महिला साफ यु–२० च्याम्पियनसिप

कमजोर तयारी, उपविजेतामै चित्तबुझाइ

काठमाडौ । करिब दुई साताको प्रशिक्षणपछि साफ यु-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेशको ढाका पुगेको नेपाली टोली बिहीबार घरेलु टोलीलाई नतिजा सुम्पिँदै उपविजेतामा सीमित भयो ।

गत साता सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपाली टोली बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।

प्रतियोगितामा सुखद सुरुआत गर्न चुकेको नेपाल फाइनलमा पुनः बंगलादेशसँग ३-० ले पराजित भयो । नेपालको यात्रामा बंगलादेश बाधक बन्यो । यद्यपि छोटो समयको तयारी र लिगको अन्तिम खेलमा भारतमाथि निकालेको जितले नेपाली टोलीको मनोबल भने उकासिएको थियो ।

सिनियर टोलीमा प्रभावशाली प्रदर्शन गरिसकेकी मिडफिल्डर प्रीति राईको कप्तानीमा उत्रिएको नेपाली टोलीमा दुई महिनाअघि बंगलादेशमै सम्पन्न साफ यु-१५ च्याम्पियनसिप जितेको टोलीका खेलाडीको बाहुल्य थियो ।

दक्षिण एसियाका चार टिममात्र प्रतिस्पर्धी रहेको प्रतियोगितामा भारत र भुटानलाई हराउँदै अंकतालिको दोस्रो स्थानमा रहेर नेपालले फाइनल यात्रा गरेको थियो ।

बंगलादेशसँग पहिलो खेलमा नेपाली खेलाडी सम्हालिन नपाउँदै १५ मिनेटमै दुई गोलले पछि परेको थियो । पहिलो हाफमै नेपालले गोल फर्कायो । तर त्यो सान्त्वनामै सीमित भयो । नेपालका लागि मनमाया दमाईले गोल गरेकी थिइन् ।

दोस्रो खेलमा नेपालले भुटानलाई प्रतिद्वन्द्वी पाएको थियो । भारतसामु १२-० ले निरीह बनेको भुटान नेपालका लागि पनि सहज प्रतिद्वन्द्वी थियो । भुटानमाथि ४-० को जितपछि नेपालको फाइनल पुग्ने सम्भावना जीवित बनेको थियो । नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन् भने प्रीति राईले एक गोल थपिन् ।

अर्को खेलमा बंगलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए । लिगको दुई चरण सकिँदा नेपाल ३ अंकसहित तेस्रो स्थानमा थियो ।

अन्तिम खेलमा नेपालसामु शीर्ष दुईमा रहेर फाइनल पुग्नका लागि भारतमाथि जितको विकल्प थिएन । यता पहिलो खेलमा भुटानमाथि रवाफिलो जित निकालको भारत दोस्रो खेलमा बंगलादेशसँग अंक बाँडेपछि ४ अंकसहित शीर्षस्थानमा थियो । दोस्रो स्थानको बंगलादेशसँग पनि समान ४ अंक थियो । दुई खेलमा अंकविहीन बनेको भुटान भने प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।    

नेपालसँग अंक बाँडेमात्र पनि भारत र बंगलादेशबीचको फाइनल समीकरण पूरा हुन्थ्यो । जित्नैपर्ने दबाबमा रहेको नेपालले पहिलो हाफमा गोल खायो । स्पष्ट ३ अंक चाहिने खेलको पहिलो हाफमा १-० ले पछि परेको नेपाली युवा खेलाडीले दोस्रो हाफमा उत्कृष्ट सुरुआत गर्यो । दोस्रो हाफको सुरुमै भारतीय गोलकिपर र रक्षकबीचको तालमेल अभावमा अञ्जली चन्दले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

कप्तान प्रीतिले पेनाल्टी र अमिशाको थप एक गोल गरेपछि नेपालले भारतमाथि पुनरागमन ३-१ को जितसहित फाइनलको टिकट पक्का गरेको थियो ।

उता बंगलादेशले पनि भुटानलाई ५-० ले हराएर लिग चरणमा शतप्रतिशत नतिजा निकालेको थियो ।

