आइपीएल

यस्ता रहे आइपिएलका यादगार क्षणहरू

काठमाडौं । चेन्नई सुपर किंग्सलाई च्याम्पियन बनाउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को १६औं संस्करण सकिएको छ । आइतबार साँझतय भएको फाइनल वर्षाका कारण सोमबार राति सकिएको थियो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा साबिक विजेता गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई पाँचौं पटक च्याम्पियन बन्यो । सोमबार पनि फाइनलका क्रममा वर्षा भएपछि डकवर्थ लुइस पद्धतिका आधारमा चेन्नईले नयाँ लक्ष्य पाएको थियो ।

६० दिनसम्म चलेको प्रतियोगितामा कुल ७४ खेल भए । यसबीच धेरै यादगार क्षण सामुन्ने आए ।

दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेलमा ऋषभ पन्तलाई सम्मान दिन डगआउटमा जर्सी झुन्ड्याएको थियो । रिंकु सिंहको तगातार पाँच छक्का, विराट कोहली र गौतम गम्भीरबीचको बहस, सुनील गावस्करको सर्टमा महेन्द्रसिंह धोनीको अटोग्राफ, शुभमन गिलको उत्कृष्ट प्रदर्शन जस्ता क्षणलाई क्रिकेट समर्थकले लामो समयसम्म सम्झिरहने छन् ।

यहाँ आइपिएलका यस्तै केही यादगर क्षणका बारेमा चर्चा गरिएको छ:

दिल्लीको पेभेलियनमा पन्तको जर्सी

अप्रिल १ मा दिल्ली क्यापिटल्सले एकना स्टेडियममा घरेलु टोली लखनउ सुपर जायन्ट्सविरुद्ध आफ्नो पहिलो खेल खेलेको थियो । यसक्रममा पूर्वकप्तान ऋषभ पन्तको सम्मानमा फ्रेन्चाइजीले उनको जर्सी आफ्नो पेभेलियनमा झुन्ड्याएको थियो ।

दिल्ली क्यापिटल्सका पूर्वकप्तान ऋषभ पन्त गत वर्ष कार दुर्घटनामा घाइते भएका थिए, जसका कारण उनी लामो समय मैदानबाहिर रहेका छन् । उनको स्थानमा दिल्लीले डेभिड वार्नरलाई कप्तान बनाएको छ । उनको समर्थनमा फ्यानहरू ब्यानर, प्लेकार्ड लिएर लखनउको स्टेडियममा पुगेका थिए । प्लेकार्डमा ‘मिस यू पन्त’ जस्ता सन्देश लेखिएको थियो ।

सचिन–धोनी फेरि वाङ्खडेमा एकसाथ

मुम्बई र चेन्नईबीचको सिजनको पहिलो खेल अप्रिल ८ मा वाङ्खडे स्टेडियममा भएको थियो । यही मैदानमा भारतले धोनीको कप्तानीमा सन्  २०११ को एकदिवसीय विश्वकपको फाइनल जितेको थियो । उक्त टोलीमा सचिन तेन्दुलकर पनि थिए ।

खेलअघि सचिन तेन्दुलकर र धोनी एक पटक फेरि वाङ्खडे मैदानमा सँगै देखिए । धोनी चेन्नई कप्तान र सचिन मुम्बई इन्डियन्स टोलीका मेन्टर थिए ।

रशिदको पहिलो ह्याट्रिक विकेट

गुजरातका शीर्ष स्पिनर रशिद खानले अप्रिल ९ मा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा आफ्नो आइपिएल करियरमा पहिलो ह्याट्रिक विकेट लिएका थिए । 

खानले दोस्रो इनिङ्समा १७ औं ओभरको पहिलो ३ बलमा ह्याट्रिक विकेट लिए । उनले ओभरको पहिलो बलमा आन्द्रे रसेल, दोस्रो बलमा सुनिल नारनलाई क्याचआउट तथा तेस्रो बलमा शार्दूल ठाकुरलाई एलबीडब्लु गराउँदै ह्याट्रिक विकेट पूरा गरे । यो रशिदको आईपीएलमा पहिलो र ट्वान्टी-२० क्रिकेटमा चौथो ह्याट्रिक विकेट हो ।

रिंकुको अन्तिम ५ बलमा ५ छक्का

अप्रिल ९ मा भएको खेलमा गुजरातका राशिद खानले ह्याट्रिक विकेट पूरा गरे पनि कोलकाताका रिंकु सिंहको प्रदर्शनसामु त्यो फिक्का साबित बन्यो ।

कोलकातालाई जितका लागि अन्तिम ओभरमा २९ रन आवश्यक थियो । अन्तिम ओभर बलिङ गर्न आएका थिए सैयस दयाल । पहिलो बलमा उमेश यादवले एक विकेट लिएपछि कोलाकातालाई अन्तिम ५ बलमा २८ रन आवश्यक थियो । रिंकु सिंह १६ बलमा १८ रन बनाएर खेल्दै थिए । रिंकुले ओभरको बाँकी ५ बलमा लङअफ, स्क्वायर लेग, लङअन र फ्रन्टमा छक्का प्रहार गर्दै टोलीलाई तीन विकेटको सनसनीपूर्ण जित दिलाए ।

