कभर्डहलको सपनामा नेपाली भलिबल

गत महिना महिला भलिबल टोली सेन्ट्रल जोनको उपाधि जितेर फर्किंदा भव्य स्वागत भयो । र, त्यही प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसकेको पुरुष टोलीलाई बेवास्ता गरिएको पनि छर्लंग भयो ।

पुस १५ मा नेपाल भलिबल संघको त्यो लापरबाहीका साक्षी थिए, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज । बलेको आगो ताप्ने नेपाली उक्तिलाई सार्थक पारेको भलिबल संघको त्यो कार्यक्रममा प्रमुख अतिथि मन्त्री गहतराजले भावनामा बहकिएर हचुवा अभिव्यक्ति दिए, ‘भोलि विश्राम गरेर पर्सि (पुस १७) बाटै एसियाडको तयारी थाल्नुस् ।’

औपचारिक कार्यक्रममा उभिएर मिडियासामु मन्त्री गहतराजले दिएको त्यो अभिव्यक्ति आम नेताले माइक अगाडि उभिएर दिने ‘बकम्फुसे’ गफभन्दा कम पक्कै थिएन । उनले त्यो अभिव्यक्ति दिएको झन्डै एक महिना पुग्न लागिसक्दा पनि भलिबल संघले न कुनै तयारी थालेको छ न त कुनै योजना नै सुन्नमा आएका छन् ।

पोखरामा सम्पन्न घरेलु प्रतियोगिता टाइगर कप र पछिल्लो समयको कोभिड-१९ को बढ्दो संक्रमण मन्त्रीको त्यो ‘गफ’बाट पन्छन जिम्मेवार निकायलाई गतिलो बहाना बनेका छन् । तर, मन्त्रीले ‘तत्काल एसियाडलाई जुटनुस्’ भन्दा गडगडाहट ताली बजाउने भलिबल संघका पदाधिकारीले नै तदारूकता देखाएर काम नगरेका मन्त्रीलाई भान भइसकेको छ ।

चीनको हाङजु स्पोर्ट्स पार्क स्टेडियममा आगामी सेप्टेम्बर १० देखि २५ सम्म एसियाली खेलकुद हुनेछ ।

तर, आज माघ ८ गते भइसक्दा पनि तयारी सुरु गर्ने मन्त्रीको निर्देशन लावारिस अवस्थामा छ । मन्त्रीका प्रेस सल्लाहकार संगीन शर्मा संघको उदासीनताका कारण तयारीमा काम हुन नसकेको तर्क गर्छन् ।

‘मन्त्रीज्यूले निर्देशन दिनुभएको हो । त्यसको कार्यान्वयन गर्ने भनेको भलिबल संघले हो । बारम्बार गएर घच्घच्याउनुपर्ने त नहोला । संघका पदाधिकारीले त्यसलाई निरन्तरता दिनुपर्ने हो तर किन सक्नुभयो भएन बुझ्न पाएका छैनौ,’ शर्माले भने ।

आफ्नो अभिव्यक्ति सार्थक पार्नकै लागि भए पनि संघलाई ताकेता गर्नुको सट्टा राष्ट्रिय खेलकुद परिषद सदस्यसचिवको अनिश्चितता देखाएर मन्त्री पन्छिन खोजेका छन् ।

सरकारले राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्दै टंकलाल घिसिङको नियुक्ति गरेको थियो । तर, त्यसमा सिलवालले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । जसमा सर्वोच्चले अन्तरकालीन आदेश जारी गरे पनि अन्तिम निर्णय आइसकेको छैन । जसका कारण नेपाली खेलकुद अन्योलबाट गुज्रिइरहेको छ ।

अदालतबाट स्पष्ट निर्णय आइनसकेका कारण भलिबलको विषयमा ध्यानाकर्षण गर्न नसकिएको प्रेस सल्लाहकार शर्माको जिकिर थियो । तर, मन्त्रीको घोषणा अर्थहीन नभई उनको कार्यकालमै भलिबलको आफ्नै कभर्डहल बनाउनेमा विश्वस्त हुन उनको आग्रह छ ।

‘संघले आफ्नो क्षेत्रबाट काम नगरेको महसुस गरिरहेका छौं । केही समयपछि मन्त्रीज्यू आफैं गएर संघलाई चलायमान गराउने कुरा भइरहेको छ,’ महिला टोलीको स्वागतमा हौसिएर भलिबललाई छुट्टै कभर्डहल बनाइदिने भन्दै मन्त्रीले दिएको आश्वासनसमेत स्मरण गर्दै सल्लाहकार शर्माले प्रष्टीकरण दिए, ‘कभर्डहल बनाउने नीतिगत कुरा हो । बजेट र नीतिगत कुरा मिलाउँदा केही समय चाहिँ लाग्नेछ । तर, उहाँको कार्यकालमै भलिबलको कभर्डहल बन्नेमा ढुक्क हुनुहोस् ।’

सीमित स्रोत र छोटो तयारीका बाबजुद नेपाललाई लगातार दोस्रो पटक सेन्ट्रल जोन च्याम्पियन बनाएकी महिला टोलीकी कप्तान अरुणा शाहीले त्यसै मञ्चमा उभिएर तयारीमै आवश्यक कभर्डहल नभएको भन्दै गुनासो गरेपछि मन्त्री गहतराजले ‘बनाइदिने’ आश्सावन दिएका थिए ।

कभर्डहलको ‘गफ’ आफूले खेल्दासम्म पूरा नहुने बुझेकी अरुणा एसियाली खेलकुदको तयारी चाहिँ चाँडोभन्दा चाँडो सुरु होस् भन्ने चाहन्छिन् । ‘सकेसम्म चाँडै तयारी सुरु भइदिए राम्रो हुन्थ्यो । तर कोरोनाको संक्रमण बढिरहेको छ । के हुन्छ थाहा छैन ?,’ उनी आशावादी हुन सकेकी छैनन् ।

नेपालजस्तो खेलको व्यावसायिक संरचना नभएको देशले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जति लामो तयारी गर्यो, प्रदर्शन उति नै राम्रो हुनेमा सबै पक्ष जानकार छन् । तर बलेको आगो ताप्ने संघका लागि दाउरा जुटाउने जाँगर भने छैन ।

यता, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा केही दिनमै सबै पदाधिकारी जम्मा भएर खेलकुद मन्त्रीसँग भेट्ने योजना भएको बताउँछन् ।

‘पोखरामा टाइगर कप भयो । त्यसका लागि एभिसी सेन्ट्रल जोनका अध्यक्ष मोहम्मद लतिफ पनि आएका थिए । सोमबार काठमाडौं आउँदै छु । त्यसपछि केही दिनमै सबै भेला भएर मन्त्रीज्यूलाई भेट गर्न जाने कुरा भएको छ । पोखराको कार्यक्रमले गर्दा हामी व्यस्त भएका हौ‍ं,’ खेलाडीसँग बहाना गर्दै अध्यक्ष शर्माले भने ।