नेपाली फुटबल

मुम्बई केन्क्रे जोगाउँदै अञ्जन

काठमाडौं । अञ्जन विष्ट नेपाली फुटबलका लागि नयाँ नाम होइन । एन्फा एकेडेमीको उत्पादन अञ्जन वर्तमान नेपाली फुटबलका सबैभन्दा ‘हट प्रोपर्टी’ हुन् । उनले १४ वर्षमुनिबाट सिनियर राष्ट्रिय टोलीसम्मको यात्रा सफलतापूर्वक तय गरेका छन् ।

राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन सर्वाधिक अन्तर्राष्ट्रिय गोलको सर्वकालीन नेपाली कीर्तिमानको निकै नजिक पुगिसकेका छन् । पूर्व स्ट्राइकरद्वय हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमानभन्दा अञ्जन २ गोलले मात्र पछि छन् । राष्ट्रिय टोलीको जर्सीमा थप तीन गोल गर्न सके नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान उनको नाममा हुनेछ ।

पछिल्लो पटक सन् २००८ को जुलाईमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै नीराजनले हरिको कीर्तिमानसँग बराबरी गरेयता अरू थुप्रै स्ट्राइकरबाट पनि कीर्तिमानी उपलब्धि आशा गरिएको थियो । जुमानु राई, भरत खवास, पूर्वकप्तान अनिल गुरुङलगायतका खेलाडी लयमा हुँदा नयाँ कीर्तिमानको अपेक्षा स्वाभाविक थियो । तर, पर्याप्त खेलसंख्याको कमीका कारण उनीहरू कीर्तिमानको नजिक पुग्न सकेनन् । नयाँ कीर्तिमान बन्ने नेपाली फुटबलप्रेमीको आशा १५ वर्षदेखि जस्ताको तस्तै रहिरह्यो । जुन आशा अहिले उच्च लयमा रहेका अञ्जनले पुनः ब्युँत्याएका छन् ।

एन्फा एकेडेमीको बसाइ सकेपछि अञ्जनले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबाट शीर्ष डिभिजनको लिगमा पाइला राखे । एपिएफपछि मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध भएका उनले अबका दिनलाई भने नवप्रवेशी चर्च ब्वाइज युनाइटेड रोजेका छन् । मनाङले कीर्तिमानी आठौं पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि २०७५ सालमा जित्दा अञ्जन टोलीका महत्त्वपूर्ण सदस्य थिए । 
मनाङमा चार वर्ष बिताएपछि फागुन १९ देखि हुने भनिएको शीर्ष डिभिजन लिगका लागि उनले चर्च ब्वाइजसँग सम्झौता गरेका छन् ।

यसैक्रममा अञ्जनलाई एउटा महत्त्वपूर्ण अवसर आयो । व्यावसायिक बन्दै गएको भारतीय आई लिग खेल्न प्रस्ताव आएको छ ।

रेलिगेसन क्षेत्रमा रहेर आई लिगको हैसियत जोगाउन संघर्षरत मुम्बई केन्क्रे एफसीले अञ्जनबाट टोली उद्दार हुने देख्यो । तत्काल प्रस्ताव पठायो । जसलाई अञ्जनले गुमाउन चाहेनन् । र, बाँकी एक दर्जन खेल खेल्ने निर्णयका साथ चर्च ब्वाइजबाट अनुमति लिएर उनले भारतीय टोलीसँग सम्झौता प्रक्रिया पूरा गरेका छन् ।

‘क्लबले व्यक्तिगत रूपमै सम्झौताका लागि प्रस्ताव गरेपछि यो अवसर गुमाउन चाहिनँ,’ हेटौंडाका स्थायी वासिन्दा अञ्जन सुनाउँछन् । सम्झौताको लगत्तै अञ्जन लिग खेल्न भारत प्रस्थान गरेका थिए ।

पछिल्लो समय घरेलु प्रतियोगिता नभएको र आर्थिक अवस्था कमजोर भएको भन्दै राष्ट्रिय टोलीका सदस्यसहित ३० भन्दा बढी खेलाडीले अस्ट्रेलियाको बाटो तताइसकेका छन् । अञ्जन भने यो उमेरमै खेल छाड्ने स्थितिमा छैनन् । दाजु रञ्जन विष्टको यात्रामा साथ दिँदै अञ्जन फुटबलमा लागेका थिए । तर, दाजुले अस्ट्रेलिया रोजे पनि अञ्जन तत्काल यो मनस्थितिमा छैनन् । नेपाली फुटबलमा एउटा कीर्तिमान तोड्ने र खेलमै रमाउने उनको योजना छ ।

