कार्तिक ६, २०८१ मंगलबार | १७:२७:४१
लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सुकुटे, सिंहमती, साँगाचोक र वारियर्स विजयी लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सुकुटे, सिंहमती, साँगाचोक र वारियर्स विजयी
शनिबारको दिन एसिसी प्रिमियर कप

राष्ट्रिय टोलीको ‘भरोसा’ बन्दै कुशल

काठमाडौं । कुशल मल्ल पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएका गजबका अलराउन्डर हुन् । अझ कन्जुस्याइँ नगरी भन्दा उनी राष्ट्रिय टोलीका ‘भरोसा’ नै हुन् ।

मैदानमा उनी प्रस्तुत हुने तरिका नै बेग्लै छ । निकै प्रभावशाली । हेर्न मज्जा आउने । इनिङ्सको सुरुबाटै मैदानमा टिकेर बस्छन् र आवश्यकताअनुसार ठूला शट खेल्न सधैं तम्तयार हुन्छन् ।

नेपाल अहिले घरेलु मैदानमा एसिया कप छनोटको रूपमा रहेको एसिसी प्रिमियर कपमा प्रतिस्पर्धा गरिरहेको छ । समूह ‘ए’ बाट नेपालले विजेताका रूपमा सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । शनिबार हुने सेमिफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ ।

पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । मलेसियाविरुद्ध कुशलले अर्धशतक पूरा गरे । उनले ४० बलमा ५ चौका र ५ छक्का मद्दतमा अविजित ७० रन जोडेका थिए ।

कुशलले त्यसको तीन दिनमै नेपाली राष्ट्रिय टोलीबाट व्यक्तिगत पहिलो शतक पूरा गरे । तर, यसपालि कुशलको शतक ‘फगत’ आँकडामा सीमित रहेन । त्यसको विशेष अर्थ रह्यो । नेपाल समूहको अर्को बलियो टोली ओमानको सामना गरिरहेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ७२/४ को स्थितिमा पुग्दा कुशल ब्याट बोकेर क्रिजतिर लागेका थिए । बलियो प्रतिद्वन्द्वीविरुद्ध संघर्षमय अवस्थामा पुगिसकेको नेपालका लागि कुशलले आक्रामक तबरमा ब्याट घुमाएपछि टोली ३११ रनको लक्ष्य प्रस्तुत गर्न सफल भयो । एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नोतर्फबाट अहिलेसम्मकै ठूलो योगफल तयार गरेपछि नेपाली जितको कथा रचियो ।

नेपालको जितआधार तय गर्ने क्रममा कुशलले मात्र ६४ बलको व्यक्तिगत इनिङ्समा १ सय ८ रनको योगदान गरेका थिए । शतकचाहिँ उनले ५९ बलमा पूरा गरेका थिए । जहाँ पाँचौं विकेटका लागि उनले आरिफ शेखसँग गरेको ७५ रनको साझेदारी महत्त्वपूर्ण थियो।

‘म प्रशिक्षकले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु,’ सनसनीपूर्ण ब्याटिङ प्रदर्शनपछि कुशल दृढ देखिएका थिए ।

१६ र १९ वर्षमुनिको राष्ट्रिय टोली हुँदै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका कुशल वर्तमान नेपाली क्रिकेटमा सही अर्थमा संकटमोचक बनिरहेका छन् । कुशलको राष्ट्रिय टोलीसम्मको यात्रा पनि गजबको छ ।

कुशललाई क्रिकेटमा डोहोर्याउने काम नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचनले गरेका हुन् । खेल्दा गौचन आफै राष्ट्रिय टोलीको संकटमोचक थिए । सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकप क्रिकेटको प्रारम्भिक चरणमा गौचनले गरेको प्रदर्शनको विश्वव्यापी चर्चा भएको थियो ।

गौचन बुटबलमा रहेको न्यु होराइजन एकेडेमीमा क्रिकेट प्रशिक्षक थिए । त्यहाँ ६ कक्षादेखिका विद्यार्थीले मात्र क्रिकेट प्रशिक्षणको अवसर पाउँथे । ६ कक्षामा अध्ययनरत विशाल भण्डारीले कक्षा ५ मा अध्यनरत कुशल मल्ल राम्रो खेल्ने भएकाले उनलाई पनि प्रशिक्षणमा समावेश गर्न गौचनसँग आग्रह गरे ।