नेपालको लक्ष्य लिग चरणको पहिलो खेलमा बेहोरेको हारको बदलासहित उपाधि जित्ने थियो । तर, पहिलो हाफको अन्तिममा सम्हालिन नसक्दा नेपालले लगातार दुई गोल बेहोर्नुपरेको थियो । इन्ज्युरी समयमा नेपालले थप एक गोल सामना गर्यो ।

नेपाली सिनियर राष्ट्रिय टोलीका साथै युथ टोलीको समेत प्रशिक्षण सम्हालिसकेका प्रशिक्षक कुमार कटुवाल केही साताको प्रशिक्षणबाट ठूलो अपेक्षा राख्न नहुने बताउँछन् ।

‘हाम्रोमा बेसिक ट्रेनिङ नै भएन,’ प्रशिक्षक कटुवालले भने, ‘दक्षिण एसियाकै अन्य राष्ट्रले महिला फुटबलमा पनि ग्रास रुटको कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । महिनौं प्रशिक्षणपछि खेलाडी छनोट गरेर प्रतियोगितामा सहभागी हुन्छन् । तर हाम्रोमा त्यो संस्कार नै छैन । प्रतियोगिता सुरु हुन केही साता बाँकी रहँदा मात्र खुला छनोटबाट खेलाडी छानिन्छन् । यो नै विडम्बना हो ।’

नेपालमा पुरुष टोलीको तुलनामा महिला टोलीले पाएको सफलता विशेष छ । तर, सेवासुबिधा र अवसरको हिसाबमा महिला टोलीलाई निकै पछि छोडिएको छ ।

छोटो समयको तयारीका बाबजुद पनि फाइनलसम्म प्रवेश गर्नु र सशक्त भारतमाथि पुनरागमन जित निकाल्नुले नेपाली खेलाडीको मनोबल बढाएको हुनुपर्छ,’ कटुवालले भने, ‘सिनियर टोकीकै केही खेलाडी यस टोलीमा पनि छन् । भारतविरुद्धको आसन्न मैत्रीपूर्ण खेलका लागि युवा खेलाडीको साफ अनुभव निकै फाइदाजनक हुनेछ ।’

यिनै युवा खेलाडीले भविष्यमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने भएकाले सक्दो एक्सपोजर दिनुपर्ने उनी सुझाउँछन् । उनले भने, ‘भोलि राष्ट्रियमा जाने यिनै खेलाडीहरू हुन्, यिनलाई जति धेरै खेल खेलायो त्यति नै अनुभव बढ्दै जाने हो । तर, सम्बन्धित निकायले त्यसमा ध्यान दिएको देखिँदैन ।’

उनले यसअघि जस्तै एन्फा नजिक र चुनावमा सहयोग गरेकालाई नै अवसर दिने परिपाटीले निरन्तरता पाइरहेकै गुनासो गर्छन् ।

पूर्वप्रशिक्षकहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको उनको थप गुनासो थियो । यद्यपि उनले युवा महिला खेलाडीलाई निरन्तर प्रशिक्षणको व्यवस्था गरिए राम्रो नतिजा निकाल्ने कटुवालको दाबी छ ।

यसअघि उमेर समूहमा आफूहरूले बंगलादेशलाई हराउँदै आए पनि पछिल्लो समय नेपालका लागि बंगलादेश प्रमुख प्रतिद्वन्द्वीको रूपमा देखिएको उनले बताए । उनले भने, ‘बंगलादेशले पछिल्लो समय राम्रो प्रगति गरिरहेको छ । त्यसले गर्दा सफलता पनि मिलिरहेको छ । यता भने हाम्रो स्तर खस्किरहेको छ । प्रशिक्षण नै हुन्न । कसरी राम्रो नतिजा अपेक्षा गर्न सकिन्छ ।’

बंगलादेशको साफ यु-२० च्याम्पियनसिप महिला उमेर समूहमा तेस्रो उपाधि हो । यसअघि यु-१८, यु-१९ पनि च्याम्पियन भएको थियो ।

ढाकामा यसपालि सर्वाधिक गोल गर्नेको सूचीमा नेपाली अमिशा पनि रहिन् । उनी बंगलादेशकी सम्सुनाहर जुनियरसँगै समान ४ गोल गरेर अगाडि रहिन् । कप्तान प्रीतिको खातामा दुई गोल रह्यो ।