नेपाल टी २० लिग

‘दागी’ बन्यो नेपाल टी-२० लिग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महत्त्वाकांक्षी योजनाको रूपमा रहेको नेपाल टी-२० लिग क्रिकेट सकिएको छ । तर क्यानमा रहेका केही पदाधिकारीको व्यक्तिगत स्वार्थका कारण नेपाली खेलजगतकै सबैभन्दा विवादित प्रतियोगिताको रूपमा नेपाल टी-२० स्थापित भयो ।

विराटनगर सुपर किंग्समाथि २४ रनको जितसहित लुम्बिनी अल स्टार्स पहिलो संस्करणको विजेता बन्यो । तर, स्पट फिक्सिङ, बेटिङ र खेलाडीको पारिश्रमिक विवादका कारण प्रतियोगिता अवधिभर कुन खेलाडीले कस्तो प्रदर्शन गर्यो र कुन टोलीको स्थिति के छ भन्ने पक्ष शून्यतामा पुग्यो ।

त्यसो त दुई पटक मिति घोषणा गरेर पनि सारेको प्रतियोगिता क्यानले पुस ८ देखि हुने बताए पनि प्रक्रियागत ढिलाइ भन्दै एक दिनपछि पुस ९ देखि मात्र सुरु गरेको थियो ।

फाइनल पुगेका लुम्बिनी र विराटनगरसहित पोखरा एभेन्जर्स, काठमाडौं नाइट्स, फारवेस्ट युनाइटेड र जनकपुर रोयल्स गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । केही फ्रेन्चाइज टोलीले मात्र सार्वजनिक कार्यक्रम गरेर टोली सार्वजनिक गरेका थिए । काठमाडौं गोर्खाजले बीचमै नाम फिर्ता लिएपछि नाइट्सले प्रवेश पाएको थियो ।

प्रतियोगितामा सहभागी हुन आएका विदेशी खेलाडीले श्रम स्वीकृति नलिएको विषय क्यानका लागि सबैभन्दा टाउको दुखाइ बन्यो । जुन कार्य प्रतियोगिताको समापनसम्म पनि सम्पन्न भइसकेको थिएन । 
                               
अनेक विवादमा पन्छिँदै जेनतेन प्रतियोगिता सञ्चालन गरिरहेको क्यान र कमर्सियल पार्टनरको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको गलत कार्यको पर्दाफास तबमात्र भयो, जब काठमाडौं र विराटनगरका खेलाडीले विना पारिश्रमिक नखेल्ने भन्दै मैदान उत्रन अस्वीकार गरे । क्यानका पदाधिकारीहरूले साँझसम्म रकम उपलब्ध गराउने सहमति गरेपछि मात्र खेलाडीहरू मैदान उत्रन सहमत भएका थिए । त्यसो त यो विवाद सार्वजनिक हुनुभन्दा अघि नै सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन आहुवालिया सम्पर्कविहीन भइसकेका थिए । जसले प्रतियोगिता आयोजनाको नियतमाथि थप शंका उब्जाएको थियो ।

काठमाडौं र विराटनगरको खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराइसकेको बताएका थिए । सोही दिन गृहमन्त्री रवि लामिछानेले समेत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई नेपाल टी-२० लिगमा भइरहेको स्पट फिक्सिङ र बेटिङका बारेमा छानबिन गर्न निर्देशन दिएका थिए ।

लुम्बिनी र पोखरा भने कम्तीमा पारिश्रमक विवादबाट अलग रहे । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले विजेता बनेपछि लिएको प्रतिक्रिया दिँदै भनेका थिए, ‘टोली व्यवस्थापन कस्तो छ भन्ने कुरा खेलाडीले मैदानमा गर्ने प्रदर्शनले नै झल्काउँछ । हामीलाई त्यस्तो कुनै समस्या भएन । कुशल व्यवस्थापनकै करण हामीले स्वाभाविक खेलमा मात्र ध्यान दियौं, मैदानबाहिर र टोली व्यवस्थापनमा के भइरहेको छ भन्ने कुराले हाम्रो प्रदर्शनलाई असर गरेन । अन्य टोलीका खेलाडीले पारिश्रमिक नपाएको कुरा सुन्दा नरमाइलो लाग्यो ।’

टोलीले पारिश्रमिक नदिएमा उनीहरूको प्रदर्शन कसरी खस्कन्छ भन्ने उदाहरण बन्यो काठमाडौं नाइट्स । काठमाडौंले समूह चरणको पछिल्ला तीन खेलमा लगातार हार बेहोरेको थियो । तीन हारमध्ये दुईमा टोलीको प्रदर्शन औसतभन्दा कम थियो । त्यसमा उनीहरूले फराकिलो अन्तरमा नतिजा सुम्पिएका थिए । काठमाडौं पोखरासँगको हारले इलिमिनेटरमा झरेको थियो । इलिमिनेटरमा उनीहरूको प्रदर्शन त्यस्तै थियो । लाग्थ्यो, उनीहरू केवल सहभागिताका लागि मात्र मैदान उत्रिएका छन् ।

