काठमाडौं । पछिल्लो तीन दशक जतिको समयमा नेपाली खेलकुदमा कुन खास खेल हाबी रह्यो त ? को कस्ता खेलाडी चम्के त ? यसको एकमुष्ट उत्तर खोज्ने हो भने अन्यत्र कतै जानुपदैन, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको इतिहास पल्टाए हुन्छ । वर्ष खेलाडी पुरस्कारको रूपमा ०५३ मा सुरु भएको यो अवार्ड वर्ष ०८१ आइपुग्दा २१ औं संस्करणको आयोजना भएको छ । यो अवार्डमा त्यही खेल र खेलाडीको वर्चस्व रहने हो, जसले खास एक वर्ष राम्रो गरेको हुने गर्छ ।
यस्तोमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेको सूची बनाउने हो भने धेरै कुरा हाम्रोसामु आउँछ । अनि भनिरहनुपर्ने छैन, यसले एक खाले रोमाञ्च र सनसनी दिन्छ । आखिरमा खेलकुदमा तथ्यांकका कथा यति धेरै बेजोड हुने गर्छन् ।
तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चारपल्ट अवार्ड जितेका छन् ।
अहिलेसम्म २१ संस्करणमध्ये वर्ष २०७७ विशेष रह्यो, किनभने त्यतिबेला दशकको उत्कृष्ट अवार्ड दिइएको थियो । त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि छ ।
तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चारपल्ट अवार्ड जितेका छन् । उनले सबैभन्दा पहिले २०६६ मा जिते । २०६९ र २०७० मा लगातार फेरि जिते । उनले २०७४ मा अन्तिम पटक यो अवार्ड जिते । त्यसैले त उनलाई २०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिँदा यो जत्तिको न्यायोचित अरू केही देखिएन अनि पारस पछिल्लो केही वर्ष नेपाली खेलकुदमा कति हाबी रहे, त्यो पनि प्रस्ट हुन्छ ।
उनकै खेल हेरेर, उनीबाट असाध्यै प्रभावित भएर क्रिकेट अपनाउनेमा पर्छन्, रोहितकुमार पौडेल । सम्भवतः पारसपछि नेपाली क्रिकेटमा सबैभन्दा निर्णायक प्रभाव भएका खेलाडी । पारसको नेतृत्वमा नेपाल पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट भएको थियो ।
त्यसपछि यस्तै उपलब्धि दोहोर्याउने काम गरे, रोहित । अझ ढलमल ढलमल भएको नेपाली क्रिकेटलाई मैदानबाट कोही कसैले माथि उकासेको थियो भने त्यो रोहित थिए, त्यसैले उनी वर्ष ०८० का उत्कृष्ट क्रिकेटर भए ।
खेलको आधारभन्दा फुटबललाई क्रिकेटले उछिनेको छ । क्रिकेटले छपल्ट । फुटबलले पाँचपल्ट ।
पारसपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुई-दुईपल्ट वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । त्यसमध्ये दीपक त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । एक-एक पल्ट यो अवार्ड जित्नेमा फुटबलका देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरणकुमार लिम्बू र अञ्जन विष्ट छन् । क्रिकेटबाटै यो अवार्ड जित्ने अर्का एक खेलाडी विनोद दास थिए । राजेन्द्रपछि एथलेटिक्सबाट धेरै समयको अन्तरमा दीपक अधिकारीले यो विधाको विजेता रहे ।
त्यसबाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एक-एकपल्ट यो अवार्ड हात पारे । खेलको आधारभन्दा फुटबललाई क्रिकेटले उछिनेको छ । क्रिकेटले छपल्ट । फुटबलले पाँचपल्ट ।
फरक कति मात्रै रह्यो भने क्रिकेटमा पारस एक्लैले चारपल्ट जिते । फुटबलमा भने पाँच फरक खेलाडीले जिते । त्यो अर्थमा फुटबललमा फरक-फरक खेलाडी फरक समयमा चम्किए ।
एथलेटिक्सले तीन र तेक्वान्दोले दुई-दुई अवसरमा यो अवार्ड आफ्नो नाममा लेखाए । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले समान एकपल्ट यो अवार्ड जित्न सक्यो । यस्तोमा यो अवार्ड जित्ने आठ खेल रहे । यो सबै तथ्यांकको सार खिच्दा केही प्रश्न पनि स्वाभाविक रूपमा मनमा आउन सक्छ ।
जस्तो एउटा महत्त्वपूर्ण प्रश्न, तेक्वान्दोले दीपकपछि उनी जत्तिको खेलाडी किन जन्माउन सकेन ? करातेमा मन्डेकाजीमात्रै किन एक्लै ? अनि फुटबल र क्रिकेट नै सबैभन्दा लोकप्रिय दुई खेल हुन् त ?