आइसिसी विश्वकप ग्लोबल छनोट

विश्वकप छनोट खेल्ने नेपालसहित १० राष्ट्र

काठमाडौं । घरेलु मैदानमा भएको अन्तिम शृंखला ‘क्लिन स्विप’ गर्दै नेपालले आइसिसी विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्थान बनायो । प्रशिक्षक मोन्टी देसाईको रणनीतिमा नेपालले पछिल्ला १२ मध्ये ११ खेल जित्ने चामत्कारिक प्रदर्शन गरेको थियो ।

अब, नेपालले विश्व क्रिकेटका ठूला र चर्चित राष्ट्रसँग खेल्ने छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यसै वर्ष भारतमा आयोजना गर्ने एकदिवसीय विश्वकपमा स्थान बनाउन अब अन्तिम तर निकै कठिन खुट्किलो पार गर्नुपर्नेछ । आइसिसीले विश्वकप लिग-२ का शीर्ष तीन र प्लेअफबाट आएका दुई राष्ट्रलाई ग्लोबल छनोट खेल्ने अवसर प्रदान गरेको छ । सुपर लिगको आठभित्र रहेका शीर्ष राष्ट्रले सिधै विश्वकपमा स्थान बनाएका छन् ।

सुपर लिगमा स्थान बनाउन नसकेका वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँगै लिग-२ बाट आएका स्कटल्यान्ड, ओमान, नेपाल साथै युएई र अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका छन् । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिइसकिएको छ ।

नेपाल समूह ‘ए’ मा नेदरल्यान्ड्स, आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज र अमेरिकासँग परेको छ । जुन १८ देखि जुलाई ९ सम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छ । नेपालले पहिलो खेल जुन १८ मा आयोजक जिम्बाब्वेसँग खेल्नेछ । दुई दिनपछि दोस्रो खेलमा अमेरिका, जुन २२ मा वेस्ट इन्डिज तथा २४ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

यस्ता छन् सहभागी:

श्रीलंका

ग्लोबल छनोटमा शीर्ष वरीयताको टोली श्रीलंका हो । एकदिवसीय वरीयतामा श्रीलंका नवौं स्थानमा छ । सन् १९९६ मा श्रीलंकाले अस्ट्रेलियालाई हराउँदै पहिलो पटक विश्वकप उपाधि जितेको थियो । सन् २००७ मा भने अस्ट्रेलियासँग पराजित हुँदा उपविजेता भयो ।

आइसिसी सुपर लिगको शीर्ष आठमा स्थान सुरक्षित गर्न नसक्दा श्रीलंका ग्लोबल छनोटमा झरेको हो । श्रीलंका नवौं स्थानमा रहँदा ८१ अंक थियो । टोलीले त्यस क्रममा २४ खेलमा ७ जित र १४ हार सामना गर्याे । विश्वकपका लागि श्रीलंकाले छनोट चरणमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । यसअघि टोली विश्वकपमा नियमित सहभागी थियो ।

वेस्ट इन्डिज

आइसिसीको एकदिवसीय वरीयतामा वेस्ट इन्डिज दसौं स्थानमा छ । ग्लोबल छनोटमा श्रीलंकापछि अर्काे बलियो टोली वेस्ट इन्डिज हो । १२ पटक विश्वकप खेलिसकेको वेस्ट इन्डिजले दुई पटक उपाधि जितिसकेको छ ।

क्यारेबियन देशहरूको संयुक्त टोली वेस्ट इन्डिजले सन् १९७५ र १९७९ को विश्वकपमा उपाधि जितेको थियो । २०१८ मा भने टोली उपविजेता भएको थियो । तर, गौरवशाली इतिहास बनाएको वेस्ट इन्डिज पनि यसपालि श्रीलंकाजस्तै छनोट प्रतियोगिताबाट विश्वकपको बाटो खोज्दै छ ।

आइसिसी सुपर लिगमा नवौं स्थानमा सीमित हुँदा वेस्ट इन्डिजले ग्लोबल छनोटमार्फत विश्वकपको बाटो खोज्नुपर्ने अवस्था सिर्जना भएको हो । सुपर लिगमा वेस्ट इन्डिजले २४ खेलबाट ८८ अंक जोडेको थियो । यसक्रममा ९ जित र १५ हार सामना गरेको थियो ।

जिम्बावे

कमजोर प्रदर्शन गरेपछि जिम्बावे सुपर कपबाट माथि बढ्न सकेन । ९ पटक विश्वकप खेलिसकेको ११औं वरीयताको जिम्बावेले यसपटक ग्लोबल छनोट खेल्नुपरेको छ ।

सन् १९८३ को विश्वकपमा जिम्बावेले पहिलो पटक सहभागिता जनाएको थियो । त्यसयता टोलीले ९ पटक विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता खेलिसकेको छ । सन् २०१९ को पछिल्लो विश्वकपमा भने जिम्बावेले स्थान बनाउन सकेन । जिम्बावे सुपर कपको १३औं स्थानमा रह्यो । २४ खेलमा ६ जित र १७ हारसहित ६५ अंक जोडेको छ ।

