इयर इन्डर्स २०२१

पाकिस्तानको सनसनी, अस्ट्रेलियालाई पहिलो उपाधि

सन् २०२१ मा विश्व क्रिकेटमा केही मुख्य प्रतियोगिता भए । त्यसमध्ये ट्वान्टी २० विश्वकप सबैभन्दा रोचक रह्यो । यसका केही कारण छन् । जस्तै साविक विजेता वेस्ट इन्डिज नकआउट चरणमै नपुग्नु । योभन्दा आश्चर्यजनक नतिजा त भारतीय टिमले दियो । प्रतियोगिताको सम्भावित विजेताको रुपमा हेरिएको भारत पनि सुपर १२ मा आफ्नो समूहको तेस्रो स्थानमा सीमित भयो ।

ट्वान्टी २० विश्वकपबाहेक अर्को महत्वपूर्ण इभेन्ट आइसिसी विश्व टेस्ट च्याम्पियनसिप थियो । अगस्ट, २०१९ बाट सुरु भएको टेस्ट च्याम्पियनसिपको फाइनल भने जुन २०२१ मा भयो । नौ टेस्ट टिमले खेलेका ६१ खेलको नतिजाका आधारमा फाइनलमा पुग्ने दुई टिमको तय भएको थियो । उपाधिका लागि न्युजिल्यान्ड र भारत प्रतिस्पर्धामा उत्रिएका थिए ।

टेस्ट च्याम्पियनसिपको उपाधि जिते पनि ट्वान्टी २० विश्वकपको फाइनलमा भने न्युजिल्यान्ड असफल भयो । उसलाई छिमेकी अस्ट्रेलियाले आठ विकेटले पराजित गर्‍यो । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको फाइनल जितेपछि अस्ट्रेलिया पहिलो पटक ट्वान्टी २० विश्वकप विजेता बन्यो ।

योसँगै अस्ट्रेलियाले विश्व क्रिकेटमा नयाँ कीर्तिमान बनायो, सबैभन्दा धेरै पटक विश्वकप जित्ने । भलै उसले पहिलो पटक ट्वान्टी २० विश्वकप जितेको हो, उसको विश्वकप ट्रफी ६ पुगेको छ । अस्ट्रेलियन टिमले पाँच पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ ।

अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसीय ढाँचाको विश्वकप जितेको थियो । तर छोटो स्वरुपको विश्वकप जित्न भने उसले २०२१ सम्म पर्खनु पर्‍यो ।

अब भने अस्ट्रेलियाली क्रिकेटले भन्न सक्छ, हामीले सबै ढाँचाको विश्वकप जितेका छौँ । अस्ट्रेलियाबाहेक वेस्ट इन्डिज, भारत, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डले पनि दुवै प्रकारका क्रिकेट विश्वकप जितेका छन् ।

खासमा यसपालिको ट्वान्टी २० विश्वकप अस्ट्रेलियाले आयोजना गर्नुपर्ने थियो । त्यो पनि सन् २०२० मै । तर कोभिड १९ महामारीका कारण आयोजक परिवर्तन भयो । भारतलाई नयाँ आयोजक तोकियो । तर भारत पनि कोभिडको मारमा परेपछि उसले मिति परिवर्तन गर्दै युएई र ओमानमा विश्वकप खेलाउने निधो गर्‍यो ।

यो विश्वकप अक्टोबर १७ बाट सुरु भयो । १६ टिम सहभागी भए । भारतसहित शीर्ष आठ टिम सिधैँ सुपर १२ मा पुगे । सुपर १२ मा बाँकी रहने चार स्थानका लागि आठ टिम प्रतिस्पर्धामा उत्रिए । त्यसमा बंगलादेश, नामिबिया, स्कटल्यान्ड र श्रीलंका सफल भए ।

सुपर १२ मा भारत र पाकिस्तान एकै समूहमा थिए । आइसिसीले आयोजना गर्ने प्रतियोगितामा बाहेक यी दुई प्रतिद्वन्द्वी टिमहरुको भेट हुँदैन । यसै कारण सुपर १२ मा हुने यी दुई टिमबीचको भिडन्त विशेष रह्हनु स्वभाविक थियो । यो खेल पाकिस्तानले जित्यो ।

यसअघि पाकिस्तानले कुनैपनि विश्वकपमा भारतमाथि विजय हासिल गर्न सकेको थिएन । अनि हारबाट भारत लजाउनु पर्ने अर्को कारण पनि थियो । त्यो के भने भारतीय टिम पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी २० भिडन्तमा १० विकेटले पराजित भएको थियो ।

