काठमाडौं । कुनै पनि खेलाडीका लागि राष्ट्रिय स्तरसम्म पुग्ने बलियो आधार भनेको घरेलु प्रतियोगितामा आफूहरूले गर्ने प्रदर्शन नै हो । घरेलु र व्यावसायिक खेलका विदेशमा गरेको प्रदर्शनकै आधारमा खेलाडी छानेर जुन कुनै खेलको राष्ट्रिय टोली तयार गरिन्छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सम्पन्न पहिलो फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) पनि नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने बलियो मञ्च बनिदियो । यो यस्तो मञ्च रह्यो जहाँ नेपाली खेलाडीले विश्वस्तरीय खेलाडीसँगै खेल्ने मौका पाए । उनीहरूले मार्गदर्शनप्रेरित बाक्लो घरेलु समर्थकमाझ र्कीतिपुरस्थित त्रिवि मैदानमा आफ्नो कौशलता देखाउने अवसर प्राप्त गरे ।
समग्रमा यसपालि यु-१९ मा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले एनपिएलमा पर्याप्त समय नै पाएनन् । आकाश त्रिपाठी, हेमन्त धामी, मयन यादव, तिलक भण्डारी, नारायण जोशीजस्ता खेलाडीलाई पूर्ण रूपमा प्रयोग नै गरिएन । जति समय पाए उनीहरूले केही हदसम्म छाप छोड्न सफल भए ।
मंसिर १५ देखि पुस ६ गतेसम्म चलेको एनपिएलमा धेरै युवाले राष्ट्रिय टोलीका लागि आफ्नो सम्भावना देखाएका छन् । कोही अनुभवहीन खेलाडी पनि रहे । भोलिका दिनमा ती खेलाडी पनि राष्ट्रिय टोलीको विकल्प रहन सक्ने देखिएको छ ।
एनपिएलमा गरेको प्रदर्शनका आधारमा पछिल्लो समय राष्ट्रिय टोलीमा नअटाइएका, अटाइए पनि खेल्ने अवसर प्राप्त नगरेका, डेब्यु गर्न बाँकी खेलाडी र कमब्याक गर्न नसकिरहेका खेलाडीलाई एकै ठाउँमा राखेर हामी (खेलाडी डटकम) ले उत्कृष्ट ११ चयन गरेका छौं । यी खेलाडी यस्ता छन्:
१. विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स)
विकेटकिपर/ ब्याटर विनोद भण्डारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने घरेलु खेलाडीको दोस्रो नम्बरमा पर्छन । एनपिएलअघि ३४ वर्षीय विनोदको खुलेरै आलोचना भएको थियो । तर, उनले ती आलोचनाको जवाफ उनले मैदानमा ब्याट र ग्लोभ्सको माध्यमबाट दिएका छन् । आफ्नै प्रदेशलाई प्रतिनिधित्व गरेको सुदूरपश्चिम रोयल्सबाट उनले फाइनलसहित ९ खेल खेले । यस अवधिमा उनले १९ चौका र १० छक्कासहित कुल २३५ रन बनाए । ब्याटिङतर्फ विनोद सर्वाधिक रन बनाउने सूचीमा छैटौं स्थानमा रहे । लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका इङ्लिस खेलाडी सैफ जैब विनोदका ओपनिङ पार्टनर थिए । विनोद र जैबको आक्रामक सुरुआतमा सुदूरपश्चिमले अधिकांश खेलमा बलियो योगफल तयार बनायो । फाइनलमा विनोदले जैबसँग मिलेर पहिलो विकेटका लागि आकर्षक शतकीय साझेदारी गरेका थिए ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका विनोद पछिल्लो समय राष्ट्रिय टोलीमा इन–आउट हुँदै आएका छन् । यसको कारण हो युवा विकेटकिपर÷ब्याटर आसिफ शेखको उदय । आसिफ टोलीमा परेयता विनोदले कमै मौका पाएका छन् । अर्को कारण, पाएका अवसर पनि विनोदले सदुपयोग गर्न सकेनन् । सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्दाका महत्त्वपूर्ण सदस्य विनोदले ४० पटक यो फम्र्याटमा राष्ट्रिय टोलीको जर्सी लगाइसकेका छन् । एकदिवसीयमा १७ पटक देशको प्रतिनिधित्व गरेका विनोदले दुई वर्षयता मौका पाएका छैनन् । एनपिएलमा विनोदको त्यो प्रभावशाली ब्याटिङले उनी अझै पनि राष्ट्रिय टोलीलाई तयार रहेको सम्भावना देखाएको छ ।
२. दिनेश खरेल (पोखरा एभेन्जर्स)
न्युजिल्यान्डमा बसोबास गर्दै आएका नेपाली मूलका खेलाडी हुन् २२ वर्षे दिनेश खरेल । न्युजिल्यान्डको घरेलु क्लबबाट व्यावसायिक क्रिकेट खेल्दै आएका उनलाई यसपालि पोखरा एभेन्जर्सले ‘सी’ श्रेणीमार्फत न्यूनतम मूल्यमा अनुबन्ध गरेको थियो । अंकतालिकामा पोखरा पुछारको दोस्रो स्थानमा रह्यो । दिनेशले लिग चरणका ७ खेलबाट एक अर्धशतकसहित १६२ रन जोडे । यसमा उनको ८ छक्का र १७ चौका समावेश छ । पहिलो खेलमा चितवनविरुद्ध एक रनमा पेभेलियन फर्किएका ओपनिङ ब्याटर दिनेशले त्यसपछि ६ खेलमा दोहारो अंकमा रन बनाए ।
तेस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दा बायाँहाते ब्याटर दिनेशले ओपनिङ जोडी आन्द्रेस गौउससँग १७६ रनको साझेदारी गरेका थिए । नेपालमा दिनेशको यो दोस्रो भ्रमण हो । यसअघि उनले गण्डकी प्रदेशमा भएको नवौं बृहत राष्ट्रिय खेलकुदमा एनआरएनए टोलीको प्रतिनिधित्व गरेका थिए । एनपिएलमा प्रस्तुत गरेको प्रदर्शनसँगै दिनेशलाई राष्ट्रिय टोलीको ओपनरको विकल्पका रूपमा हेर्न थालिएको छ । यस्तो किनभने अहिले राष्ट्रिय टोलीमा बायाँहाते ब्याटर दुईजना मात्र छन् । ती हुन् कुशल मल्ल र गुलशन झा । त्यसमाथि दिनेश त्यस्ता खेलाडी हुन्, जसले पहिलो विकेटका लागि बलियो साझेदारी गर्ने क्षमता राख्छन् । राष्ट्रिय टोलीलाई लिएर दिनेश सकारात्मक नै छन् । भन्छन्, ‘नेपालबाट खेल्न मन छ । यसबारे मोन्टी (देसाइ) सरसँग पनि कुरा भइरहेको छ ।’
३. लोकेश बम (विराटनगर किङ्स)भोलिका दिनमा एनपिएल पहिलो संस्करणका गुणगान हुँदा लोकेश बमको पनि चर्चा हुनेछ । लुम्बिनी लायन्सविरुद्ध बायाँहाते आक्रामक ब्याटर लोकेशको त्यो ‘म्याच विनिङ’ इनिङ्स एनपिएलकै यादगार क्षणमध्ये एक रह्यो । लगातार दुई खेलमा पराजय बेहोरेको विराटनगर किङ्सले तेस्रो खेलमा लुम्बिनीविरुद्ध १९२ रनको लक्ष्य पछ्याएको थियो । दुई रन हुँदा पहिलो विकेट गुमाएको विराटनगरका लागि ओपनर लोकेशले ७१ रनको इनिङ्स खेल्दै पहिलो जित दिलाएका थिए । दुई तीन खेलबाहेक लोकेशको ब्याटिङ खासै चल्न सकेन । तर, उनले पनि राष्ट्रिय टोलीमा फर्कने सम्भावना देखाएका छन् । एनपिएलमा उनले लिग चरणका ७ खेलमा १३१ रन जोडे । त्यसमा ८ चौका र १० छक्का समावेश छ ।