‘कुशल भन्ने भाइ छ । राम्रो क्रिकेट खेल्छ भनेर विशालले भनेपछि मैले उनलाई प्रशिक्षणमा समावेश गरेको थिएँ,’ आफ्ना चेलाको गर्विलो प्रदर्शनबाट रोमाञ्चित गौचनले सम्झिए, ‘कक्षा ५ का विद्यार्थीलाई प्रशिक्षणमा समावेश गर्न पाइँदैनथ्यो, तर उनलाई मैले बोलाएँ । उसले मिडियम फास्ट बल फालेको थियो । ऊ लेफ्ट ह्यान्ड ब्याटर हो र उसको ब्याटिङ कला झनै गजबको थियो । एकेडेमीको बास्केटबल कोर्टमा म प्रशिक्षण दिन्थें । बल बाहिर जाला भनेर १५ फिटको तार जाली लगाइएको थियो । तर कुशलले यस्तो खेल्यो कि हरेक बलले त्यो जाली नाघ्यो । हामीले बल हरायो भने तिमी आफैंले किनेर ल्याउनुपर्छ भनेपछि मात्र ऊ रोकिन्थ्यो ।’

गौचन राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य थिए । त्यसैले उनी बुटबलमा भन्दा काठमाडौंमा बढी हुन्थे । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि सहभागी हुन काठमाडौं आएका बेला यु-१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताका लागि गौचनले न्यु होराइजनको टोली बनाउनुपर्ने भयो । गौचनले स्कुलमा कुशलको खोजी गरे । तर उनी अर्कै विद्यालयमा गइसकेका कारण टोली निर्माणमा समस्या देखियो ।

गौचन जसरी पनि टोलीमा कुशल होस् भन्ने चाहन्थे तर उनी अन्यत्र गएकाले पुनः टोलीमा ल्याउने चुनौती थियो । त्यसलाई कुशलको क्रिकेटिङ क्षमताबाट प्रभावित भएकै कारण गौचनले पार लगाए ।

‘कुशल अर्कै स्कुल गइसकेको रहेछ । पहिलो त्रैमासिक परीक्षा पनि सकिइसकेकाले उनलाई नयाँ स्कुलबाट होराइजनमा फर्काउन कठिन थियो,’ गौचनले भने, ‘त्यसपछि मैले घरमै गएर कुशलको आमासँग कुरा गरेर उनलाई होराइजन फर्काइछाडें । क्रिकेटसँगै पढाइ पनि अघि बढाउनुपर्ने सर्तमा मात्र उनी आएका थिए ।’

कुशल आएपछिको त्यो प्रतियोगिता न्यू होराइजनले नै जित्यो । लगातारको प्रभावशाली प्रदर्शनपछि कुशलले पनि नेपालको यु-१६ र यु-१९ को टोलीमा स्थान पाए । उमेर समूहका राष्ट्रिय टोलीबाट खेल्दा पनि कुशलको स्वभाविक लय कायम रहयो । त्यहाँबाट बाटो खुल्यो देशभित्र हुने फ्रेन्चाइज लिगहरूमा खेल्ने । जहाँ उनले विभिन्न फ्रेन्चाइज टोलीबाट ट्वान्टी-२० क्रिकेट खेल्दा आक्रामक ब्याटरको छवि स्थापित गरे । जसले उनको राष्ट्रिय टोली प्रवेशको ढोका खोल्यो ।

कुशलले सन् २०१९ मा ओमानमा तय ट्वान्टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका थिए । उनले २०१९ सेप्टेम्बरमा सिंगापुरमा त्रिकोणात्मक ट्वान्टी-२० शृंखलाअन्तर्गत जिम्बावेविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरे ।

एकदिवसीय क्रिकेटमा भने कुशलले २०२० फेब्रुअरी आठमा क्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलसँगै ‘डेब्यु’ गरेका थिए ।

‘कुशलले आफूलाई प्रमाणित गरिसकेको छ । कुशलको सबैभन्दा राम्रो पक्ष भनेको ऊ निडर भएर खेल्छ,’ गौचनले भने, ‘पहिलो बलबाटै ठूलो शट खेल्न रुचाउँछ । ऊ निकै आत्मविश्वासी छ । मैले प्रशिक्षणको पहिलो दिन उसमा जुन क्षमता देखेको थिएँ, अहिले पनि त्यही लय कायम छ । आफ्नो चेलाले प्रगति गरेको देख्दा खुसी लाग्छ । ऊ क्षमतावान खेलाडी हो र आगामी दिनमा आफूलाई अझै प्रमाणित गर्दै लैजान्छ भन्नेमा विश्वस्त छु ।’