इतिहासमा विश्वकप

क्रायफको ‘टोटल फुटबल’ र बेकेनबाउरको ‘विनिङ फुटबल’

१९७४, जर्मनी (दसौं विश्वकप) 

जुन १३ देखि जुलाई ७ सम्म
सहभागी टोली- १६
खेलसंख्या- ३८
गोलसंख्या- ९७ (प्रतिखेल २.६ गोलऔसत)
दर्शक- १८ लाख २२ हजार ८ सय ३४ (प्रतिखेल ४७ हजार ९ सय ६९)
विजेता- पश्चिम जर्मनी
उपविजेता- नेदरल्यान्ड्स
तेस्रो- पोल्यान्ड
चौथो- ब्राजिल
गोल्डेन जुत्ता- ग्रजेगोर्ज लाटो (पोल्यान्ड)
उदीयमान युवा खेलाडी- वलाडीस्लाव जमुदा (पोल्यान्ड)

विश्वकपको यो संस्करण ‘टोटल फुटबल’ लाई स्थापित गरेका कारण सर्वाधिक चर्चित छ । योहान क्राएफ र फ्रान्ज बेकेनबाउरको जादुमय प्रतिभाले पेलेको अनुपस्थिति विर्साएको विश्वकप १९७४ मा पश्चिम जर्मनी र नेदरल्यान्ड्सले विश्वभरका दर्शकलाई फुटबलको नौलो स्वाद पस्किए ।

१९७४ जुलाई ७ मा म्युनिखमा सम्पन्न फाइनलका प्रतिस्पर्धीले परम्परागत फुटबलको स्थानमा ‘टोटल फुटबल’ को रणनीति अंगाले । त्यसमा पनि क्राएफ नेतृत्वको नेदरल्यान्ड्सले उपाधि नजिते पनि टोटल फुटबल भित्र्याउने टोलीका रूपमा आफूलाई स्थापित गर्यो । घरेलु टोली पश्चिम जर्मनी भने उत्कृष्ट पुनरागमनका साथ दाबेदार मानिएका थुप्रैलाई जिल्याउँदै दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भयो ।

निकै सनसनीपूर्ण रूपमा सुरु भएको फाइनलमा नेदरल्यान्ड्सले विपक्षी खेलाडीले बल छुन नभ्याउँदै गोल गरिसकेको थियो । फाइनलका लागि मैदान उत्रनुअघि डच टोलीले ६ खेलमा १४ गोल गर्दै एक गोल मात्र खाएर उपाधि भिडन्तका लागि स्थान पक्का गरेको थियो । त्यसैले पनि नेदरल्यान्ड्सलाई जर्मन विश्वकप १९७४ को सबैभन्दा बलियो दाबेदार मानिएको थियो ।

क्राएफले मध्यभागबाट बल एक्लै अगाडि बढाउँदा पश्चिम जर्मनीका खेलाडी सबै मुकदर्शक मात्र बन्न सके । पेनाल्टी बक्समा उली होनेसले लडाउनुअघि कसैले क्राएफलाई रोक्न सकेनन् । होनेसले क्राएफलाई लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टी पायो र योहान निस्केन्सले त्यसमा गोल गरेर डच टोलीलाई खेलमा अग्रता दिलाए । विश्वकप फाइनलको इतिहासमा कुनै पनि टिमले पाएको त्यो पहिलो पेनाल्टी थियो ।

गोल गरेपछि झन डचहरूले विपक्षीलाई बिरालाले मुसा खेलाएझै खेलाउन थाले । तर २५औं मिनेटमा पश्चिम जर्मनीले पेनाल्टीमै गोल गरेर खेल बराबरीमा ल्यायो । विम जेन्सनले ब्रेन्ड होइल्जेन्बेनलाई लडाएवापत प्राप्त पेनाल्टीलाई पश्चिम जर्मनीका लागि पाउल ब्रेइटनरले गोल गरे ।