यस खेलसँगै रिंकुको चर्चा निकै चुलिएको थियो । कोलकाताले प्लेअफमा स्थान बनाउन नसके पनि रिंकुले टोलीका लागि सर्वाधिक ४ सय ७४ रन बनाएका छन् ।

धोनीको कप्तानीमा चेन्नईको २०० खेल

अप्रिल १२ मा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्ससँग खेलेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नईको आइपिएलमा यो दुई सय खेल थियो । खेलअगाडि चेन्नईका मालिकहरूले धोनीलाई एक मोमेन्टो उपहार दिएर खेललाई यादगार बनाएका थिए । उक्त खेल चेन्नईले ३ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

कोहली–गांगुलीले हात मिलाएनन्

अप्रिल १५ मा रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबीच भएको थियो । खेल सकिएपछि दुवै टोलीका खेलाडीले लाइन बनाएर हात मिलाउन थाले । तर, दिल्ली क्यापिटल्सका प्रशिक्षक सौरभ गांगुली र बेंग्लोरका पूर्वकप्तान विराट कोहलीले एकअर्काबीच हात मिलाएनन् ।

अर्शदीपले १० लाख बराबरको दुई स्टम्प तोडे

अप्रिल २२ मा पन्जाब किंग्स र मुम्बई इन्डियन्सबीच भएको खेलमा पन्बाबका बलर अर्शदीपले १० लाख रुपैयाँ बराबरका दुई स्टम्प तोडेका थिए । खेलको अन्तिम ओभरको तेस्रो बलमा अर्शदीपले फुलर लेन्थ योर्कर प्रहार गर्दा तिलक बर्मा बोल्ड भए ।

अर्शदीपले चौथो बलमा नेहल बडेरालाई बोल्ड गराए । दुवै पटक मिडल स्टम्प भाँचिएको थियो । आजभोति आइपिएलमा एलइडी स्टम्प प्रयोग गरिन्छ । एक स्टम्पको लागत करिब १० लाख भारतीय रुपैयाँ पर्छ । अर्शदीपले लगातार दुई बलमा स्टम्प तोडेपछि आइपिएलमा २० लाख रुपैयाँ घाटा लागेको थियो ।

१,४६३ दिनपछि आइपिएल खेल रद्द 

मे ३ मा लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीचको खेल थियो । लखनउमा खेल सुरु हुनुअघि नै पानी परिरहेको थियो तर दिउँसो ३ः३० बजे पानी परेपछि खेल सुरु भएको थियो । लखनउले १९.२ ओभरमा ब्याटिङ गर्दै ७ विकेट गुमाई १२५ रन बनाएको थियो । तर, त्यसपछि भारी वर्षा सुरु भयो । वर्षाका कारण खेल सुचारु हुन नसकेपछि रद्द भयो ।

चार वर्ष अर्थात १ हजार ४ सय ६३ दिनपछि आइपिएलको कुनै पनि खेल वर्षाका कारण रद्द भएको हो । यसअघि ३० अप्रिल २०१९ मा बेंग्लुरुमा रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

कोहली र गम्भीरको विवाद

यस सिजनमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच नयाँ प्रतिस्पर्धा देखियो ।  बेंग्लोरका पूर्वकप्तान विराट कोहली र लखनउका अफगान बलर नवीन उल हकबीच मे १ मा भएको खेलको दोस्रो इनिङ्समा विवाद भएको थियो । त्यतिबेला नवीनले ब्याटिङ गरिरहेका थिए । खेलपछि विराट कोहली र गौतम गम्भीरबीच चर्को विवाद भएको थियो ।

सन्दीप शर्माको अन्तिम बल नो–बल 

अप्रिल २० मा हैदराबाद र राजस्थानबीच खेल भएको थियो । हैदराबादलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । अब्दुल समद र मार्को जान्सनले ५ बलमा १२ रन बनाएपछि अन्तिम बलमा ५ रन आवश्यक भयो । अब्दुल लङअफमा क्याचआउट भए ।

राजस्थानले जितको उत्सव मनाउन थालिसकेको थियो, तर तेस्रो अम्पायरले नो–बलको सङ्केत दिए । नो–बलमा अब्दुल समद र मार्को जान्सनले कुनै रन नै लिएनन् । यस्तो अवस्थामा टोलीलाई अन्तिम बलमा ४ रन चाहिएको थियो, जुन फ्री हिट थियो । सन्दीपले योर्कर बल गरे तर पिचभित्र उभिएका समदले छक्का प्रहार गरे । हैदराबादले रोमाञ्चक खेल ४ विकेटले जितेको थियो ।