प्रतियोगिता त समापन भएको छ । तर, अब नेपाली क्रिकेट के हुन्छ र कुन दिशामा जान्छ भन्ने प्रश्न खडा भएको छ । नेपाली क्रिकेटको सर्वोच्च निकायले आयोजना गरेको पहिलो फ्रेन्चाइज लिग विवादास्पद भएर सकिनु क्रिकेटको भविष्यका लागि सुखद हुन सक्दैन ।  
                            
खेलाडीलाई पारिश्रमिक नदिएको घटनाको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समिति गठन गरिसकेको छ । सिआइबीको प्रारम्भिक अनुसन्धानले खेल दौरान स्पट फिक्सिङ र बेटिङका घटना भएको देखाएको छ । आइसिसीबाट पनि दुई सदस्यीय टोली आएर प्रारम्भिक जाँचबुझ गरी फर्किसकेको छ ।

सिआइबीले तीन नेपाली र चार विदेशी खेलाडी स्पट फिक्सिङमा संलग्न भएको बताएको छ । त्यस्तै कमर्सियल पार्टनरको रूपमा रहेको सेभेन थ्री स्पोर्ट्सको भूमिका पनि शंकास्पद रहेको सिआइबीको अनुसन्धानले देखाएको छ । अनुसन्धान जारी रहेको र थप प्रमाण जुटाउने काम गरिरहेकोले छिट्टै प्रतिवेदन सार्वजनिक गरिने सिआइबीले जनाएको छ ।      

यी सबै घटनाले नेपाली क्रिकेटमा व्यावसायिकताको नयाँ आयाम ल्याउने दाबी गरिरहेको क्यान नेतृत्वको गैरजिम्मेवारीले नेपाली क्रिकेटलाई थप समस्यामा धकेलेको छ ।

प्रतियोगिता घोषणापछि क्यानले तयारीका बारेमा जानकारी दिनुपर्ने हो तर पटक पटक प्रतियोगिता सार्दै क्यानका केही उच्च पदाधिकारीहरू व्यक्तिगत स्वार्थमा रुमल्लिरहे । संघ आफैंले आयोजना गरेको प्रतियोगिता अन्य फ्रेन्चाइज लिगका तुलनामा सबैभन्दा विवादित रह्यो । समर्थकको उपस्थिति पनि उल्लेख्य रहेन ।

त्यसो त क्यानले केही वर्षअघि नै सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिताको कमर्सियल पार्टनरको रूपमा भित्र्याउने घोषणा गरेको थियो । तर सेभेन थ्री स्पोर्ट्सले आफ्नो काम अघि नबढाएको भन्दै क्यानले सम्झौता रद्द गरेको थियो ।

क्यानका एक बोर्ड सदस्य अध्यक्ष चतुरबहादुर चन्द र सचिव प्रशान्तविक्रम मल्ल व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा नेपाली क्रिकेट समस्यामा धकेलिएको दाबी गर्छन् ।

‘पहिला काम नै गरेन भनेर सम्भौता रद्द गरिएको कम्पनीसँग पुनः लामो सम्झौता गरियो,’ उनले भने, ‘यसले नै उनीहरू आर्थिक फाइदामा लाग्दै नेपाली क्रिकेटलाई समस्याको भूमरीमा हालेको हो भन्ने प्रस्ट हुन्छ  ।’

सेभेन थ्री स्पोर्ट्सलाई नै प्रतियोगितामा ८ वर्षका लागि ३३ करोड रुपैयाँमा कमर्सियल पार्टनरको रूपमा भित्राइयो । त्यो पनि देशको कानुन मिचेर विना टेण्डर । न त बहुमत बोर्ड सदस्यको सहमति नै छ । यो त केबल अध्यक्षलगायतका पदाधिकारीको व्यक्तिगत स्वार्थका लागि गरिएको कार्य थियो । के यो प्रतियोगिताले नेपाली क्रिकेटमा व्यावसायिकता भित्र्यायो त ? उल्टै नेपाली क्रिकेटमा स्पट फिक्सिङ र बेटिङको दाग लगाएर समापन भयो । अब उनीहरूको नैतिक रूपमा पदमा बसिरहने कुनै अधिकार नभएको ती सदस्यको जिकिर छ ।

सेभेन थ्री स्पोर्ट्सको संलग्नता विगतमा बेटिङलगायतका क्रियाकलापमा देखिन्छ । विना टेन्डर विदेशी कम्पनीलाई कमर्सियल पार्टनरको रूपमा भित्र्याएको भन्दै सर्वोच्च अदालतमा दायर रिट पनि विचाराधीन छ ।