काठमाडौं । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१७ मा दरखसवा गाउँ छ । मणिग्रामबाट ७ किलोमिटरभित्र पर्ने यादव समुदायको बाहुल्य रहेको यो गाउँ झट्ट हेर्दा देहातको औसत बस्ती देखिन्छ । तर, पछिल्लो एक वर्षमा यो गाउँको पहिचान फेरिएको छ । आधुनिक विकास र समृद्धिको आधारभूत पहुँचबाट अछुतो यो बस्तीले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थलको रूपमा काँचुली फेर्दै छ ।
मुलुकमा क्रिकेट खेलाडी उत्पादनको पकेट क्षेत्र भनेर चिनिएको रूपन्देहीले अब राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेट म्याचहरू आयोजना गर्ने सामथ्र्य थपेको छ, तिलाेत्तमा एक्स्ट्राटेक ओभलको रूपमा ।
राजनीतिमा हुन्थ्यो भने यो क्रमभंगता हुने थियो । व्यापार व्यवसायको आँखामा यो नवीनतम ‘स्टार्टअप’ अनि पर्यटनको भाषामा यो नयाँ गन्तव्य हुन सक्थ्यो । तर, यो त खेल क्षेत्रमा थियो, त्यसैले एउटा इमानदार प्रयास मात्रै भनौं । ४० करोडभन्दा बढी व्यक्तिगत लगानीमा क्रिकेट रंगशाला बनाउन विनोद कुँवर र सदीक्षा गौतम दम्पतीले देखेको एउटा सपना, जो पूरा हुने बाटोमा निकै अघि बढिसक्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने क्रममा पहिलो खुड्किलो पार भएको छ । अर्थात एक्स्ट्राटेक ओभलमा खेल मैदान बनाउने काम पूरा भएको छ । यही मैदानको उद्घाटनको लागि तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । यसैका लागि नेपालमा उपलब्ध भएसम्मका सबै पूर्वराष्ट्रिय क्रिकेटहरू पुगे ।
खेलकुदको पुरानो ढर्रा र ढिलासुस्तीमाथिको क्रमभंगता, खेलकुदलाई उद्योग बनाउने एउटा स्टार्टअप अनि खेल पर्यटनको नयाँ गन्तव्यको माध्यमसँगै एक्स्ट्राटेक ओभल रूपन्देहीलाई अन्तर्राष्ट्रिय क्रिकेटको हब बनाउने मार्गमा लागेको छ ।
फागुन २८ गते सोमबार दरखसवा गाउँमा बेग्लै रौनक थियो । कालोपत्रे सडक नभए पनि मणिग्रामका अलग अलग तीन ठाउँबाट कच्ची सडकले छिचोलेको एक्स्ट्राटेक ओभलमा नेपालका ख्यातिप्राप्त क्रिकेटरको अभूतपूर्व जमघट रह्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने क्रममा पहिलो खुड्किलो पार भएको छ । अर्थात एक्स्ट्राटेक ओभलमा खेल मैदान बनाउने काम पूरा भएको छ । यही मैदानको उद्घाटनको लागि तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । यसैका लागि नेपालमा उपलब्ध भएसम्मका सबै पूर्वराष्ट्रिय क्रिकेटहरू पुगे ।
तिलोत्तमा एक्स्ट्राटेक लेजेन्ड्स’ कपमा चार टोलीबीच १० ओभरको प्रतिस्पर्धा गराइएको थियो । सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका क्रिकेटरको टोली थियो, ‘१९९६ लेजेन्ड्स’ । एलबी क्षेत्रीको कप्तानीमा रहेको यो टोलीमा सन् १९९६ मा मलेसियामा एसिसी कप खेलेको नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्य उत्तम कर्माचार्य (विदेशमा रहेका) र गणेश शाही (दिवंगत) बाहेक अरू सबै उपस्थित थिए ।
अर्को टोली थियो ‘२०१४ विश्वकप लेजेन्ड्स’ । क्रिकेट संघका हालका सचिव पारस खड्काको कप्तानीमा रहेको यो टोलीमा सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी ट्वान्टी–२० विश्वकप खेलेका खेलाडीको उपस्थिति थियो ।
राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको कप्तानीमा रहेको ‘रेस्ट अफ नेपाल’ टोलीमा १९९६ र २०१४ का टोलीमा नरहेका तर लामो समय नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हस्तीहरू थिए ।
चौथो टोली थियो, रूपन्देही लेजेन्ड्स । रूपन्देही जिल्लाबाट नेपाली क्रिकेटमा योगदान गरेका खेलाडीहरूलाई यो टोलीमा समावेश गरिएको थियो । चार टोलीबीच नकआउटका आधारमा १० ओभरको खेल गराउँदा पारस खड्का र विनोद दासको टोली फाइनलमा पुगेका थिए । फाइनलमा विनोद दासको टिमलाई १७ रनले हराउँदै पारसको टिमले उपाधि जित्यो ।
