युरोपेली फुटबल

‘सुपर लिग युरोपेली क्लब फुटबलका लागि ब्वाँसो हो’

काठमाडौं । युरोपियन सुपर लिगको अवधारणा ब्युँतिने खबर बिहीबार सार्वजनिक भएपछि इङ्लिस प्रिमियर लिगले निकालेको प्रारम्भिक निष्कर्ष हो, ‘यसले हाम्रो वित्तीय दबदबालाई केही फरक पार्नेवाला छैन ।’

स्पेनी राजधानी मड्रिडमा रहेको सुपर लिगअन्तर्गत संस्था ए२२ ले सुपर लिगलाई फेरि बहसमा ल्याएको हो । नयाँ योजना सार्वजनिक गर्दै ए२२ ले यो लिगमा ६० देखि ८० क्लब सहभागी हुने बताएको छ । अनि ए२२ ले के पनि भनेको छ भने यो लिगमा एकभन्दा बढी श्रेणी हुनेछन् ।

ए२२ ले सुपर लिगबारे थोरै मात्रै जानकारी बाहिर ल्याएको छ । बाहिर ल्याइएको नयाँ जानकारीमध्ये दुई चाखलाग्दा छन् । ती हुन्, लिगमा स्थायी सदस्य नहुने र प्रत्येक क्लबले कम्तीमा १४ खेल खेल्ने । लिगका महत्त्वपूर्ण पाटाबारे केही भनिएको छैन । जस्तै, घटुवा/बढुवा ।

च्याम्पियन्स लिगको समानान्तरमा सञ्चालन हुने भनिएको सुपर लिगका मुख्य प्रवर्तक रियाल मड्रिड, बार्सिलोना र युभेन्टस हुन् । यी तीनले युरोपका अन्य ९ ठूला क्लबसँग मिलेर अप्रिल, २०२१ मा सुपर लिगको अवधारणा सार्वजनिक गरेका थिए । त्यतिबेला यो लिगमा १४ स्थायी सदस्य रहने र त्यसपछि प्रत्येक वर्ष ५ क्लबलाई प्रवेश दिइने बताइएको थियो ।

अब त्यो अवधारणमा परिवर्तन भएको बताइएको छ । युरोपभरका क्लबहरूसँग सल्लाह गरेपछि यसो गरिएको ए२२ को भनाइ छ । सुरुमा प्रिमियर लिगका ठूला क्लब पनि यो योजनामा सम्मिलित थिए । तर, म्यानचेस्टर सहरका दुई क्लब, लिभरपुल, लन्डनका आर्सनल, चेल्सी र टोटनहम आफ्ना समर्थक र बेलायत सरकारको आलोचनापछि बाहिरिए ।

अब सुपर लिगमा इङ्लिस क्लब समावेश हुने सम्भावना छैन । त्यसो भएपछि ए२२ प्रिमियर लिगतिर खनिएको छ । उसका अनुसार युरोपेली क्लब फुटबलमा प्रिमियर लिगको दबदबा हटाउन पनि सुपर लिग चाहिएकै छ ।

सुपर लिगबारे नयाँ खबर आएपछि प्रिमियर लिगका २० क्लबका सेयरहोल्डरहरू बिहीबार भेला भए । लन्डनको त्यो भेलाको निचोड थियो, ‘यो त इङ्लिस फुटबलविरुद्धको युद्ध पो हो त ।’ त्यही भेलामा सहभागी एकले द टेलिग्राफसँग भनेका छन्, ‘फुटबलमा ब्रेक्जिटभन्दा ठ्याक्कै विपरीत प्रयास ।’

ए२२ का सहसंस्थापक रहेका अमेरिकी लगानीकर्ता जोन हान प्रिमियर लिगबाहेकको युरोपेली क्लब फुटबल वित्तीय संकटमा देख्छन् । हानले कुनै समय रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग काम गरेका थिए । अहिले आएर यी दुई फेरि एकै ठाउँमा उभिएका छन् । पेरेज त सुपर लिगका प्रमुख रणनीतिकार नै हुन् ।

प्रिमियर लिग आफैं सुपर लिग

हान के भन्छन् भने अहिलेको स्थिति रह्यो भने भविष्यमा प्रिमियर लिग र बाँकी युरोपेली लिगबीच ठूलो खाडल देखा पर्नेछ । ए२२ पनि प्रिमियर लिग नै सुपर लिग बनिसकेको दाबी गर्छ । यस्तो दाबीको कारण हो, प्रिमियर लिगका क्लबहरूको आम्दानी । २० क्लबहरू बर्सेनि ७ अर्ब १० करोड युरो कमाइ गर्छन् । जबकि ला लिगाको कुल कमाइ ३ अर्ब ७० करोड युरो छ ।

दुई वर्षअघि प्रिमियर लिगका ठूला क्लबले रियाल, बार्सिलोना र युभेन्टससँग मिलेर विद्रोही लिग जन्माउन सहमति गरेका थिए । अब त्यो सहमति अस्तित्वमा छैन । यसकारण सुपर लिग इङ्लिस क्लबविना अघि बढ्नेछ ।

यस्तोमा उठ्ने प्रश्न हो, इङ्लिस क्लबविनाको सुपर लिग कत्तिको आकर्षक होला ? टेलिभिजन प्रशारण अधिकार ठूलो रकममा बिक्री होला कि नहोला ?

