मंसिर ३, २०८२ बुधबार | १३:१९:४७
एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन
शनिबारको दिन

इन्जाघीको काँध कति बलियो ? 

आँधी/तुफान आउन लागेको थाहा पाएपछि चराले पनि सुरक्षित स्थान खोज्न थाल्छ । किनभने उसलाई थाहा हुन्छ, आँधी/तुफान रोक्न सकिँदैन । 

त्यस दिन इन्टर मिलान बोलोग्नाका सर्बियाली प्रशिक्षक सिनिसा मिहाज्लोभिचका लागि आँधी/तुफानसरह बन्यो । मिहाजलोभिचलाई थाहा थियो, इन्टरलाई रोक्न सकिँदैन । 

सेप्टेम्बर १८ मा इन्टरसँग भिड्नुअघि बोलोग्नाले लगातार दुई क्लिन सिट राखेको थियो । त्यही भएर मिहाजलोभिचलाई पत्रकारले सोधे, ‘बोलोग्नाले इन्टरसँग पनि क्लिन सिट राख्न सक्छ ?’ 

मिहाजलोभिचको जवाफ थियो, ‘यसबारे कुरा नगरौं । अन्य प्रश्न छन् भने सोध्नुस् । किनभने यस्तो प्रश्नले दुर्भाग्य निम्त्याउँछ । भाग्यवश हामीले दुई खेलमा गोल खाएनौं । हामी चाहन्छौं, भाग्यले हामीलाई अरू खेलमा पनि साथ देओस् ।’

मिहाजलोभिचले शंका गरेजस्तै भयो । उनको टिमविरुद्ध इन्टरले ६ गोल गर्यो । इन्टरको अग्रपंक्ति बोलोग्नाका लागि हुरी साबित भयो । लाउटारो मार्टिनेजले गोल गर्दा ६ मिनेट पनि बितेको थिएन । त्यसपछि रक्षक मिलान स्क्रिनियारको पालो आयो । तेस्रो गोल गरे निकोलो बरेलाले । मार्टियस भेसिनोले पनि गोल गरे अनि अन्तिमका दुई गोल इडेन जेकोले थपेका थिए । बोलोग्नाबाट एक गोल फर्काउने भाग्यमानी खेलाडीचाहिँ आर्थर थिएटे रहे । 

खेलपछि मिहाजलोभिचको भनाइ थियो, ‘हामी अभागी साबित भयौँ । पाएका मौकामा पनि गोल भएन ।’ उनले भनेझै बोलोग्नाले केही मौका पाएकै हो । विशेषगरी पहिलो हाफमा । तर इन्टरका कप्तान तथा गोलरक्षक समिर हान्डानोभिच आफ्नो क्षेत्रमा बलियो रहे । 

इन्टरका प्रशिक्षक सिमोन इन्जाघीका केही विशेषता छन् । उपलब्ध खेलाडीअनुसार रणनीति बनाउन उनी खप्पिस छन् । विपक्षी टिमलाई झुलाउने, स्पेस बनाउने र तीव्र गतिमा काउन्टर अट्याक गर्ने । इन्जाघीको टिमले यही शैलीमा खेल्छ । 

यस्तै विशेषताले गर्दा इन्जाघीलाई एन्टोनियो कोन्टेको स्थानमा नियुक्त गरिएको हो । हुन त यी दुई प्रशिक्षकमा केही समानता छन् । जस्तै, रक्षापंक्तिमा तीन सेन्ट्रल डिफेन्डर खेलाउने शैली अनि स्ट्राइकरको गतिको उपयोग गरी काउन्टर अट्याकको योजना बुन्ने ।

उनै कोन्टेको नेतृत्वमा इन्टरले गत सिजन इटालियन सिरी ‘ए’ जित्यो । उनी हिँडेपछि आइपुगे इन्जाघी । च्याम्पियन इन्टरलाई टिममा पूरै परिवर्तन चाहिएको थिएन । स्थिरतामात्रै इन्टरको चाहना हो । इन्जाघीको मुख्य जिम्मेवारी च्याम्पियन टिममा स्थिरता कायम गर्नु छ । 

इन्जाघी आफैं पनि कमजोर प्रशिक्षक होइनन् । लाजियोमा रहँदा उनले तीन घरेलु कप जिते । त्यहाँ करिब आधा दशक रहेपछि उनले सोचे, अब करिअरमा नयाँ चुनौती आवश्यक छ । त्यसपछि उनले इन्टर रोजे वा इन्टरले इन्जाघी रोज्यो । फेरि इन्टर जाँदा इन्जाघीलाई कोन्टेको भन्दा एकतिहाइ कम तलब दिइएको छ । 

