१९९०, इटाली (१४औं विश्वकप)
जुन ३ देखि जुलाई ८ सम्मटोली संख्या- २४खेल संख्या- ५२जम्मा गोल- ११५ (प्रतिखेल २.३ को औसतमा)दर्शक- २५,१६,२१५ (प्रतिखेल ४८,३८८ को औसतमा)विजेता- जर्मनीउपविजेता- अर्जेन्टिनातेस्रो- इटालीचौथो- इङल्यान्डएडिडास गोल्डेन बल- साल्भाडोर सिलाची (इटाली)एडिडास गोल्डेन जुत्ता- साल्भाडोर सिलाची (इटाली)उत्कृष्ट युवा खेलाडी- रोबर्ट प्रोसिनेस्की (क्रोएसिया)फेयर प्ले- इङ्ल्यान्ड
सन् १९९० मा पश्चिम जर्मनीले चार वर्ष अगाडि अर्जेन्टिनासँग फाइनलमा भोगेको हारको बदला लिँदै तेस्रो पटक फिफा विश्वकपको उपाधि उचाल्यो ।
रोममा सम्पन्न फाइनलमा जर्मनीले १-० को जित हासिल गरेको थियो । यो जित फ्रान्ज बेकेनबाउरका लागि सबैभन्दा विशेष थियो । किनकि यो जितपछि उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने दोस्रो व्यक्ति बन्न सफल भए ।
यो संस्करणमा सबै फुटबलप्रेमीको चाहनाविपरीत निकै कम गोल भए । प्रतिखेल २.२१ को औसतमा मात्र गोल भएको थियो । गोल कम भए पनि प्रतियोगिताको रंगीन चरित्र र नाटकीय दृश्यमा भने कुनै कमी आएन ।
उद्घाटन खेलमै विश्वकपका सर्वाधिक अप्रत्यासित नतिजामध्ये एक निस्किँदा साविक विजेता अर्जेन्टिना स्तब्ध बन्नु पर्यो। सान सिएरोमा सम्पन्न उद्घाटन खेलमा रोजर मिल्लाको उच्च प्रदर्शनबाट प्रेरित क्यामरुनले अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण विजय पायो । इटालीले विश्वकप आयोजना गरेको यो दोस्रो अवसर थियो । १९३४ मा घरेलु मैदानमा जितेपछि उपाधिविहीन रहँदै आएको इटालीको यसपालीको मुख्य लक्ष्य पनि उपाधिको खडेरी पुर्नु थियो ।
इटालीले बारी र टुरिनमा नयाँ रंगशाला यही विश्वकपका लागि भनेर निर्माण गर्यो । जहाँ कुल १० सुविधासम्पन्न रंगशालाको उपयोग गरियो । इटालीले जित्ने लक्ष्यका साथ सुरु गरेको अभियानमा सफलता हासिल नगरे पनि टोलीका लागि साल्भाटोर सिलाची नयाँ आशाका रूपमा स्थापित भए ।
१९९० जुनसम्म एउटै अन्तर्राष्ट्रिय गोल आफ्नो नाममा लेखाउन नसकेका सिलाची यही विश्वकपपछि इटालियन समर्थकका लागि फुटबलको पर्यायका रूपमा स्थापित हुन सफल भए ।
प्रतियोगिताको पहिलो चरण धेरै हदसम्म रोमाञ्चक बन्दा नवप्रवेशी कोस्टारिकाले स्कटल्यान्ड र स्विडेनलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे । इङल्यान्डका पूर्वरक्षक ज्याक चाल्र्टनद्वारा प्रशिक्षित आयरल्यान्ड गणतन्त्रले विश्वकपको पहिलो सहभागितामै अन्तिम आठसम्मको यात्रा तय गरेर सनसनी मच्चायो ।
धेरै तटस्थ समर्थकको मन जित्न भने क्यामरुन सफल भयो । ३८ वर्षीय स्ट्राइकर रोजर मिल्लाको नायकत्वबाट प्रेरित टोलीले उद्घाटन खेलमै अर्जेन्टिनालाई हराएर सुरु गरेको सनसनीपूर्ण यात्रालाई क्वार्टरफाइनलसम्म पुर्यायो ।
भेट्रान फरवार्ड मिल्ला अर्धसंन्यासको स्थितिबाट फर्केर इटालीमा देशका लागि खेल्न उपलब्ध भएका थिए । रोमानियाविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर उनले दुई गोल गरेपछि क्यामरुनले दोस्रो चरणको यात्रा पक्का गरेको थियो ।
त्यसपछि जब उनले कोलम्बियाविरुद्ध गोल गर्दै कर्नर झण्डामा गएर खुसी मनाए । विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टिममा क्यामरुनले नाम लेखाउन सफल भयो । मिल्लाले गोल गरेपछि कर्नर झण्डामा गएर खुसी मनाएको क्षण विश्व फुटबलमा अझैसम्म स्मरणीय छ ।
क्वार्टरफाइनलमा टोलीले समय सकिन १० मिनेट बाँकी रहँदासम्म इङल्यान्डमाथि २-१ को अग्रता लिएको थियो, तर अन्तिम समयमा ग्यारी लिनेकरले पेनाल्टीमा दुई गोल गरेपछि क्यामरुनको सम्भावित सेमिफाइनलयात्रा असफल भयो ।
उता पाउल ग्यास्कोइनको क्षमता र प्रतिभाबाट प्रेरित इङ्ल्यान्ड भने क्यामरुनलाई हराएपछि १९६६ पछि पहिलो पटक सेमिफाइनल पुग्न सफल भयो । तर सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी जर्मनीविरुद्ध भने पेनाल्टीबाट निर्णय भएको खेलमा इङ्ल्यान्डलाई भाग्यले साथ दिएन ।
