कतार विश्वकप २०२२

विश्वकपमा एसियाली टिमः उत्साहजनक छैन नजिता

काठमाडौं । भुगोल र जनसंख्याको दृष्टिले सबभन्दा ठूलो महादेश एसियाले फुटबल इतिहासमा दोस्रो पटक विश्वकप आयोजना गर्दैछ ।

मध्यपूर्वको सानो देश कतारमा आइतबार आयोजक र इक्वेडरबीचको खेलसँगै सुरु हुने विश्वकप एसियामा हुन लागेको दोस्रो पटक हो । यसअघि २००२ मा पूर्वी एसियाका जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्व फुटबलको सबभन्दा ठूलो मेला आयोजना गरेका थिए ।

आयोजनाका हिसावमा दोस्रो भए पनि एसियाली मुलुकले विश्वकप खेल्न थालेको चाँही धेरै अघिदेखि हो । फ्रान्समा १९३८ मा भएको तेस्रो संस्करणमा इन्डोनेसियाको सहभागितासागै विश्वकपमा एसियाको उपस्थिती सुरु भएको हो । जापानले सहभागिता नजनाएपछि इन्डोनेसियाले डच इस्ट इन्डिजको नाममा सहभागिता जनाएको थियो ।

१९५४ मा दक्षिण कोरियाले इन्डोनेसियाको पथ पछ्यायो । यसबीचमा १९५० को संस्करणमा छनोट भए पनि खाली खुट्टा खेल्न नपाउने नियमका कारण भारतले सहभागिता नजनाउने निर्णय गर्यो । फिफाले त्यसको विकल्पमा अर्को कुनै टिम एसियाबाट नबोलाउँदा विश्वयुद्धपछिको संस्करणमा एसियाली टिमको उपस्थिती रहेन ।

त्यसपछि फेरि विश्वकपमा एसियाली टिमको पुनरागमनका लागि १२ वर्ष प्रतिक्षा गर्नुपर्यो । इङ्ल्यान्ड १९६६ लाई छनोट भएर उत्तर कोरियाले विश्वकपमा एसियाली देशको अनुपस्थितीको खाड्ल पुर्यो । त्यसयता विश्वकपमा एसियाली देशको सहभागिता निरन्तर छ ।

फिफाले अंगिकार गरेको नियमअनुसार १९७८ सम्म एसियाबाट एक देशको सहभागिता रहन्थ्यो । तथापि १९७४ मा पनि एसियाको उपस्थिती रहेन । त्योबेला फिफाले एसिया र ओसियानालाई एउटा मात्र सिट उपलब्ध गराउँदा छनोटको अन्तिम खेलमा एसियाली प्रतिनिधि दक्षिण कोरिया अस्ट्रेलियासँग मात खाएको थियो ।

एसियामा फिफाका सदस्य संख्या बढेसँगै विश्वकपमा महादेशले पाउने कोटा पनि बढ्दै गयो । १९८२ बाट एसियाका दुई टिमले विश्वकप खेल्न पाउने भए भने १९९८ मा त्यो संख्या बढेर साढे तीन पुग्यो । तीन टिम सोझै महादेशीय छनोटबाट विश्वकप पुग्थे भने चौथो हुने टिमले अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपको बाटो खोज्नुपर्थ्यो ।

सन् २००२ मा आयोजकले पाउने एउटा कोटा थपिँदा त्यो संख्या बढेर साढे चार पुग्यो । तर जापान र दक्षिण कोरिया आयोजकको हैसियतमा सोझै छनोट भएका कारण प्रतिस्पर्धाका लागि भने एउटा स्थान कम भयो । २००६ मा जर्मनीमा भएको विश्वकपदेखि फिफाले एसियाको कोटा थपेर साढे चार पुर्यायो ।

तर लगत्तै (२०१०)को संस्करणदेखि ओसियानाबाट खेल्दै आएको अस्ट्रेलियाले पनि फुटबलमा एसियालाई प्रतिनिधित्व गर्ने प्रस्ताब राख्यो । जसलाई एसियाली फुटबल महासंघ (एएफसी) र फिफाले स्वीकृति दिएपछि एसियाको प्रतिस्पर्धा थप कठिन बन्यो ।

