्डमा झरेकी हुन् । रक्षापंक्तिमा ओर्लिएर बल खोस्ने, मैदानमा तलदेखि माथिसम्म दौडिने, सही ठाउँमा पास फाल्ने र आवश्यकता पर्दा आफैं गोल पनि गर्ने क्षमताका कारण उनलाई मिडफिल्ड सुहायो । स्वयं प्रीतिले पनि यही पोजिसनमा सहज महसुस गर्न थालिन् ।

१८ वर्षीया प्रीतिले खेलसँगै पढाइ पनि अगाडि बढाइरहेकी छन् । हाल स्नातक तहमा अध्ययनरत प्रीतिको विचारमा नेपाली महिला फुटबलले पछिल्लो समय लामो फड्को मारिसकेको छ ।

‘पहिलाको तुलानामा खेलहरु धेरै हुन थालेको छ । महिलालाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन भएको छ । सेवासुविधा पनि राम्रै पाइरहेका छौं,’ प्रीति भविष्यप्रति झनै आशावादी छिन्, ‘सुधारको यो क्रम नरोकिने हो भने हामीले अन्तर्राष्ट्रियस्तरमा पूरा देशले गर्व गर्नेखालको नतिजा ल्याउने छौं ।’