खेलमा नेदरल्यान्डसले प्रभाव जमाउन थालेपछि पश्चिम जर्मनीका बर्टी भोग्सले सबैभन्दा खतरनाक विपक्षी क्राएफलाई नियन्त्रणमा राख्न सुरु गरे । क्राएफलाई भोग्सले खुलेर खेल्न नदिइरहेका बेला चार वर्षअगाडिका गोल्डेन जुत्ता विजेता गर्ड मुलरले मध्यान्तर हुन दुई मिनेट बाँकी छँदा गोल गरेर पश्चिम जर्मनीको पोल्टामा विश्वकपको दोस्रो उपाधि पक्का गरे । मुलरले रेइनर बोन्होफको क्रसलाई लो सर्टमार्फत गोलमा परिणत गरेका थिए ।
 
फिफाले त्यो विश्वकपमा ब्राजिली पदाधिकारी जाओ हाभेलान्जबाट अध्यक्षका रूपमा नयाँ नेतृत्व पाइसकेको थियो । हाभेलान्जले फिफा अध्यक्षको पदमा इङ्ल्यान्डका सर स्टानले रोउसलाई स्थानान्तरण गरेका थिए । नयाँ नेतृत्वसँगै फिफाले विश्वकपको संरचनामा पनि परिवर्तन ल्याएको थियो ।

अघिल्ला संस्करणहरूमा समूह चरणपछि सोझै क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल गराएर प्रतियोगितालाई नकआउट चरणमा प्रवेश गराइन्थ्यो । तर यो संस्करणमा दोस्रो चरणमा पनि टिमलाई दुई समूहमा विभाजन गरी खेलाइयो ।

यो विश्वकपमा पश्चिम जर्मनीले उपाधि जित्दासम्म अघिल्लो संस्करणमा ब्राजिलले झैं प्रभाव जमाउन भ्याइसकेको थियो । नेदरल्यान्ड्सको टोटल फुटबललाई असफल पारेर उपाधि जित्नुलाई त्यतिबेला पश्चिम जर्मनीको उत्कृष्ट रणनीतिका रूपमा लिइएको थियो ।

इङ्ल्यान्ड र रुस छनोटमा असफल भएपछि पहिलो पटक विश्वकपमा अनुपस्थित भए । बदलामा मौका पाएको नवप्रवेशी पूर्वी जर्मनीले प्रतियोगितामा सबैभन्दा ठूलो अप्रत्यासित नतिजा पस्कियो । ह्यामबर्गमा सम्पन्न खेलमा टोलीले छिमेकी पश्चिम जर्मनीलाई १-० ले स्तब्ध पारेको थियो ।

पहिलो चरणमा पूर्वी जर्मनीले निकालेको यो नतिजा उक्त विश्वकपको सबैभन्दा स्तब्ध नतिजा थियो । योर्गान स्पारवासेरले खेलको १३ मिनेट बाँकी रहँदा गरेको गोलमा आयोजकलाई निराश पारेपछि पूर्वी जर्मनी समूह विजेता बनेर दोस्रो चरण प्रवेश गर्न सफल भयो ।

अफ्रिकी महादेशबाट पहिलो पटक विश्वकपमा सहभागिताको मौका पाएको जाइरेले प्रतियोगिताको रोमाञ्चक टिमका रूपमा पहिचान बनायो भने हाइटीले इटालीसँग ३-१ को पराजय भोग्नुअघि आश्चर्यजनक रूपमा अग्रता लिएर केहीसमय सनसनी मच्चायो ।

पश्चिम जर्मनीको सुरुआत सन्तोषजनक थिएन । पहिलो चरणको कमजोर प्रदर्शनका कारण दिइएको बोनसमा खेलाडीले असहमति जनाउँदा व्यवस्थापन र टिमबीच असमझदारी प्रस्टिएको थियो । पहिलो चरणको खेलमा अस्ट्रेलियालाई ३-० ले हराउँदा तत्कालिन युरोपेली च्याम्पियन पश्चिम जर्मनीको टोलीलाई मैदानमा आफ्नै समर्थकले गिल्याएका थिए ।