इन्टर स्थिर रहन सक्छ भन्नेमा धेरैको शंका छ । एक त कोन्टेजस्ता प्रभावकारी प्रशिक्षकले क्लब छाडेका छन् । अनि स्टार खेलाडी रोमेलु लुकाकुले पनि चेल्सी रोजिसकेका छन् । गत सिजन प्रभावकारी साबित भएका असरफ हाकिमी पनि सान सिएरोमा छैनन् । 

युभेन्ट्समा मासिमिलिनो एलेग्री फर्किएकाले पनि सिरी ‘ए’ उपाधि टुरिन जान्छ भन्ने धेरैको अनुमान हो । तर विस्तारै त्यस्तो अनुमान असफल हुने बाटोमा छ । किनभने ५ खेल खेलेको इन्टर लिगको शीर्षस्थानमा छ । उता युभेन्ट्स भने खराब लयका कारण रेलिगेसन क्षेत्रमा छ । 

कोन्टेले इन्टरमा जे गरे, त्यसलाई निरन्तरता दिन इन्जाघी तयार छन् वा सक्षम छन् ? 

अहिले नै जवाफ दिन गाह्रो छ । तर संकेत सकारात्मक देखिएको छ । केही हदसम्म खेल्ने शैलीमा परिवर्तन आएको छ । इडेन जेको पारम्परिक सेन्ट्रल फरवार्डका रूपमा प्रयोग भइरहेका छन् । जबकि लुकाकु मिडफिल्डमा झरिरहन्थे । अर्को परिवर्तन भनेको खेलाडी संख्या हो । कोन्टे थोरै खेलाडी प्रयोग गर्थे । गत सिजन उही ९ खेलाडी २९ पटक प्लेइङ एघारमा परेका थिए । उनी नयाँ खेलाडीलाई छिट्टै विश्वास गरिहाल्दैन थिए । 

इन्जाघी भने फरक देखिएका छन् । डेन्जेल डम्फ्राइज जस्ता नयाँ खेलाडीलाई सुरुबाटै विश्वास गरिएको छ । डम्फ्राइज यसै सिजनको विन्डोमा इन्टरसँग आबद्ध भएका हुन् । हाकिमी पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेपछि डम्फ्राइजलाई खरिद गरिएको हो । डच फुलब्याक पनि हाकिमी जस्तै तीब्र गतिमा खेल्न सक्छन् । 

उता लेफ्ट विंग्स ब्याकमा फेडेरिको डिमार्कोले पनि बलियो प्रदर्शन गरिरहेका छन् । बोलोग्नासँगको खेलमा उनले दुई अवसर जुराएका थिए । ६ वर्षकै उमेरबाट इन्टरको एकेडेमीसँग जोडिएका डिमार्कोले यसअघि सिनियर टिममा मौका पाइरहेका थिएनन् । इन्जाघीले भने उनलाई विश्वास गरेका छन् । विंग्स ब्याकबाहेक उनी सेन्ट्रल डिफेन्डर भएर पनि खेल्न सक्छन् । 

इन्जाघी इन्टरमा धेरैभन्दा धेरै खेलाडीले मौका पाऊन भन्ने चाहन्छन् । च्याम्पियन्स लिग तथा घरेलु कपलाई मध्यनजर गर्दै उनले बेन्चका खेलाडीलाई खेल्ने मौका दिइरहेका छन् । यसो गर्न उनीसँग सुविधा छ । किनभने उनले टिममा हाकान केलानगोलु, कार्लोस जोक्विन कोरिआ जस्ता खेलाडी थपेका छन् । कतिपय अवस्थामा उनलाई आरोप लाग्छ, धेरैभन्दा धेरै खेलाडी परिवर्तन गरिएको भनेर । 

जेहोस्, सिरी ‘ए’ को सुरुआती खेलहरूमा इन्जाघीको रणनीतिले काम गरेको छ । बोलोग्नाविरुद्धको खेल यसैको एउटा उदाहरण हो । प्रश्न यतिमात्र हो, के इन्जाघीले बलियो सुरुआतलाई निरन्तरता दिन सक्छन् ? 
(दी गार्जियनबाट)