नेपालमा खेलकुद पूर्वाधार विकासको गति असाध्यै सुस्त छ । राष्ट्रिय खेलकुद परिषद्ले धनगढी, नेपालगन्ज, इटहरी, हेटौंडाको गौरीटारलगायतका ठाउँमा बढो तामझाम र होहल्लाका साथ सुरु गरेका रंगशाला तथा खेल कम्प्लेक्स निर्माणका काम लक्षित समयमा आधा पनि पूरा भएका छैनन् ।
रंगशाला उद्घाटनको अवसरमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने महिला क्रिकेट टोलीका सदस्यहरूलाई पनि सम्मान गरियो । सन् २००७ मा मलेसियामा भएको एसिसी वुमन्स ट्रफीमा सहभागी खेलाडी ममता थापा, नीतु थापा, नीरा राजोपाध्याय र सीता रानामगर सम्मानित मात्रै भएका थिएनन्, उनीहरू लेजेन्ड्स कपका चार टोलीमा बाँडिएर मैदान पनि उत्रिएका थिए ।
लेजेन्ड्स कप त एउटा बहानामात्रै थियो । यो प्रतियोगिताले जित, हार र उपाधिभन्दा पनि नेपाली क्रिकेटलाई दीर्घकालीन महत्त्व दिएको छ । पूर्व राष्ट्रिय क्रिकेटरहरूलाई न्याय र सम्मान मात्रै दिएको छैन, रूपन्देहीमा सुविधासम्पन्न क्रिकेट रंगशालाको अठोट दिएको छ ।
चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको बहुचर्चित रंगशाला निर्माण अभियान बेवारिसे बनिरहेको, दुई दशकअघि काठमाडौंको मूलपानीमा सरकारी लगानीमै थालिएको क्रिकेट रंगशाला निर्माणको काम अहिलेसम्म पूरा नभएको र कैलालीको धनगढीमा थालिएको फाप्ला रंगशाला अलपत्र परेको त केही चर्चित उदाहरणमात्रै हुन् ।
नेपालमा खेलकुद पूर्वाधार विकासको गति असाध्यै सुस्त छ । राष्ट्रिय खेलकुद परिषद्ले धनगढी, नेपालगन्ज, इटहरी, हेटौंडाको गौरीटारलगायतका ठाउँमा बढो तामझाम र होहल्लाका साथ सुरु गरेका रंगशाला तथा खेल कम्प्लेक्स निर्माणका काम लक्षित समयमा आधा पनि पूरा भएका छैनन् ।
यस्तो परिवेशमा अस्ट्रेलियामा व्यवसाय गरिरहेका गुल्मीका विनोद कुँवरले रूपन्देहीमा निजी लगानीमा ४० करोड खर्चेर रंगशाला बनाउँछु भन्दा विश्वास गर्ने बलियो आधार पनि थिएन । तर, उनले ‘आँटे के हुँदैन’ भन्ने उक्ति प्रमाणित गरिदिएका छन् । कुँवरको गुरुयोजनाअनुसार एक्स्ट्राटेक ओभलमा अझै धेरै काम गर्न बाँकी छ । तर, बिहानीले सिंगो दिनको छनक दिन्छ भनेझैं ९ महिनामा यो आयोजनामा जति काम भएको छ, त्यसले भने खेलजतमा नयाँ ऊर्जा थपेको छ ।
१० करोड खर्च गरेर किनेको ६ बिघा जमिनमा अहिले झन्डै ७ करोड लगानीमा मैदान तयार भएको छ । १८ करोड लगानीमा रंगशालामा प्यारापिट निर्माणको काम थालिएको छ । छिट्टै यहाँ फ्लडलाइट जडान गरिनेछ । चर्को गर्मी हुने रूपन्देहीमा बेलुकीको शितलमा क्रिकेट खेल्ने क्षमता यसले दिनेछ ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट एकेडेमी र होस्टेल निर्माणको काम पनि थालिएको छ । सबै निर्माण पूरा भएपछि एक्स्ट्राटेक ओभल साँच्चै नेपाली क्रिकेटमा केही ‘एक्स्ट्रा’ बन्नेछ । नजिकै भैरहवामा रहेको सिद्धार्थ रंगशाला निर्माणको काम बजेट अभावले कछुवाको चालमा अघि बढ्दा एक्स्ट्राटेक ओभलको एक्स्ट्रा गतिले रूपन्देहीलाई गतिलो विकल्प दिएको छ ।
सिद्धार्थ रंगशालालाई पनि समय अनुकूल पुनर्निर्माण गर्न सके रूपन्देहीमै दुईटा अन्तर्राष्ट्रिय क्रिकेट भेन्यू उपलब्ध हुनसक्छ । जसले यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराउन झनै सहयोग पुग्नेछ ।
नेपाली क्रिकेटका स्टारमध्ये एक शक्ति गौचन अहिले एक्स्ट्राटेक ओभलको ब्रान्ड एम्बासडर छन् । नेपाली क्रिकेटमा रूपन्देहीका खेलाडी शक्तिसँगै पूर्व राष्ट्रिय कप्तान राजु खड्का, वसन्त रेग्मी हुँदै अमृत भण्डारी, सुसन भारी, कुशल मल्ल, देव खनाल, इन्दु बर्मालगायतको योगदान तारिफयोग्य छ ।
बन्दै गरेको एक्स्ट्राटेक ओभलको निर्माण सकिएर एकेडेमीले खेलाडी उत्पादन गर्न थालेपछि पश्चिम तराईको यो समतल भूमिले नेपाली क्रिकेटमा प्रतिभाको नयाँ मूल फुटाउने निश्चित छ । एक्स्ट्राटेक ओभलका परिकल्पनाकार एवं लगानीकर्ता विनोद कुँवरकै भाषामा भन्ने हो भने पनि उनले आफ्नो सपना यर्थाथमा बदल्न खरो परीक्षा दिइरहेका छन् । अब मूल्यांकन गर्ने पालो समग्र क्रिकेटप्रेमीको ।