काउन्टर अट्याक

अकबरी क्रिकेटमा पित्तले प्रशासन

दशरथ रंगशाला, च्यासल र एन्फा मुख्यालयका मैदान सहिद स्मारक ‘ए’ डिभिजन लिग गराउन व्यस्त छन् । तर फुटबलको कुनै चर्चा छैन । रंगशालाका ढोकैमा पनि फुटबलको चहलपहल छैन । ठिक विपरित देशकै एकमात्र अन्तर्राष्ट्रिय त्रिवी क्रिकेट मैदानमा कुनै गतिविधि छैन । तर, क्रिकेटप्रतिको चासो देशव्यापी छ । खेलाडीले मैदानमा उधुम नै मच्चाएपछि नहोस पनि किन ?

मेचीदेखि महाकाली र हिमालको शीरदेखि तराईको फाँटसम्मका सम्पूर्ण नागरिक यही खेलका कारण नेपालीपनमा गौरवान्वित छन् । यस्तो समान गौरभानुभूति गर्नेमा सबै धर्म, वर्ग र सम्प्रदायका नेपाली एक छन् । सबै उमेर समूहका नेपाली आफ्नो देशले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको हेर्न आतुर छन् । सबभन्दा महत्वपूर्ण कुरा त यसमा राम्ररी क्रिकेट नबुझ्नेकै जमात ठूलो हुन सक्छ ।

एसिसी प्रिमियर कप सकिएको दुई साता पनि बितेको छैन । यही प्रतियोगिता जितेर त हो, नेपाली राष्ट्रिय टोली विश्व क्रिकेटकै हस्ती टिमहरु (भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश)को सहभागिता रहने एसिया कपलाई छानिएको । विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालको अवस्था निक्कै निरिह थियो । १२ खेल बाँकी रहँदासम्म नेपाल विश्वकप २०२३ को ग्लोबल छनोटलाई छानिने आशा त परको कुरा भयो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि नजोगिने अवस्था थियो ।

तर त्यसपछि नेपाली खेलाडीले मैदानमा त्यस्तो जादुमय प्रदर्शन गरे,  जसको नेपाललाई आवश्यकता थियो । मध्य माघमा सकिएको लिग दुईका अन्तिम १२ मध्ये ११ खेलमा जित हासिल गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगाएन । यही जुन १८ बाट जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा पनि स्थान सुरक्षित गर्यो ।

मैदानमा नेपाली क्रिकेटरहरुको चमत्कार यत्तिमै सीमित रहेन । यसै महिना सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जितेर नेपालले एसिया कपमा स्थान सुरक्षित गर्यो । सँगै यही प्रतियोगिताको शीर्ष तीनमा रहेवापत नेपालले एसियाली इमर्जिङ टिम्स कपमा सहभागिताको बोनस अवसर पनि पायो । यसक्रममा नेपालले फाइनलसहित ६ खेल जितेको थियो । दुई खेल भने वर्षाका कारण अनिर्णित सकिए । यसवाहेक प्रतियोगिता सुरु हुनुपूर्वको एउटा अभ्यास खेलमा पनि नेपालले जित हासिल गर्यो । समग्रमा नेपालले पछिल्लो समय विभिन्न हैसियतका गरि १९ खेलमा १६ जित हासिल गर्यो ।

अव प्रश्न उठ्छ, के यी उपलब्धिका लागि नेपाली क्रिकेटको हक लाग्थ्यो त ? नेपालले विश्वकपको ग्लोबल छनोट र एसिया कप खेल्नका लागि त्यहीअनुसारको तयारी गरेको थियो त ? थिएन ।

