बेन स्टोक्स

सय टेस्टका सारथि स्टोक्सको लोभलाग्दो शैली

काठमाडौं । अहिले भारत र इङ्ल्यान्डबीच राजकोटमा तेस्रो टेस्ट क्रिकेट चलिरहेको छ । यो पाहुना टोलीका कप्तान बेन स्टोक्सका लागि विशेष रहेको छ । नहोस् किन ? उनको यो सयौं टेस्ट हो । विश्व क्रिकेटमा सय टेस्ट खेल्नु असाध्यै विशेष मानिन्छ, त्यस अर्थमा स्टोक्स भाग्यमानी पनि रहे । अहिलेसम्म जम्मा जम्मी ७६ जनाले मात्रै सय टेस्ट खेलेका छन् र यसमा एक उनी आफैं एक रहे । अहिले पनि सक्रिय इङ्लिस खेलाडीमध्ये जेम्स एन्डरसन र जो रुटले मात्र सय टेस्ट खेलेका छन् ।

सन् २०१३ मा स्टोक्सले टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । त्यसयता उनले आफूलाई विश्व क्रिकेटका एक अब्बल दर्जाका खेलाडी साबित गरेका छन् । अझ ठ्याक्कै भन्दा उनी निकै उम्दा अलराउन्डर हुन् ।

त्यो भनेको उनी जति सटिक ढंगले ब्याटिङ गर्न सक्छन् । उत्तिकै मीठो ढंगले बलिङ गर्न सक्छन् । त्यो भन्दा पनि ठूलो टेस्ट क्रिकेट अहिले जसरी चलिरहेको छ, त्यसका लागि चाहिने भनेकै उनी जस्ता खेलाडी हुन्, त्यस्तै कप्तान छन् ।

टेस्ट क्रिकेट यो खेलको सबैभन्दा पुरानो स्वरुप हो । यो नै वास्तविक क्रिकेट हो भनिन्छ । धेरै पछि मात्र एकदिवसीय क्रिकेट आएको हो । ट्वान्टी–२० क्रिकेट आएको त झन हिजो जस्तै हो । यिनै दुई नयाँ स्वरूप अगाडि टेस्ट क्रिकेटले आफ्नो वास्तविक लोकप्रियता गुमाएको मानिन्छ । अझ पछिल्लो समय ट्वान्टी–२० क्रिकेटको जगजगी अगाडि टेस्टमात्र होइन, एकदिवसीय क्रिकेट पनि ओझेलमा पर्न थालेको छ ।

यसको एउटा प्रमुख कारण टेस्ट क्रिकेट लगातार पाँच दिन खेलिनु र यो अलिकति सुस्त हुनु नै हो । टेस्ट क्रिकेटमा कहिलेकाहीं बराबरी नतिजा पनि आउने गर्छ, जसले सबैलाई निरास पार्ने नै गर्छ ।

जतिबेला स्टोक्स खेलिरहेका हुन्छन्, लाग्छ यो टेस्ट होइन, यो त ट्वान्टी २० जत्तिकै आक्रामक देखिन्छ । अझ कप्तान भएयता त इङ्ल्यान्डले खेल्ने भनेकै आक्रामक क्रिकेट हो । जसको मूल उद्देश्य भनेकै टेस्ट क्रिकेटमा स्पष्ट नतिजा आओस् भन्ने हो ।

सन् २०२२ मा उनले इङ्लिस टिमको कप्तानीको अवसर पाए । प्रशिक्षकको भूमिकामा आएका थिए, ब्रेन्डन म्याककलम । यी दुई के इङ्लिस क्रिकेटस“ग जोडिए, इङल्यान्डले खेल्ने क्रिकेट भनेकै आक्रामक हो । उनीहरूको रणनीतिअन्तर्गत क्रिकेट विस्तारै, सुस्त र संयमित भएर खेल्नुपर्छ भन्ने छैन । त्यसलाई ‘बज बल’ पनि भनिन्छ । यो रणनीतिका कारण टेस्ट क्रिकेट फेरि एकपल्ट उत्तिकै लोकप्रिय रहेको साबित हुन थालेको छ । यसको धेरैभन्दा धेरै श्रेय यिनै स्टोक्सलाई जान्छ ।

त्यस अर्थमा स्टोक्सले आफ्नो सय टेस्ट खेल्दा सबैको ध्यान त्यसतर्फ जानु स्वाभाविक छ । उनी आफैं यो सय टेस्टलाई अति धेरै महत्व दिन चाहँदैनन् । उनकै भाषामा मूल कुरा भनेको टेस्ट क्रिकेट नै रहोस, कोही कसैको व्यक्तिगत प्रदर्शन मूल विषय नहोस् ।

हो, उनी एकथोक भने चाहन्छन् । यो हो टेस्ट क्रिकेट अब पुरानो ढंगले चल्दैन । अब त यो पाँच दिनको खेल पनि उत्तिकै आक्रामक भएर खेल्नुपर्छ, जसले गर्दा यसको लोकप्रियता र महत्व दुवै कायम रहोस् ।