आयरल्यान्ड

एकदिवसीय वरीयताको १२औं स्थानको आयरल्यान्ड सन् २०१७ देखि टेस्ट राष्ट्र बनेको थियो । त्यसयता टोलीले ६ टेस्ट खेलेको छ । सन् २००७ मा टोलीले पहिलो पटक विश्वकप खेल्दा छैटौं स्थान हासिल गरेको थियो ।

सुपर कपको अन्तिम खेलमा बंगलादेशविरुद्ध वर्षा बाधक बन्दा दक्षिण अफ्रिका भाग्यमानी ठहरियो । आयरल्यान्ड भने सुपर लिगको ११औं स्थानमा रहँदा ग्लोबल छनोटमा झर्यो । सुपर कपका २२ खेलमा टोलीले ७३ अंक बटुलेको थियो । यसक्रममा आयरल्यान्डले २२ खेलमा ६ जित र १३ हारको सामना गरेको छ ।

स्कटल्यान्ड

कीर्तिपुर मैदानमा विश्वकप लिग-२ को च्याम्पियन भएर स्कटल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएको थियो । हाल स्कटल्यान्ड एकदिवसीय वरीयताको १३औं स्थानमा छ । स्कटल्यान्डले हालसम्म तीन पटक विश्वकप खेलेको छ । सन् १९९९ मा पहिलो पटक विश्वकप खेलेको थियो । यसैगरी सन् २००६ र २०१५ को विश्वकप पनि खेल्यो । स्कटल्यान्डले अहिलेसम्म एक सय ४६ एकदिवसीय खेल खेल्दा ६३ खेलमा जित निकालेको छ ।

नेपाल

पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको टिम हो । एकदिवसीय वरीयताको १४औं स्थानमा रहेको नेपाल आइसिसी विश्वकप लिग-२ को तेस्रो स्थानमा रहँदै ग्लोबल छनोटमा छानिएको हो ।

गत फागुनमा नेपालले विश्वकप लिग-२ को अन्तिम खेलमा युएईलाई हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो । नेपालको सफलतासँगै नामिबिया ग्लोबल छनोटबाट बाहिरियो । सन् १९९४ मा नेपालले आइसिसीको एसोसिएट राष्ट्रको हैसियत पाएको थियो । नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ ।

अमेरिका

एकदिवसीय वरीयताको १५औं स्थानमा रहेको अमेरिकाले पनि ग्लोबल छनोटमा स्थान बनाएको छ । विश्वकप लिग-२ मा कुनै समय अमेरिकाले शीर्ष तीनभित्रको दाबेदारी प्रस्तुत गरेको थियो । तर नेपालको उत्कृष्ट पुनरागमनका कारण अमेरिका प्लेअफमा झरेको थियो । अमेरिका पाँचौं स्थानमा सीमित भएको थियो । अमेरिकाले ३६ खेलमा ३५ अंक बटुलेको थियो । अहिलेसम्म अमेरिकाले ४५ एकदिवसीय खेलमा २२ जित र २१ हार सामना गरेको छ ।

नेदरल्यान्ड्स

सुपर लिगको पुछारमा रहेपछि नेदरल्यान्ड्सले ग्लोबल छनोट खेल्ने तय भएको थियो । हाल टोली एकदिवसीय वरीयताको १७औं स्थानमा छ । सुपर लिगको १३औं स्थानमा रहँदा नेदरल्यान्ड्स ग्लोबल छनोटमा घटुवा भयो ।

डच टोलीले सुपर लिगमा २४ खेलबाट तीन जित र २० हारको नतिजासहित ३५ अंकमात्र बटुलेको थियो । ग्लोबल छनोटमा स्थान बनाएका एसोसिएट राष्ट्रमध्ये नेदरल्यान्ड्स सबैभन्दा अनुभवी टोली हो । नेदरल्यान्ड्सले सन् १९९६ मा पहिलो पटक एकदिवसीय विश्वकप खेलेको थियो । त्यसपछि २००३, २००७ र २०११ को विश्वकपमा स्थान बनायो ।

ओमान

विश्वकप लिग-२ को उपविजेताका रूपमा ओमान ग्लोबल छनोटमा प्रवेश गरेको हो । हाल ओमान एकदिवसीय वरीयताको १८औं स्थानमा छ । ओमान विश्वकप लिग–२ बाट ग्लोबल छनोटमा स्थान पक्का गर्ने पहिलो राष्ट्र बनेको थियो । ओमानले ३६ खेलमा २१ जित र १३ हारसहित ४४ अंक बटुल्यो । ओमान पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने योजनामा छ । हालसम्म ओमानले ३९ एकदिवसीय खेल खेल्दा २१ जित र १६ खेलमा हार बेहोरेको छ ।

युएई

एकदिवसीय वरीयताको १९औं स्थानमा रहेको संयुक्त अरब इमिरेट्सले पनि ग्लोबल छनोट खेल्नेछ । विश्वकप लिग-२ मा कमजोर प्रदर्शन गरेपछि प्लेअफमार्फत युएई ग्लोबल छनोटमा फर्किएको हो । नेपाल र पपुवा न्युगिनीसँग महत्वपूर्ण खेलमा पराजित हुँदा युएई शीर्ष पाँचबाट बाहिरिएको थियो । युएईले लिग-२ मा ३६ खेलमा ३३ अंक जोडेको थियो । युएईले सन् १९९६  र सन् २०१५ मा विश्वकप स्थान बनाएको थियो ।