फिफा विश्वकप

बेन्चका रोनाल्डोसँग पोर्चुगलको विश्वकप आशा उच्च

काठमाडौं । फुटबलमा औसत अवकाश उमेर ३० देखि ३९ वर्ष हो । तर सबैको शरीर फरक हुन्छ, कुन पोजिसनमा खेल्ने भन्नेले पनि ठूलो फरक पार्छ । शारीरिक रुपमा कम माग गरिने गोलकिपरहरुले लगभग ४० सम्म खेल्न सक्छन्, धेरै थोरै फरवार्डहरुले त्यसो गर्न सक्छन् । चोटले कुनै पनि फुटबलरको करियरमा ठूलो भूमिका खेल्छ । चोटमुक्त रहँदा फुटबल खेलाडीहरुको करियर ३६ वर्षसम्म लम्बिन सक्छ ।

समय परिवर्तनसिल छ, र यसलाई स्वीकार गर्नु आवश्यक  छ । यहि समयले फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई चुनौती दिइरहेको छ । रोनाल्डो उमेरले ३७ वर्ष भइसके । दुई महिनापछि ३८ हुनेछन् । जारी सिजन रोनाल्डो आफ्नो करियरकै सबैभन्दा खराब समयबाट गुज्रिरहेका छन् । खेल खस्किएको छ ।

खराब लयमै भए पनि कतार विश्वकपमा पोर्चुगलको टोलीमा रोनाल्डो नै आकर्षकको केन्द्र बन्ने अनुमान सबैले गरेका थिए, विशेष गरि रोनाल्डोलाई माया गर्ने समर्थकहरुले । जुन स्वभाविक पनि थियो । उनको अनुभव पोर्चुगलको विश्वकप अभियानमा महत्वपूर्ण रहनेमा दुई मत थिएन । अन्तर्राष्ट्रिय फुटबलका उच्च गोलकर्ता जो हुन उनी ।

रोनाल्डोको मनले फुटबल खेलिरहन चाहेको छ । तर शरीरले बिस्तारै साथ दिन छाडेको छ । म्यानचेस्टर युनाइटेडले दुई साताअघि मात्र ६७ शब्दको विज्ञप्ति जारी गर्दै रोनाल्डोसँग सम्झौता समाप्त गर्न आपसी सहमती भएको घोषणा गरेको थियो । विश्वकपअघि बेलायती सञ्चारकर्मी पियर्स मोर्गानलाई रोनाल्डोले दिएको अन्तर्वार्ता यसको मुख्य कारण थियो । उनले अन्तर्वार्तामा क्लब र व्यवस्थापनको चर्को आलोचना गरेका थिए । त्यस्तै प्रशिक्षक टेन हागले आफूलाई सम्मान नगरेको गुनासो गरेका थिए ।

प्रशिक्षक टेन हागको पहिलो रोजाइमा नपरेका रोनाल्डो मैदान उत्रिन मौका पाएका बेला पनि गोल गर्न सफल भइरहेका थिएनन्  । १६ खेलमा रोनाल्डोले मात्र तीन गोल गरेका थिए । यसको मुख्य कारण उनको ढल्कँदो उमेर नै थियो ।

खराब लयमै भए पनि कतार विश्वकपमा पोर्चुगलको टोलीमा रोनाल्डो नै आकर्षकको केन्द्र बन्ने अनुमान सबैले गरेका थिए, विशेष गरि रोनाल्डोलाई माया गर्ने समर्थकहरुले । जुन स्वभाविक पनि थियो । उनको अनुभव पोर्चुगलको विश्वकप अभियानमा महत्वपूर्ण रहनेमा दुई मत थिएन । अन्तर्राष्ट्रिय फुटबलका उच्च गोलकर्ता जो हुन उनी ।

तर कतारमा पनि उनको प्रदर्शनमा अपेक्षित भएन ।  समूह चरणको पहिलो खेलमा पेनाल्टीबाट पोर्चुगलका लागि गोलको खाता खोलेका रोनाल्डोले त्यसपछि थप गोल गर्न सकेका छैनन् । समूह चरणका सबै खेलमा पहिलो रोजाईबाट मैदान उत्रिएका रोनाल्डोले कुनैमा पनि ९० मिनेट खेलेनन् ।

अन्तिम १६ को खेलमा त झन् रोनाल्डो पहिलो रोजाईमै परेनन् । प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो ३५ वर्षको व्यवस्थापकीय करियरकै सबैभन्दा साहसी निर्णय गरे । स्विट्जरल्यान्डविरुद्ध उनले आफ्ना ‘म्याग्नेटिक’ कप्तानको ठाउँमा २१ वर्षका युवालाई खेलाए । ती युवा थिए गोन्सालो रामोस, जसले राष्ट्रिय टोलीबाट यसअघि कहिल्यै खेलेका थिएनन् ।