पेनाल्टीमा हारेर फाइनल पुग्न बञ्चित भएपछि ग्यास्कोइन रोएको दृश्य अहिलेसम्म पनि विश्वकपको इतिहासमा ताजा नै छ । जर्मनीका लागि भने उपाधि यात्राको बाटोमा यो सबैभन्दा कठिन परीक्षा थियो, जसलाई उसले पार लगायो ।
इन्टर मिलानका तीन स्टार कप्तान लोथर म्याथुज, योर्गान क्लिन्सम्यान र आन्द्रेज ब्रेहमेको उपस्थितिले सान सिएरोलाई जर्मनीका लागि घरेलु मैदानझैं बनाएको थियो । उनीहरूको उच्च प्रदर्शन नै जर्मनीलाई तेस्रो पटक विश्वकपको उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण सावित भएको थियो । सान सिरोमै जर्मनीले पहिलो पाँच खेल खेलेको थियो । त्यसमा युगोस्लाभियामाथि पाएको ४-१ को विजय पनि समावेश छ ।
इटालीले घरेलु मैदानमा थुप्रै कीर्तिमानका बावजुद उपाधि जित्न नसकेको प्रतियोगितामा नायक बने सिलाची । टोली सेमिफाइनलसम्म पुग्दा रोबर्टो बाजियोले उत्कृष्ट स्मरणीय गोल गरे । गोलकिपर वाल्टर जेंगाले पाँच खेलमा एउटै गोल नखाँदा ५ सय १७ मिनेटसम्म विपक्षी फरवार्डलाई निराश पार्न सफल भए ।
तर उपलब्धीको यो सूचीमा सिलाची विशेष थिए । विश्वकपअघि राष्ट्रिय टिमका लागि एक मात्र खेल खेलेका उनले यो प्रतियोगितामा ६ गोल गरेर एडिडास गोल्डेन जुत्ता तथा गोल्डेन बलको उपाधि हात पारे । दुर्भाग्य, एजेग्लियो भिसिनीको टोलीको घरेलु मैदानमा उपाधि उचाल्ने सपनामा नेपल्समा सम्पन्न सेमिफाइनलमा अर्जेन्टिनाले पूर्णविराम लगायो ।
अर्जेन्टिनाको हकमा डिएगो म्याराडोना अझै यहाँ भए पनि टोली १९८६ को झैं थिएन । त्यही सिजनमा मात्र नेपोलीलाई इटालियन च्याम्पियन बनाएका म्याराडोनाको उपस्थितिले इटालीमा अर्जेन्टिनालाई मन पराउनेको संख्या धेरै भइसकेको थियो ।
उपाधि रक्षाको लक्ष्यमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन म्याराडोनाभन्दा आक्रमणमा उनका सहयात्री क्लाउडियो क्यानेजिया र गोलकिपर सर्जियो गोएकोचियाको भूमिका बढी रह्यो । क्यानेजियाले ब्राजिलविरुद्ध उत्कृष्ट गोल गरेर टोलीको यात्रा सहज पारे भने दोस्रो खेलमा खुट्टा भाँचिएका गोलकिपर नेरी पम्पिडोलाई स्थानान्तरण गरेका गोएगोचियाको बचाउ त्यतिखेर विश्वभर चर्चाको विषय बन्यो ।
गोएगोचियाले ब्राजिलविरुद्ध मत्वपूर्ण बचाउहरू गरे भने क्वार्टरफाइनलमा युगोस्लाभियाविरुद्ध तथा सेमिफाइनलमा इटालीविरुद्ध पनि उनको प्रदर्शन अर्जेन्टिनाको सफलताको मुख्य कारण बन्यो । सेमिफाइनलमा निर्धारित समयको खेल १-१ को बराबरीमा टुगिंएपछि निर्णायक टाइब्रेकरमा उनले दुई पेनाल्टी बचाएर अर्जेन्टिनालाई फाइनलको बाटोमा डोहोर्याएका थिए ।
गोएगोचियाले फाइनलमा अगाडिको जस्तो प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । निरस फाइनलमा ब्रेहमेले ८५औं मिनेटमा पेनाल्टीमा गरेको प्रहार गोएगोचियाले बचाउन नसक्दा त्यही गोल निर्णायक बन्यो ।
फाइनलमा पराजित हुने टोलीले गोल गर्न नसकेको पहिलो विश्वकप फाइनलमा अर्जेन्टिना प्रतिबन्धका कारण प्रेरणादायी स्ट्राइकर क्यानेजियाबिना नै मैदान उत्रेको थियो । फाइनलमा अर्जेन्टिनाका गुस्ताभो डेजोलीले रातो कार्ड खाएपछि टोली धेरैबेर १० जनामा सीमित भएको थियो । विश्वकपको फाइनलमा कसैले रातो कार्ड पाएको पनि यो पहिलो खेल थियो ।
खेलको अन्ततिर अर्जेन्टिनाका पेड्रो मोन्जोनले पनि रातो कार्ड सामना गरे, तर जर्मनीको जितको कारण यतिमै सीमित थिएन । राम्रो टोलीले प्रतियोगिता जितेको थियो । पश्चिम जर्मनीलाई १६ वर्ष कप्तानका रूपमा नेतृत्व दिएपछि बेकेनबाउर प्रशिक्षकको भएर फेरि टोलीको नेतृत्वमा थिए । खेलाडीका रूपमा उपाधि जितिसकेका बेकेनबाउरले प्रशिक्षकमा पनि यो सफलता हासिल गरे ।