इमान्दार भएर भन्नुपर्दा नेपाल यस्ता उपलब्धिको हकदार होइन । घरेलु संरचनाअन्तर्गत झारो टारिएको प्रधानमन्त्री कप र बेटिङ तथा स्पट फिक्सिङको आधार बनाउन गरिएको नेपाल टी-२० को भरमा एसिया कपको सपना देख्नु स्वभाविक थिएन । तर आइसिसीबाट पैसा आउने गतिविधिमात्र गर्ने नेपाल क्रिकेट संघको भरमा घिस्रँदै गरेको क्रिकेटका नेपाली समर्थकको दुस्साहसलाई मान्नै पर्छ । नेपाल एसिया कपलाई छानिने विश्वासमा दशौं हजार समर्थक झरीको समेत बेवास्था गर्दै कीर्तिपुरको मैदानमा पुगेकै छन् । पानी रोकिने र खेल सुचारु हुने आशामा घण्टौं सम्म भिजेरै कुरेका छन् । दुई दिनसम्म पनि ढुकेका छन् ।

खासमा त्यो नेपाली क्रिकेटका लागि समर्थकले गरेको लगानी थियो । त्यही क्रेजका कारण त यति धेरै बेथिति हुँदा समेत आइसिसीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अधिकार नेपाललाई दिइरहन्छ । भ्रष्टाचार र नालायकीका तमाम अपराधमा क्षमादान गरिरहन्छ । अनि समर्थकको त्यही दुस्साहसले नेपाली खेलाडीलाई पनि बेजोड हौसला दिन्छ । तबन, उधुमसँग ब्याट र बल घुम्छन् । अनि विना लगानी र योजनाको नेपाली क्रिकेट विश्व स्तरका ठूला टिमसँग दाँजिन्छ ।

फुटबल भइरहेका रंगशालाका सुविधासम्पन्न प्यारापिटमा झिँगा समेत नउड्दा कीर्तिपुरमा भने प्रधानमन्त्रीदेखि मन्त्रीहरुको लस्कर लाग्छ । एउटा फोटो खिचाएर सामाजिक सञ्जालमा पोष्ट्याउनकै लागि भए पनि सबै ठूला राजनीतिक दलका नेताहरु तँछाडमछाड गरेर कीर्तिपुर पुग्छन् । झरी, बादल, जाडोजस्ता तमाम समस्याका बावजुद न बस्नलाई कुर्सी, न घाम पानी छेक्न छानो भएको मैदानमा दुई दिनसम्म धैर्यसाथ नेपाल नेपाल भनेर कुर्लिइरहने दशौं हजार दर्शकको टाउकामा एक-एक भोट देख्ने नेताहरु नपुगी भयो त ?

भनिन्छ नी, फलामलाई चाहेको आकार दिन तातेको बेला हथौडा प्रहार गर्नुपर्छ । नेपाली क्रिकेट अहिले मज्जासँग तातेको छ । रातै भएको छ । अत्यन्तै सुन्दर बन्न सक्ने सम्भावना भए पनि प्रशासनले विद्रुप बनाएको क्रिकेटको मुहार सही ढाँचामा ल्याउन हथौडा हान्ने समय यही हो । खेलाडीले पटक-पटक मैदानबाट नेपाली क्रिकेटको सम्भावना प्रमाणित गरेका छन् । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेर ठूलो फड्को मारेका छन् । तर खेलाडीको बलबुतामा मारिएका कुनै पनि फड्कोले नेपाली क्रिकेटको यात्रा अगाडि बढाउन सकेका छैनन् । खेललाई व्यवस्थित र योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्ने मुख्य जिम्मेवारी बोकेको क्रिकेट संघकै नालायकी नेपाली क्रिकेटको अग्रगामी यात्राको बाधक बन्दै आएको छ । खेलाडीले अगाढि बढाएको यात्रामा छिर्के संघबाटै लागिरहेको छ ।

यसपाली पनि तातेको फलाम सेलाउन बेर लाग्दैन । वर्षातमा भेल छोप्न पाउने जति समय पनि नमिल्न सक्छ । त्यसैले क्रिकेटमा बनेको माहोलको भेल छोप्न ढिलो गरियो भने खेलाडीले मैदानमा गरेको मिहिनेत यसपाली पनि फुस्सा हुन सक्छ ।