सान्तोसको यो निर्णय आश्चर्यजनक थियो । त्यसैले यो समाचार द्रुत गतिमा फैलियो । रोनाल्डो जस्तो खेलाडीले पहिलो रोजाईबाट खेल्न नपाउनु सबैका लागि चासोको विषय बन्यो । आधारभूत तर्कले यो कदम अनुशासनात्मक थियो भन्ने अनुमान गर्यो ।

समूह चरणको तेस्रो खेल अर्थात दक्षिण कोरियाविरुद्ध रोनाल्डोलाई सान्तोसले ६५औं मिनेटमा परिवर्तन गरेका थिए । त्यतिबेला रोनाल्डो सान्तोसप्रति क्रोधित भएकाले उनलाई स्विट्जरल्यान्डविरुद्ध पहिलो रोजाइबाट नखेलाइएको भनियो । कसैले सान्तोसले रोनाल्डोलाई टाइब्रेकरमा प्रयोग गर्न बेन्चमा राखेको पनि भने । तर जे होस्, खेलपछि सान्तोसले रोनाल्डो पहिलो रोजाइमा नराख्नुमा पछिल्लो खेलको कुनै सरोकार नभएको प्रष्ट पारे ।

‘रोनाल्डोको त्यो क्रोधित प्रतिक्रिया र पछिल्लो खेलको मामला बन्द भइसक्यो,’ सान्तोसले स्विट्जरयान्डसँगको खेलपछि भनेका थिए ।

स्विट्जरल्यान्डलाई ६-१ ले पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा आफ्नो स्थान बनायो । रोनाल्डोको ठाउँमा खेलाइएका रामोसले ७० मिनेट भित्र प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे । सबै गोलहरु राम्रा थिए । ह्याट्रिक पूरा गरेको चार मिनेटपछि उनको स्थानमा रोनाल्डोलाई खेलाइयो ।

सान्तोसको निर्णय सहि सावित भयो ।

‘स्टार खेलाडी रोनाल्डोलाई बेन्चमा राखियो । किनभने गोन्सालो रामोस एक राम्रा फुटबल खेलाडी हुन् । सान्तोसको निर्णय रणनीतिक थियो,’ टोलीका सदस्यहरुले रामोस र उनको प्रभावको बारेमा हल्ला गरे ।

‘रामोस धेरै मेहनत गर्ने, धेरै दौडिने खेलाडी हुन् । उनले टोलीलाई रक्षात्मक रुपमा पनि मद्दत गर्छन । उनी त्यस्ता स्ट्राइकर हुन, जो मैदानमा जताततै छाउँछन्,’ रामोसको प्रशंसामा सान्तोसले भनिहाले ।

एक आकर्षक विंगरबाट पेनाल्टी बक्सको निर्दयी सिकारीमा परिणत भएका रोनाल्डोको ड्रिब्लिङ क्षमता पनि घटेको छ । प्रेस गर्न उनको शरीरले दिएको छैन । त्यसैले पनि युनाइटेडले उनलाई बेन्चमा सीमित गरेको थियो । अब पोर्चुगलले गर्दैछ ।

समूह चरणका तीन खेलमा फिफा ट्रयाकिङ डेटाका अनुसार रोनाल्डोले प्रति ७७ मिनेटमा एक सय १६ स्प्रिन्ट र उच्च गतिको रन बनाएका थिए । स्विट्जरल्यान्डविरुद्ध ७४ मिनेट खेलेका रामोसले ७२ मिनेटमा मात्रै दुई सय रन पूरा गरे । रामोसको प्रदर्शनले रोनाल्डो अर्को खेलमा सुरुआत गर्छन कि गर्दैनन् भन्नेमा शंका बढेको छ ।

रामोसले तीन गोल मात्र गरेका होइनन् । रामोसले त्यो सबथोक गरे, जुन गर्न रोनाल्डोलाई त्यति सहज छैन, अहिले । रामोसको गति र गतिविधिले ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा र जोआवो फेलिक्सलाई राम्रो स्पेस दियो । उनले पक्कै पनि रोनाल्डोले अहिले नसक्ने तिब्र गतिको दौड देखाए । उनकै चतुर रिभर्स पासको मद्दतमा पोर्चुगलले खेलमा चौथो गोल गरेको थियो ।

यिनले पनि रामोस पहिलो रोजाईमा रहने सम्भावना बलियो छ । पक्कै पनि पोर्चुगलको उपाधि जित्ने लक्ष्यमा रामोसको अब आउने भूमिका रोनाल्डोको भन्दा महत्वपूर्ण रहनेछ ।

फुटबल होस वा अन्य खेल । सधैं स्तरीयता कायम राख्न गाह्रो हुन्छ । रोनाल्डोले पोर्चुगलका लागि जे गरे, त्यो इतिहासका पन्नामा अमर छन् । तर अब बेला आएको छ । पोर्चुगलका लागि, रोनाल्डोको लागि विकल्प खोज्ने । जुन पोर्चुगलले पाएको छ, गोन्सालो रामोसको रुपमा ।