अञ्जनको उपस्थितिसँगै आई लिगमा केन्क्रेको प्रदर्शनमा निखार आएको छ । ठूला क्लबलाई राम्रो चुनौती दिन र हराउन सफल भएको छ । केन्क्रे अञ्जनको आगमनसँगै रेलिगेसन जोनबाट उम्कनेमा विश्वस्त छ ।

भारत पुगेपछि अञ्जनलाई मोहम्मडन एफसीसँगको खेलमा मैदान बाहिर राखियो । यसपछि उनले प्रत्येक खेलमा पहिलो रोजाइबाट मैदान उत्रिइरहेका छन् । अञ्जनको उपस्थितिमा क्लबले शीर्षस्थानको श्रीनिधि डेक्कनलाई २-१ ले हराएको थियो । ‘डेब्यु’ खेलमा अञ्जनले प्रभावशाली प्रदर्शन दिए । दोस्रो खेलमा अञ्जनसम्मिलित केन्क्रे साबिक विजेता गोकुलम केरेलासँग १-० ले पराजित भयो । तेस्रोे खेलमा राष्ट्रिय टोलीका सहकर्मी तथा कप्तान किरणकुमार लिम्बूको पन्जाब एफसीविरुद्ध मैदान उत्रिए । अञ्जनले उक्त खेलमा आफ्नो प्रभाव थप प्रस्ट देखाइदिए । अञ्जनले उत्कृष्ट प्रदर्शन गरेपछि पन्जाब र केन्क्रेको खेल ३-३ को बराबरीमा सकिएको थियो ।

अञ्जनले दुई गोलमा अवसर उपलब्ध गराएपछि कुनै समय केन्क्रे २-० ले अघि थियो । पछि पन्जाबले ‘कमब्याक’ गर्दै हार टारेको हो । बुधबार क्लब नेरोक्का एफसीसँग १-० ले पराजित भयो । अब क्रेन्केले सोमबार रेलिगेसन क्षेत्रमै रहेको सुदेभा दिल्लीसँग खेल्दै छ ।

टोली अझै रेलिगेसन क्षेत्रबाट माथि उठ्न सकेको छैन । अञ्जन र उनका सहकर्मी रेलिगेसनबाट क्लबलाई जोगाउन प्रतिबद्ध छन् । ‘खेल निकै राम्रो भएको छ । पछिल्लो दुई खेलमा सोचेजस्तो नजिता पाएनौं । त्यसैले अझै रेलिगेसनको डर छ । हाम्रो योजना र चाहना नै रेलिगेसनबाट जोगाउनु हो । त्यसमै प्रतिबद्ध छौं,’ भारतबाट अञ्जनले खेलाडीलाई भने ।

इन्डियन सुपर लिग (आइएसएल) मा बढुवा हुन पन्जाब र श्रीनिधिबीच प्रतिस्पर्धा चलिरहेको छ । यसैगरी रेलिगेसनबाट जोगिन केन्क्रेले हरदम प्रयास गरिरहेको छ । पुछारमा रहेको सुदेभा दिल्ली एफसी रेलिगेसनको सबैभन्दा नजिक छ । यदि केन्क्रेले रेलिगेसन क्षेत्र छाडेको अवस्थामा थप पाँच क्लब (मोहम्मडन, नेरोक्का, ऐजवाल एफसी, राजस्थान) रेलिगेसनबाट जोगिने प्रतिस्पर्धामा जोडिने छन् । एकप्रकारले रेलिगेसन ब्याटल निकै प्रतिस्पर्धात्मक बन्ने छ ।  

अञ्जनकै सहकर्मी विमल घर्तीमगर र अनन्त तामाङले आई लिगको अनुभव बटुलिसकेका छन् । अनन्तले त इस्ट बंगालबाट आइएसएल पनि खेले । अञ्जन चाहिँ यो अवसर सदुपयोग गर्दै आई लिगमै स्थापित हुने लक्ष्यमा छन् । क्लबमा चार खेल खेलिसक्दा यो छाँटकाँट देखिन्छ  ।

‘सुरुमा आफैंलाई कस्तो प्रदर्शन होला भन्ने लाग्थ्यो । खेल्न सक्छु कि सक्दिनँ भन्ने चिन्ता लाग्थ्यो । पछिल्लो समय मेरो प्रदर्शनको प्रशंसा भइरहेको छ । सबैले मन पराउनुभएको छ । अबको लक्ष्य भनेकै यहीं स्थापित हुनु हो । यसका लागि निकै मिहिनेत गरिरहेको छु । मेरो प्रदर्शनले आफ्नो मात्र नभई नेपालका अन्य खेलाडीका लागि पनि आई लिगमा ढोका खोल्ने आस गरेको छु,’ अञ्जनले गर्वसाथ सुनाए ।