पहिलो चरणमा छिमेकी पूर्वी जर्मनीसँग भोगेको हार भने उसका लागि फाइदाजनक सावित भयो । यसअघि नै दोस्रो चरण प्रवेश गरिसकेको पश्चिम जर्मनीले यो हारका कारण नेदरल्यान्ड्स, अर्जेन्टिना र ब्राजिलसँग दोस्रो चरणमा भिड्नु नपर्ने भयो ।

दोस्रो चरणमा युगोस्लाभिया र स्विडेनलाई हराइसकेको पश्चिम जर्मनीसामु अन्तिम खेलमा पोल्यान्डको चुनौती थियो । फ्रयांकफर्टको मैदानमा अत्याधिक वर्षाले खेल बिथोल्नुअघि मुलरले गरेको एउटै गोल निर्णायक बन्यो । प्रतियोगिताको आश्चर्यजनक टोलीका लागि मैदानको अर्को पोस्टमा सेप माइरका उत्कृष्ट बचाउहरूपनि त्यत्तिकै महत्वपूर्ण सावित भए ।

छनोटमा इङ्ल्यान्ड असफल भएपछि विश्वकपमा स्थान पक्का गरेको अर्को टोली पोल्यान्डले पनि प्रतियोगितामार्फत विश्व फुटबलमा नयाँ उचाईं हासिल गर्यो । मिडफिल्डमा काजिमिर्ज डेइना र आक्रमणमा ग्रजेगोर्ज लाटो र एन्डरजेग स्जार्माचको तेज १९७४ को विश्वकपमा पोल्यान्डले हासिल गरेका सफलता थिए ।

प्रतियोगितामा सात गोल गरेका लाटो गोल्डेन जुत्ताको विजेता बने । स्चार्माचले पाँच गोल गरेका थिए । यसक्रममा पोल्यान्डले अर्जेन्टिना र इटालीलाई पहिलो चरणमा पराजित गर्यो भने स्विडेन र युगोस्लाभियाभन्दा आफूलाई अब्बल साबित गरेको टोलीले साबिक विजेता ब्राजिललाई निराश पारेर तेस्रो स्थान पायो ।  

चार वर्षअगाडि मेक्सिकोमा उपाधि जितेको ब्राजिलको प्रभाव यसपाली कायम थिएन । प्रतियोगिताको एकमात्र अपराजित टिम स्कटल्यान्डलाई गोलअन्तरमा पछाडि पार्दै दोस्रो चरण प्रवेश गरेको ब्राजिलले त्यहाँ अर्जेन्टिनालाई पराजित गरे पनि नेदरल्यान्ड्ससँग पराजित भएपछि फाइनल पुग्ने सम्भावनाबाट टाढियो ।

ब्राजिलले अर्जेन्टिनालाई २-१ ले हरायो । विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वी पहिलो पटक आमनेसामने भए । अर्को खेलमा भने निस्केन्स र क्राएफले गोल गरेपछि नेदरल्यान्ड्सले ब्राजिललाई निराश पार्दै फाइनल पक्का गर्यो । नेदरल्यान्ड्सका लागि १९३८ पछि यो पहिलो विश्वकप सहभागिता थियो ।

बलियो मानिएको अर्जेन्टिनालाई समेत ४-० ले पराजित गरिसकेपछि उनीहरूलाई उपाधिको मुख्य दाबेदार मानियो । प्रशिक्षक रिनुस मिचेल्सको रणनीति र क्राएफको उच्च प्रतिभा नेदरल्यान्ड्सको आशाको मुख्य आधार थिए ।

तथापि पश्चिम जर्मनीले पनि बेकेनबाउरको दृष्टिमा पर्याप्त आशा राखेको थियो । लिबरोको भूमिकालाई नयाँ ढंगले स्थापित गर्ने क्रममा आवश्यकता पर्दा रक्षाको साथै आक्रमणमा पनि पुग्ने बेकेनबाउरको शैली र टिम सहयात्रीलाई संगठित गर्ने खुबीबाट आशा गरिएको थियो । अन्ततः नेदरल्यान्ड्सको उच्च प्रदर्शनलाई बेकेनबाउरको त्यही खुबीले मात दियो ।