राष्ट्रिय टोलीले एसिया कपमा स्थान सुरक्षित गरेलगत्तै क्रिकेट संघले विशेष साधारणसभाको नाटक मञ्चन गर्यो । देशभरका क्रिकेटका सरोकारवालाहरु यस्तो विशेष क्षणमा एकसाथ हुनु वास्तवमा खेल विकासको दीर्घकालिन र अल्पकालिन योजनाहरु बुन्न महत्वपूर्ण अवसरमा परिणत हुन सक्थ्यो । यहीँबाट घरेलु क्रिकेटको उपयुक्त संरचना बनाउने योजना बुनिन सक्थ्यो । भौतिक पूर्वाधारमा झिनामसिना कामलाई नै ठूला उपलब्धि मान्दै आएको नेपाली क्रिकेटले महत्वाकांक्षी योजना प्रस्तुत गर्न सक्थ्यो । महिला र उमेर समूहका क्रिकेटलाई कसरी व्यवस्थित गर्ने भन्ने छलफल हुन सक्थ्यो । प्रतिभा खोज र तिनलाई निखार्ने उपायहरु निकालिन्थे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताका सुत्रहरु खोजिन्थे । अनि सबभन्दा महत्वपूर्ण कुरा ति सब योजनाहरुलाई कार्यान्वयन गर्नका लागि कसरी तातेको फलाममा हथौडा प्रहार गर्ने भन्ने कार्ययोजना बन्न सक्थ्यो ।

तर, क्रिकेटको नाममा यही खेललाई जुकाले जस्तो चुस्न पल्केका पदाधिकारीलाई यस्ता कुरा सोच्ने फुर्सद कहाँ हुनु ! उनीहरुलाई त कसरी पदमा टिकिरहने भन्ने चिन्ता छ । कसरी सरकार तथा राजनीतिक दलका नेतृत्वको आँखामा छारो हालेर आफ्ना स्वार्थ पूरा गरिरहने ध्यान छ । नेपाली क्रिकेटको अपार सम्भावना र दर्शकको क्रेजका कारण तमाम बेथितिका बावजुद आइसिसीबाट पाएको माफीको कसरी हदैसम्म फाइदा उठाउने भन्ने हतारो छ ।
यही कारण क्यानको साधारणसभामा मैदान भित्रको क्रिकेट विकासको विषयमा छलफल समेत भएन । प्रशासनिक विषयमा केही निर्णयहरु भए । कसको कार्यकाल कतिसम्म लम्ब्याउन सकिने ? कुन पदमा उम्मेदवार हुन कस्ता प्रक्रिया पूरा गर्नुपर्ने ? कार्यसमितिमा सरकारी प्रतिनिधि राख्ने की नराख्ने ? कार्यसमितिले कति सदस्य मनोनित गर्ने ? कति अध्यक्षले गर्ने ? यस्तै विषयमा छलफल केन्द्रित भए । निर्णय पनि त्यस्तै भए ।

जसले नेपाली क्रिकेटको यात्रामा कुनै तात्विक फरक पार्ने छैनन् । रंगशालामै उपस्थित हुने दशौं हजार र घरघरमा बसेर समर्थन गर्ने करोडौं समर्थकको भावनामा ति निर्णयले कुनै सम्बोधन गरेका छैनन् । भारत र पाकिस्तानको खेल गराउने ‘कर्णप्रिय भाषण’लाई यथार्थ पार्नका लागि पनि रत्तिभर योगदान गर्ने छैनन् । गर्नेछ त फेरि पनि यिनै पदाधिकारीको व्यक्तिगत र गुटगत स्वार्थको खेलमा रोमाञ्च थप्नेछ । यो वा त्यो नाममा, यो वा त्यो बहानामा फेरि क्रिकेटको नाममा क्रिकेटकै दोहन हुनेछ । नेपाली क्रिकेट रुपी अकबरी सुनलाई यही पाराको प्रशासन रुपी पित्तलको लेपले छोपिरहने छ । नेपाली क्रिकेटको यात्रामा छिर्के हानिरहनेछ ।