विभागीय टोली एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका २४ वर्षे लोकेशले ११ पटक ट्वान्टी–२० अन्तर्राष्ट्रियमा देशको प्रतिनिधित्व गरेका छन् । पछिल्लो समय लोकेशले नेपाल ‘ए’ बाट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै आएका छन् । गत मार्चमा आयरल्यान्ड ‘ए’ विरुद्ध भएको ट्वान्टी–२० खेलमा लोकेशले कीर्तिपुर मैदानमा शतक प्रहार गरेका थिए । पछिल्लो समय लोकेशले हङकङ सिक्सेसमा सहभागिता जनाएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी नै छ ।
४. इशान पाण्डे (सुदूरपश्चिम रोयल्स)मध्यक्रमका ब्याटर इशान पाण्डे एनपिएलको ‘हाइलाइट’ नेपाली खेलाडीमध्ये एक रहे । टोलीलाई रनको खाँचो पर्दा इशानको ब्याटबाट रन निस्किरह्यो । सुदूरपश्चिमको यात्रामा इशानको भूमिका उल्लेखनीय थियो । उनले ९ खेलमा ७ इनिङ्स खेल्दा १२८ रन बनाए । त्यसमा १३ चौका र तीन छक्का समावेश छ । उनले ४ विकेट आफ्नो नाममा बनाए ।
बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएका २६ वर्षे बायाँहाते ब्याटर इशानले पाँच वर्षअघि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । सोही वर्ष उनले थप तीन अन्तर्राष्ट्रिय खेल खेले । त्यसयता उनी अन्तर्राष्ट्रिय क्रिकेटमा गुमनामजस्तै छन् । एनपिएलको प्रदर्शनलाई हेर्ने हो भने इशान छिट्टै राष्ट्रिय टोलीमा फर्किने बाटोमा छन् । उनी यसका हकदार हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी छ ।
५. वसिर अहमद (विराटनगर किङ्स)
बायाँहाते २१ वर्षे मध्यक्रमका ब्याटर वसिर अहमद बलिङबाट पनि योगदान दिनसक्ने खेलाडी हुन् । एनपिएलमा उनी विराटनगरका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बने । उनले ७ खेलमा एक अर्धशतकसहित १८१ रन बनाए । त्यसमा ११ चौका र सात छक्का समावेश छ । वसिरले ओपनर मार्टिन गप्टिलभन्दा ४४ रनले अगाडि रहे । उनले चितवन राइनोजविरुद्ध ६८ रनको अविजित इनिङ्स खेलेका थिए । अन्य ४ खेलमा पनि उनले दोहोरो अंकमा रन जोडे । त्यस्तै स्पिनर वसिरले ६ खेलाडीलाई पेभेलियन पठाए ।
त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेका उनी एनपिएलको प्रदर्शनलाई आधार मान्ने हो भने राष्ट्रिय टोलीमा पुनरागमन गर्न योग्य छन् । तीन पटक एकदिवसीय र दुई पटक ट्वान्टी-२० अन्तर्राष्ट्रियमा देशको प्रनिनिधित्व गरेका वसिर दुई वर्षयता राष्ट्रिय टोलीमा देखिएका छैनन् । यो समय उनलाई करिअरको टर्निङ प्वाइन्ट बन्न सक्छ ।
६. किशोर महतो (जनकपुर बोल्ट्स)
दायाँहाते तीव्र गतिका बलर किशोर महतो एनपिएलका अर्का ‘हाइलाइट्स’ नेपाली खेलाडी भए । जनकपुरलाई च्याम्पियन बनाउन २४ किशोरको एकदमै ठूलो भूमिका रह्यो । उनले जनकपुरलाई चाहेका बेला विपक्षी खेलाडीको विकेट लिएर ब्रेक थ्रु दिलाए । किशोरले १० खेलमा ८.०३ को इकोनोमीमा १४ विकेट लिए । सुदूरपश्चिमविरुद्धको फाइनलमा किशोरले ३ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिएका थिए । ओपनर सैफ जैबको विकेट लिँदै किशोरले जनकपुरलाई ब्रेक थ्रु दिलाएका थिए । सैफले विनोद भण्डारीसँग ११७ रनको शतकीय साझेदारी गरेका थिए ।
गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएका किशोरले दुई वर्षअघि स्कटल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । सन् २०२३ जुलाईमा किशोरले विश्वकप क्वलिफायरमा आयरल्यानडविरुद्ध करिअरको दोस्रो खेल खेलेका थिए । त्यसयता उनले खेल्ने मौका प्राप्त गरेका छैनन् । ट्वान्टी–२० मा त उनले डेब्यु गर्न बाँकी छ । सोमपाल कामी र करण केसीजस्ता तीव्र गतिका अनुभवी बलर टोलीमा रहँदा किशोरले बन्द प्रशिक्षणमा निरन्तर परिरहँदा पनि खेल्ने मौका पाएका छैनन् । एनपिएलमा गरेको प्रदर्शन किशोरको कमब्याकको आधार बन्नसक्ने अनुमान गर्न सकिन्छ ।
७. नन्दन यादव (कर्णाली याक्स)अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेलिरहेका नन्दनकुमार यादव नेपाली क्रिकेटमा सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने खेलाडीमध्ये एक हुन् । कर्णाली याक्समा आबद्ध बायाँहाते बलर नन्दनले ९ खेल खेल्दा ८ इनिङ्समा एक मेडनसहित ७.५३ को इकोनोमीमा ९ विकेट लिएका छन् । प्रतिभाशाली नन्दनलाई नेपाली क्रिकेटको भविष्यका रूपमा हेरिएको छ ।
८. विपिन खत्री (पोखरा एभेन्जर्स)गण्डकी प्रदेशका कप्तान विपिन खत्री दायाँहाते स्पिनर हुन् । नेपालको ‘ए’ टोलीबाट खेलिसकेका उनले अन्तर्राष्ट्रिय डेब्युको मौका प्राप्त गरेका छैनन् । यसपालि एनपिएलमा २७ वर्षे विपिन पनि चर्चामा रहेका नेपाली खेलाडी हुन् । पोखराले प्लेअफमा स्थान नबनाए पनि ओपनरद्वय दिनेश र गौउससँगै चर्चामा रहे । विपिनले ७ खेलमा ७.३८ को इकोनोमीमा एक मेडनसहित ९ विकेट लिए । काठमाडौं गुर्खाजविरुद्ध विपिनले तीन ओभरमा १९ रन खर्चिएर ३ विकेट लिएका थिए । अन्तर्राष्ट्रिय डेब्युको पर्खाइमा रहेका विपिनले चाँडै नै राष्ट्रिय टोलीमा मौका पाउने अपेक्षा गरिएको छ ।
९. विपिन शर्मा (कर्णाली याक्स)
एनपिएलले विपिन शर्माको नाममा अमूल्य हीरा भेट्टाएको छ । कर्णाली याक्सका १६ वर्षे बायाँहाते स्पिनर विपिनले तहल्का नै मच्चाए । ट्यालेन्ट हन्टबाट कर्णाली टिममा जोडिएका उनले १३ विकेटका साथ सर्वाधिक विकेटकर्ताको दौडमा शीर्ष पाँचभित्र आफूलाई अटाए । विपिनकै प्रेरणादायी प्रदर्शनमा कर्णालीले प्लेअफसम्म यात्रा गरेको हो । विपिनले मार्टिन गप्टिल, सोहेल तनवीर, बेन कटिङ, जिम्मी निसम जस्ता विश्व चर्चित खेलाडीको विकेट लिएर सनसनी मच्चाए । प्रभावशाली प्रदर्शनका कारण उनले ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ को अवार्ड जिते । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै आएका विपिन राष्ट्रिय टोलीका लागि योग्य उम्मेदवार हुन् ।
१०. नरेन साउद (सुदूरपश्चिम रोयल्स)