स्पेनमा दुई वर्षअघि सुपर लिगको चर्को विरोध भएको थियो । यसपालि पनि ला लिगाका अध्यक्ष जाभिर टेबासले विरोधको सुरुआत गरिसकेका छन् । ‘सुपर लिग युरोपेली क्लब फुटबलका लागि ब्वाँसो हो । यसले हजुरआमाको रूपधारण गरेर युरोपको फुटबल सिध्याउने प्रयास गरिरहेको छ ।’

इङ्ल्यान्ड र वेल्सका फुटबल समर्थकको संगठन (एफएएसए) ले पनि विरोध गरेको छ । ‘यसको विरोध हामीले पहिले पनि गरेका थियौं । युरोपेली फुटबलमा च्याम्पियन्स लिग छ । नयाँ प्रतियोगिता आवश्यक छैन । सुपर लिगलाई युरोपका समर्थकको कुनै समर्थन छैन,’ एफएएसएले भनेको छ ।

एफएएसए सहसंस्थापक रहेको फुटबल स्पोर्टस युरोप (एफएसई, युरोपभरका समर्थकको समूह) ले पनि सुपर लिगको एकपल्ट फेरि विरोध गरेको छ । युरोपका ३४ देशका ४० लिग, एक हजार ९२ क्लबका समर्थकलाई संगठित गरेको एफएसईले आफूसँग ए२२ वा सुपर लिगले कुनै किसिमको सल्लाह नगरेको बताएको छ ।

ए२२ ले युरोपका सबै घरेलु लिग र महिला फुटबललाई प्रवर्धन गर्ने दाबी गरेको छ । वित्तीय स्थिरता कायम गर्ने, समर्थकले फुटबलको थप मज्जा लिनसक्ने वातावरण सिर्जना गर्ने ए२२ ले गरेका अरू वाचा हुन् । यद्यपि यी विषयमा गहिरो जानकारी ए२२ ले दिएको छैन । सुपर लिग सुरु गर्न प्रसिद्ध लगानीकर्ता कम्पनी जेपी मोर्गानले ३ अर्ब २५ करोड पाउन्ड ऋण दिने पहिल्यै बताइसकेको छ । थप ऋण वा नयाँ लगानीकर्ता पनि भित्रिने सम्भावना छ ।  

कुनै क्लब वित्तीय संकटमा परिहाले युरोपेली फुटबल महासंघ (युइएफए)ले उसलाई सहयोग नगर्ने, च्याम्पियन्स लिगबाट हुने आम्दानीमा क्लबहरूको हिस्सा कम हुने, त्यस प्रतियोगितामाथि क्लबहरूको नियन्त्रण नहुने, नियमनमा भूमिका नहुने भएकाले नयाँ लिग आवश्यक परेको तर्क छ ।

तर यस्तो तर्कबीच एउटा तथ्य सम्झन आवश्यक छ । त्यो हो, आउँदो सिजनबाट च्याम्पियन्स लिग नयाँ संरचनामा गर्ने भनेर सबै ठूला क्लबको सहमति लिइएको थियो । फलतः च्याम्पियन्स लिगमा अब ३६ टिम सहभागी हुनेछन् । ६ समूहको सट्टामा १० समूह हुनेछन् ।

प्रभावशाली पेरेज

च्याम्पियन्स लिग सञ्चालन गर्ने ‘ज्वाइन्ट भेन्चर’ कम्पनीमा स्वामित्व युइएफए र युरोपेली क्लब महासंघको छ । महासंघमा सबै ठूला क्लब छन् । उनीहरूले युइएफएसँग मिलेर खोलेको संस्थाले च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स लिगको आम्दानीमाथि नियन्त्रण राख्छ ।

ए२२ र सुपर लिगविरूद्ध युइएफए युरोपेली युनियनको अदालत गएको थियो । त्यहाँका महान्यायाधिवक्ता एथानिसियोस रान्टोसले अदालतलाई युइएफएको पक्षमा सल्लाह दिएको आरोप छ । ए२२ र सुपर लिग स्पेनी अदालत पनि गएको छ । मुद्दामामिला चलिरहँदा कुन अदालतले कसको पक्षमा फैसला दिन्छ भनेर अनुमान गर्न सजिलो छैन ।

जेहोस्, रियाल र पेरेजले सुपर लिग योजनालाई मर्न दिएका छैनन् । उनीहरूसँगै हान पनि आफ्नो लगानीकर्ता कम्पनीमार्फत लागिपरेका छन् । सुपर लिगबारे विभिन्न हल्ला बाहिर आइरहेकै छन् । रियालले लुका मोड्रिचलाई नयाँ सम्झौता प्रस्ताव गर्दा राष्ट्रिय टिमबाट संन्यास लिन सर्त राखेको छ । ताकि क्रोएसियाका कप्तान पूर्ण रूपमा रियाल र सुपर लिगमा केन्द्रित होऊन् । यो खबर साँचो भए सुपर लिग र युइएफएबीचको सम्बन्ध झनै चिसिने छ ।

सुपर लिग गठनमा जोड दिँदै आएका आन्द्रे आग्नेली हाल अप्ठ्यारो स्थितिमा रहेकाले पनि सुपर लिग गठनले मूर्त रूप पाउँछ पाँउदैन भन्ने संशय छ । आर्थिक अनियमितता गरेको आरोपमा आग्नेलीलाई युभेन्टसको अध्यक्षबाट राजीनामा दिन लागाइसकिएको छ । कुनै समय युरोपेली क्लबहरूको छाता संगठनका अध्यक्ष रहेका आग्नेली दुई वर्षअघि जस्तो सक्रिय हुन पाउँछन् वा पाउँदैनन् या हुन्छन् हुँदैनन् भन्ने कुराले पनि सुपर लिग सपनामा प्रभाव पार्नेछ । 

(एजेन्सीहरुको सहयोगमा)