सहभागिताको दृष्टिबाट कुरा गर्दा दक्षिण कोरिया सबभन्दा सफल एसियाली मुलुक हो । टोलीले सर्वाधिक ११ पटक विश्वकप खेल्दा २००२ मा घरेलु मैदानमा सेमिफाइनलसम्मको सनसनीपूर्ण यात्रा गरेको थियो । विश्वकपको इतिहासमा अहिलेसम्म एसियाली टोलीको त्यो सबभन्दा उत्कृष्ट नतिजा हो ।

दक्षिण कोरियापछि जापानले सात पटक विश्वकपमा उपस्थिती जनाउँदा अस्ट्रेलिया, इरान र साउदी अरेबियाले समान ६ पटक विश्वकप खेलेका छन् । यसैगरी उत्तर कोरियाले दुई तथा इन्डोनेसिया, इजरायल, कुवेत, इराक, संयुक्त अरब इमिरेट्स (युएई) र चीनले एक/एक पटक विश्वकप खेलेका छन् ।

आफैले आयोजना गर्न लागेको विश्वकपमार्फत कतारले पनि विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा ‘डेब्यु’ गर्दैछ ।

२२औं संस्करणको संघारमा आइपुग्दा विश्वकपले तय गरेको ९२ वर्षको इतिहासमा १२ वटा एसियाली टोलीले समग्रमा ४४ पटक विश्वकप खेलिसकेका छन् ।  

तर, नतिजाका हिसावमा भने एसियाली टिमको उपस्थिती निक्कै टिठलाग्दो छ । एसियाली टिमले विश्वकपमा खेलेका कुल एक सय २५ मध्ये १९ खेलमा मात्र जित हासिल गरेको इतिहास छ । त्यसमध्ये २८ खेल बराबरीमा टुंगिएका छन् भने ७८ खेलमा एसियाली टोली पराजित भएका छन् ।

एसियाली टिमले विश्वकपमा कुल ९९ गोल गर्दा दुई सय ५३ गोल खाएको तथ्यांक छ । यसक्रममा दक्षिण कोरियाले सेमिफाइनल पुग्नुवाहेक एसियाले गर्व गर्नलायक नतिजा विश्वकपमा कहिल्यै आएको छैन । दोस्रो चरण प्रवेश नै एसियाली टिमको लागि उपलब्धि बन्दै आएको छ ।

उत्तर कोरियाले १९६६ मा एक पटक क्वार्टरफाइनल पुगेको छ भने जापान तीन तथा दक्षिण कोरिया दुई पटक दोस्रो चरण पुगेका छन् । साउदी अरेबिया र अस्ट्रेलियाले एक/एक पटक दोस्रो चरणसम्मको यात्रा तय गर्न सफल भएका छन् । एसियाली टिमका बाँकी सहभागिता विश्वकपको अनुभव बटुल्नमै सीमित भएका छन् ।

दक्षिण कोरियाले घरेलु मैदानको फाइदा उठाउँदै २००२ मा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । जापानले पनि पहिलो पटक त्यही संस्करणमा नकआउट चरणको टिकट काटेको थियो । विश्वकप फेरि एकपटक एसिया आएको छ । जसका कारण आयोजकको नाताले विश्वकपमा कतार सोझै छनोट हुँदा एउटा एसियाली प्रतिनिधि थपिएको छ ।

एसियामा फुटबल निक्कै लोकप्रिय छ । एसियाको अर्थतन्त्र पनि फुटबलप्रेमी छ । यहाँको फुटबल संस्कार साच्चै लोभलाग्दो छ । तर विश्व स्तरमा त्यसअनुरुपको नतिजा भने आउन सकेको छैन । एसियाबाट ६ टोली (दक्षिण कोरिया, कतार, जापान, अस्ट्रेलिया, इरान र साउदी अरेबिया) यसपाली पनि विश्वकपमा आफ्नो चुनौती प्रस्तुत गर्दैछन् । एसियाली टिमले आफ्नो महादेशमा भएको विश्वकपको फाइदा उठाउन सक्लान त ?