बायाँहाते स्पिनर नरेन साउद राम्रो प्रतिभा भएका खेलाडी हुन् । सुदूरपश्चिम प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका १८ वर्षे नरेनले तीन साताअघि सम्पन्न यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । एसिया कपबाट फर्किएलगत्तै उनले काठमाडौं गुर्खाजविरुद्ध ३.५ ओभरमा १९ खर्चिएर ५ विकेट लिएर सनसनी मच्चाए । त्यसपछि खेलेका ६ खेलमा नरेनले मात्र एक विकेट हासिल गरे । यद्यपि नरेनलाई राष्ट्रिय टोलीको सम्भावना बोकेका खेलाडीका रूपमा हेरिएको छ ।
११. दुर्गेश गुप्ता (लुम्बिनी लायन्स)
लुम्बिनी लायन्सका दुर्गेश गुप्ता यो सूचीमा सबैभन्दा कम छाप छोड्ने खेलाडी हुन् । बाँयाहाते तीव्र गतिका बलर दुर्गेशलाई एनपिएलकै फ्लपका रूपमा लिइएको छ । तर, उनलाई राष्ट्रिय टोलीको सम्भावनाका रूपमा लिन सकिन्छ । किनभने दायाँहाते ब्याटर दुर्गेश तल्लोक्रममा फिनिसिङ गर्ने क्षमता राख्छन् । बायाँहाते सिमरमा प्रतिश जिसी र रिजन ढकालले पछिल्लो समय राष्ट्रिय टोलीमा स्थान बनाइरहेका छन् । यसमा दुर्गेश अर्को विकल्प रहन सक्छ । एनपिएलमा दुर्गेश पाँचौं खेलमा घाइते भएका थिए । पहिलो खेलमा मार्टिन गप्टिलको विकेट लिएर सनसनी मच्चाएका थिए । त्यस खेलमा दुर्गेशले थप दुई विकेट पनि लिएका थिए । चितवनविरुद्धको पाँचौं खेलमा घाइते भएका दुर्गेश त्यसपछि मैदान फर्किन सकेनन् । गत फेब्रुअरीमा भएको यु–१९ एकदिवसीय विश्वकपमा दुर्गेशले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यतिबेला आइसिसीले दुर्गेशलाई ‘प्लेयर टु वाच’ भनेर राखेका थिए । लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका दुर्गेशले भारतविरुद्ध अविजित २९ रन जोडेका थिए । उनी ११औं ब्याटरका रूपमा क्रिजमा आएका थिए । थप निखारिने हो भने दुर्गेश राष्ट्रिय टोलीका नयाँ नाम हुनसक्ने क्षमताका खेलाडीमा पर्छन् ।
काठमाडौंका दीपेश कँडेल माथिको सूचीमा अटाउन सक्ने अर्का अनुहार हुन् । उनले ६ खेलमा ७ विकेट लिए । काठमाडौंलाई चाहिने बेला बायाँहाते स्पिनर दीपेशले विकेट दिलाए । समग्रमा यसपालि यु-१९ मा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले एनपिएलमा पर्याप्त समय नै पाएनन् । आकाश त्रिपाठी, हेमन्त धामी, मयन यादव, तिलक भण्डारी, नारायण जोशीजस्ता खेलाडीलाई पूर्ण रूपमा प्रयोग नै गरिएन । जति समय पाए उनीहरूले केही हदसम्म छाप छोड्न सफल भए । चाहे त्यो ब्याटिङ, बलिङ वा फिल्डिङमै किन नहोस् । उता राष्ट्रिय टोलीको पनि अनुभव बटुलिसकेका ओपनिङ ब्याटर देव खनाल र अलराउन्डर गुलशन झाले अपेक्षाअनुरुप प्रदर्शन नै गर्न सकेनन् । जेहोस् समग्रमा एनपिएलले नेपाली क्रिकेटमा व्यावसायिकता निम्त्याउने काममात्र गरेन, युवा प्रतिभा चिन्ने काम पनि गरेको छ । एनपिएलको यो प्रदर्शन पछि राष्ट्रिय टोली थप मजबुत हुने अपेक्षा गर्न सकिन्छ ।