लखनउको डगआउटमा नट र बोल्टहरू फ्याँकिए

लखनउ सुपर जाइन्ट्स र सनराइजर्स हैदराबादबीच मे १३ मा खेल भएको थियो । पहिलो इनिङ्समा हैदराबादका समर्थकले लखनउको डगआउटमा नट र बोल्ट फ्याँके, जसले लखनउको टोली व्यवस्थापनले मैदानमा रहेका अम्पायरलाई उजुरी गरेका थिए ।

उजुरीपछि अम्पायरले हैदराबादका प्रशिक्षक मुरलीथरनलाई नट र बोल्ट देखाएका थिए । ती समर्थकले विराट कोहलीको समर्थनमा लखनउका प्रशिक्षक गौतम गम्भीरलक्षित गरी नट र बोल्ट फ्याँकेको बताइएको छ । यो घटनाभन्दा केही दिनअघि गम्भीर र कोहलीबीच विवाद भएको थियो ।

४ वर्षपछि कोहलीको शतक

रोयल च्यालेन्जर्स बेंग्लोरका स्टार ब्याटर विराट कोहलीले ४ वर्षपछि आइपिएलमा शतक प्रहार गरेका थिए । कोहलीले मे १८ मा हैदराबादविरुद्ध शतक बनाएका हुन् । उनको शतक पूरा गर्ने शैली पनि उत्कृष्ट थियो । विराट १८ औं ओभरमा ९४ रनमा ब्याटिङ गरिरहेका थिए । भुवनेश्वर कुमारले ओभरको चौथो बलमा कोहलीले डिप मिडविकेटमा छक्का प्रहार गर्दै शतक पूरा गरे ।

धोनीसँग गावस्करले लिए अटोग्राफ

सुनील गावस्कर र महेन्द्रसिंह धोनी एउटै फ्रेममा आएर केही क्षणमै बनेको कथा लामो समयसम्म याद रहनेछ ।  चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेलिएको थियो । चेन्नईको एम चिदम्बरम रंगशालामा आइपिएलको १६औं सिजनको यो अन्तिम खेल थियो ।

खेल सकिएपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले जर्सी र टेनिस बल बाँडेर दर्शकलाई धन्यवाद दिएका थिए । यसैबीच कमेन्टेटर तथा महान पूर्व क्रिकेटर सुनील गावस्कर त्यहाँ आए र धोनीसँग कुरा गर्न थाले । 
त्यसपछि गावस्करले आफ्नो टी-सर्टतर्फ इशारा गर्दै अटोग्राफ दिन आग्रह गरेपछि धोनीले आफ्नो अटोग्राफ दिएका थिए ।

चम्किएका शुभमन गिल

शुभमन गिलले सिजनभर उत्कृष्ट प्रदर्शन गरे । गुजरात टाइटन्सका ओपनिङ ब्याटर गिलले यो सिजनमा सर्वाधिक रन बनाए । गिलले प्रतियोगिताका १७ खेलमा ३ शतक र ४ अर्धशतकसहित व्यक्तिगत ७ सय ९० रन बनाए ।

गिलले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको भए पनि दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्धको खेल भने लामो समयसम्म क्रिकेटप्रेमीको मानसपटलमा रहिरहने छ । गिलले मे २६ मा भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध ६० बलमा १२९ रन बनाएर सबैलाई आश्चर्यमा पारेका थिए ।

मुम्बई इन्डियन्सविरुद्ध गिलको शतकले गुजरात टाइटन्सलाई २३३÷३ को विशाल योगफलसम्म पुर्याएको थियो ।  गिलको यो प्रदर्शन देखेर क्रिकेटका दिग्गज तथा विज्ञहरूले गिललाई भारतीय क्रिकेटको अर्को ठूलो नामको संज्ञा दिएका छन् । गिलले यो इनिङ्सले भारतीय क्रिकेटमा नयाँ आस जगाएको छ ।

उक्त खेलमा ६२ रनको फराकिलो जित निकाल्दै गुजरातले लगातार दोस्रो पटक आइपिएलको फाइनलमा स्थान बनाएको थियो ।

यशस्वी जैसवालको कीर्तिमान

राजस्थान रोयल्सका युवा ओपनर यशस्वी जैसवालले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कीर्तिमान कायम गरेका छन् । उनी आइपिएलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने ब्याटर बने । उनले आइपिएलको मे १२ मा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध मात्र १३ बलमा अर्धशतक पूरा गरेका थिए । यसक्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि यो कीर्तिमान संयुक्त रूपमा केएल राहुल र प्याट कमिन्सको नाममा थियो । राहुलले सन् २०१८ मा तत्कालीन किंग्स इलेभेन पन्जाब (पन्जाब किंग्स) का लागि दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स) तथा कमिन्सले सन् २०२२ मा कोलकाताका लागि मुम्बई इन्डियन्सविरुद्ध १४ बलमा अर्धशतक प्रहार गरेका थिए ।

जैसवालको उत्कृष्ट ब्याटिङप्रेरित राजस्थानले ९ विकेटको सहज जित निकालेको थियो ।