भारतलाई हराएपछि उत्साहित बनेको पाकिस्तान अन्तिम चारमा पुग्यो । तर उसको यात्रा त्यहीबाट सकियो । पाकिस्तानलाई च्याम्पियन अस्ट्रेलियाले पाँच विकेटले निराश बनायो । उता अर्को सेमिफाइनलमा न्युजिल्यान्डले बलियो इङ्ल्यान्डलाई उति नै अन्तरले पराजित गर्‍यो ।

सुपर १२ मा समूह ए को समीकरण भने सपाट थिएन । किनभने तीन टिमको आठ–आठ अंक थियो । तर रन रेटमा इङ्ल्यान्ड समूह विजेता बन्यो भने अस्ट्रेलिया उप–विजेताको हैसियतले अन्तिम चारमा पुग्यो । इङ्ल्यान्ड र अस्ट्रेलियाले जस्तै पाँच खेलबाट आठ अंक जम्मा गरेको दक्षिण अफ्रिका भने नकआउटमा पुग्न सकेन ।

यो विश्वकप सुरु हुँदै गर्दा अफगानिस्तानमा राजनीतिक परिवर्तन भएको थियो । तालिबान अफगानी सत्तामा फर्किएको थियो । शासन आफ्नो हातमा लिएपछि तालिबानले महिलालाई खेलकुदमा लाग्न प्रतिबन्ध लगायो । जसकारण अफगानिस्तानको महिला क्रिकेटर, महिला फुटबलरहरुको करियर समाप्त भयो । त्यसपछि पुरुष क्रिकेट टिमको भविष्य के हुने भनेर चर्चा सुरु भयो ।

यस्तो तनावबीच अफगानिस्तानले विश्वकपमा भाग लियो । जहाँ उसले भारत र पाकिस्तान जस्ता टिमलाई बलियो चुनौती दिन सफल भयो । सुपर १२ मा दुई खेल जितेको अफगानी टिमको स्वदेश फर्कदा शीर उँचो थियो । अफगानी पुरुष क्रिकेटरहरुलाई तालिबानले खेल्न बन्देज लगाएको खबर भने अहिलेसम्म आएको छैन ।

टेस्ट च्याम्पियनसिपको फाइनल भने विश्वकपअघि खेलिएको थियो । टेस्ट च्याम्पियनसिपको अन्तिम अंक तालिकामा भारत अग्रस्थानमा थियो । उसले १७ टेस्ट खेल्दा १२ मा जित हासिल गरेको थियो । ६ शृंखलामध्ये पाँच जितेका भारतले कुल ५२० अंक जम्मा गरेको थियो । उता न्युजिल्यान्डले भने कुल ११ टेस्ट खेलेको थियो । जसमा सात टेस्टमा न्युजिल्यान्ड विजयी बनेको थियो । यसरी उसले ४२० अंक बटुल्न सफल भएको थियो ।

तेस्रो र चौथौँ स्थानमा भने क्रमश अस्ट्रेलिया र इङ्ल्यान्ड रहे । १४ टेस्ट खेलेको अस्ट्रेलियाको खातामा ३३२ अंक रह्यो । अनि अस्ट्रेलियाले भन्दा दुई श्रृंखला बढी खेलेको इङ्ल्यान्डले भने ४४२ अंक जम्मा गरेको थियो । कुल नौ टेस्ट टिममध्ये बंगलादेश पुच्छारमा रह्यो ।

इङ्ल्यान्डको साउथह्याम्पटनस्थित रोज बाउलमा भएको फाइनलमा न्युजिल्यान्ड आठ विकेटले विजयी बन्यो । पहिलो संस्करणको टेस्ट च्याम्पियनसिप जित्ने न्युजिल्यान्डले १६ लाख अमेरिकी डलर नगद पुरस्कार पायो । दोस्रो हुने भारतको पोल्टामा पर्‍यो, आठ लाख अमेरिकी डलर । व्यक्तिगत रेकर्ड हेर्ने हो भने, टेस्ट च्याम्पियनसिप दौरान सर्वाधिक रन बनाउने खेलाडी मार्नस लाबुसाने रहे । उनको नाममा १६ सय ७५ रन थियो ।

भारतका अजिंक्या रहाने पाँचौँ स्थानमा थिए । उनले ११ सय ५९ रन बनाएका थिए । विजेता न्युजिल्यान्डका ब्याटर भने शीर्ष पाँचमा परेनन् । उता सर्वाधिक विकेट लिने खेलाडी भने भारतकै रवीचन्द्रन आश्विन थिए । उनले १४ टेस्टमा ७१ विकेट लिएका थिए । यो सूचीमा न्युजिल्यान्डका टिम साउथीले ११ टेस्टमा ५६ विकेट लिएका थिए ।